31 – सुसमाचार प्रचार
यी सर्वशक्तिमान परमेश्वरका पवित्र वचनहरू हुन्।
हामी मानिसका शब्दहरूमा चासो राख्दैनौं।
परमेश्वरलाई प्रेम गर्ने जो कोहीका लागि... परमेश् वर यसो भन् नुहुन्छ: सुसमाचार प्रचार.
यी सर्वशक्तिमान परमेश्वरका पवित्र वचनहरू हुन्।
हामी मानिसका शब्दहरूमा चासो राख्दैनौं।
परमेश्वरलाई प्रेम गर्ने जो कोहीका लागि... परमेश् वर यसो भन् नुहुन्छ: सुसमाचार प्रचार.
त्यसो हो भने, जसमाथि तिनीहरूले विश्वास गरेका छैनन् उहाँलाई कसरी पुकार्ने? र जसको विषयमा तिनीहरूले सुनेका छैनन् उहाँमाथि कसरी विश्वास गर्ने? र प्रचारकविना तिनीहरूले कसरी सुन्न सक्छन्? र जबसम्म तिनीहरू पठाईंदैनन् तिनीहरूले कसरी प्रचार गर्छन् र? जस्तो लेखिएको छ, “असल कुराहरूबारे खुसीको सन्देश प्रचार गर्नेहरूका पाउ कति राम्रा?”
”किनकि हामी परमेश्वरको निम्ति उद्धार पाएकाहरू र नष्ट भइरहेकाहरूका निम्ति ख्रीष्टका सुबास्ना हौँ । नष्ट भइरहेका मानिसहरूका लागि यो मृत्युदेखि मृत्युसम्मको सुबास्ना हो । अनि बचाइएकाहरूको लागि हामी जीवनदेखि जीवनसम्मको सुबास्ना हो । यी कुराहरूका लागि को योग्यको छ?
”जसले तिमीहरूलाई ग्रहण गर्दैन वा तिमीहरूका वचन सुन्दैन, तिमीहरू त्यस सहर वा गाउँबाट निस्केर जाँदा, तिमीहरूका खुट्टाबाट धुलो टकटक्याइदेओ । साँच्चै म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा त्यस सहरको भन्दा सदोम र गमोराको इन्साफ बढी सहनीय हुन्छ ।
”पृथ्वी रहुञ्जेलसम्म बिउ छर्ने र कटनी गर्ने समय, जाडो र गर्मी, ग्रीष्म र हिउँद अनि दिन र रातको अन्त्य हुनेछैन ।
”मोशाले जवाफ दिए, “तर तिनीहरूले विश्वास गरेनन् वा मेरो कुरा नसुनी 'परमप्रभु तिमीकहाँ देखा पर्नुभएको होइन' भनेमा के गर्ने नि?”
