07 – न्याय को दिन
यी सर्वशक्तिमान परमेश्वरका पवित्र वचनहरू हुन्।
हामी मानिसका शब्दहरूमा चासो राख्दैनौं।
परमेश्वरलाई प्रेम गर्ने जो कोहीका लागि... परमेश् वर यसो भन् नुहुन्छ: न्याय को दिन.
यी सर्वशक्तिमान परमेश्वरका पवित्र वचनहरू हुन्।
हामी मानिसका शब्दहरूमा चासो राख्दैनौं।
परमेश्वरलाई प्रेम गर्ने जो कोहीका लागि... परमेश् वर यसो भन् नुहुन्छ: न्याय को दिन.
त्यसपछि मैले एउटा महान् सेतो सिंहासन र त्यसमाथि विराजमान हुनुहुनेलाई देखेँ । उहाँको उपस्थितिबाट स्वर्ग र पृथ्वी भागेर टाढा गए, तर तिनीहरूका लागि जान त्यहाँ कुनै ठाउँ थिएन । मैले शक्तिशाली र कमजोर मृतकहरूलाई सिंहासनको अगाडि उभिरहेको देखेँ र पुस्तकहरू खोलिए । तब अर्को पुस्तक अर्थात् जीवनको पुस्तक पनि खोलिएको थियो । ती पुस्तकहरूमा लेखिएका विवरणअनुसार तिनीहरूका कामहरूका आधारमा मृतकहरूको न्याय भयो ।
”हरेक व्यक्ति एक पटक मर्न निश्चित छ, र त्यसपछि न्याय आउँदछ ।
”जसले मलाई इन्कार गर्छ, र मेरा वचनहरू ग्रहण गर्दैन, त्यसको न्याय गर्ने एक जना हुनुहुन्छः मैले बोलेको मेरो वचनले नै अन्त्यको दिनमा त्यसको न्याय गर्नेछ ।
”अब्राम उनान्सय वर्षको हुँदा परमप्रभु तिनीकहाँ देखा पर्नुभयो र तिनलाई भन्नुभयो, “म सर्वशक्तिमान् परमेश्वर हुँ । मेरो सामु आज्ञाकारी भएर हिँड्, र निर्दोष हो ।
”धर्मीलाई पनि दुष्टलाई जस्तै व्यवहार गरेर दुष्टका साथमा धर्मी जनलाई मार्ने काम तपाईंबाट टाढा रहोस् । यस्तो कुरा तपाईंबाट टाढा रहोस्! सारा पृथ्वीका न्यायकर्ताले न्यायोचित काम गर्नुहुन्न र?
”तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरको सामु निष्खोट हुनुपर्छ ।
”म उहाँको सामु निर्दोष भएको छु र मैले आफैंलाई पापबाट अलग राखेको छु ।
”अनि जङ्गलमा भएका रूखहरू परमप्रभुको सम्मुख आनन्दले गाउन्, किनकि उहाँ पृथ्वीको न्याय गर्न आउँदै हुनुहुन्छ ।
”ए मेरा छोरा सोलोमन, आफ्ना बुबाका परमेश्वरको आज्ञा पालन गर, र आफ्ना सारा हृदय र राजीखुशीले उहाँको सेवा गर । यसो गर, किनभने परमप्रभुले सबै हृदयलाई खोतल्नुहुन्छ र हरेक व्यक्तिको विचारहरूका हरेक उदेश्य बुझ्नुहुन्छ । तिमीले उहाँलाई खोज्यौ भने तिमीले उहाँलाई भेट्टाउनेछौ, तर तिमीले उहाँलाई त्याग्यौ भने, उहाँले तिमीलाई सधैंको निम्ति इन्कार गर्नुहुनेछ ।
”तर मेरो बारेमा, मेरा उद्धारक जिउँदो हुनुहुन्छ, र अन्त्यमा उहाँ पृथ्वीमा खडा रहनुहुनेछ । मेरो शरीरको छाला, अर्थात् शरीर पूरै गलेपछि, मेरो शरीरमा नै म परमेश्वरलाई देख्नेछु । मेरा आफ्नै आँखाले— अरू कसैको होइन म आफैंले उहाँलाई देख्नेछु । मेरो हृदय मभित्रै विह्वल बन्छ । तपाईंहरूले यसो भन्नुहुन्छ भने, 'हामी उसलाई कसरी सताउँ! उसको सङ्कष्टको जड ऊ आफै हो,' तब तरवारदेखि डराउनुहोस्, किनकि क्रोधले तरवारको दण्ड ल्याउँछ, यसरी न्याय हुन्छ भनी तपाईंहरूले जान्नुहुनेछ ।”
”कि दुष्ट मानिस विपत्तिको दिनमा जोगिन्छ, र क्रोधको दिनमा उसलाई कतै सारेर जोगाइन्छ?
”न्यायको तराजुमा मलाई जोखियोस्, जसले गर्दा परमेश्वरले मेरो सत्यनिष्ठा जान्नुहुनेछ ।
”दुष्टहरू त्यस्ता होइनन् तर हावाले उडाउने भुसजस्तै हुन् । त्यसैले दुष्टहरू न्यायमा खडा हुनेछैनन् न त पापीहरू धर्मीको सभामा हुनेछन् । किनकि परमप्रभुले धर्मीलाई मार्गदर्शन गर्नुहुन्छ तर दुष्टको मार्ग भने नष्ट हुनेछ ।
”तर परमप्रभु सदासर्वदा रहनुहुन्छ । न्यायको निम्ति उहाँको आफ्नो सिंहासन स्थापित गर्नुभएको छ । उहाँले धार्मिकतामा संसारको न्याय गर्नुहुनेछ, र उहाँले जातिहरूका न्याय निश्पक्ष रूपले गर्नुहुनेछ ।
”दुष्टहरू फर्काइएका र चिहानमा पठाइएका छन्, सबै जातिहरू जसले परमेश्वरलाई बिर्सिन्छन् ।
”उहाँको सामु म निर्दोष भएको छु र मैले आफूलाई पापबाट अलग राखेको छु ।
”दुष्ट मानिसले धर्मीको विरुद्धमा षड्यन्त्र गर्छ र त्यसले उनको विरुद्ध दाह्रा किट्छ । परमप्रभु त्योमाथि हाँस्नुहुनेछ, किनकि त्यसको दिन आइरहेको उहाँले देख्नुहुन्छ ।
”तर परमेश्वरले मेरो जीवनलाई चिहानको शक्तिबाट उद्धार गर्नुहुनेछ । उहाँले मलाई ग्रहण गर्नुहुनेछ । सेला
”अधर्म गरेर तिनीहरूलाई उम्कन नदिनुहोस् । हे परमेश्वर, तपाईंको क्रोधमा मानिसहरूलाई तल झार्नुहोस् । मेरा भागेर हिंडेको हिसाब तपाईंले राख्नुहोस् र मेरा आँसुहरू तपाईंको बोतलमा राख्नुहोस् । के ती तपाईंका पुस्तकमा छैनन् र?
”तिनीहरूलाई जीवनको पुस्तकबाट हटाइयोस् र धर्मीहरूसँगै नलेखियोस् ।
”तिमीले दुष्टको दण्ड नियाल्ने र देख्ने मात्र छौ ।
”परमप्रभुको सामु, किनकि उहाँ आउँदै हुनुहुन्छ । उहाँ पृथ्वीको न्याय गर्न आउँदै हुनुहुन्छ । उहाँले संसारको धार्मिकतामा र मानिसहरूको विश्वस्ततामा न्याय गर्नुहुनेछ ।
”परमप्रभु पृथ्वीको न्याय गर्न आउँदै हुनुहुन्छ । उहाँले संसारलाई धार्मिकतामा र जातिहरूलाई निष्पक्षतामा न्याय गर्नुहुन्छ ।
”तपाईंले मलाई गर्भभित्रै देख्नुभयो । मेरो निम्ति तोकिएको आयुको पहिलो दिन हुनुअगि नै ती तपाईंको पुस्तकमा लेखिएका थिए ।
”परमप्रभुले उहाँलाई प्रेम गर्नेहरू सबैमाथि हेर्नुहुन्छ, तर उहाँले सबै दुष्टलाई नाश गर्नुहुनेछ ।
”क्रोधको दिनमा धन-सम्पत्ति बेकामको हुन्छ, तर ठिक गर्नाले मृत्युबाट जोगाउँछ ।
”मैले मेरो मनमा भनेँ, “हरेक विषय र हरेक कामको लागि ठिक समयमा परमेश्वरले धर्मीहरू र दुष्टहरूको न्याय गर्नुहुने छ ।”
”महङ्गो अत्तरभन्दा असल नाउँ उत्तम हुन्छ, र जन्मको दिनभन्दा मृत्युको दिन राम्रो हुन्छ ।
”हरेक कुरा सुनिएपछि कुराको अन्त्य यही हो, कि तैँले परमेश्वरको भय मान्नुपर्छ, र उहाँका आज्ञाहरू पालन गर्नुपर्छ, किनकि यो नै मानव-जातिको सम्पूर्ण कर्तव्य हो । किनकि हामीले गरेको हरेक गुप्त कुरा, चाहे त्यो असल होस् वा खराब, त्यसलाई परमेश्वरले इन्साफ गर्नुहुने छ ।
”तिनीहरूले पृथ्वीमा हेर्नेछन् र व्यकुलता, अन्धकार र अत्याचारको बादल देख्नेछन् । तिनीहरू अन्धकारको देशमा लगिनेछन् ।
”संसारलाई त्यसको दुष्टताको निम्ति अनि दुष्टहरूलाई तिनीहरूका अपराधको निम्ति म सजाय दिनेछु । घमण्डीको अहङ्कारलाई म अन्त गर्नेछु र निर्दयीको अहङ्कारलाई तल खसाल्नेछु ।
”उहाँले मृत्युलाई सदाको निम्ति निल्नुहुनेछ, र परमप्रभु परमेश्वरले सबैको मुहारको आँसु पुछ्नुहुनेछ । उहाँले आफ्ना मानिसहरूको अपमानलाई सबै पृथ्वीबाट हटाउनुहुनेछ, किनकि यो परमप्रभुले भन्नुभएको छ ।
”तपाईंका मृतहरू जीवित हुनेछन् । तिनीहरूका मृत शरीरहरू जीवित हुनेछन् । ए धूलोमा बस्नेहरू हो, उठ र आनन्दको गीत गाओ । किनकि तपाईंको शीत बिहानको शीत हो, अनि पृथ्वीले आफ्ना मृतकहरूलाई ल्याउनेछ ।
”तेरो नाङ्गोन देखिनेछ, हो, तेरो लाज देखिनेछ । म बद्ला लिनेछु र एक जना मानिसलाई पनि छोड्नेछैन । सर्वशक्तिमान् परमप्रभु हाम्रा उद्धारक, इस्राएलको परमपवित्र उहाँको नाउँ हो ।
”परमप्रभुको कृपाको वर्ष, हाम्रा परमेश्वरको बदलाको दिनको घोषणा गर्न र शोक गर्नेहरू सबैलाई सान्त्वना दिन उहाँले मलाई पठाउनुभएको छ ।
”किनकि हेर, मैले नयाँ आकाश र नयाँ पृथ्वी सृष्टि गर्न लागेको छु । अनि पहिले कुराहरू याद हुने वा मनमा आउनेछैन ।
”किनकि, यो परमप्रभुको घोषणा हो, जसरी मैले बनाउने नयाँ आकाश र नयाँ पृथ्वी मेरो सामु रहनेछन्, त्यसरी नै तिमीहरूका सन्तानहरू र तिमीहरूको नाउँ मेरो सामु रहनेछ । एक महिनेदेखि अर्कोसम्म र एक शबाथ-दिनदेखि अर्कोसम्म सबै मानिसहरू मलाई दण्डवत गर्न आउनेछन्, परमप्रभु भन्नुहुन्छ । तिनीहरू बाहिर जानेछन् र मेरो विरुद्धमा विद्रोह गर्ने मानिसहरूको लासहरू हेर्नेछन्, किनकि तिनीहरूलाई खाने कीराहरू मर्नेछैनन् र तिनीहरूलाई जलाउने आगो निभ्नेछैन । यो सबै मानिसहरूका निम्ति एउटा घृणा हुनेछ ।"
”हेर, हरेक जीवित प्राण मेरै हो— बुबा र छोरा दुवै मेरा हुन् । जुन प्राणले पाप गर्छ, त्यही मर्नेछ ।
”जसै मैले हेरें, सिंहासनहरू तयार पारिएका थिए, र दिनहरूभन्दा प्राचीनले चाहिं आफ्नो आशन ग्रहण गर्नुभयो । उहाँका वस्त्र हिउँझैं सेता थिए, र उहाँको शिरको कपाल शुद्ध ऊनजस्तो थियो । उहाँको सिंहासनमा आगोको ज्वाला थियो, र त्यसका चक्काहरू बलिरहने आगो थियो । उहाँको सामुबाट आगोको नदी बग्यो । लाखौं-लाखले उहाँको सेवा गरे, र दस करोडचाहिं उहाँको सामु खडा थिए । अदालतले न्यायको काम सुरु गर्यो, र पुस्तकहरू खोलिए ।
”तर सर्वोच्च परमेश्वरका पवित्र मानिसहरूले त्यो राज्य प्राप्त गर्नेछन्, र तिनीहरूले सदासर्वदाको निम्ति त्यसको अधिकार गर्नेछन् ।’
