16 – मूर्तिहरूलाई चढाइएको खाना

यी सर्वशक्तिमान परमेश्वरका पवित्र वचनहरू हुन्।
हामी मानिसका शब्दहरूमा चासो राख्दैनौं।
परमेश्वरलाई प्रेम गर्ने जो कोहीका लागि... परमेश् वर यसो भन् नुहुन्छ: मूर्तिहरूलाई चढाइएको खाना.

शीर्ष ३ सबैभन्दा महत्वपूर्ण श्लोकहरू

तर म अन्यजाति मूर्तिपूजकहरूको बलिदानको बारेमा भन्दछु, कि तिनीहरूले यी कुराहरू भूतहरूलाई चढाउँछन्, परमेश्‍वरलाई होइन! तिमीहरू भूतहरूसँग सहभागी होओ भन्‍ने म चाहन्‍नँ । तिमीहरूले प्रभुको कचौरा र भूतहरूको कचौरा दुवैबाट पिउन सक्दैनौ । तिमीहरूले प्रभुको टेबुलमा र भूतहरूको टेबुल दुवैमा सङ्गति गर्न सक्दैनौ । अथवा के हामीले प्रभुलाई डाही बनाउने? के हामी उहाँभन्दा बलिया छौँ?

मानौँ, जो कोही ज्ञान भएको व्यक्‍तिले तिमीले मन्दिरमा बसेर खानेकुरा खाइरहेको देख्यो भने के उसको कमजोर विवेकले त्यो उसलाई मूर्तिलाई चढाइएको खानेकुरा खान आँट नदेला? मूर्तिहरूको वास्तविक प्रकृतिको बारेमा तिमीहरूको समझको कारणले गर्दा कमजोर भाइ नष्‍ट हुन्छ, जसको निम्ति ख्रीष्‍ट मर्नुभयो । त्यसैले, जब तिमीले आफ्नो भाइको विरुद्धमा पाप गरेर उनीहरूको कमजोर विवेकलाई चोट पुर्‍याउँछौ, तिमीले ख्रीष्‍टको विरुद्धमा पाप गर्छौ । त्यसकारण, यदि मैले खाएको खाना मेरो भाइलाई ठेसको कारण बन्छ भने, म फेरि कहिल्यै मासु खानेछैनँ, ताकि म मेरो भाइको पतनको कारण नबनूँ ।

तर मसँग तिम्रो विरुद्धमा यो कुरा छः जसले आफैँलाई अगमवादिनी भन्‍ने स्‍त्री ईजेबेललाई तिमीले सहेका छौ । त्यसका शिक्षाद्वारा मेरा सेवकहरूलाई अनैतिक पाप गर्न र मूर्तिहरूलाई चढाएका खानेकुरा खान लगाउँछे ।

क्यानोनिकल अर्डरमा प्रत्येक पद - 67 खण्डहरू

त्यसपछि याकूबले तिनको घराना र तिनीसित भएका सबैलाई भने, “तिमीहरूका बिचमा भएका विदेशी देवताहरू हटाइदेओ, र आफू-आफूलाई शुद्ध पारेर लुगाहरू फेर ।

मेरो अगि अरू कुनै देवी-देवता नमान्‍नू । आफ्नो निम्ति खोपेर माथि स्वर्गमा वा तल पृथ्वीमा वा पानीमुनि भएको कुनै पनि थोकको प्रतिमूर्ति नबनाउनू । तिनीहरूको अगि ननिहरनू वा तिनीहरूको पूजा नगर्नू किनकि म परमप्रभु तिमीहरूका परमेश्‍वर डाही परमेश्‍वर हुँ । म मलाई घृणा गर्ने पिता-पुर्खाहरूको दुष्‍टताको दण्ड तिनीहरूका सन्तानहरूको तेस्रो र चौथो पुस्तासम्म दिनेछु ।

मैले तिमीहरूलाई भनेका हरेक कुरामा ध्यान देओ । अरू देवी-देवताहरूको चर्चा नगर, न त तिमीहरूका मुखबाट तिनीहरूको नाउँ नै सुनियोस् ।

बरु, तैँले तिनीहरूका वेदीहरू भत्काइदिनू, तिनीहरूका ढुङ्गाका खम्बाहरू टुक्रा-टुक्रा पारिदिनू र तिनीहरूका अशेरा देवीका मूर्तिहरूलाई काटेर ढालिदिनू । किनकि तिमीहरूले म परमप्रभुबाहेक कुनै देवी-देवतालाई नपुज्नू । म डाह गर्ने परमेश्‍वर हुँ । त्यसैले त्यस देशका बासिन्दाहरूसित करार नबाँध्‍न होसियार हो किनकि तिनीहरूका देवी-देवताहरूका लागि तिनीहरूले वेश्या-वृत्ति गर्छन् र तिनीहरूले बलि गर्छन् । तब तिनीहरूमध्ये एउटाले तिमीहरूलाई निमन्त्रणा गर्नेछ अनि तिमीहरूले त्यसको बलिदान खानेछौ, अनि तिनीहरूका केही छोरीहरू आफ्ना छोराहरूका लागि ल्याउनेछौ अनि तिनीहरूका छोरीहरूले तिनीहरूका देवी-देवताहरूका निम्ति आफैलाई वेश्या-वृत्तिमा लगाउनेछन् अनि तिनीहरूले तिमीहरूका छोराहरूलाई पनि तिनीहरूका देवी-देवताहरूका निम्ति वेश्या-वृत्तिमा लैजानेछन् ।

मूल्यहीन मूर्तिहरूलाई नपछ्‍याओ, न त आफ्नै निम्ति धातुका ईश्‍वरहरू बनाओ । म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ ।