”तब मोशाले परमप्रभुलाई भने, “हे प्रभु, म बोल्नमा सिपालु छैनँ, न पहिले थिएँ न त तपाईं आफ्ना दाससित बोल्नुभएपछि नै । म बोल्न र जिब्रो चलाउनमा सुस्त छु ।” परमप्रभुले तिनलाई भन्नुभयो, “मानिसको मुख बनाउने को हो? मानिसलाई गुँगो वा बैरो वा दृष्टिविहीन बनाउने को हो? के म परमप्रभुले नै होइनँ र? त्यसैले अब जा र म तेरो मुखमा भएर के भन्ने भनी तँलाई सिकाउनेछु ।”
”तर मोशाले भने, “हे प्रभु, तपाईंले इच्छा गर्नुभएको अरू कसैलाई पठाउनुहोस् ।” तब परमप्रभु मोशासित रिसाउनुभयो र भन्नुभयो, “तेरो दाजु लेवी हारून छैन र? त्यसले राम्ररी बोल्न सक्छ भनी मलाई थाहा छ । यसको अतिरिक्त, त्यो तँलाई भेट्न आउँदै छ र त्यसले तँलाई देख्दा त्यो ह्रदयमा खुसी हुनेछ । तँ त्योसित कुरा गर् र त्यसले भन्नुपर्ने कुरा त्यसलाई बताइदे । म तिमीहरू दुवैसित हुनेछु र के गर्ने भनी म तिमीहरू दुवैलाई देखाउनेछु । त्यसले तेरो लागि मानिसहरूसित बोल्नेछ । त्यो तेरो प्रवक्ता हुनेछ र तँ त्यसको लागि मजस्तै परमेश्वर हुनेछस् ।
”मैले मोशालाई प्रतिज्ञा गरेझैँ यो मैले तँलाई दिएको छु ।
”हे सारा पृथ्वी, परमप्रभुको निम्ति गाओ, दिनहुँ उहाँले दिनुभएको उद्धारको घोषणा गर । जातिहरूका बिचमा उहाँका महिमाको घोषणा गर, सारा जातिहरूका बिचमा उहाँका अचम्मका कामहरूको वर्णन गर ।
”ठुलो सभामा तपाईंको धार्मिकताको सुसमाचार मैले घोषणा गरेको छु । हे परमप्रभु, यसो गर्नबाट मेरा ओठहरू रोकिएका छैनन् भनी तपाईं जान्नुहुन्छ । आफ्नो हृदयमा तपाईंको धार्मिकता मैले लुकाएको छैन । तपाईंको विश्वस्तता र तपाईंको उद्धारलाई मैले घोषणा गरेको छु । ठुलो सभाबाट तपाईंको करारको विश्वस्तता वा तपाईंको भरोसालाई मैले लुकाएको छैन ।
”मैले तपाईंको धार्मिकता र तपाईंको मुक्तिलाई नबुझे तापनि, मेरो मुखले दिनभरि त्यसैको बारेमा भन्नेछ । म परमप्रभु परमेश्वरको शक्तिशाली कामहरूसँगै आउनेछु । म तपाईंको, केवल तपाईंको धार्मिकताको वर्णन गर्नेछु । हे परमेश्वर, तपाईंले मलाई मेरो युवावस्थादेखि नै सिकाउनुभएको छ । अहिले पनि म तपाईंको अचम्मका कामहरू घोषणा गर्नेछु । वास्तवमा, हे परमेश्वर, म वृद्ध हुँदा र मेरो कपाल फुल्दा पनि मलाई नत्याग्नुहोस्, जसरी मैले तपाईंको सामर्थ्य अर्को पुस्तालाई, तपाईंको शक्ति आउनेवाला हरेकलाई घोषणा गरिरहेको छु ।
”परमप्रभुको निम्ति गाओ, उहाँको नाउँलाई धन्यको भन । उहाँको उद्धार दिनदिनै घोषणा गर । उहाँको महिमा जातिहरूका माझमा, उहाँका अचम्मका कामहरू सबै जातिहरूका माझमा घोषणा गर ।