”जसै मैले हेरें, त्यो सिङले पवित्र मानिसहरूका विरुद्ध युद्ध सुरु गर्यो र तिनीहरूलाई पराजित गर्दै थियो, जबसम्म दिनहरूभन्दा प्राचीन आउनुभएन, र सर्वोच्च परमेश्वरका पवित्र मानिसहरूलाई न्याय दिनुभएन । तब समय आयो जब पवित्र मानिसहरूले राज्य प्राप्त गरे ।
”उसले सर्वोच्च परमेश्वरका विरुद्ध बोल्नेछ र सर्वोच्च परमेश्वरका पवित्र मानिसहरूमाथि अत्याचार गर्नेछ । उसले चाडहरू र व्यवस्थालाई परिवर्तन गर्न कोसिस गर्नेछ । यी कुराहरूलाई उसको हातमा एक वर्ष, दुई वर्ष, र आधा वर्षको लागि दिइनेछ । तर अदालतले न्यायको काम सुरु गर्नेछ, र अन्त्यमा भष्म पारिन र नाश गरिनलाई तिनीहरूले उसका राजकीय शक्तिलाई खोस्नेछन् । राज्य र प्रभुत्व, र सम्पूर्ण स्वर्गमुनिका राज्यहरूको महान्ता ती मानिसहरूलाई दिइनेछ जो सर्वोच्च परमेश्वरका पवित्र मानिसहरू हुन् । उहाँको राज्य सदासर्वदाको राज्य हो, र अरू सबै राज्यहरूले उहाँको सेवा गर्नेछन् र उहाँको आज्ञा मान्नेछन् ।’
”“त्यो समयमा, तिम्रा मानिसहरूको रक्षा गर्ने महान् राजकुमार, मिखाएल खडा हुनेछन् । त्यहाँ विपत्तिको समय हुनेछ, जुन कुनै पनि जातिको सुरुदेखि त्यो समयसम्म कहिल्यै भएको थिएन । त्यो समयमा तिम्रा मानिसमध्ये हरेक, जसका नाम पुस्तकमा लेखिएका पाइनेछ, ती बचाइनेछन् । पृथ्वीको माटोमा सुतेकाहरूमध्ये धेरै जना, कोही अनन्तको जीवनको निम्ति, अनि कोही लाज र अनन्तको निन्दाको निम्ति फेरि उठ्नेछन् । बुद्धिमान् मानिसहरू माथि आकाशको उज्यालोझैं चम्कनेछन्, र धेरैलाई धार्मिकतामा डोर्याउनेहरू सदाको निम्ति ताराहरूझैं हुनेछन् । तर तिमी दानिएल, यी वचनलाई बन्द गर । अन्तको समयसम्म त्यो पुस्तकलाई मोहर लगाई राख । धेरै जना यता-उता दौडनेछन्, र ज्ञान बढ्नेछ ।”
”अन्तसम्म तिमी आफ्नै बाटो लाग, र तिमीले विश्राम पाउनेछौ । दिनहरूका अन्तमा तिमीलाई दिइएको ठाउँमा तिमी खडा हुनेछौ ।”
”किनकि सबै जातिहरूमाथि परमप्रभुको दिन नजिकै छ । तैंले जस्तो गरेको छस्, तँलाई त्यस्तै गरिनेछ । तेरा कामहरू तेरो आफ्नै थाप्लोमा फर्किनेछन् ।
”तर जब तिनले धेरै फरिसीहरू र सदुकीहरू बप्तिस्माको निम्ति तिनीकहाँ आएको देखे, तब तिनले तिनीहरूलाई भने, “विषालु सर्पका सन्तान हो, आउन लागेको क्रोधबाट भाग्न तिमीहरूलाई कसले चेतावनी दियो?
”रुखहरूको फेदमा बन्चरो अगि नै परिसकेको छ । यसकारण, असल फल नफलाउने हरेक रुख काटी ढालिनेछ, र आगोमा फ्याँकिनेछ ।
”उहाँको खलालाई राम्ररी सफा गर्न र धनसारमा उहाँको गहुँ थुपार्न उहाँको निफन्ने नाङ्लो उहाँको हातमा छ । तर उहाँले भुसलाई चाहिँ कहिल्यै निभाउन नसकिने आगोले डढाइदिनुहुनेछ ।”
”र यदि तिम्रो दाहिने आँखाको कारण तिमी ठोकर खान्छौ भने, त्यसलाई निकलिदेऊ र तिमीबाट टाढा फ्याँकिदेऊ । किनकि सम्पूर्ण शरीर नरकमा फ्याँकिनुभन्दा आफ्नो शरीरको कुनै एउटा भाग गुमाउनु नै तिम्रो लागि असल हुन्छ । र यदि तिम्रो दाहिने हातको कारण तिमी ठोकर खान्छौ भने, त्यसलाई काटिदेऊ र तिमीबाट टाढा फ्याँकिदेऊ । किनकि सम्पूर्ण शरीर नरकमा जानुभन्दा आफ्नो शरीरको कुनै एउटा भाग गुमाउनु नै तिम्रो लागि असल हुन्छ ।
”किनकि जुन इन्साफले तिमीहरूले इन्साफ गर्छौ, त्यही इन्साफले तिमीहरूको पनि इन्साफ हुनेछ । जुन नापले तिमीहरूले नाप्छौ, त्यही नापले तिमीहरू पनि नापिनेछौ ।
”साँघुरो ढोकाबाट भित्र पस । किनभने विनाशमा पुर्याउने ढोका र बाटो फराकिलो हुन्छन्, र त्यस बाटोबाट जाने मानिसहरू धेरै छन् । किनकि जीवनमा डोर्याउने ढोका र बाटो साँघुरो हुन्छन्, र त्यो भेट्टाउने थोरै मात्र छन् ।
”तिनीहरूका फलहरूद्वारा तिमीहरूले तिनीहरूलाई चिन्नेछौ । के मानिसहरूले काँडाको झाडीबाट अङ्गुर बटुल्छन्, वा काँडाको बिरुवाबाट अन्जीर टिप्छन् र? यसरी नै, हरेक असल रुखले असलै फल फलाउँछ, तर खराब रुखले खराबै फल फलाउँछ । एउटाअ सल रुखले खराब फल फलाउन सक्दैन, न त खराब रुखले असल फल नै फलाउन सक्छ । हरेक रुख जसले असल फल फलाउँदैन, त्यो काटिनेछ र आगोमा फालिनेछ । यसकारण, तिनीहरूका फलहरूद्वारा नै तिमीहरूले तिनीहरूलाई चिन्नेछौ ।
”‘प्रभु, प्रभु’ भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन्, तर स्वर्गमा हुनुहुने मेरा पिताको इच्छालाई पालन गर्ने मात्र स्वर्गको राज्यमा प्रवेश गर्नेछ । त्यस दिन धेरै मानिसले मलाई भन्नेछन्, ‘हे प्रभु, हे प्रभु, के तपाईंको नाउँमा हामीले अगमवाणी बोलेका थिएनौँ र? के तपाईंको नाउँमा भूतहरू धपाएनौँ र? र तपाईंको नाउँमा धेरै शक्तिशाली कामहरू गरेका थिएनौँ र?’ तब म खुलमखुला तिनीहरूलाई घोषणा गर्नेछु, ‘मैले तिमीहरूलाई कहिल्यै पनि चिनेको थिइनँ! ए दुष्ट काम गर्नेहरू हो, मबाट टाढा गइहाल्!’
”जसले तिमीहरूलाई ग्रहण गर्दैन वा तिमीहरूका वचन सुन्दैन, तिमीहरू त्यस सहर वा गाउँबाट निस्केर जाँदा, तिमीहरूका खुट्टाबाट धुलो टकटक्याइदेओ । साँच्चै म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा त्यस सहरको भन्दा सदोम र गमोराको इन्साफ बढी सहनीय हुन्छ ।
”तिनीहरूसँग नडराओ जसले शरीरलाई मार्दछन्, तर आत्मालाई मार्न सक्दैनन् । बरु, आत्मा र शरीर दुवैलाई नरकमा नष्ट गर्न सक्नुहुनेसँग डराओ ।
”न्यायको दिनमा तिमीहरूका निम्ति भन्दा टुरोस र सीदोनको निम्ति इन्साफ अझ बढी सहनीय हुनेछ । तँ कफर्नहुम, के तँ स्वर्गमा उचालिनेछस् भनी सम्झन्छस् । होइन, तँलाई तल पातालमा झारिनेछ । किनकि यदि तँमा गरिएका शक्तिशाली कार्यहरू सदोममा गरिएका भए, त्यो आजसम्म पनि रहिरहने थियो । तर म तिमीहरूलाई भन्दछु, कि इन्साफको दिनमा तेरो निम्ति भन्दा सदोम मुलुकको निम्ति सजिलो हुनेछ ।”
”र म तिमीहरूलाई भन्दछु, कि न्यायको दिनमा मानिसहरूले आफूले बोल्ने हरेक व्यर्थ वचनको निम्ति लेखा दिनेछन् । किनकि तिमीहरूका वचनद्वारा नै तिमीहरूको न्याय हुनेछ, अनि तिमीहरूकै वचनद्वारा तिमीहरू दोषी ठहरिनेछौ ।”
”बारीचाहिँ संसार हो; अनि असल बिउचाहिँ राज्यका पुत्रहरू हुन् । अनि सामाहरूचाहिँ दुष्टका छोराहरू हुन्, र त्यो शत्रु जसले ती सामाहरू छरे, त्योचाहिँ दुष्ट हो । फसलको कटनी संसारको अन्त हो, र कटनी गर्नेहरूचाहिँ स्वर्गदूतहरू हुन् । त्यसैले, जसरी सामाहरू बटुलिन्छन् र आगोमा जलाइन्छन्, यो संसारको अन्तमा यस्तै हुनेछ । मानिसका पुत्रले आफ्ना स्वर्गदूतहरूलाई पठाउनेछन्, र तिनीहरूले उनको राज्यबाट पाप ल्याउने सबै थोक र पाप गर्ने सबै जनालाई बटुल्नेछन् । तिनीहरूले तिनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ । तब धर्मी मानिसहरू उनीहरूका पिताको राज्यमा सूर्यझैँ चम्कनेछन् । जससँग कान छ, उसले सुनोस् ।
”फेरि, स्वर्गको राज्य समुद्रमा फ्याँकिएको जालजस्तो हो, अनि त्यसले सबै खालका प्राणीलाई बटुल्यो । जब त्यो भरियो, जालाहारीहरूले त्यसलाई समुद्रको किनारमा ताने । तब उनीहरू बसे अनि राम्रा कुराहरू भाँडाहरूमा बटुले । तर काम नलाग्ने चिजहरूलाई फ्याँकिदिए । संसारको अन्तमा यस्तै हुनेछ । स्वर्गदूतहरू आउनेछन् र धर्मीहरूका माझबाट दुष्टहरूलाई छुट्ट्याउनेछन् । उनीहरूले तिनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।
”किनकि दुष्ट विचारहरू, हत्या, व्यभिचार, कामुक अनैतिकता, चोरी, झुटो गवाही र अपमान हृदयबाट निस्कन्छन् ।
”किनकि एउटा मानिसले सारा जगत् प्राप्त गरेर आफ्नो जीवनचाहिँ गुमायो भने उसलाई के लाभ हुन्छ र? एउटा मानिसले आफ्नो जीवनको बदलामा के दिन सक्छ? किनकि मानिसका पुत्र आफ्ना पिताको महिमामा उहाँका स्वर्गदूतहरूसँग आउनेछन् । त्यसपछि उनले हरेक व्यक्तिलाई उसको कामअनुसारको प्रतिफल दिनेछन् ।
”र भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरूले पश्चात्ताप गरेर यी बालकजस्तो नभएसम्म, तिमीहरू अरू कुनै रीतिले स्वर्गको राज्यमा प्रवेश गर्नेछैनौ ।
”“स्वर्गको राज्य एउटा यस्तो राजाजस्तो हो, जसले आफ्नो छोराको निम्ति विवाह भोजको तयारी गरे । उनले भोजमा आउनको निम्ति निम्त्याइएकाहरूलाई बोलाउन आफ्ना नोकरहरू पठाए, तर तिनीहरू आउन मानेनन् ।
”तर जब राजा पाहुनाहरूलाई हेर्न भनी भित्र आए, त्यहाँ एक जना मानिस विवाहको पोशाक नलगाईकन भोजमा आएको उनले देखे । राजाले उसलाई भने, ‘मित्र, विवाहको पोशाक नलगाईकन तिमी यहाँ भित्र कसरी आयौ?’ अनि त्यस व्यक्तिले केही बोल्न सकेन । त्यसपछि राजाले आफ्ना नोकरहरूलाई भने, ‘यस मानिसका हात र खुट्टा बाँध, र यसलाई बाहिरी अन्धकारमा फालिदेओ, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।’
”ए सर्पहरू हो, साँपका सन्तानहरू, तिमीहरू नरकको दण्डबाट कसरी उम्कनेछौ?