तिमीहरूले मेरो सामु अन्य कुनै देवी-देवता नमान्‍नू । आफ्नो निम्ति खोपेर माथि स्वर्गमा वा तल पृथ्वीमा वा पानीमुनि भएको कुनै पनि थोकको प्रतिमूर्ति नबनाउनू । तिनीहरूका सामु ननिहुरनू न त तिनीहरूको सेवा गर्नू किनकि म परमप्रभु तिमीहरूका परमेश्‍वर डाही परमेश्‍वर हुँ । म मलाई घृणा गर्ने पिता-पुर्खाहरूको दुष्‍टताको दण्ड तिनीहरूका सन्तानहरूको तेस्रो र चौथो पुस्तासम्म दिने छु ।

तिमीहरूले तिनीहरूलाई पराजित गर्दा परमप्रभु तिमीहरूका परमेश्‍वरले नै तिनीहरूलाई तिमीहरूकहाँ सुम्पिदिनुहुने छ र तिमीहरूले तिनीहरूलाई पूर्ण रूपमा नष्‍ट गर्नू । तिनीहरूसित कुनै करार नबाँध्‍नू, र तिनीहरूलाई कृपा नदेखाउनू । तिनीहरूसित विवाहको कुनै बन्दोवस्त नमिलाउनू । तिमीहरूले आफ्ना छोरीहरू तिनीहरूका छोराहरूलाई नदिनू, र आफ्ना छोराहरूका निम्ति तिनीहरूका छोरीहरू नलिनू । किनकि तिनीहरूले तिमीहरूका छोराहरूले अरू देवी-देवताहरूलाई पुजून् भनेर मलाई पछ्याउनबाट तिनीहरूलाई तर्काउने छन् । त्यसैले परमप्रभुको क्रोध तिमीहरूको विरुद्धमा दन्कने छ, र उहाँले तत्काल तिमीहरूलाई नष्‍ट गर्नुहुने छ । तिनीहरूसित यसरी व्यवहार गर्नूः तिनीहरूका वेदीहरू भत्काइदिनू; तिनीहरूका ढुङ्गाका खम्बाहरू टुक्राटुक्रा पारिदिनू; तिनीहरूका अशेरा देवीका खम्बाहरू काटेर ढालिदिनू र तिनीहरूका मूर्तिहरू आगोमा जलाइदिनू ।

खोपेर बनाइएका तिनीहरूका देवी-देवताहरूका प्रतिमूर्तिहरू जलाइदिनू । तिनलाई ढाक्‍ने सुनचाँदीको लोभ गरेर ती आफ्नो निम्ति नराख्‍नू । तिमीहरूले त्यसो गर्‍यौ भने तिमीहरू त्यसद्वारा पासोमा पर्ने छौ किनकि यो परमप्रभु तिमीहरूका परमेश्‍वरको निम्ति घृणित कुरो हो । तिमीहरूका घरमा कुनै पनि घृणित वस्तु ल्याएर त्यसको पुजा गर्न नथाल्नू । त्यसलाई पूर्ण रूपमा घृणा गर्नू र तिरस्कार गर्नू किनकि यो विनाशको निम्ति अलग गरिएको हो ।

तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरलाई बिर्सी अन्य देवी-देवताहरूको पछि लागेर तिनीहरूको पुजा गर्‍यौ र तिनीहरूको आराधना गर्‍यौ भने तिमीहरू निश्‍चय नै मर्ने छौ भनी म आज तिमीहरूको विरुद्धमा गवाही दिन्छु । परमप्रभु तिमीहरूका परमेश्‍वरको आवाजलाई ध्यान दिएनौ भने तिमीहरूकै सामु परमप्रभुले नष्‍ट गर्नुभएका जातिहरूजस्तै तिमीहरू नष्‍ट हुने छौ ।

मैले जे-जे आज्ञा दिन्छु, त्यसको पालन गर । यसमा नथप न त यसबाट हटाउने काम गर ।

तिनीहरूले आफ्ना अनौठा देवताहरूद्वारा परमप्रभुलाई डाही तुल्याए । तिनीहरूका घृणित कामहरूले तिनीहरूले उहाँलाई क्रोधित तुल्याए । तिनीहरूले भूतात्माहरूलाई बलि चढाए जो देव होइनन्, जसलाई तिनीहरूले चिनेका थिएनन्, जो भर्खरै देखा परेका थिए, जोदेखि तिमीहरूका पिता-पुर्खाहरू डराउँदैनथ्ये ।

शमूएलले जवाफ दिए, “परमप्रभुको आज्ञापालन गर्दाझैं होमबलिहरू र बलिदानहरूमा परमप्रभु प्रशन्‍न हुनुहुन्छ र? आज्ञा पालन बलिदान भन्दा उत्तम हो र सुन्‍नुचाहिं भेडाको बोसो भन्दा उत्तम हो । किनभने विद्रोह गर्नु मन्त्रतन्त्रको पापजस्तै हो अनि हठचाहिं दुष्‍टता र अधर्मजस्तै हो । तपाईंले परमप्रभुको वचनलाई इन्कार गर्नुभएको कारणले, उहाँले पनि तपाईंलाई राजा हुनबाट इन्कार गर्नुभएको छ ।

तिनीहरूले बालको मन्दिरको भित्र राखिएको ढुङ्गाको मूर्तिलाई घिसारेर बाहिर ल्याए, र ती आगो लगाइदिए । त्यसपछि तिनीहरूले बालको खम्बाहरू भँचिदिए र बालको मन्दिरलाई भत्काइदिए, अनि मानिसहरूले त्‍यसबाट शौचालय बनाए जसलाई मानिसहरूले आजसम्म प्रयोग गर्छन् ।

किनकि परमप्रभु महान्‌ हुनुहुन्‍छ, र उच्‍च प्रशंसा हुनुपर्छ, र सारा देवताहरूभन्‍दा बढी उहाँकै भय राखिनुपर्छ । किनकि जातिहरूका सबै देवताहरू केवल मूर्ति मात्र हुन्, तर परमप्रभुले त आकाशको सृष्‍टि गर्नुभयो ।