”तपाईंका गहन आज्ञाहरू म राजाहरूको सामु भन्नेछु र म लाज मान्नेछैन ।
”आँशु झार्दै बीउ छर्नेहरूले आनन्दको गीत गाउँदै कटनी गर्नेछन् । बीउ बोकेर छर्नलाई रुँदै जानेहरू अन्नका बिटाहरू लिएर आनन्दको गीत गाउँदै फेरि फर्किनेछ ।
”हे परमप्रभु, मेरो मुखमा रक्षक राख्नुहोस् । मेरा ओठहरूका ढोकाहरूको रक्षा गर्नुहोस् ।
”एउटा पुस्ताले तपाईंका कामहरूको प्रशंसा अर्को पुस्तालाई गर्नेछ र तपाईंका शक्तिशाली कामहरू घोषणा गर्नेछ ।
”दुष्ट व्यक्तिले आफ्नो ज्याला पाउन झुट बोल्छ, तर ठिक कुरो छर्नेले सत्यताको ज्याला कटनी गर्ने छ ।
”धर्मात्मा जीवनको रुखझैँ हुने छ, तर हिंसाले जीवन लिन्छ ।
”आँखाको ज्योतिले हृदयमा आनन्द ल्याउँछ, र शुभ खबर शरीरको लागि स्वास्थ्य हो । कसरी जिउने भनी कसैले तिमीलाई सुधार गर्दा तिमीले ध्यान दियौ भने तिमी बुद्धिमान् मानिसहरूका बिचमा रहने छौ । अनुशासनलाई इन्कार गर्नेले आफैलाई तुच्छ ठान्छ, तर सुधारलाई ध्यान दिनेले समझशक्ति पाउँछ । परमप्रभुको भयले बुद्धि सिकाउँछ, र आदरअगि विनम्रता आउँछ ।
”मिठा वचनहरू महका चाकाजस्ता हुन्, जुन प्राणको लागि मिठो हुन्छ, र हड्डीहरूका लागि चङ्गाइ हुन्छ ।
”ज्ञान भएको व्यक्तिले थोरै वचन बोल्दछ, र समझशक्ति भएको व्यक्तिचाहिँ ठन्डा मिजासको हुन्छ । चुप लागेमा मूर्खलाई पनि बुद्धिमान् ठानिन्छ । त्यसले आफ्नो मुख बन्द गर्दा त्यसलाई विवेकी मानिन्छ ।
”मूर्खलाई समझशक्तिमा कुनै रमाहट हुँदैन, तर त्यसको हृदयमा भएको कुरो प्रकट गर्न पाए त्यो प्रसन्न हुन्छ ।
”मूर्खको ओठले आफैमाथि कलह ल्याउँछ, र त्यसको मुखले पिटाइ निम्त्याउँछ । मूर्खको मुख त्यसको विनाश हो, र त्यसले आफ्नै ओठले आफैलाई पासोमा पार्छ ।
”सुन्नअगि जवाफ दिनेको लागि त्यो त्यसको मूर्खता र लाज हो ।
”मृत्यु र जीवन जिब्रोद्वारा नियन्त्रित हुन्छ, र जिब्रोलाई प्रेम गर्नेहरूले यसको फल खाने छन् ।
”तिर्खाएको मानिसलाई चिसो पानी जस्तो हुन्छ, टाढाको देशबाट आएको शुभ खबर त्यस्तै हुन्छ ।
”लुगा च्यात्ने एउटा समय छ, र त्यसलाई मर्मत गर्ने एउटा समय । चुप लाग्ने एउटा समय छ, र बोल्ने एउटा समय ।
”बतासलाई हेर्नेले बिउ नछर्ला, र बादललाई हेर्नेले कटनी नगर्ला ।
”बिहान तेरो बिउ रोप् । साँझसम्म आवश्यकताअनुसार तेरो हातले काम गर्, किनकि बिहान वा साँझ, त्यो वा यो कुनचाहिँ बिउ उम्रन्छ वा दुवै राम्रा हुन्छन् भनी तँलाई थाहा छैन ।