”तर जो अन्तसम्म स्थिर रहन्छ, उसले उद्धार पाउनेछ ।
”तब स्वर्गको राज्य ती दस कन्याजस्तै हुनेछ जसले आ-आफ्ना बत्तीहरू लिएर दुलहालाई भेट्न गए । तिनीहरूमध्ये पाँच जना निर्बुद्धि र पाँच जना बुद्धिमती थिए । किनकि जब ती निर्बुद्धि कन्याहरूले आफ्ना बत्तीहरू लिए, तिनीहरूले आफूसँग कत्ति पनि तेल लगेनन् । तर बुद्धिमती कन्याहरू प्रत्येकले बत्तीहरूसँगै आ-आफ्ना तेलका भाँडाहरू पनि लगे । दुलहा आउन ढिला भएको हुनाले तिनीहरू सबै निन्द्रामा परे र सुते । तर मध्यरातमा एउटा आवाज आयो, ‘हेर, दुलहा! बाहिर जाऊ अनि उनलाई भेट ।’ त्यसपछि ती सबै कन्या उठे र आ-आफ्ना बत्तीहरूलाई ठिक्क पारे । निर्बुद्धि कन्याहरूले बुद्धिमतीहरूलाई भने, ‘हामीलाई तिमीहरूका केही तेल देऊ किनभने हाम्रा बत्तीहरू निभ्न लागेका छन् ।’ तर बुद्धिमती कन्याहरूले जवाफ दिए र भने, ‘तिमीहरू र हामी दुवैलाई प्रशस्त पुग्ने तेल नभएकोले, तेल बेच्नेहरूकहाँ जाओ र आफ्नो लागि तेल किन ।’ जब तिनीहरू तेल किन्न बाहिर गए, दुलहा आइपुगे अनि जति जना तयार थिए तिनीहरू विवाहको भोजमा उनीसँगै गए, अनि ढोका बन्द गरियो । केही समयपछि अरू कन्याहरू पनि आएर भने, ‘प्रभु, प्रभु, हाम्रो लागि खोलिदिनुहोस् ।’ तर उनले जवाफ दिएर भने, ‘साँच्चै म तिमीहरूलाई भन्दछु, म तिमीहरूलाई चिन्दिनँ ।’
”उसको मालिकले उसलाई भने, ‘स्याबास, असल र विश्वासयोग्य नोकर! तिमी थोरै कुरामा विश्वासयोग्य भएका छौ । म तिमीलाई धेरै कुरामाथि अधिकार दिनेछु । तिमी पनि आफ्नो मालिकको खुसीमा सामेल होऊ ।’
”जब मानिसका पुत्र आफ्नो महिमामा आउनेछन् र उनको साथमा सारा स्वर्गदूतहरू आउनेछन्, उनी आफ्नो महिमित सिंहासनमा विराजमान हुनेछन् । उनको सामुन्ने सारा जाति भेला गराइनेछन्, र जसरी गोठालाले आफ्ना भेडाहरूलाई बाख्राहरूबाट छुट्ट्याउँछ, त्यसरी नै उनले एउटा मानिसलाई अर्कोबाट छुट्ट्याउनेछन् । उनले भेडाहरूलाई आफ्नो दायाँ हातपट्टि र बाख्राहरूलाई आफ्नो बायाँपट्टि राख्नेछन् । त्यसपछि राजाले आफ्नो दाहिनेपट्टि भएकाहरूलाई भन्नेछन्, ‘आओ, तिमीहरू जो मेरा पिताद्वारा आशिषित् भएका छौ, संसारको सृष्टिदेखि नै तिमीहरूका लागि तयार पारिएको राज्यलाई अधिकार गर । किनकि म भोकाएको थिएँ, अनि तिमीहरूले मलाई खान दियौ; म प्यासी थिएँ र तिमीहरूले मलाई पिउन दियौ; म परदेशी थिएँ र तिमीहरूले मलाई भित्र आउन दियौ; म नाङ्गो थिएँ र तिमीहरूले मलाई लुगा पहिराइदियौ; म बिरामी थिएँ र तिमीहरूले मेरो वास्ता गर्यौ; म झ्यालखानामा थिएँ र तिमीहरू मकहाँ आयौ ।’ त्यसपछि धर्मी जनहरूले जवाफ दिई भन्नेछन्, ‘प्रभु हामीले कहिले तपाईंलाई भोकाउनुभएको देख्यौँ र तपाईंलाई खुवायौँ? वा तिर्खाउनुभएको देख्यौँ र तपाईंलाई पिउन दियौँ? र हामीले कहिले तपाईंलाई परदेशी भएको देख्यौँ र तपाईंलाई भित्र ल्यायौँ? र हामीले तपाईंलाई बिरामी वा झ्यालखानामा कहिले देख्यौँ र हामी तपाईंकहाँ आयौँ?’ र राजाले जवाफ दिनेछन् र तिनीहरूलाई भन्नेछन्, ‘साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरूले यहाँ मेरा भाइहरूमध्ये सानोभन्दा सानोलाई जे-जति गर्यौ, त्यो मेरो निम्ति नै गर्यौ ।’ त्यसपछि उनले आफ्नो बायाँ हातपट्टि भएकाहरूलाई भन्नेछन्, ‘हे श्रापितहरू, मबाट दूर भएर अनन्त आगोमा जाओ, जुन दुष्ट र त्यसका दूतहरूका लागि तयार गरिएको हो, किनभने म भोकाएको थिएँ, तर तिमीहरूले मलाई खान दिएनौ; म तिर्खाएको थिएँ, तर तिमीहरूले मलाई पिउन दिएनौ; म परदेशी थिएँ, तर तिमीहरूले मलाई भित्र लगेनौ; नाङ्गो थिएँ, तर तिमीहरूले मलाई पहिराएनौ; बिरामी थिएँ र झ्यालखानामा थिएँ, तर तिमीहरूले मेरो वास्ता गरेनौ ।’ त्यसपछि तिनीहरूले पनि जवाफ दिनेछन् र भन्नेछन्, ‘प्रभु, हामीले तपाईंलाई भोकाउनुभएको, वा तिर्खाउनुभएको, वा परदेशी, वा नाङ्गो, वा बिरामी हुनुभएको, वा झ्यालखानामा कहिले देख्यौँ र हामीले तपाईंको सेवा गरेनौँ?’ अनि उनले तिनीहरूलाई जवाफ दिनेछन् र भन्नेछन्, ‘साँच्चै म तिमीहरूलाई भन्दछु, यिनीहरूमध्ये सानोभन्दा सानोलाई तिमीहरूले जे गरेनौ, त्यो तिमीहरूले मेरो निम्ति गरेनौ ।’ यिनीहरू अनन्तको दण्डमा जानेछन् तर धर्मीहरूचाहिँ अनन्त जीवनमा प्रवेश गर्नेछन् ।”
”तर पवित्र आत्माको विरुद्धमा गरिने ईश्वर-निन्दा कहिल्यै क्षमा हुनेछैन, तर त्यो अनन्त पापको दोषी हुन्छ ।
”यदि कुनै नगरले तिमीहरूलाई स्वागत गरेन भने त्यो ठाउँ छोड, र तिनीहरूका निम्ति गवाहीको रूपमा आफ्नो पैतालाको धुलो टकटकाइदिनू ।”
”किनभने मानिसको भित्रबाट नै अर्थात् हृदयबाट नै दुष्ट विचार, यौन अनैतिकता, चोरी, हत्या, व्यभिचार, लोभ, दुष्टता, धोखा, कामुकता, ईर्ष्या, निन्दा, घमण्ड, मूर्खता निस्कन्छन् ।
”ममा विश्वास गर्ने यी सानामध्ये एक जनालाई ठेस खान लगाउनुभन्दा त, त्यसलाई त्यसको घाँटीमा ठुलो जाँतोको ढुङ्गा बाँधेर समुद्रमा फ्याँक्नु राम्रो हुने थियो । यदि तिम्रो हातले तिमीलाई ठेस खान लगाउँछ भने यसलाई काटेर फालिदेऊ । दुईवटा हात लिएर कहिल्यै ननिभ्ने आगोको नरकमा जानुभन्दा अपाङ्ग भएर जीवनमा प्रवेश गर्नु नै राम्रो हुन्छ । “जहाँ किराहरू कहिल्यै मर्दैनन् र आगो पनि कहिल्यै निभ्दैन ।” यदि तिम्रो खुट्टाले तिमीलाई ठेस खान लगाउँछ भने यसलाई काटेर फालिदेऊ । दुईवटा खुट्टा लिएर नरकमा फालिनुभन्दा त लङ्गडो भएर जीवनमा प्रवेश गर्नु नै असल हुन्छ । यदि तिम्रा आँखाले तिमीलाई ठेस खान लगाउँछ भने, यसलाई निकालेर फालिदेऊ । दुईवटा आँखा लिएर नरकमा फालिनुभन्दा एउटा मात्र आँखा लिएर परमेश्वरको राज्यमा प्रवेश गर्नु नै असल हुन्छ । जहाँ किराहरू मर्दैनन् र आगो पनि निभ्दैन ।
”जसले विश्वास गर्छ र बप्तिस्मा लिन्छ त्यो बचाइनेछ र जसले विश्वास गर्दैन त्यो दोषी ठहरिनेछ ।
”उहाँको खला सफा गर्न र अन्नलाई भण्डारमा जम्मा गर्नलाई उहाँको हातमा निफन्ने नाङ्लो छ । तर उहाँले भुसलाई चाहिँ कहिल्यै ननिभ्ने आगोमा जलाउनुहुनेछ ।
”तर कुनै पनि कुराहरू यसरी गुप्त छैनन् जुन प्रकट हुनै सक्दैनन् र कुनै पनि कुराहरू लुकेका छैनन् जुन कुरा थाहा नहोस् । यसकारण, तिमीले जे कुराहरू अन्धकारमा भनेका छौ, त्यो ज्योतिमा सुनिनेछ र जे कुरा तिमीले भित्री कोठामा कानमा भनेका छौ, त्यो घरको धुरीबाट घोषणा गरिनेछ । मेरा मित्रहरू, म तिमीलाई भन्दछु कि शरीरलाई मार्नेहरूसँग नडराओ किनकि त्यसपछि तिनीहरूले केही गर्न सक्दैनन् । तर म तिमीहरूलाई कोसँग डराउने भनी चेताउनी दिन्छु । त्यो व्यक्तिसँग डराओ जससित मारेपछि नरकमा फालिदिने अधिकार छ । हो, म तिमीलाई भन्दछु, उहाँसँग डराओ ।
”होइन, म तिमीहरूलाई भन्छु । तर यदि तिमीहरूले पनि पश्चात्ताप गरेनौ भने, तिमीहरू पनि यसरी नै नष्ट हुनेछौ ।
”कसैले उहाँलाई भन्यो, “प्रभु, के थोरै मानिसहरू मात्र बचाइन्छन् त?” त्यसैले उहाँले तिनीहरूलाई भन्नुभयो, “साँगुरो ढोका भएर पस्ने कोसिस गर, किनभने धेरैले प्रयास गर्नेछन्, तर पस्न सक्षम हुनेछैनन् । एक पटक घरको मालिक उठेर ढोका थुनेपछि, तिमीहरू बाहिर उभिएर ढोका ढक्ढक्याउँदै यसो भन्नेछौ, ‘प्रभु, हामीलाई भित्र आउन दिनुहोस् ।’ अनि उहाँले जवाफ दिएर तिमीहरूलाई भन्नुहुनेछ, ‘म तिमीहरूलाई चिन्दिनँ अर्थात् तिमी कहाँबाट आएको?’ तब तिमीहरूले भन्नेछौ, ‘हामीले तपाईंसँगै खायौँ, पियौँ र तपाईंले हाम्रा गल्लीहरूमा सिकाउनुभयो ।’ तर उहाँले जवाफ दिनुहुनेछ, ‘म तिमीहरूलाई भन्दछु, कि तिमीहरू कहाँबाट आएका हौ, म चिन्दिनँ । दुष्टहरू हो, मबाट गइहाल् ।’ जब तिमीहरूले परमेश्वरको राज्यमा अब्राहाम, इसहाक, याकूब र सबै अगमवक्ताहरूलाई देख्नेछौ, तिमीहरूलाई बाहिर फ्याँकिनेछ जहाँ रुवाइ र दाँत किटाइ हुनेछ ।
”तर जब तिमीले भोज दिन्छौ, गरिब, लुला-लङ्गडा र दृष्टिविहीनहरूलाई बोलाऊ । र तिमी आशिषित् हुनेछौ, किनकि तिनीहरूले तिमीलाई तिम्रो गुणा फिर्ता गर्न सक्दैनन् । किनकि धर्मीहरूको पुनरुत्थान हुँदा तिम्रो गुण तिरिनेछ ।”