किनकि तिनले आफूलाई परास्‍त गर्ने दमस्‍कसका देवताहरूलाई बलिदान चढाए । तिनले भने, “अरामका राजाहरूका देवताहरूले उनीहरूलाई सहायता गरेका हुनाले म तिनीहरूलाई बलिदान चढाउनेछु, ताकि तिनीहरूले मलाई सहायता गरुन्‌ ।” तर तिनीहरू नै तिनको र सारा इस्राएलको पतनको कारण बने ।

किनकि परमप्रभु महान् हुनुहुन्छ र उहाँको ठुलो प्रशंसा हुनुपर्छ । अरू सबै देवताभन्दा बढी उहाँकै भय मान्‍नुपर्छ । किनकि जातिहरूका सबै देवता मूर्तीहरू हुन्, तर आकाश बनाउनुहुने परमप्रभु नै हुनुहुन्छ ।

जातिहरूको मूर्तीहरू सुन र चाँदी अर्थात् मानिसहरूका हातका काम हुन् । ती मूर्तीहरूका मुखहरू छन्, तर ती बोल्दैनन् । तिनीहरूका आँखाहरू छन्, तर तिनले देख्‍दैनन् । तिनीहरूका कानहरू छन्, तर तिनले सुन्दैनन् । तिनीहरूका नाकहरू छन्, तर तिनले सुँघ्दैनन् । ती मूर्तीहरूका हातहरू छन् तर छोएको तिनले थाहा पाउँदैनन् । तिनीहरूका खुट्टाहरू छन्, तर तिनीहरू हिंड्न सक्दैनन् । न त तिनीहरूले आफ्‍ना मुखबाट बोल्‍न सक्‍छन् । तिनीहरूलाई बनाउनेहरू तिनीहरूजस्तै छन्, तिनीहरूमा भरोसा गर्ने हरेक व्‍यक्‍ति त्‍यस्तै हुन्‍छ ।

जातिहरूका मूर्तीहरू सुन र चाँदीका मानसिहरूका हातका कामहरू हुन् । ती मूर्तीहरूका मुख छन्, तर तिनीहरू बोल्दैनन् । तिनीहरूका आँखा छन्, तर तिनीहरूले देख्दैनन् । तिनीहरूका कान छन्, तर तिनीहरूले सुन्दैनन्, न त तिनीहरूका मुखमा सास नै छ । तिनीहरूलाई बनाउनेहरू तिनीहरूजस्तै हुन्छन् जस्तो तिनीहरूमा भरोसा गर्ने हरेक व्‍यक्‍ति हुन्छ ।

किनकि त्यो दिनमा तिमीहरूका आफ्नै हातले पापपुर्ण किसिमले बनाएका चाँदीका मूर्तीहरू र सुनका मूर्तीहरूबाट प्रत्‍येक व्‍यक्‍ति मुक्‍त हुनेछ ।

तिनीहरूले उनीहरूका देवताहरूलाई आगोले जलाएका छन्, किनकि ति देवताहरू थिएनन् तर मानिसको हातले बनेका काठ र ढुङ्गाका काम मात्र थिए । त्यसैले अश्शूरीहरूले तिनीहरूलाई विनाश गरेका छन् ।

म परमप्रभु हुँ, मेरो नाउँत्यही हो । म आफ्‍नो महिमा अर्कोलाई दिनेछैन न म आफ्‍नो प्रशंसा मूर्तीहरूलाई दिन्‍छु ।

तिनीहरूलाई फर्काइनेछ, तिनीहरूलाई पुर्ण रूपमा लाजमा पारिनेछ, जसले कुँदिएको आकृतिहरूमा भरोसा गर्छन्, जसले धातुका आकृतिहरूलाई भन्छन्, “तपाईंहरू हाम्रा ईश्‍वरहरू हुनुहुन्छ” ।

अरू देवताहरूलाई धुप बालेर र तिनीहरूका आफ्नै हातले बनाएका वस्तुहरूलाई पुजा गरेर मलाई त्यागेका हुनाले तिनीहरूका सबै दुष्‍ट कामको विरुद्धमा म इन्साफ गर्नेछु ।

छोराछोरीले दाउरा बटुल्दैछन्, र बुबाहरू आगो बाल्दैछन् । तिनीहरूले मलाई चिढ्याउनलाई स्वर्गकी रानीको निम्ति फुरौला बनाउन स्‍त्रीहरू पिठो मुछ्दैछन्, र अरू देवताहरूका लागि अर्घबलि खन्याउँदैछन् । के तिनीहरूले साँच्‍चै मलाई चिढ्याउँदै छन् त? यो परमप्रभुको घोषणा हो, के लाज तिनीहरूमाथि नै आइपरोस् भनेर तिनीहरूले आफैलाई चिढ्याइरहेका होइनन् र? त्यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'हेर, यस ठाउँमा मानिस र पशु दुवैमाथि, शेतबारीका रूखहरू र जमिनका फलमाथि मेरो रिस र क्रोधको ज्वाला फुट्नेछ । यसले जलाउनेछ, र कहिल्यै निभाइनेछैन ।”

हरेक मानिस ज्ञानविना अज्ञानी भएको छ । धातुको काम गर्ने हरेक आफ्ना मूर्तिहरूबाट नै लाजमा परेको छ । किनकि त्यसले बनाएका मूर्तिहरू झूटा हुन् । तिनमा जीवन छैन । ती बेकम्मा छन्, गिल्ला गर्नेहरूको काम हुन् । तिनीहरूको दण्डको समयमा तिनीहरू नष्‍ट हुनेछन् ।