”उपदेशक बुद्धिमान् थिए, र तिनले मानिसहरूलाई ज्ञानका कुराहरू सिकाए । तिनले अध्ययन गरे, र मनन गरे अनि धेरै हितोपदेशहरू ठिक क्रममा मिलाएर राखे । उपदेशकले सत्यताका प्रस्ट र सिधा वचनहरूको प्रयोग गरी लेख्ने कोसिस गरे ।
”मैले परमप्रभुको यसो भन्ने आवाज सुनें, “म कसलाई पठाऊँ । हाम्रा निम्ति को जान्छ?” तब मैले भनें, “म यहाँ छु । मलाई पठाउनुहोस् ।”
”उहाँले भन्नुभयो, “जाऊ, यी मानिहरूलाई भन, 'सुन्छौ, तर बुझ्दैनौ । हेर्छौ, तर थाहा पाउँदैनौ ।' यी मानिसहरूका हृदयलाई मुर्ख बनाऊ, र तिनीहरूका कानलाई बैरो बनाऊ र तिनीहरूका आँखालाई अन्धो बनाऊ । अन्यथा तिनीहरूका आफ्नो आँखाले देख्लान्, तिनीहरूका कानले सुन्लान् र तिनीहरूका हृदयले बुझ्लान् र तब फर्केर निको होलान् ।” तब मैले भने, “हे परमप्रभु, कहिलेसम्म?” उहाँले जवाफ दिनुभयो, “ बासिन्दाविनाका भग्नावशेष सहरहरू ध्वस्त नहुन्जेल र मानिसविनाका घरहरू नहुन्जेल, र देश उजाड नहुन्जेल,
”व्यवस्था र गवाहीतिर लाग! तिनले यसो भन्दैनन् भने, तिनीहरूसँग बिहानको मिरमिरे उज्यालो नभएको हुनाले नै हो ।
”मेरो सबै पवित्र पर्वतमा तिनीहरूले चोट पुर्याउनेछैनन् न त विनाश नै गर्छन् । किनकि जसरी पानीले समुद्र ढाकेको छ त्यसरी नै परमप्रभुको ज्ञानले पृथ्वी भरिपुर्ण हुनेछ ।
”ए सुसमाचार ल्याउनेहरू हो, उच्च पहाड सियोनमाथि जाओ । हे यरूशलेम ठुलो सोरमा कराओ । ए सुसमाचार ल्याउनेहरू हो, आफ्ना सोर उचाल, नडराओ । यहूदाका सहरहरूलाई भन, “तिमीहरूका परमेश्वर यहाँ हुनुहुन्छ!”
”असल समाचार ल्याउने दूतहरूका गोडाहरू पहडाहरूमाथि कति सुन्दर, जसले शन्तिको घोषणा गर्छन्, जसले असल समाचार ल्याउँछन्, जसले उद्धारको घोषणा गर्छन्, जसले सियोनलाई भन्छन्, “तेरो परमेश्वरले राज्य गर्नुहुन्छ!” ।
”परमप्रभु परमेश्वरको आत्मा ममाथि हुनुहुन्छ, किनभने कष्टमा परेकाहरूलाई सुसमाचार घोषणा गर्न परमप्रभुले मलाई अभिषेक गर्नुभएको छ । तोडिएका हृदय भएकाहरूलाई निको पार्न, कैदीहरूलाई छुटकाराको घोषणा गर्न र बन्धनमा परेकाहरूलाई कैदबाट छुटकारा दिन उहाँले मलाई पठाउनुभएको छ । परमप्रभुको कृपाको वर्ष, हाम्रा परमेश्वरको बदलाको दिनको घोषणा गर्न र शोक गर्नेहरू सबैलाई सान्त्वना दिन उहाँले मलाई पठाउनुभएको छ । सियोनमा शोक गर्नेहरू, तिनीहरूलाई खरानीको सट्टामा एउटा मुकुट, शोकको सट्टामा आनन्दको तेल, निराशाको आत्माको सट्टामा प्रशंसाको आवरण दिन, तिनीहरूलाई धर्मिकताका फलाँटहरू, परमप्रभुको बिरुवा भन्न उहाँले मलाई पठाउनुभएको छ, ताकि उहाँलाई नै महिमा होस् ।