”क्रुसमा टाँगिएको एक जना अपराधीले उहाँको गिल्ला गर्दै यसो भन्यो, “के तिमी ख्रीष्ट होइनौ? हामीलाई र आफैँलाई बचाऊ ।” तर अर्कोले त्यसलाई हप्काउँदै जवाफ दियो, “के तँ परमेश्वरको डर मान्दैनस्, तँ आफैँ यस्तो अवस्थामा छस्? हामी वास्तवमा यहाँ न्यायोचित रूपले छौँ, हामीले हाम्रो कामको उचित परिणाम पाइरहेका छौँ । तर यी मानिसले त कुनै गल्ती काम गरेका छैनन् ।” र उसले थप्यो, “येशू, तपाईं आफ्नो राज्यमा आउनुहुँदा, मलाई सम्झनुहोस् ।” येशूले त्यसलाई भन्नुभयो, “साँच्चै म तिमीलाई भन्दछु, आजै तिमी मसँगै स्वर्गलोकमा हुनेछौ ।”
”येशूले जवाफ दिनुभयो, “साँचो, साँचो म तिमीलाई भन्दछु, कोही पनि पानी र आत्माबाट नजन्मेसम्म ऊ परमेश्वरको राज्यमा पस्न सक्दैन ।
”किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एक मात्र पुत्र दिनुभयो, ताकि उहाँमा विश्वास गर्ने कोही पनि नमरोस्, तर उसले अनन्त जीवन पाओस् । किनकि परमेश्वरले यस संसारलाई दण्ड दिन होइन, तर उहाँद्वारा संसारलाई बचाउन आफ्ना पुत्र पठाउनुभयो । उहाँमा विश्वास गर्ने दण्डित हुँदैन, तर उहाँमा विश्वास नगर्ने अगि नै दण्डित भइसकेको छ, किनभने त्यसले परमेश्वरका एक मात्र पुत्रको नाउँमा विश्वास गरेको छैन । न्यायको कारण यही होः ज्योति संसारमा आउनुभएको छ, र मानिसहरूले ज्योतिभन्दा अन्धकारलाई नै रुचाए, किनभने तिनीहरूका कामहरू दुष्ट थिए । किनकि दुष्ट काम गर्ने हरेकले ज्योतिलाई घृणा गर्छ, र त्यो ज्योतितर्फ आउँदैन, ताकि त्यसका कार्यहरू प्रकट नहोऊन् । तापनि सत्य काम गर्ने ज्योतिमा आउँछ, ताकि परमेश्वरमा गरिएका त्यसका कामहरू प्रकट होऊन् ।
”पुत्रमा विश्वास गर्नेसँग अनन्त जीवन हुन्छ, तर पुत्रको अवाज्ञा गर्नेले जीवन देख्नेछैन, तर त्यसमाथि परमेश्वरको क्रोध पर्नेछ ।”
”साँचो, साँचो, जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुनेलाई विश्वास गर्छ त्यससँग अनन्त जीवन हुन्छ र त्यो दोषी ठहराइनेछैन, तर त्यो मृत्युबाट जीवनमा सरेको छ । साँचो, साँचो म तिमीहरूलाई भन्छु, समय आइरहेको छ र यो अहिले नै हो, जब मृतकहरूले परमेश्वरका पुत्रको सोर सुन्नेछन्, र ती सुन्नेहरू बाँच्नेछन् । किनकि जसरी पिता आफैँसँग जीवन छ, त्यसरी नै उहाँले पुत्रलाई पनि दिनुभएको छ, ताकि ऊ आफैँसँग जीवन होस्, र पिताले पुत्रलाई न्याय गर्ने अधिकार दिनुभएको छ । किनकि ऊ मानिसका पुत्र हो । यस कुरामा तिमीहरू अचम्म नमान, किनकि चिहानमा हुनेहरूले उसको सोर सुन्ने समय आइरहेको छ, र तिनीहरू चिहानबाट बाहिर आउनेछन्ः असल गर्नेहरू जीवनको पुनरुत्थानको निम्ति र दुष्ट काम गर्नेहरू न्यायको पुनरुत्थानको निम्ति ।
”किनकि मेरा पिताको इच्छा यही हो, कि पुत्रलाई देख्ने र उहाँमा विश्वास गर्ने सबैले अनन्त जीवन पाऊन् र अन्तिम दिनमा तिनीहरूलाई म जीवित पारूँ ।”
”मलाई पठाउनुहुने पिताले नखिँचेसम्म कोही पनि मकहाँ आउन सक्दैन र त्यसलाई अन्तिम दिनमा म जीवित पार्नेछु ।
”साँचो, साँचो, जसले विश्वास गर्छ, त्यससँग अनन्त जीवन हुन्छ ।
”मेरो शरीर खाने र रगत पिउनेसँग अनन्त जीवन हुन्छ र त्यसलाई अन्त्यको दिनमा म जीवित पार्नेछु ।
”त्यसैले, उहाँले फेरि तिनीहरूलाई भन्नुभयो, “म जाँदै छु; तिमीहरूले मलाई खोज्नेछौ । र तिमीहरूको पापमा मर्नेछौ । जहाँ म जाँदै छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ ।”
”मार्थाले उहाँलाई भनिन्, “म जान्दछु, कि तिनी अन्त्यको दिनको पुनरुथानमा फेरि जीवित हुनेछन्” । येशूले तिनलाई भन्नुभयो, “पुनरुथान र जीवन म नै हुँ; जसले मलाई विश्वास गर्छ, त्यो मरे तापनि जीवित हुनेछ ।
”अब यो संसारको न्याय हुन्छ, अब यस संसारको शासक फ्याँकिनेछ ।
”जसले मलाई इन्कार गर्छ, र मेरा वचनहरू ग्रहण गर्दैन, त्यसको न्याय गर्ने एक जना हुनुहुन्छः मैले बोलेको मेरो वचनले नै अन्त्यको दिनमा त्यसको न्याय गर्नेछ ।
”यदि कोही ममा रहँदैन भने त्यसलाई हाँगालाई झैँ फालिन्छ र त्यो सुक्छ; अनि तिनीहरूले हाँगाहरूलाई बटुल्छन् र आगोमा हाल्छन्, अनि तिनीहरूलाई जलाइन्छ ।
”परमेश्वरले उहाँलाई नै जिउँदा र मरेकाहरूको न्यायकर्ता हुन चुन्नुभएको छ भनी मानिसहरूलाई प्रचार गर्न र गवाही दिन उहाँले हामीलाई आज्ञा दिनुभयो ।
”यसकारण परमेश्वरले पहिलेको अज्ञानताको समयलाई ध्यान दिनुभएन, तर अहिले परमेश्वरले सबै ठाउँका सारा मानिसहरूलाई आफ्नो पापको पश्चात्ताप गर्ने आज्ञा गर्नुहुन्छ । किनभने उहाँले एक दिन निश्चित गर्नुभएको छ, जुन दिन आफूले चुन्नु भएको मानिसद्वारा उहाँले धार्मिकतामा संसारलाई न्याय गर्नुहुनेछ । परमेश्वरले उहाँलाई मृत्युबाट जीवित पार्नुभएर सबै मानिसहरूलाई यी मानिसको बारेमा प्रमाण दिनुभएको छ ।” जब एथेन्सका मानिसहरूले मृत्त व्यक्तिको पुनरुत्थानको बारेमा सुने, कसै-कसैले पावललाई गिज्याए तर अरूहरूले यसो भने, “हामी यो विषयमा तपाईंबाट फेरि सुन्नेछौँ ।”
”यी मानिसहरूले दुवै धर्मी र अधर्मी मृतकहरूको पुनरुत्थानको प्रतीक्षा गरेजस्तै, परमेश्वरमा मेरो पनि त्यस्तै दृढ विश्वास छ । र यसमा नै परमेश्वर र मानिसहरूको सामु सबै कुराहरूद्वारा विनादोषको विवेक पाउन म काम गर्छु ।
”तिनीहरूको सजगतामा पनि तिनीहरूले परमेश्वर हुनुभएकोमा सहमत नभएका हुनाले उहाँले तिनीहरूलाई तिनीहरूका निम्ति अनुचित कुरा गर्नलाई भ्रष्ट मनमा छोडिदिनुभयो । तिनीहरू अधार्मिकता, दुष्टता, लालच, र द्वेषले भरिएका छन् । तिनीहरू ईर्ष्या, हत्या, कलह, छल र दुष्ट विचारले पूर्ण छन् । तिनीहरू कुरौटे, निन्दा गर्ने, र परमेश्वरलाई घृणा गर्नेहरू हुन् । तिनीहरू हिंस्रक, घमण्डी र अहङ्कारी छन् । तिनीहरू दुष्ट थोकहरूका आविष्कारकहरू हुन् र आफ्ना आमाबुबाप्रति अनाज्ञाकारी भएका छन् । तिनीहरूमा समझ छैन, तिनीहरू अविश्वासयोग्य, स्वाभाविक प्रेमविनाका, र कृपारहित छन् । यसो गर्नेहरू मृत्युका भागीदार हुन्छन् भन्ने परमेश्वरको नियमलाई तिनीहरू जान्दछन् । तर तिनीहरू यी थोकहरू गर्ने मात्र होइनन्, तिनीहरू यसो गर्नेहरूसँग सहमत पनि हुन्छन् ।
”यसकारण, तिमीहरूलाई कुनै बहाना छैन । ए मानिस, तिमी जसले न्याय गर्छौ र तिमी अर्कालाई जेको निम्ति दोष लगाउँछौ तिमी आफैँ पनि त्यसैमा दोषी ठहराइन्छौ । किनकि तिमी न्याय गर्नेले पनि त्यही कुराहरू गर्छौ । तर यस्ता कुराहरू गर्नेहरूमाथि परमेश्वरको न्याय हुँदा सत्यताअनुसार हुन्छ भनी हामी जान्दछौँ । तर ए मानिस, यसलाई विचार गर कि तिमी आफैँले पनि त्यही गर्छौ यद्यपि तिमीले यी कुराहरू गर्नेहरूको न्याय गर्छौ । के तिमी परमेश्वरको इन्साफबाट उम्कनेछौ र? अथवा के तिमी उहाँको कृपाको प्रशस्तता, उहाँको दण्डको ढिलाइ र उहाँको धैर्यलाई तुच्छ ठन्छौ? के उहाँको भलाइ तिमीहरूलाई पश्चात्तापमा डोर्याउनलाई हो भन्ने तिमीहरू जान्दैनौ? तर तिमीहरूको कठोर र अपश्चात्तापी हृदयको कारण तिमीहरूले क्रोधको दिन अर्थात् परमेश्वरको धार्मिक न्याय प्रकट हुने दिनको निम्ति क्रोध थुपारिरहेका छौ । परमेश्वरले हरेकलाई त्यसको आफ्ना कर्महरूको नापअनुसार दिनुहुनेछः अटुट रूपमा सुकर्म गर्दै प्रशंसा, इज्जत र अमरत्वको खोजी गर्नेलाई उहाँले अनन्त जीवन दिनुहुनेछ । तर आफ्नै मात्र भलाइ खोज्ने, सत्यताको अवज्ञा गर्ने तर अधार्मिकताप्रति आज्ञाकारी हुनेहरूमाथि क्रोध र भयङ्कर रिस आइपर्नेछ । परमेश्वरले दुष्ट कार्य गर्ने हरेक मानव प्राणमाथि सङ्कट र दुःख ल्याउनुहुनेछ, पहिले यहूदीमाथि अनि ग्रिकहरूमाथि । तर असल काम गर्नेहरूमाथि प्रशंसा, इज्जत र शान्ति आउनेछ, पहिले यहूदी र त्यसपछि ग्रिकहरूमाथि । किनकि परमेश्वरले पक्षपात गर्नुहुन्न ।
”किनकि जतिले व्यवस्थाविना पाप गरेका छन्, तिनीहरू व्यवस्थाविना नै नष्ट हुनेछन् र जतिले व्यवस्थाप्रति पाप गरेका छन्, तिनीहरू व्यवस्थाद्वारा नै न्याय गरिनेछन् । किनकि परमेश्वरको सामु धर्मी ठहरिनेहरू व्यवस्था सुन्नेहरू होइनन्, तर व्यवस्था पालन गर्नेहरू नै धर्मी ठहरिनेछन् । किनकि गैरयहूदीहरू जससँग व्यवस्था छैन, तिनीहरूले स्वभावद्वारा नै व्यवस्थाका कुराहरू गर्छन् । तिनीहरू आफ्ना निम्ति आफैँ नै व्यवस्था हुन्, यद्यपि तिनीहरूसँग व्यवस्था छैन । यसैद्वारा व्यवस्थाले चाहेका कुराहरू तिनीहरूका हृदयमा लेखिएका छन् भन्ने देखाउँछ । तिनीहरूको विवेकले पनि तिनीहरूलाई गवाही दिन्छ र तिनीहरूका आफ्नै विचारले कि तिनीहरू आफैँलाई दोष दिन्छ कि प्रतिरक्षा गर्छ । अनि परमेश्वरप्रति पनि यही कुरो लागु हुन्छ । त्यो मेरो सुसमाचारअनुसार येशू ख्रीष्टद्वारा परमेश्वरले सबै मानिसहरूको गोप्य कुराहरूको इन्साफ गर्नुहुने दिन हुनेछ ।