यसो भन्, 'हे यहूदाका राजाहरू र यरूशलेमका बासिन्दाहरू हो, परमप्रभुको वचन सुन । सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'हेर्, मैले यस ठाउँमाथि विपत्ति ल्याउनै लागेको छु, र यस विषयमा सुन्‍ने हरेकको कान झनझनाउने छ । तिनीहरूले मलाई त्यागेका र यस ठाउँलाई अपवित्र तुल्याका हुनाले म यसो गर्ने छु । यही ठाउँमा आफूले नचिनेका अन्य देवताहरूलाई तिनीहरूले बलिदान चढाउँछन् । तिनीहरू, तिनीहरूका पिता-पुर्खाहरू र यहूदाका राजाहरूले यही ठाउँमा निर्दोष रगत पनि बगाएका छन् ।

यसरी, यरूशलेमका घरानाहरू र यहूदाका राजाहरू, ती सबै घर जसका कौसीहरूमा अशुद्ध मानिसहरूले आकाशमण्‍डलका सबै ताराहरूको पुजा गरे र अरू देवताहरूलाई अर्घबलि चढाए, तिनीहरू तोपेतजस्तै हुनेछन्' ।”

तब आफ्‍ना पत्‍नीहरूले अरू देवताहरूलाई धुप बाल्दैथिए भनी थाहा पाएका त्यस ठुलो सभाका सबै मानिस र उक्‍त सभामा भएका सबै स्‍त्री अनि तल्लो र माथिल्लो मिश्रमा बस्‍ने सबै यहूदीले यर्मियालाई जवाफ दिए, तिनीहरूले भने, “परमप्रभुको नाउँमा तिमीले हामीलाई भनेका वचनका तिम्रा कुरा हामी सुन्‍नेछैनौं । किनकि हामीले गर्नेछौं भनेका सबै कुरा हामी निश्‍चय नै गर्नेछौं, अर्थात् स्वर्गकी रानीलाई धुप बाल्नेछौं, अनि यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा हामी, हाम्रा पुर्खाहरू, हाम्रा राजाहरू र हाम्रा अगुवाहरूले गरेझैं हामी तिनको निम्‍ति अर्घबलिहरू खन्याउनेछौं । तब हामी भोजनले भिपूर्ण हुनेछौं, र कुनै विपत्तिविना हाम्रो उन्‍नति हुनेछ । हामीले स्वर्गकी रानीलाई धुप बाल्न र उनलाई अर्घबलिहरू खन्याउन छोड्दा हामी सबै जनाले गरिबी भोग्दै थियौँ अनि हामी तरवार र अनिकालले मर्दै थियौँ ।” स्‍त्रीहरूले भने, “हामीले स्वर्गकी रानीको सामु धुप बाल्दा र उनलाई अर्घबलिहरू खन्याउँदा, उनको प्रतिरूपका फुरौलाहरू बनाउँदा र उनलाई अर्घबलिहरू चढाउँदा के हामीले आफ्ना पतिहरूले भनेको नमानेर यी कुराहरू गर्‍यौँ र?”

तब तिमीहरूका दुष्‍ट अभ्यासहरूका कारणले र तिमीहरूले गरेका घिनलाग्दा कुराहरूको कारणले उहाँले यसलाई सहन सक्‍नुभएन । तब तिमीहरूको देश उजाड, त्रास र सराप बन्यो, यसैले आजको दिनसम्म त्यहाँ एक जना बासिन्‍दा छैन । तिमीहरूले धुप बालेका र परमप्रभुको विरुद्धमा पाप गरेको कारणले अनि तिमीहरूले उहाँको स्‍वोर, उहाँको व्यवस्था, उहाँका विधानहरू वा उहाँका करारका आदेशहरू पालन नगरेको कारणले तिमीहरूको विरुद्धमा यो विपत्ति आएको हो, जस्तो आजको दिनसम्म छ ।”

हरेक मानिस ज्ञानविना अज्ञानी भएको छ । हरेक सुनार उसका मूर्तिहरूद्वारा लाजमा पारिएको छ । किनभने उसले ढालेर बनाएका प्रतिमूर्तिहरू झूटा हुन्, र तिनमा जीवन हुँदैन । ती बेकम्मा छन् । ती गिल्ला गर्नेहरूका काम हुन् । तिनीहरूको दण्डको समयमा ती नष्‍ट हुनेछन् ।

हजुरले आफैंलाई स्वर्गका परमप्रभुको विरुद्ध खडा गर्नुभएको छ । उहाँको भवनबाट तिनीहरूले ती भाँडाहरू ल्याए, जसबाट हजुर, हजुरका भारदारहरू, हजुरका पत्‍नीहरू, र उप-पत्‍नीहरूले दाखमद्य पिउनुभयो र हजुरले चादी र सुन, काँसा, फलाम, काठ र ढुङ्गाका मूर्तिहरूलाई पुज्नुभयो, ती मूर्तिहरू जसले देख्दैनन्, सुन्दैनन्, र केही पनि जान्दैनन् । हजुरको सास आफ्नो हातमा लिनुहुने र हजुरका सबै मार्ग जान्‍नुहुने परमेश्‍वरलाई हजुरले आदर गर्नुभएको छैन ।

मैले नचुनेका राजाहरूलाई, तिनीहरूले स्थापित गरेका छन् । तिनीहरूले मलाई नसोधी राजकुमारहरू नियुक्‍त गरेका छन् । आफ्‍ना चाँदी र सुनले, आफ्नै निम्ति तिनीहरूले मूर्तिहरू बनाएका छन्, तर तिनीहरूको विनाश हुनलाई नै यसो भयो ।”

जति धेरै तिनीहरूलाई बोलाइयो, तिनीहरू मबाट त्यति नै टाढा गए । तिनीहरूले बाल देवतालाई बलिदान चढाए, र मूर्तिहरूलाई धूप बाले ।