”मैले भनें, “हे परमप्रभु परमेश्वर, कसरी बोल्ने भनी मलाई थाहा छैन, किनकि म त धेरै सानो बालक छु ।” तर परमप्रभुले मलाई भन्नुभयो, “ यसो नभन्, 'म सानो बालक छु' । मैले पठाउने हरेक ठाउँमा तँ जानैपर्छ, र मैले तँलाई आज्ञा गर्ने हरेक कुरा तैंले भनैपर्छ । तिनीहरूदेखि नडरा, किनकि तेरो उद्धार गर्न म तँसित छु, यो परमप्रभुको घोषणा हो ।” तब परमप्रभुले आफ्नो हात पसार्नुभयो, मेरो मुख छुनुभयो, र मलाई भन्नुभयो, “अब मैले तेरो मुखमा मेरो वचन हालिदिएको छु ।
”हेर, म धेरै मछुवालाई पठाउनेछु, र यसरी तिनीहरूले मानिसहरूलाई पक्रनेछन्, यो परमप्रभुको घोषणा हो । यसपछि म धेरै सिकारीलाई पठाउनेछु, र तिनीहरूले पहाडहरू र पर्वतहरूका बिचमा अनि चट्टानका धाँदोमा तिनीहरूको सिकार गर्नेछन् ।
”उहाँले मलाई भन्नुभयो, “ए मानिसको छोरो, तैंले जे पाएको छस् त्यो खा । यो मुट्ठो खा, र गएर इस्राएलको घरानालाई भन् ।” यसैले मैले आफ्नो मुख खोलें, र उहाँले त्यो मुट्ठो मलाई खुवाउनुभयो । उहाँले मलाई भन्नुभयो, “ए मानिसको छोरो, मैले तँलाई दिएको त्यो मुट्ठो खा र यसले तेरो पेट भर ।” यसैले मैले त्यो खाएँ, र त्यो मेरो मुखमा महझैं गुलियो थियो । तब उहाँले मलाई भन्नुभयो, “ए मानिसको छोरो, इस्राएलको घरानाकहाँ जा, र तिनीहरूलाई मेरो कुरा भन् ।
”बुद्धिमान् मानिसहरू माथि आकाशको उज्यालोझैं चम्कनेछन्, र धेरैलाई धार्मिकतामा डोर्याउनेहरू सदाको निम्ति ताराहरूझैं हुनेछन् ।
”परमप्रभुको वचन योनाकहाँ दोस्रो पटक यसो भनेर आयो, “उठ्, र त्यस ठुलो सहर निनवेमा जा र त्यसलाई दिनलाई मैले तँलाई आज्ञा गरेको सन्देश घोषणा गर् ।”
”योना सहरभित्र प्रवेश गर्न थाले र एक दिनको यात्रापछि उनले कराए र यसो भने, “अबको चालीस दिनमा निनवे नाश हुनेछ ।” निनवेका मानिसहरूले परमेश्वरलाई विश्वास गरे र तिनीहरूले उपवासको घोषणा गरे । तिमध्ये ठुलादेखि लिएर सानासम्म सबैले भाङ्ग्रा लगाए । त्यो खबर चाँडै नै निनवेका राजाकहाँ पुग्यो । तिनी आफ्ना सिंहासनबाट उठे, आफ्नो वस्त्र उतारे, आफूलाई भाङ्ग्रा ढाके, र खरानीमा बसे । तिनले एउटा यस्तो घोषणाको सन्देश पठाए, “निनवेमा, राजा र भारदारहरूको अधिकारले, कुनै मानिस वा गाईबस्तु वा भेडाबाख्राले कुनै कुरा खानेछैनन् । तिनीहरूले खाना नखाऊन्, न पानी पिऊन् । तर मानिस र पशु दुबैले भाङ्ग्राले ढाकून्, र तिनीहरूले ठुलो सोरले परमेश्वारमा पुकारा गरून् । हरेक व्यक्ति आफ्ना दुष्ट मार्ग र