”अब हामी जान्दछौँ, कि व्यवस्थाले जे भन्दछ त्यो व्यवस्थाको अधीनमा बस्नेहरू कै लागि भन्छ । यो हरेक मुख बन्द होस् भन्नाका लागि हो, ताकि सारा संसार परमेश्वरप्रति जवाफदेही हुन सकून् ।
”यो हाम्रो निम्ति पनि लेखिएको थियो, जसको निम्ति यो गनिनेछ, हामी जसले हाम्रा येशू प्रभुलाई मृत्युबाट जीवित पार्नुहुनेमा विश्वास गर्छौं । यो उहाँ नै हुनुहुन्छ जसलाई हाम्रा अपराधका लागि सुम्पिएको थियो, र हामीलाई धर्मी ठहराउन जीवित पारिएको थियो ।
”हामी बप्तिस्माद्वारा मृत्युमा उहाँसँगै गाडियौँ । ताकि जसरी ख्रीष्ट पिताको महिमाद्वारा मृतकहरूबाट जीवित पारिनुभयो, त्यसरी नै हामी जीवनको नवीनतामा हिँड्न सकौँ । किनकि यदि हामी उहाँको मृत्युको स्वरूपमा एक भएका छौँ भने हामी उहाँको पुनरुत्थानमा पनि एक हुनेछौँ ।
”तर अब तिमीहरूलाई पापबाट मुक्त गराइएको छ, अनि परमेश्वरको दास बनाइएको छ र तिमीहरूसित शुद्धिकरणको फल छ । किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सित्तैँको वरदानचाहिँ हाम्रा प्रभु येशू ख्रीष्टमा अनन्त जीवन हो ।
”त्यसकारण, अब ख्रीष्ट येशूमा भएकाहरूलाई दण्डको कुनै आज्ञा छैन । किनकि ख्रीष्ट येशूमा जीवनको आत्माको सिद्धान्तले मलाई पाप र मृत्युको सिद्धान्तबाट स्वतन्त्र बनाएको छ ।
”प्रिय हो, आफैँले बदला नलेओ, तर परमेश्वरको क्रोधमा छोडिदेओ । किनकि लेखिएको छ, “बदला लिने काम मेरो हो; मैले बदला लिनेछु”, परमप्रभु भन्नुहुन्छ ।
”तर तिमीहरू किन आफ्नो भाइको न्याय गर्छौ? अनि तिमी किन आफ्नो भाइलाई तुच्छ ठान्छौ? किनकि हामी सबै परमेश्वरको न्याय आसनको सामु खडा हुनेछौँ । किनकि यस्तो लेखिएको छ, परमप्रभु भन्नुहुन्छ, “जस्तो म जीवित छु, मेरो निम्ति हरेक घुँडा टेक्नेछ र हरेक जिब्रोले परमप्रभुको प्रशंसा गर्नेछ ।” यसैले, हामी हरेकले परमेश्वर स्वयम्लाई लेखा दिनुपर्नेछ ।
”तिमीहरू हाम्रा प्रभु येशू ख्रीष्टको दिनमा निर्दोष हुन सक भन्ने हेतुले उहाँले तिमीहरूलाई अन्तिमसम्म नै सुदृढ राख्नुहुनेछ ।
”किनकि जुन जग बसालिएको छ, त्यो बाहेक कसैले पनि अर्को जग बसाल्न सक्दैन, जुन जग ख्रीष्ट हुनुहुन्छ । यदि त्यस जगमाथि कसैले सुन, चाँदी, बहुमूल्य पत्थर, काठ, वा परालको प्रयोग गरेर निर्माण गर्छ भने उसको काम दिनमा प्रकट गरिनेछ, किनकि दिनको उज्यालोले त्यो प्रकट गर्नेछ । किनकि त्यो आगोमा प्रकट हुनेछ । हरेकको कामको गुणस्तरलाई आगोद्वारा जाँचिनेछ । यदि कसैले गरेको काम रहिरह्यो भने त्यसले इनाम प्राप्त गर्नेछ । तर यदि कसैको काम जलेर नष्ट भयो भने त्यसले नोक्सानी भोग्नुपर्नेछ । तर ऊ आफैँचाहिँ आगोबाट फुत्केझैँ बचाइनेछ ।
”यसकारण समय आउनुभन्दा अगि वा येशू आउनुभन्दा अगि कुनै पनि कुराको बारेमा न्याय नगर । उहाँले अन्धकारमा लुकाइएका कुराहरूलाई ज्योतिमा ल्याउनुहुनेछ, र हृदयका उद्देश्यहरू प्रकट गर्नुहुनेछ । त्यसपछि हरेकले परमेश्वरबाट आफ्नो प्रशंसा पाउनेछ ।
”अधर्मीहरूले परमेश्वरको राज्यमा उत्तराधिकार पाउदैनन् भनेर के तिमीहरूलाई थाहा छैन? झुटको विश्वास नगर । अनैतिक यौन-सम्बन्धहरू मूर्तिपूजकहरू, व्यभिचारीहरू, पुरुषगामीहरू, समलिङ्गीहरू, चोरहरू, लोभीहरू, मतवालाहरू, निन्दा गर्नेहरू, र ठगहरू कोही पनि परमेश्वरको राज्यको उत्तराधिकारी हुनेछैनन् । अनि तिमीहरूमध्ये कोही यस्तै थियौ । तर तिमीहरू शुद्ध परिएका छौ, तर तिमीहरू परमेश्वरमा अर्पण गरिएका छौ, येशू ख्रीष्टको नाउँमा हाम्रा परमेश्वरको आत्माद्वारा तिमीहरू परमेश्वरमा धर्मी ठहराइएका छौ ।
”तर यदि हामीले आफैँलाई जाँच गर्यौँ भने हामी न्यायमा पर्नेछैनौँ ।
”तर अब ख्रीष्ट मृतकहरूबाट जीवित पारिनुभएको छ र यसरी मरेकाहरूबाट जीवित भई उठ्नेमा उहाँ पहिलो फल हुनुभएको छ । किनकि मृत्यु एक जना मानिसबाट आयो र मृतकहरूको पुनरुत्थान पनि एक जना मानिसबाट नै आयो । किनकि जसरी आदममा सबैको मृत्यु हुन्छ, त्यसरी नै ख्रीष्टमा सबै जीवित परिनेछन् । तर प्रत्येक कुरा आफ्नै क्रमअनुसार हुनेछः ख्रीष्ट पहिलो फल हुनुहुन्छ र त्यसपछि ख्रीष्टमा भएकाहरू उहाँको आगमनमा जीवित पारिनेछन् । त्यसपछि अन्त्य आउनेछ, जुन बेला ख्रीष्टले राज्यलाई परमेश्वर पिताको हातमा सुम्पिदिनुहुनेछ । त्यस बेला उहाँले सबै शासन, सारा अख्तियार र सबै सामर्थ्यलाई उन्मूलन गरिदिनुहुनेछ । किनकि आफ्ना सबै शत्रुहरूलाई आफ्ना खुट्टामुनि नपारुञ्जेलसम्म उहाँले शासन गर्नुहुनेछ । नष्ट गर्नुपर्ने अन्तिम शत्रु मृत्यु हो । किनकि “उहाँले सबै कुरालाई उहाँको आफ्नो पाउमुनि ल्याउनुहुनेछ ।” तर “उहाँले सबै कुरा आफ्नो अधीनमा राख्नुभएको छ” भन्नाले यसको अर्थ हुन्छ कि सबै कुरा उहाँको अधीनमा राख्नेचाहिँ यसमा पर्नुहुन्न । जब सबै कुरा उहाँको अधीनमा राखिन्छन्, तब पुत्रको अधीनमा सबै कुराहरू राखिदिनेको अधीनमा उहाँ आफैँ आउनुहुनेछ । परमेश्वर पिता सबै कुरामा सर्वोच्च ठहरिन सक्नुभएको होस् भनेर यसो हुनेछ ।
”मृतकहरूको पुनरुत्थान पनि त्यस्तै हो । रोपिएको कुरा नष्ट भएर जानेछ र उठाइएको कुरा नष्ट हुनेछैन । त्यसलाई अनादरमा रोपिन्छ र महिमामा उठाइन्छ; त्यसलाई कमजोरीमा रोपिन्छ र शक्तिमा उठाइनेछ । त्यसलाई प्राकृतिक शरीरमा रोपिन्छ र आत्मिक शरीरमा उठाइन्छ । यदि प्राकृतिक शरीर हुन्छ भने आत्मिक शरीर पनि हुन्छ । त्यसैले, यस्तो पनि लेखिएको छ, “पहिलो मानिस आदम जीवित प्राण बन्यो ।” अन्तिम आदम जीवन दिने आत्मा बन्नुभयो । तर पहिले आएकोचाहिँ आत्मिक होइन, तर प्राकृतिक थियो त्यसपछि आत्मिक आयो । पहिलो मानिस भूमिको माटोबाट बनाइएको पृथ्वीको हो । दोस्रो मानिस स्वर्गबाट आएको हो । माटोबाट बनेको मानिसजस्तो हो; माटोबाट बनिएकाहरू पनि त्यस्तै हुन् । र स्वर्गको मानिस जस्तो छ, स्वर्गकाहरू पनि त्यस्तै हुन्छन् । जसरी हामी सबैले माटोबाट बनेको मानिसको रूप धारण गरेका छौँ, त्यसरी नै स्वर्गबाट आउनुभएका मानिसको रूपलाई धारण गरेका छौँ ।
”त्यसैले, अब भाइहरू हो म भन्छु कि मासु र रगत परमेश्वरको राज्यको हकदार हुन सक्नेछैन, न त विनाशी अविनाशिको हकदार हुन सक्छ । हेर! म तिमीहरूलाई गोप्य सत्य बताउँछुः हामी सबै मर्नेछैनौँ, तर हामी सबै परिवर्तन हुनेछौँ । हामीहरू एकै क्षणमा, आँखाको एक निमेषमा, तुरहीको अन्तिम आवाजमा परिवर्तन हुनेछौँ । किनकि तुरही बज्नेछ र मरेकाहरू अविनाशी शरीरमा जीवित पारिनेछन् र हामी परिवर्तन हुनेछौँ । किनकि विनाशीले शरीरले अविनाशी शरीरलाई धारण गर्नुपर्छ र यो मरणशील शरीरले अमरत्व धारण गर्नुपर्छ । यो विनाशी शरीरले अविनाशीलाई धारण गर्नेछ र यो मरणशील शरीरले अमरत्व धारण गरेपछि यसरी लेखिएको वचन पुरा हुन आउनेछः “मृत्यु विजयमा निलिएको छ ।”
”किनकि हामी सबै ख्रीष्टको न्याय आसनको अगाडि खडा हुनुपर्छ, ताकि हरेकले शरीरमा हुँदा गरेको असल वा खराब कार्यको निम्ति प्रतिफल पाओस् । त्यसकारण, परमेश्वरको भय जानेर नै हामी मानिसहरूलाई मनाउँछौँ । हामी को हौँ भन्ने कुरा परमेश्वरलाई थाहा छ । म आशा गर्छु कि तिमीहरूको विवेकमा यो कुरा स्पष्ट छ ।
”किनकि म तिमीहरूकहाँ आउँदा तिमीहरूलाई मैले चाहेजस्तै पाउँदिनँ कि भनेर म डराउँछु । मलाई तिमीहरूले चाहेजस्तै नपाऔला भनेर म डराउँछु । त्यहाँ वादविवाद, ईर्ष्या, रिसहरू पोख्ने काम, व्यक्तिगत स्वार्थ, कुरा काट्ने, घमण्ड र गडबडी होला भनेर म डराउँछु । म तिमीहरूकहाँ फेरि फर्केर आउँदा मेरा परमेश्वरले मलाई तिमीहरूका सामु विनम्र पार्नुहोला भनेर मलाई डर लाग्छ । त्यस्ता धेरै मानिसहरू जसले अपवित्रता र यौन अनैतिकता अनि कामवासनाको चाहनाबाट पश्चात्ताप गरेका छैनन्, तिनीहरूको कारण मैले शोक पर्नुपर्ला कि भनेर मलाई डर लाग्छ ।