खोपेर बनाएको मुर्तिले तँलाई के लाभ हुन्छ? किनभने त्यो मुर्तिलाई खोपेर बनाउने, वा धातुलाई पगालेर मुर्ति बनाउनेचाहिँ झुटको शिक्षक हो, किनभने त्यसले यी बोल्न नसक्‍ने देवताहरू बनाएर आफ्नै हातका कलामाथि विश्‍वास गर्दछ ।

म अगमवक्‍ताहरू वा व्यवस्थालाई नष्‍ट गर्न आएको हुँ भनी नसोच । म तिनलाई नष्‍ट गर्न होइन, तर पुरा गर्न आएको हुँ । किनकि म तिमीहरूलाई साँचो रूपमा भन्दछु, कि स्वर्ग र पृथ्वी टलेर नगएसम्म र सबै कुरा पुरा नभएसम्म, व्यवस्थाको एउटै पनि कुरा वा बिन्दु बितेर जानेछैन । त्यसकारण, जसले यी आज्ञाहरूका सानाभन्दा साना कुरालाई भङ्ग गर्दछ र अरूलाई पनि त्यसो गर्न सिकाउँदछ, त्यो स्वर्गको राज्यमा सबैभन्दा तुच्छ ठहरिनेछ । तर जसले यी कुराहरूलाई मान्दछ र त्यही गर्न सिकाउँदछ, ऊ स्वर्गको राज्यमा सबैभन्दा उच्‍च ठहरिनेछ ।

येशूले भन्‍नुभयो, “के तिमीहरूले अझ पनि बुझेका छैनौ? के तिमीहरू देख्‍दैनौ, कि बाहिरबाट मानिसभित्र पस्‍ने कुराले त्यसलाई अशुद्ध पार्न सक्दैन, किनकि यो उसको हृदयमा जान सक्दैन, तर उसको पेटमा जान्छ र निस्‍केर शौचालयमा पुग्‍छ?” यो भनाइद्वारा येशूले सबै भोजनलाई शुद्ध तुल्याउनुभयो ।

जो अत्यन्तै थोरैमा विश्‍वासयोग्य हुन्छ, त्यो धेरैमा पनि विश्‍वासयोग्य हुन्छ र जो अत्यन्तै थोरैमा अधर्मी हुन्छ, त्यो धेरैमा पनि अधर्मी हुन्छ ।

कुनै पनि सेवकले दुई जना मालिकको सेवा गर्न सक्दैन, किनभने त्यसले एउटालाई घृणा गर्नेछ र अर्कोलाई प्रेम गर्नेछ अथवा एउटाप्रति भक्‍ति देखाउनेछ र अर्कोलाई तुच्छ ठान्‍नेछ । तिमीहरूले परमेश्‍वर र धनको सेवा गर्न सक्दैनौ ।”

जिउसका पूजाहारी, जसको मन्दिर सहरको बाहिरपट्टि थियो, उनले र भिडले ढोकामा गोरुहरू र फूलका मालाहरू ल्याए, किनभने तिनीहरूले बलिदान चढाउन चाहन्थे । तर जब प्रेरित पावल र बारनाबासले यो सुने, र तिनीहरूले आफ्ना लुगा च्याते र झट्टै कराउँदै मानिसहरूका भीडतिर गए । र भने, “ए मानिसहरू हो, यी कुराहरू तपाईंहरूले किन गरिरहनु भएको छ? हामी पनि तपाईंहरूजस्तै भावना भएका मानव जाति हौँ । हामीले तपाईंहरूलाई अर्थविहीन् कुराहरूबाट ती जीवित परमेश्‍वरतिर फर्कनुपर्छ भनेर सुसमाचार ल्याएका छौँ जसले स्वर्ग, पृथ्वी, समुद्र र तिनमा भएका हरेक थोक बनाउनु भयो ।

तर हामीले तिनीहरूलाई यो लेख्छौँ कि तिनीहरू मूर्तिहरूको अशुद्धताबाट, व्यभिचारबाट र घाँटी अठ्याएर मारेको मासु र रगतबाट अलग रहून् ।

किनभने यी आवश्यक कुराहरूभन्दा बढि ठुलो भार तपाईंहरूमाथि नबोकाउन पवित्र आत्मा र हामीलाई असल लाग्यो । तपाईंहरू मूर्तिहरूलाई चढाइएका बलिदानका कुराहरू, रगत, घाँटी अठ्याएर मारेको थोकहरू र यौन अनैतिकताबाट अलग रहनुहोस् । यदि तपाईंहरूले आफैँलाई यी कुराहरूबाट अलग राख्‍नुभयो भने तपाईंहरूलाई भलो हुनेछ । बिदा ।”

पावलले सिलास र तिमोथीलाई एथेन्समा पर्खंदै गर्दा, त्यो सहर मूर्ती नै मूर्तीले भरिएको देखेर उनको आत्मा उनीभित्र वेचैन भयो ।

यसकारण हामी परमेश्‍वरका सन्तान भएका हुनाले परमेश्‍वरलाई मानिसको कला वा विचारअनुसार सुन वा चाँदी वा ढुङ्गाबाट खोपेर बनाइएको चीज हो भनी ठान्‍नु हुँदैन । यसकारण परमेश्‍वरले पहिलेको अज्ञानताको समयलाई ध्यान दिनुभएन, तर अहिले परमेश्‍वरले सबै ठाउँका सारा मानिसहरूलाई आफ्नो पापको पश्‍चात्ताप गर्ने आज्ञा गर्नुहुन्छ । किनभने उहाँले एक दिन निश्‍चित गर्नुभएको छ, जुन दिन आफूले चुन्‍नु भएको मानिसद्वारा उहाँले धार्मिकतामा संसारलाई न्याय गर्नुहुनेछ । परमेश्‍वरले उहाँलाई मृत्युबाट जीवित पार्नुभएर सबै मानिसहरूलाई यी मानिसको बारेमा प्रमाण दिनुभएको छ ।”