आफ्ना हातले हिंसात्मक कामबाट फर्कून् । कसलाई जान्दछ? परमेश्वर नरम बन्न र आफ्नो मनलाई बद्लन र आफ्नो भयङ्कर क्रोधबाट फर्कन सक्नुहुन्छ, जसले गर्दा हामी नष्ट हुनेछैनौं ।” तिनीहरूले जे गरे त्यो परमेश्वरले देख्नुभयो । यसरी तिनीहरू आफ्ना दुष्ट मार्गहरूबाट फर्के । यसैले परमेश्वरले तिनीहरूलाई दिन्छु भन्नुभएको दण्डको बारेमा उहाँले आफ्नो मन परिवर्तन गर्नुभयो, र उहाँले त्यसो गर्नुभएन ।
”हेर, असल समाचार ल्याउनुहुने, र शान्ति घोषणा गर्नुहुनेका पाउ पर्वतहरूमा छन् । यहूदा, आफ्ना चाडहरू मनाओ, र आफ्ना प्रतिज्ञाहरू पुरा गर, किनकि दुष्टले अब तँलाई आक्रमण गर्नेछैन, त्यो पूर्णरूपमा नाश भएको छ ।
”ती दिनमा बप्तिस्मा-दिने यूहन्ना यहूदियाको उजाड-स्थानमा यसो भनेर प्रचार गर्दै आए, “पश्चात्ताप गर, किनभने स्वर्गको राज्य नजिकै छ ।”
”तर जब तिनले धेरै फरिसीहरू र सदुकीहरू बप्तिस्माको निम्ति तिनीकहाँ आएको देखे, तब तिनले तिनीहरूलाई भने, “विषालु सर्पका सन्तान हो, आउन लागेको क्रोधबाट भाग्न तिमीहरूलाई कसले चेतावनी दियो? पश्चात्तापको निम्ति सुहाउँदो फल फलाओ ।
”तर येशूले उत्तर दिनुभयो र त्यसलाई भन्नुभयो, “यसो लेखिएको छ, ‘मानिस केवल रोटीले मात्र बाँच्दैन, तर परमेश्वरको मुखबाट निस्कने हरेक वचनद्वारा बाँच्छ’ ।”
”त्यस समयदेखि येशूले प्रचार गर्न थाल्नुभयो अनि भन्नुभयो, “पश्चात्ताप गर, किनभने स्वर्गको राज्य नजिक आएको छ ।”
”येशूले तिनीहरूलाई भन्नुभयो, “आओ, मेरो पछि लाग, र म तिमीहरूलाई मानिसहरूका मछुवाहरू बनाउनेछु ।” तुरुन्तै उनीहरूले जाल छाडे र उहाँको पछि लागे । जब येशू त्यहाँबाट जाँदै हुनुहुन्थ्यो उहाँले अर्का दुई दाजुभाइलाई देख्नुभयो । उनीहरू जब्दियाका छोरा याकूब र उनका भाइ यूहन्ना थिए । उनीहरू आफ्ना पिता जब्दियासँग डुङ्गामा जालहरूको मर्मत गर्दै थिए । उहाँले तिनीहरूलाई बोलाउनुभयो, र उनीहरूले तुरुन्तै उनीहरूका डुङ्गा र बुबालाई छोडी उहाँको पछि लागे ।
”येशूले गालीलका सभाघरहरूमा सिकाउँदै, परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्दै र मानिसहरूका बिचमा हर प्रकारका रोग र बिमारीहरूलाई निको पार्दै गालीलका सबै ठाउँमा जानुभयो ।