”शरीरका कामहरू प्रत्यक्ष देख्न सकिने हुन्छन् । ती कामुक अनैतिकता, अपवित्रता, कामवासना, मूर्तिपूजा, तन्त्रमन्त्र, दुश्मनी, झैँझगडा, ईर्ष्या, क्रोध, स्वार्थ, फुट, गुटबन्दी, डाह, पियक्कडपन, मोजमज्जा र अरू यस्तै कुराहरू हुन् । मैले तिमीहरूलाई पहिले पनि चेतावनी दिएझैँ म फेरि चेतावनी दिन्छु, कि जसले यी कुराहरू गर्छन्, तिनीहरू परमेश्वरको राज्यका हकदार हुनेछैनन् ।
”धोकामा नपर । परमेश्वरको ठट्टा हुँदैन । मानिसले जे रोप्दछ, त्यसले त्यही नै कटनी गर्नेछ । किनकि जसले आफ्नै पाप-स्वभावमा बिउ छर्दछ, त्यसले विनाशको कटनी गर्नेछ, तर जसले आत्मामा बिउ छर्दछ, त्यसले आत्माबाट अनन्त जीवनको कटनी गर्नेछ ।
”अपार अनुग्रहद्वारा उहाँको प्रिय पुत्रमा हामीले रगतबाट छुटकारा अनि पापको क्षमा पाउदछौँ ।
”जस्तो विश्वासीहरूका लागि उपयुक्त हुन्छ, तिमीहरूको बिचमा कामुक अनैतिकता वा कुनै अशुद्धता वा कामवासनाको लालसाको बारेमा चर्चा नहोस् । नकि अश्लिलता, मूर्ख बोली वा अपमानजनक ठट्यौलीहरू होस् जुनचाहिँ अनुचित छन् । बरु धन्यवाद दिने काम होस् । तिमीहरूले यो निश्चय गर, कि कुनै कामुक रूपमा अनैतिक, अशुद्ध, वा लालसित व्यक्तिले ख्रीष्ट र परमेश्वरको राज्यमा कुनै उत्तराधिकार पाउँदैन, किनकि त्यो मूर्तिपूजक हो । तिमीहरूलाई कसैले पनि फोस्रा कुराहरूले धोखा नदिओस् । यी कुराहरूको कारण अनाज्ञाकारिताका पुत्रहरूमा परमेश्वरको क्रोध आउनेछ ।
”यसैकारण, अब म उहाँ र उहाँको पुनरुत्थानको शक्तिलाई जान्न चाहन्छु र उहाँका कष्टहरूमा सहभागी हुन चाहन्छु । उहाँको मृत्युको समरूपतामा म बद्लिन चाहन्छु, ताकि मैले मरेकाहरूबाटको पुनरुत्थानको कुनै किसिमले अनुभव गर्न सकूँ ।
”तर हाम्रो नागरिकता स्वर्गमा छ, जहाँबाट हामी मुक्तिदाता प्रभु येशू ख्रीष्टको प्रतीक्षा गर्दछौँ । उहाँले हाम्रो क्षुद्र शरीरलाई उहाँको जस्तै महिमित शरीरमा परिवर्तन गर्नुहुनेछ, जुन शरीर सबै कुराहरू उहाँको अधीनमा ल्याउनको निम्ति उहाँको शक्तिद्वारा बनाइएको छ ।
”उहाँले हामीलाई अन्धकारको शक्तिबाट छुटकारा दिनुभएको छ र हामीलाई उहाँका प्रिय पुत्रको राज्यमा सार्नुभएको छ । उहाँका पुत्रमा हामीले उद्धार अर्थात् पापको क्षमा पाएका छौँ ।
”तर अब परमेश्वरले तिमीहरूलाई ख्रीष्टको शरीरले मृत्युद्वारा मिलापमा ल्याउनुभएको छ । तिमीहरूलाई परमेश्वरले आफ्नो अगि पवित्र, दोषरहित तथा निर्दोष साबित गर्नको निम्ति यो गर्नुभयो, तिमीहरू स्थापित र बलियो हुँदै, तिमीहरूले सुनेका सुसमाचारको निश्चित आशाबाट टाढा नगई विश्वासमा निरन्तर अगाडि बढ्नुपर्छ । यो त्यही सुसमाचार हो जुन स्वर्गमुनि सृष्टि गरिएका सबै व्यक्तिलाई घोषणा गरिएको थियो । यो त्यही सुसमाचार हो, जसको म पावल दास भएको छु ।
”त्यसकारण, संसारका स्वभावहरू अर्थात् कामुक अनैतिकता, अशुद्धता, कामवासना, खराब इच्छा र लोभको अन्त्य गर, जुन मूर्तिपूजा हो । यी कुराहरू गर्ने अनाज्ञाकारीका छोराहरूमाथि परमेश्वरको क्रोध आउँछ । तिमीहरू पनि यी कुराहरूमा जिउँदा एक समय यसरी नै हिँड्थ्यौ । तर अब यी कुराहरू तिमीहरूले त्याग्नुपर्छ– रिस, क्रोध, खराब इच्छा, डाह र निन्दा, तिम्रो मुखबाट निस्कने फोहोर बोली । एक अर्कालाई नढाँट; कारण तिमीहरूले पुरानो मनुष्यत्वलाई त्यसको व्यवहारसमेत त्यागेका छौ ।
”किनकि अधार्मिकता गर्नेले उसले गरेको अधार्मिकताको कारण दण्ड पाउनेछ, र त्यसमा कुनै पक्षपात हुनेछैन ।
”हाम्रा प्रभु येशू उहाँका पवित्र जनहरूसँग आउनुहुँदा उहाँले हाम्रा पिताका सामु तिमीहरूलाई पवित्रतामा निष्कलङ्क बनाऊन् ।
”शान्तिका परमेश्वर आफैले तिमीहरूलाई पूर्ण रूपमा शुद्ध पारून्, र तिमीहरूका सम्पूर्ण आत्मा, प्राण, र शरीरलाई हाम्रा प्रभु येशू ख्रीष्टको आगमनमा दोषरहित राखून् ।
”यो परमेश्वरको धार्मिक न्यायको प्रष्ट चिन्ह हो, जसको कारणले तिमीहरू परमेश्वरको राज्यको योग्य ठहरिन्छौ, जुन राज्यको निम्ति तिमीहरू दुःख पनि भोग्दछौ । तिमीहरूलाई दुःख दिनेहरूलाई दुःख दिनु नै परमेश्वरको धार्मिकता हो, र येशू ख्रीष्ट स्वर्गबाट स्वर्गदूतहरूका शक्तिसाथ उहाँको आगमनमा आउनुहुँदा, हामीसँग दुःख भोगेकाहरूलाई छुटकारा मिल्नेछ । जसले परमेश्वरलाई चिन्दैनन् र तिनीहरू जसले हाम्रा प्रभु येशूको सुसमाचार पालन गर्दैनन्, उहाँले तिनीहरूलाई बलिरहेको आगोमा बदला लिनुहुनेछ । तिनीहरूले प्रभु र उहाँको शक्तिको महिमाको उपस्थितिबाट टाढा रहेर अनन्त विनाशको दण्ड भोग्नेछन्, तिमीहरूले हाम्रो गवाहीमा विश्वास गर्यौ । त्यसै गरी विश्वास गर्ने सबैद्वारा अचम्मित पार्नलाई र सबै सन्तहरूद्वारा महिमित हुनलाई उहाँ त्यो दिनमा आउनुहुन्छ ।
”तर यदि कसैले न्यायसँगत तवरले प्रयोग गर्छ भने व्यवस्था असल छ भन्ने हामीलाई थाहा छ । हामी यो पनि जान्दछौँ कि व्यवस्था धर्मी मानिसको निम्ति बनाइएको होइन, तर व्यावस्थाविहीन र विद्रोही मानिसहरूको निम्ति, अधर्मी र पापीहरूको निम्ति, ईश्वरहिन र अपवित्र हुनेहरूको निम्ति, आफ्ना बावुहरू र आमाहरूलाई मार्नेहरूको निम्ति, हत्याराहरूका निम्ति, अनैतिक यौनसम्बन्ध राख्ने मानिसहरूका निम्ति, समलिंगीहरूका निम्ति, दास बनाउनको लागि अपहरण गर्नेहरूका निम्ति, झूट बोल्नेहरूका निम्ति, झूटो गवाही दिनेहरूका निम्ति, र विश्वासयोग्य शिक्षाको विरूद्धमा हुनेहरूको निम्ति हो । यो मलाई सुम्पिएको धन्य परमेश्वरको महिमित सुसमाचार अनुसार छ ।
”र यी कुराहरूको प्रचार गर ताकि तिनीहरू निन्दारहित होऊन् ।
”किनभने हामीले संसारमा केही ल्याउनौँ । न त केही लान नै सक्ने छौँ ।
”यस आज्ञालाई हाम्रा प्रभु येशू ख्रीष्ट देखा नपरुन्जेल सिद्ध र दोषरहित राख ।
”यो भनाइ भरोसायोग्य छः “हामी उहाँसँगै मर्यौँ भने, हामी उहाँसँगै जीवित पनि हुनेछौँ । हामीले सह्यौँ भने, हामीले उहाँसँगै राज्य गर्नेछौँ । हामीले उहाँलाई इन्कार गर्यौँ भने, उहाँले पनि हामीलाई इन्कार गर्नुहुन्छ ।
”परमेश्वर र येशू ख्रीष्टको सामने जसले जिउँदा र मरेकाहरूको न्याय गर्न लाग्नुभएको छ, र उहाँको प्रकटीकरण र राज्यलाई ध्यानमा राखेर म तिमीहरूलाई कडा आज्ञा दिन्छुः
”म अगिबाट नै बलिको रूपमा अर्पित भइरहेको छु, मेरो बिदाइको समय आएको छ । मैले राम्रो प्रतिस्पर्धामा भाग लिएको छु; मैले दौड सिध्याएको छु; मैले विश्वासलाई जोगाइराखको छु । मेरो लागि धर्मिकताको मुकुट राखिएको छ, जुन त्यस दिनमा धार्मिक न्यायाधीश प्रभुले मलाई त्यो मुकुट दिनुहुनेछ, मलाई मात्र होइन तर उहाँको आगमनलाई प्रिय ठान्ने सबैलाई ।
”त्यसकारण, हामीले जे सुनेका छौँ त्यसमा हामीले सबैभन्दा बढी ध्यान दिनुपर्छ । त्यसैले, यसबाट बहकिएर हामी टाढा जानुहुँदैन । यदि स्वर्गदूतहरूद्वारा बोलिएको सन्देशको मान्यता भयो भने, र हरेक आज्ञा उल्लघङ्न गर्ने र अनाज्ञाकारीहरूले ठिक सजाय पाउँछन् भने र हामीले यति ठुलो मुक्तिको बेवास्ता गर्यौँ भने, तब हामी कसरी उम्कन सक्छौँ र? यो मुक्ति जुन पहिलो पल्ट प्रभुद्वारा नै घोषणा गरिएको थियो र जसले यो सुने हाम्रा निम्ति त्यो पक्का गरियो ।
”हरेक व्यक्ति एक पटक मर्न निश्चित छ, र त्यसपछि न्याय आउँदछ ।
”तब मैले भनेँ, “हेर्नुहोस्, पुस्तकको मुट्ठोमा मेरो बिषयमा लेखिएजस्तै तपाईंको इच्छा पुरा गर्न म यहाँ छु ।”
”हामीले एक अर्कालाई प्रेम र असल कामहरूले कसरी उत्साह दिने भन्ने कुरालाई विचार गरौँ । हामी एक-अर्कामा सँगसँगै भेला हुन नछोडौँ, जसरी कतिले छोडेका छन् । बरु, दिन नजिकै आएको हुनाले जतिसक्दो एकले अर्कालाई झन् बढी उत्साह देओ । किनकि यदि सत्यताको ज्ञान पाएर पनि हामी जानिबुझिकन पाप गरिरहन्छौँ भने, पापका लागि कुनै बलिदान बाँकी रहँदैन । त्यसको सट्टामा, न्यायको डरलाग्दो प्रतीक्षा र परमेश्वरका शत्रुहरूलाई भस्म पार्ने क्रोधको डरलाग्दो आगो मात्र रहनेछ ।
”किनकि यसो भन्नुहुनेलाई हामी जान्दछौँ, “बदला लिने काम मेरो हो; म बदला लिनेछु ।” र फेरि, “परमप्रभुले उहाँका मानिसहरूको न्याय गर्नुहुनेछ ।” जीवित परमेश्वरको हातमा पर्नु डरलाग्दो कुरा हो ।