तर विश्‍वास गर्ने अन्यजातिहरूको सम्बन्धमा, उनीहरूले आफैँलाई मूर्तिलाई बलि चढाएका कुराहरू, रगत, घाँटी निमोठेर मारेको कुरा, र व्यभिचारबाट अलग रहनुपर्छ भनी हामीले लेख्यौँ, र निर्देशन दियौँ ।” त्यसपछि पावलले ती मानिसहरूलाई लिए, र अर्को दिन तिनीहरू हरेकको निम्ति भेटी नचढाएसम्म, शुद्धिकरणको अवधि घोषणा गर्दै, तिनीहरूसँगै आफैँलाई मन्दिरमा शुद्ध पारे ।

तिनीहरूले बुद्धिमान्‌ भएको दाबी गरे, तापनि तिनीहरू मूर्ख नै भए । तिनीहरूले अविनाशी परमेश्‍वरको महिमालाई नाश हुने मानिस, चराचुरुङ्गी, चार खुट्टे जनावरहरू र घस्रने जन्तुहरूको प्रतिमासँग साटे ।

बहसहरूको बारेमा न्याय नगरीकनै विश्‍वासमा कमजोर हुनेलाई ग्रहण गर । एक जनासँग कुनै पनि थोक खाने विश्‍वास हुन्छ, अर्को जो कमजोर छ, त्यसले सागसब्जी मात्र खान्छ ।

तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो भन्‍ने कुरा के तिमीहरूलाई थाहा छैन, जो तिमीहरूभित्र रहनुहुन्छ, जसलाई तिमीहरूले परमेश्‍वरबाट पाएका छौ? तिमीहरू आफ्नै होइनौ भन्‍ने के तिमीहरूलाई थाहा छैन? किनकि तिमीहरू मोल तिरेर किनिएका थियौ । त्यसकारण, तिमीहरूको शरीरमा परमेश्‍वरलाई महिमा देओ! [टिपोटः केही पुराना प्रतिलिपिहरूमा यस्तो लेखिएको छ] यसकारण तिमीहरूको शरीर र आत्मामा परमेश्‍वरको महिमा गर, जुन परमेश्‍वरको हो । तर उत्तम प्रतिलिपिहरूमा यो छैन ।

मूर्तिलाई बलिदानको रूपमा चढाइएको खानेकुराको बारेमा भन्‍नुपर्दा हामीलाई थाहा छ कि “हामी सबैसँग ज्ञान छ ।” ज्ञानले घमण्ड ल्याउँदछ, तर प्रेमले उन्‍नति गराउँछ । यदि कसैले केही जान्दछु र म कोही हुँ भनी विचार गर्छ भने त्यो व्यक्‍तिले जति जान्‍नुपर्ने हो त्यति जानेको हुँदैन । तर यदि कसैले परमेश्‍वरलाई प्रेम गर्छ भने त्यो व्यक्‍ति उहाँद्वारा चिनिएको हुन्छ ।

त्यसकारण, मूर्तिलाई बलिदानको रूपमा चढाइएको खानेकुराको बारेमा हामीलाई थाहा छ कि “यस संसारमा भएको मूर्ति केही पनि होइन” र एक मात्र परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ । धेरै देवताहरू र प्रभुहरू भएजस्तै आकाशमा वा पृथ्‍वीमा नाम मात्रका देवताहरू होलान् । तर हाम्रा निम्ति “परमेश्‍वर पिता एक मात्र हुनुहुन्छ, जसबाट नै सबै कुरा हुन आए, र हामी उहाँकै निम्ति जिउँछौ; र एउटै प्रभु येशू ख्रीष्‍ट जसद्वारा सबै कुरा अस्तित्वमा आउँछन् र जसद्वारा नै हामी अस्तित्वमा छौँ ।”

तापनि यो ज्ञान सबैमा हुँदैन । कति जनाले पहिले मूर्तिपूजा गर्थे र तिनीहरूले यो खानेकुरा मूर्तिलाई नै चढाइएको मानेर खान्छन् । तिनीहरूको विवेक कमजोर भएको कारण भ्रष्‍ट भएको छ । तर खानेकुराले हामीलाई परमेश्‍वरमा स्वीकारयोग्य बनाउँदैन । हामीले यो खाँदैमा बढी असल हुँदैनौँ र नखाँदैमा बढी खराब पनि हुँदैनौँ । तर होसियार होओ । तिम्रो स्वतन्‍त्रता कमजोर विश्‍वास भएकाहरूलाई ठेसको कारण नबनोस् । मानौँ, जो कोही ज्ञान भएको व्यक्‍तिले तिमीले मन्दिरमा बसेर खानेकुरा खाइरहेको देख्यो भने के उसको कमजोर विवेकले त्यो उसलाई मूर्तिलाई चढाइएको खानेकुरा खान आँट नदेला? मूर्तिहरूको वास्तविक प्रकृतिको बारेमा तिमीहरूको समझको कारणले गर्दा कमजोर भाइ नष्‍ट हुन्छ, जसको निम्ति ख्रीष्‍ट मर्नुभयो । त्यसैले, जब तिमीले आफ्नो भाइको विरुद्धमा पाप गरेर उनीहरूको कमजोर विवेकलाई चोट पुर्‍याउँछौ, तिमीले ख्रीष्‍टको विरुद्धमा पाप गर्छौ । त्यसकारण, यदि मैले खाएको खाना मेरो भाइलाई ठेसको कारण बन्छ भने, म फेरि कहिल्यै मासु खानेछैनँ, ताकि म मेरो भाइको पतनको कारण नबनूँ ।

त्यसकारण, मेरा प्रियहरू हो, मूर्तिपूजाबाट अलग बस । म समझदार मानिसहरूसित बोलेजस्तै तिमीहरूसित बोल्दछु, ताकि तिमीहरूले मैले भनेको कुरा जाँच गर्न सक ।