”त्यसको सट्टामा, तिमीहरू सियोन पहाड र जीवित परमेश्वरको सहर स्वर्गीय यरूशलेम अनि दसौँ हजार स्वर्गदूतको उत्सवमा आएका छौ । तिमीहरू स्वर्गमा नाउँ दर्ता गरिएका पहिले जन्मेकाहरूको सभामा, सबैका न्यायकर्ता परमेश्वरकहाँ, अनि सिद्ध पारिएका धर्मी जनका आत्माहरूकहाँ आएका छौँ ।
”हरेकले विवाहलाई आदर गरोस् । विवाहको ओछ्यान नबिटुलियोस्, किनकि यौन दुराचारी मानिस र व्यभिचारीहरूलाई परमेश्वरले न्याय गर्नुहुनेछ ।
”किनकि अन्यजातिले इच्छा गरेजस्तो कामुकता, कुवासना, मद्यपान, मोजमज्जा, पियक्कडपन, असभ्य भोजहरू अनि घृणित मूर्तिपूजाहरूमा धेरै समय खर्च भइसकेको छ ।
”तिनीहरूले जीवित र मरेकाहरूको न्याय गर्न तयार हुनुहुनेलाई लेखा दिनेछन् । त्यसैले, मरिसकेकाहरूलाई यो वचन प्रचारिएको थियो । शरीरमा मानिसको रूपमा तिनीहरूको न्याय गरिएको भए तापनि आत्मामा तिनीहरू परमेश्वरअनुसार जिऊन् । सबै कुराको अन्त्य आउँदै छ । त्यसैले, आफ्नो मन ठिक ठाउँमा लगाओ र तिमीहरूका प्रार्थनाको खातिर आफ्नो विचारमा सचेत रहो ।
”किनकि यो परमेश्वरको परिवारबाट न्याय सुरु हुने समय हो । अनि यदि न्याय हामीबाट सुरु हुन्छ भने, परमेश्वरको वचन नमान्नेको अवस्था कस्तो होला?
”किनकि परमेश्वरले पाप गर्ने स्वर्गदूतहरूलाई त छोड्नुभएन । बरु, तिनीहरूलाई तल पातालमा सुम्पिदिनुभयो र इन्साफ नहुन्जेलसम्म साङ्लाले बाँधेर घोर अन्धकारमा राखिदिनुभयो ।
”त्यसैले, धर्मीहरूलाई परीक्षाबाट कसरी बचाउनुपर्छ र अधर्मीहरूलाई न्यायको दिनमा सजायको निम्ति कसरी तयारी राख्नुपर्छ भन्ने उहाँ जान्नुहुन्छ । यो विशेष गरी शरीरका भ्रष्ट इच्छाहरूमा जिउने र अधिकारलाई तुच्छ ठान्नेहरूको निम्ति हो । तिनीहरू हठी र स्वेच्छाचारी थिए । तिनीहरू महिमितहरूको निन्दा गर्न डराउँदैनन् । स्वर्गदूतहरूसँग मानिसहरूसित भन्दा धेरै शक्ति र दक्षता छ, तर उनीहरूले प्रभुको अगाडि तिनीहरूको विरुद्धमा निन्दापूर्ण न्याय ल्याउँदैनन् । तर यी अज्ञानी पशुहरू स्वाभाविक रूपमा नाश र नियन्त्रणको निम्ति बनाइएका हुन् । तिनीहरूले जे कुराको निन्दा गर्छन् त्यो जान्दैनन् । तिनीहरू नष्ट पारिनेछन् । आफैँले गरेका गलत कामहरूका परिणामले तिनीहरूलाई क्षति पुर्याउनेछ । तिनीहरू दिनमा आनन्दित रहन्छन् । तिनीहरू धब्बा र दागहरू हुन् । तिमीहरूसँग भोजमा बस्दा तिनीहरू आफ्ना छलमा आनन्द मनाउँछन् । तिनीहरूका आँखा व्यभिचारले भरिएका हुन्छन्; तिनीहरू पाप गरेर कहिल्यै अघाउँदैनन् । तिनीहरूले अस्थिर मनलाई नराम्रो काममा लोभ्याउँछन्; तिनीहरूका मनले लोभमा तालिम पाएका हुन्छन् र तिनीहरू श्रापित सन्तान हुन् । तिनीहरूले सही मार्गलाई त्यागेका छन् । तिनीहरू बरालिएर अधार्मिक कामको ज्याला लिन मन पराउने बोअरको छोरा बालामको पछि लाग्छन् । तर त्यसले आफ्नै अपराधको निम्ति हप्की पायो । एउटा नबोल्ने गधाले मानिसको आवाजमा बोलेर अगमवक्ताको पागलपनलाई रोकिदियो । यी मानिसहरू मूलविनाको पानीजस्ता छन् । तिनीहरू आँधीले उडाई लैजाने बादलजस्ता छन् । तिनीहरूको निम्ति घोर अन्धकार साँचिएको छ ।
”अनि स्वर्ग र पृथ्वी आगोको न्यायको निम्ति र दुष्टहरूको विनाशको लागि त्यही वचनद्वारा सुरक्षित राखिएको छ । प्रिय हो, यो कुरा नभुल कि प्रभुको लागि एक दिन एक हजार वर्ष र एक हजार वर्ष एक दिनझैँ हुन्छ । अरूले सोचेजस्तै परमेश्वर आफ्नो प्रतिज्ञाको बारेमा ढिलो गर्नुहुन्न, तर तिमीहरूको निम्ति उहाँ धैर्यवान् हुनुहुन्छ । उहाँ तिमीहरूमध्ये कोही पनि नाश होस् भन्ने चाहनुहुन्न, तर उहाँले सबैलाई पश्चात्ताप गर्ने समय दिने चाहना गर्नुहुन्छ ।
”तर परमेश्वरको समय चोरजस्तै गरी आउनेछ । ठुलो आवाजसहित आकाश बितेर जानेछ । आगोले तत्त्वहरू पगाल्नेछ र पृथ्वी अनि यसमा भएका कामहरू प्रकट हुनेछन् । सबै कुरा यसरी नै नाश गरिनेछन् भने तिमीहरू कस्ता मानिसहरू हुनुपर्ने हो? तिमीहरूले पवित्र र धर्मी जीवन जिउनुपर्छ । तिमीहरूले व्यग्रतासाथ परमेश्वरको आगमनको लागि आशा गर्नुपर्छ । त्यस दिन आकाशहरू आगोद्वारा नष्ट गरिनेछ र तत्त्वहरूलाई प्रचण्ड तापले पगाल्नेछन् । तर उहाँको प्रतिज्ञाअनुसार हामी नयाँ स्वर्ग र नयाँ पृथ्वीको पर्खाइमा छौँ, जहाँ धार्मिकताले बास गर्छ ।
”त्यसकारण प्रिय हो, तिमीहरूले यी कुराहरू गरेका हुनाले दागरहित र खोटरहित अनि उहाँको शान्तिमा हुनको निम्ति सक्दो प्रयास गर ।
”हेर, पिताले हामीलाई कस्तो किसिमको प्रेम दिनुभएको छ, कि हामीलाई परमेश्वरको सन्तान भनियोस् र हामी यही हौँ । यसैकारण, संसारले हामीलाई चिन्दैन, किनकि संसारले उहाँलाई चिनेन । प्रिय हो, अब हामी परमेश्वरका सन्तानहरू हौँ, र हामी के हुनेछौँ भन्ने अझ पनि प्रकट गरिएको छैन । हामी जान्दछौँ, कि जब येशू देखा पर्नुहुनेछ, हामी उहाँजस्तै हुनेछौँ, किनकि उहाँजस्तो हुनुहुन्छ त्यस्तै हामी उहाँलाई देख्नेछौँ ।
”हामी जान्दछौँ, कि हामी मृत्यु पार गरेर जीवनमा सरेका छौँ, किनकि हामी दाजुभाइहरूलाई प्रेम गर्छौं । जसले प्रेम गर्दैन, त्यो मृत्युमा रहन्छ । जसले आफ्नो भाइलाई घृणा गर्छ त्यो हत्यारा हो । अनि तिमीहरू जान्दछौ, कि कुनै पनि हत्यारासँग अनन्त जीवन हुँदैन ।
”न्यायको दिनमा हामीमा दृढता होस् भनेर यसैमा प्रेम हामीमाझ सिद्ध बनाइएको छ, किनभने उहाँ जस्तो हुनुहुन्छ, हामी यस संसारमा त्यस्तै छौँ ।
”अनि गवाही यही हो, कि परमेश्वरले हामीलाई अनन्त जीवन दिनुभयो, र यो जीवन उहाँका पुत्रमा छ । जससँग पुत्र छ, त्यससँग जीवन छ; जससँग परमेश्वरका पुत्र हुनुहुन्न, त्यससँग जीवन हुँदैन ।
”आफ्नो अधिकारको प्रतिष्ठालाई कायम नगरेका तर आफ्नो उचित बासस्थानलाई त्यागेका स्वर्गदूतहरूलाई परमेश्वरले अनन्तका साङ्लाहरूमा त्यस महान् दिनमा इन्साफको निम्ति पूर्ण अन्धकारमा राख्नुभएको छ । यो त सदोम र गमोरा र वरपरका सहरहरूजस्तै हो, जसले आफैँलाई कामुक अनैतिकतामा संलग्न गराए र तिनीहरू अस्वाभाविक अभिलाषाहरूको निम्ति लागिपरे । अनन्तको आगोमा दण्ड भोग्नेहरूको उदाहरणको रूपमा तिनीहरू प्रकट गरिए ।
”तिनीहरू समुद्रका भयङ्कर छालहरू हुन्, जसले आफ्ना निर्लज्जताको फिँज निकाल्दछन् । तिनीहरू बत्तिएका ताराहरू हुन्, जसको निम्ति अनन्त अँध्यारोको घोर अन्धकार साँचेर राखिएको छ ।
”उहाँ सबैको इन्साफ गर्न आउँदै हुनुहुन्छ । परमेश्वरको भय नमान्नेहरूले ईश्वरहीन रूपमा गरेका सबै काम, र परमेश्वरको भय नमान्ने पापीहरूले उहाँको विरुद्धमा बोलेका कठोर बोलीको दोष लगाउन उहाँ आउँदै हुनुहुन्छ ।”
”शङ्का गर्नेहरूसँग दयालु होओ । अरूहरूलाई आगोबाट बाहिर निकालेर बचाओ । अरूहरूसँग होसियारीसाथ दयालु होओ । शरीरद्वारा कलङ्कित भएको वस्त्रलाई समेत घृणा गर । अब तिमीहरूलाई लडखडाउनदेखि जोगाउन सक्नुहुने र उहाँको महिमामय उपस्थितिको सामु निष्कलङ्क बडो रमाहटसँग तिमीहरूलाई खडा हुन सक्षम बनाउनुहुने,
”जब मैले उहाँलाई देखेँ, म मरेतुल्य मानिसजस्तै भएर उहाँको पाउँमा परेँ । उहाँले आफ्नो दाहिने हात ममाथि राख्नुभयो र भन्नुभयो, “नडराऊ ।” पहिलो र अन्तिम म नै हुँ । म जीवित छु । म मरेको थिएँ, तर हेर, म सदाका निम्ति जीवित रहन्छु, अनि मृत्यु र पातालका साँचाहरू मसित छन् ।
”मण्डलीहरूलाई आत्माले के भन्नुहुन्छ, जसको कान छ त्यसले सुनोस् । जसले जित्छ, त्यसलाई म जीवनको रुखबाट खाने अनुमति दिनेछु जुनचाहिँ परमेश्वरको स्वर्गलोक हो’ ।”
”आत्माले मण्डलीहरूलाई के भन्दै हुनुहुन्छ, जसको कान छ त्यसले सुनोस् । विजय प्राप्त गर्नेलाई दोस्रो मृत्युद्वारा चोट पुर्याइनेछैन’ ।”
”जसले जित्छ, उसलाई सेतो वस्त्र पहिराइनेछ, र जीवनको पुस्तकबाट म उसको नाउँ कहिल्यै मेटाउनेछैन, अनि म मेरा पिता र उहाँका स्वर्गदूतहरूका सामु उसको नाउँ घोषणा गर्नेछु ।
”जसले जित्छ, उसलाई मेरो सिंहासनमा मसँग बस्नलाई अधिकार दिनेछु, जसरी मैले पनि जितेँ र त्यसरी नै म पनि मेरा पितासँग उहाँको सिंहासनमा बसेको छु ।
”तिनीहरूले चर्को सोरमा कराए, “सबैमाथिका शासक, पवित्र र साँचो, कहिलेसम्म तपाईंले हाम्रो रगतको बदला लिनुहुन्न र पृथ्वीमा बाँचिरहेकाहरूको न्याय गर्नुहुन्न?”