इस्राएलका मानिसहरूलाई हेरः के वेदीमा चढाइएको बलि खानेहरू वेदीका सहभागी होइनन् र? त्यसो भए, म के भन्दै छु? के त्यो मूर्ति कुनै कुरा हो? अथवा मूर्तिमा चढाइएको बलिदान केही कुरा हो? तर म अन्यजाति मूर्तिपूजकहरूको बलिदानको बारेमा भन्दछु, कि तिनीहरूले यी कुराहरू भूतहरूलाई चढाउँछन्, परमेश्‍वरलाई होइन! तिमीहरू भूतहरूसँग सहभागी होओ भन्‍ने म चाहन्‍नँ । तिमीहरूले प्रभुको कचौरा र भूतहरूको कचौरा दुवैबाट पिउन सक्दैनौ । तिमीहरूले प्रभुको टेबुलमा र भूतहरूको टेबुल दुवैमा सङ्गति गर्न सक्दैनौ । अथवा के हामीले प्रभुलाई डाही बनाउने? के हामी उहाँभन्दा बलिया छौँ?

“हरेक कुरा न्यायसङ्गत छ”, तर सबै कुरा फाइदाजनक छैनन् । “सबै कुरा न्यायसङ्गत छन्”, तर सबै कुराले मानिसको निर्माण गर्दैनन् । कसैले पनि आफ्नै भलाइ मात्र नखोजोस् । बरु, हरेकले आफ्नो छिमेकीको भलाइ खोजोस् । तिमीहरूले बजारमा जे बेचिन्छ त्यसलाई विवेकका खातिर कुनै प्रश्‍न नगरी खान सक्छौ । किनकि “पृथ्‍वी प्रभुको हो र त्यसमा भएका सबै कुरा उहाँकै हुन् ।” तिमीहरूलाई विश्‍वास नगर्ने कुनै व्यक्‍तिले खानलाई निम्तो दिन्छ र तिमीहरू जान इच्छा गर्छौ भने तिमीहरूको अगाडि खानलाई राखिएको कुरा विवेकको खातिर पनि प्रश्‍न नसोधी खाओ । तर कसैले तिमीहरूलाई “यो खाना मूर्तिपूजामा चढाइएको खाना हो” भन्यो भने त्यो नखाओ । योचाहिँ जसले तिमीहरूलाई जानकारी दियो उसको र तिमीहरूको विवेकको खातिर हो । मैले तिमीहरूको आफ्नो विवेकको बारेमा भनेको होइनँ, तर अरू व्यक्‍तिको विवेकको बारेमा भनेको हुँ । किनकि अरूको विवेकलाई मेरो स्वतन्‍त्रताको न्याय हुन किन दिने र? म कृतज्ञतासाथ खानामा सहभागी हुन्छु भने मैले धन्यवाद दिएको कुरामा म किन निन्दित हुने?

त्यसकारण, तिमीहरूले जे खान्छौ वा पिउँछौ, वा तिमीहरू जे गर्छौ, सबै परमेश्‍वरको महिमाको निम्ति गर । तिमीहरूले यहूदीहरू वा ग्रिकहरूको अथवा परमेश्‍वरको मण्डलीको अपमान नगर । म सबै मानिसहरूलाई सबै कुरामा खुसी पार्ने कोसिस गर्छु । म आफ्नो भलाइ खोज्दिनँ, तर धेरैको भलाइ खोज्छु । धेरैले उद्धार पाऊन् भनेर म यो गर्दछु ।

अविश्‍वासीहरूसँगै ननारिओ । किनकि धार्मिकताको व्यवस्थाविहीनहरूसित के सहभागिता? अनि ज्योतिको अन्धकारसित के सङ्गति? ख्रीष्‍टको झुटा बोल्नेहरूसित के सम्झौता? अर्थात्, विश्‍वासीहरूको अविश्‍वासीहरूसँग के सहभागिता? र परमेश्‍वरको मन्दिर र मूर्तिहरूबिच के सम्झौता? त्यसकारण, हामीहरू जीवित परमेश्‍वरका मन्दिर हौँ, जसरी उहाँले भन्‍नुभएको छः “म तिनीहरूका बिचमा हिँड्नेछु र बास गर्नेछु । म तिनीहरूका परमेश्‍वर हुनेछु र तिनीहरू मेरा मानिसहरू हुनेछन् ।” त्यसकारण, ‘तिनीहरूका माझबाट बाहिर निस्केर आओ र आफूलाई अलग गर,’ परमप्रभु भन्‍नुहुन्छ । अशुद्ध चिजहरूलाई नछोओ र म तिमीहरूलाई अपनाउनेछु ।

यसैकारण, अब कसैले तिमीहरूलाई खानेकुरा वा पिउनेकुरा वा चाडको दिनको बारेमा वा औंसी वा शबाथ-दिनको विषयमा दोष लगाउन नदेओ । यिनीहरू आउनेवाला थोकहरूका छायाँ मात्र हुन् तर वास्तविकता ख्रीष्‍ट हुनुहुन्छ ।

यदि यस संसारका तत्त्वहरूप्रति तिमीहरू ख्रीष्‍टसँगै मरेका छौ भने, किन तिमीहरू यस संसारमा समर्पित भएर जिउँछौ? “नसमात, नचाख, नछोऊ ।” मानिसहरूका निर्देशनहरू र शिक्षाहरूअनुसार, यी सबै कुराहरू प्रयोगसँगै नष्‍ट हुन्छन् । यी नियमहरूमा मानिस आफैँले बनाएका धर्म र नम्रता र शरीरको कठोरताका ज्ञान छन् । तर शरीरको विलासिताको विरुद्धमा यिनीहरूको कुनै मोल छैन ।

हाम्रो विषयमा तिनीहरू आफैले भन्दछन्, कि हामीलाई तिमीहरूले कस्तो प्रकारले स्वीकार गरेका थियौ र कसरी तिमीहरू मूर्तिपूजा गर्न छोडेर जीवित र साँचो परमेश्‍वरको सेवा गर्न फर्क्यौ ।