”तब सातौँ स्वर्गदूतले आफ्नो तुरही फुके, र स्वर्गमा ठुलो स्वरमा यसो भनियो, “संसारको राज्य हाम्रा प्रभु र उहाँका ख्रीष्टको राज्य भएको छ । उहाँले सदासर्वदा राज्य गर्नुहुनेछ ।”
”संसारका राष्ट्रहरू क्रोधित भएका थिए, तर तपाईंको क्रोध आएको छ । मृतकहरूको न्याय गर्ने समय आएको छ, र तपाईंका दास अगमवक्ताहरू सन्तहरू, जो विश्वासीहरू हुन्, र जो तपाईंको नाउँमा डराउँछन्, महत्त्वहीन र शक्तिशाली दुवैलाई इनाम दिने समय र पृथ्वीलाई नाश गर्नेहरूलाई नाश गर्ने समय आएको छ ।” तब स्वर्गमा परमेश्वरको मन्दिर खोलियो र मन्दिरभित्रै उहाँको करारको सन्दुक देखियो । त्यहाँ ज्योतिका चमकहरू, गर्जनहरू, चट्याङको आवाजसाथै भूकम्प गयो, र ठुला-ठुला असिना परेका थिए ।
”तिनीहरूका मुखमा कुनै झुट पाइएन; तिनीहरू दोषरहित थिए ।
”तिनले चर्को सोरसँग कराएर भने, “परमेश्वरसँग डराओ र उहाँलाई महिमा देऊ । किनकि उहाँको इन्साफको घडी आएको छ । उहाँलाई आराधना गर, जसले स्वर्ग, पृथ्वी, समुद्र र पानीका मुलहरू बनाउनुभयो ।”
”उसले पनि परमेश्वरको क्रोधबाट केही मद्य पिउनेछ, जुन उहाँको क्रोधको कचौरामा खन्याइएको छ । जसले यो पिउँछ त्यसलाई परमेश्वरका पवित्र स्वर्गदूतहरू र थुमाको अगाडि आगो र गन्धकमा यातना दिइनेछ । तिनीहरूको वेदनाबाट धुवाँ सदासर्वदाका निम्त माथितिर जान्छ; पशु र त्यसको मूर्ति पूज्नेहरू र त्यसको नाउँको छाप लिनेहरूले दिन वा रातमा कहिल्यै विश्राम पाउनेछैनन् ।
”पानीको स्वर्गदूतले यसो भनेको मैले सुनेँ, “तपाईं धर्मी हुनुहुन्छ, जो हुनुहुन्छ, हुनुहुन्थ्यो, र पवित्र जन हुनुहुन्छ, किनकि यी कुराहरूलाई तपाईंले न्याय गर्नुभयो । किनभने तिनीहरूले विश्वासी र अगमवक्ताहरूको रगत बगाएका छन्, तपाईंले तिनीहरूलाई रगत पिउन दिनुभयो, तिनीहरू यसैको योग्य छन् ।” वेदीले जवाफ दिएको मैले सुनेँ, “हो, सर्वशक्तिमान् परमप्रभु परमेश्वर, तपाईंका न्याय सत्य र धार्मिक छन् ।”
”यी कुरापछि मैले ठुलो सङ्ख्यामा भएका मानिसहरूले चर्को सोरले स्वर्गमा यस भनिरहेको जस्तो सुनेँ, “हल्लेलूयाह! मुक्ति, महिमा र शक्ति हाम्रा परमेश्वरका हुन् । उहाँको इन्साफ सत्य र न्यायपूर्ण छन् । किनभने उहाँले महान् व्यभिचारीणीलाई इन्साफ गर्नुभएको छ, जसले पृथ्वीलाई त्यसको अनैतिक यौनले भ्रष्ट पारेकी छे । उहाँले आफ्ना दासहरूका रगतको निम्ति बदला लिनुभएको छ, जुन त्यो आफैँले बगाएकी थिई ।” तिनीहरूले दोस्रो चोटि भने, “हल्लेलूयाह! त्यसबाटै सदाकालका निम्ति धुवाँ निस्किरहन्छ ।”
”स्वर्गदूतले मलाई भने, “यो लेखः ‘थुमाको विवाहको भोजमा निमन्त्रणा गरिएकाहरू धन्यका हुन् ।’ उनले मलाई यो पनि भने, ‘यी परमेश्वरका सत्य वचन हुन् ।’
”तब मैले स्वर्ग खोलिएको देखेँ, र मैले हेरेँ त्यहाँ एउटा सेतो घोडा थियो । त्यसमाथि सवार हुनुहुनेलाई सत्य र विश्वासयोग्य भनिन्थ्यो । उहाँले न्यायपूर्ण रूपमा इन्साफ र युद्ध गर्नुहुन्छ ।
”अनि मैले सिंहासनहरू देखेँ । त्यसमाथि बस्नुहुनेलाई न्याय गर्ने अधिकार दिइएको थियो । मैले परमेश्वरको वचन र येशूको गवाहीका निम्ति शिर काटिएका आत्माहरूलाई पनि देखेँ । तिनीहरूले पशु वा मूर्तिहरूलाई आराधना गरेनन्, र तिनीहरूले आफ्नो निधारमा वा हातमा छाप लगाउनलाई इन्कार गरे । तिनीहरू जीवित भए, र येशूसँगै एक हजार वर्षसम्म राज्य गरे । बाँकी रहेका मृतकहरू हजार वर्षको अन्त्य नभएसम्म जीवित भएनन् । यो पहिलो पुनरुत्थान हो ।
”त्यसपछि मैले एउटा महान् सेतो सिंहासन र त्यसमाथि विराजमान हुनुहुनेलाई देखेँ । उहाँको उपस्थितिबाट स्वर्ग र पृथ्वी भागेर टाढा गए, तर तिनीहरूका लागि जान त्यहाँ कुनै ठाउँ थिएन । मैले शक्तिशाली र कमजोर मृतकहरूलाई सिंहासनको अगाडि उभिरहेको देखेँ र पुस्तकहरू खोलिए । तब अर्को पुस्तक अर्थात् जीवनको पुस्तक पनि खोलिएको थियो । ती पुस्तकहरूमा लेखिएका विवरणअनुसार तिनीहरूका कामहरूका आधारमा मृतकहरूको न्याय भयो । समुद्रमा भएका मृतकहरूलाई त्यसले फिर्ता गरिदियो । मृत्यु र पातालले तिनीहरूमा भएका मृतकहरूलाई दिए, र तिनीहरूले गरेका कामअनुसार मृतकहरूको न्याय भयो । मृत्यु र पाताल अग्नि-कुण्डमा फालिए । यो अग्नि-कुण्ड दोस्रो मृत्यु हो । जीवनको पुस्तकमा कसैको नाउँ लेखिएको नभेट्टाइएमा त्यसलाई अग्नि-कुण्डमा फालियो ।
”अनि मैले नयाँ स्वर्ग र नयाँ पृथ्वी देखेँ, किनभने पहिलो स्वर्ग र पहिलो पृथ्वी बितिगए, र समुद्र त छँदै थिएन । तब परमेश्वरबाट दुलहाका लागि दुलहीझैँ सिङ्गारिएर तयार पारिएकी पवित्र सहर, नयाँ यरूशलेम स्वर्गबाट तल झरिरहेको मैले देखेँ । मैले सिंहासनबाट चर्को सोरमा यसो भनेको सुनेँ, “हेर, परमेश्वरको वासस्थान मानव-जातिसँग छ, र उहाँ तिनीहरूसँग बास गर्नुहुनेछ । तिनीहरू उहाँका मानिसहरू हुनेछन्, अनि परमेश्वर आफैँ तिनीहरूसँग हुनुहुनेछ र उहाँ तिनीहरूका परमेश्वर हुनुहुनेछ । उहाँले तिनीहरूका आँखाबाट आँशुका हरेक थोपा पुछिदिनुहुनेछ, र त्यहाँ कुनै मृत्यु हुनेछैन, वा शोक वा विलौना वा कष्ट पनि हुनेछैन । पहिलेका थोकहरू बितेर गएका छन् ।
”सिंहासनमा विराजमान हुनुहुनेले भन्नुभयो, “हेर, म सबै कुरा नयाँ बनाउनेछु ।” उहाँले भन्नुभयो, “यो लेख किनभने यी वचनहरू भरोसायोग्य र सत्य छन् ।” उहाँले मलाई भन्नुभयो, “यी कुराहरू सिद्धिएका छन् । म नै अल्फा र ओमेगा, सुरु र अन्त्य हुँ । जो तिर्खाउँछ उसलाई म सित्तैँमा जीवनको पानी मुहानबाट पिउन दिनेछु । जसले विजय प्राप्त गर्छ, त्यसले यी कुराहरूमाथि उत्तराधिकार गर्नेछ, र म त्यसको परमेश्वर हुनेछ, र ऊ मेरो छोरा हुनेछ । तर डराउनेहरू, अविश्वासीहरू, घिनलाग्दाहरू, हत्याराहरू, यौन-अनैतिकहरू, जादुगरहरू, मूर्तिपूजकहरू र झुट बोल्नेहरूको भाग बलिरहेको आगो र गन्धकको कुण्डमा हुनेछ । त्यो दोस्रो मृत्यु हो ।”
”र कुनै अशुद्ध थोक कहिल्यै त्यसभित्र पस्न पाउनेछैन, न त लाजमर्दो वा छलपूर्ण काम गर्नहरू त्यहाँ जान पाउनेछन्, तर थुमाको जीवनको पुस्तकमा नाउँ लेखिएकाहरू मात्र त्यहाँ पस्न पाउनेछन् ।
”जो अधर्मी छ, त्यसले निरन्तर अधर्म गरिरहोस् । जो अनैतिक छ, त्यसले अनैतिक घृणित काम गरिरहोस् । जो धार्मिक छ, त्यसले धार्मिक काम गरिरहोस् । जो पवित्र छ, त्यो निरन्तर पवित्र रहिरहोस् ।” “हेर, म चाँडै आउँदै छु । हरेकले गरेको काम अनुसारको इनाम मसँग छ ।
”