अहिले आत्माले प्रष्‍टसँग भन्‍नुहुन्छ कि पछि आउने समयमा केही मानिसहरूले विश्‍वासलाई त्याग्‍नेछन् र छली आत्माहरू र भूतप्रेतका शिक्षाहरू तिर ध्यान दिनेछन् । झूटा कपटहरू ध्‍यान दिनेछन् । तिनीहरूको आफ्नै विवेक तातो फलामले दामिनेछ । तिनीहरूले विवाह गर्न र खाना खान मनाही गर्नेछन् जून कुरा सत्यलाई जान्‍ने विश्‍वासीहरूको बीचमा धन्यवाद दिएर बाँडचुड गर्नलाई परमेश्‍वरले सृष्‍टि गर्नुभयो । किनकि परमेश्‍वरले सृष्‍टि गर्नुभएको हरेक चिज असल छ । हामीले धन्यवाद दिएर लिएका कुनै कुराहरू इन्कार गरिनु हुन्‍न । किनकि यो परमेश्‍वरको वचन र प्रार्थनाद्वारा त्यसलाई समर्पित गरिएको छ ।

आफैँलाई धोका दिने गरी वचन सुन्‍ने मात्र होइन, तर पालन पनि गर । किनकि यदि कोही वचन सुन्‍ने मात्र व्यक्‍ति हो, तर पालन गर्ने व्यक्‍ति होइन भने ऊ ऐनामा आफ्नो स्वाभाविक अनुहार जाँच्‍ने मानिसजस्तै हो । उसले आफैँलाई जाँच्छ र गइहाल्छ र ऊ कस्‍तो थियो भन्‍ने कुरा तुरुन्तै बिर्सिहाल्‍छ ।

पाप गर्ने हरेकले व्यवस्था भङ्ग गर्छ, पाप व्यवस्था भङ्ग हो ।

प्रिय बालकहरू हो, तिमीहरू आफैँलाई मूर्तिहरूबाट अलग राख ।

जो अगाडि बढिरहन्छ र ख्रीष्‍टको शिक्षामा रहँदैन त्यससँग परमेश्‍वर हुनुहुन्‍न । जो शिक्षामा रहन्छ योसँग पिता र पुत्र दुवै हुनुहुन्छ । यदि कोही तिमीकहाँ आउँछ र यो शिक्षा ल्याउँदैन भने त्यसलाई तिम्रो घरमा स्वागत नगर र त्यसलाई अभिवादन पनि नगर । किनकि जसले त्यसलाई अभिवादन गर्छ त्यो त्यसको दुष्‍ट कामहरूमा सहभागी हुन्छ ।

तर तिम्रो विरुद्धमा मसित केही कुरा छन्ः तिमीमध्ये कोही-कोहीले इस्राएलका छोराछोरीहरूले मूर्तिलाई बलिदान गरेको खानेकुरा खाऊन् र अनैतिक यौनमा लागून् भन्‍ने हेतुले ठेस लाग्‍ने ढुङ्गा ती छोराछोरीहरूको अगि फ्याँक्‍न लगाउने बालकलाई सिकाउने बालामको शिक्षालाई दह्रो गरी पक्रेका छन् ।

तर मसँग तिम्रो विरुद्धमा यो कुरा छः जसले आफैँलाई अगमवादिनी भन्‍ने स्‍त्री ईजेबेललाई तिमीले सहेका छौ । त्यसका शिक्षाद्वारा मेरा सेवकहरूलाई अनैतिक पाप गर्न र मूर्तिहरूलाई चढाएका खानेकुरा खान लगाउँछे । मैले त्यसलाई पश्‍चात्ताप गर्ने समय दिएँ, तर त्यसले आफ्नो अनैतिक पापको पश्‍चात्ताप गर्ने इच्छा गरिन । हेर! म त्यसलाई रोगी-ओछ्यानमा फालिदिनेछु, र त्यससँग व्यभिचार गर्नेहरूलाई त्यसले गरेको कामको निम्ति पश्‍चात्ताप नगरेसम्म ठुलो कष्‍टमा पार्नेछु । म त्यसका छोराछोरीहरूलाई रुढीले मारिदिनेछु, अनि म नै हुँ जसले विचार र हृदयहरूको खोजी गर्दछु भनी सबै मण्डलीले जान्‍नेछन् । म प्रत्येकलाई त्यसको कामअनुसारको प्रतिफल दिनेछु ।

बाँकी रहेका मानव-जाति जो यी विपत्तिहरूद्वारा मारिएका थिएनन्, तिनीहरूले आफूले गरेका कामहरूबाट पश्‍चात्ताप गरेनन् । तिनीहरूको सुन, चाँदी, काँसा, ढुङ्गा र काठहरू अनि देख्‍न, सुन्‍न वा हिँड्न नसक्‍ने थोकहरूका मूर्तिहरू र भूतहरूलाई पुज्न छोडेनन्;

तर डराउनेहरू, अविश्‍वासीहरू, घिनलाग्दाहरू, हत्याराहरू, यौन-अनैतिकहरू, जादुगरहरू, मूर्तिपूजकहरू र झुट बोल्नेहरूको भाग बलिरहेको आगो र गन्धकको कुण्डमा हुनेछ । त्यो दोस्रो मृत्यु हो ।”

Nepali - नेपाली - NE

NE'BSS - Unlocked Literal Bible - 2019

This Bible text is from Nepali Unlocked Literal Version 2019
https://find.bible/bibles/NPIULV/
provided by: Door43 World Missions Community, available by Creative Commons CC-BY-SA-4.0,
and this new compilation is shared as www.creativecommons.org/licenses/by-sa/4.0.
Languages are made available to you by www.ipedge.net