”तिमीहरू धन्यका हौ, जब मानिसहरूले तिमीहरूको अपमान गर्दछन् र तिमीहरूलाई दुःख कष्ट दिन्छन्, वा मेरो खातिर तिमीहरूका विरुद्धमा झुटो रूपमा सबै किसिमका दुष्ट कुराहरू भन्दछन् । आनन्दित होओ र निकै खुसी होओ, किनकि स्वर्गमा तिमीहरूका इनाम ठुलो हुनेछ । किनभने यसरी नै तिमीहरूभन्दा अगिका अगमवक्ताहरूलाई मानिसहरूले सताएका थिए । तिमीहरू यस पृथ्वीका नून हौ । तर यदि नूनले आफ्नो स्वाद गुमायो भने, यसलाई फेरि कसरी नुनिलो बनाउने? यसलाई बाहिर फ्याँक्न र मानिसहरूका खुट्टाले कुल्चनबाहेक अरू कुनै पनि कामको निम्ति त्यो उपयोगी हुँदैन ।
”तिमीहरू यस संसारका ज्योति हौ । डाँडामाथि बसालिएको सहर कहिल्यै पनि लुक्न सक्दैन । न त मानिसहरूले बत्ती बालेर डालोमुनि राख्दछन्, बरु त्यसलाई सामदानमाथि राख्दछन्, र घरमा भएका प्रत्येकको निम्ति त्यसले उज्यालो दिन्छ । मानिसहरूका बिचमा तिमीहरूको ज्योति यसरी चम्कियोस्, कि तिनीहरूले तिमीहरूका असल कामहरूलाई देखून् र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको प्रशंसा गरून् ।
”पृथ्वीमा आफ्नो निम्ति धन सम्पत्ति नथुपार, जहाँ किरा र खियाले त्यसलाई नष्ट गर्छन्, र जहाँ चोरहरूले घर फोरेर चोर्छन् । बरु, आफ्नो निम्ति स्वर्गमा धन सम्पत्ति थुपार, जहाँ न त खिया वा किराले नष्ट गर्दछ, न त चोरले चोरेर लैजान्छ । किनकि जहाँ तिमीहरूको धन सम्पत्ति हुन्छ, त्यहाँ तिमीहरूको मन पनि हुनेछ ।
”चेलाहरूमध्ये एक जनाले उहाँलाई भने, “प्रभु, पहिले मलाई गएर मेरो बुबालाई गाड्न दिनुहोस् ।” तर येशूले तिनलाई भन्नुभयो, “मलाई पछ्याऊ, र मुर्दाले नै मुर्दालाई गाड्न छोडिदेऊ ।”
”येशू त्यहाँबाट जाँदै गर्नुहुँदा उहाँले मत्ती नाउँ गरेको व्यक्तिलाई देख्नुभयो, जो कर उठाउने ठाउँमा बसिरहेका थिए । उहाँले तिनलाई भन्नुभयो, “मलाई पछ्याऊ ।” तिनी उठे र उहाँको पछि लागे ।
”येशू सारा सहरमा र गाउँहरूमा जानुभयो । उहाँले राज्यको सुसमाचार प्रचार गर्दै र सबै किसिमका रोग र बिमारीहरूलाई निको पार्दै तिनीहरूका सभाघरहरूमा सिकाइरहनुभयो ।
”उहाँले चेलाहरूलाई भन्नुभयो, “फसल त प्रशस्त छन्, तर खेतालाहरू थोरै छन् । यसकारण फसलका प्रभुलाई चाँडै प्रार्थना गर, ताकि उहाँले आफ्नो फसलका निम्ति खेतालाहरू पठाइदिनुभएको होस् ।”
”अनि जसै तिमीहरू जान्छौ, ‘स्वर्गको राज्य नजिकै आइसकेको छ’ भनी प्रचार गर । रोगीहरूलाई निको पार, मरेकाहरूलाई जीवित बनाओ, कुष्ठरोगीहरूलाई शुद्ध पार र भूतात्माहरूलाई धपाओ । तिमीहरूले सित्तैँमा पाएका छौ, सित्तैँमा देओ ।
”तिमीहरूका थैलीमा कुनै पनि सुन, चाँदी वा पित्तल नबोक । तिमीहरूका यात्राको निम्ति झोला वा फाल्तु दौरा वा जुत्ता वा लौरो नबोक, किनकि खेतालाले आफ्नो भोजन पाउनुपर्छ । तिमीहरू जुनसुकै सहर वा गाउँमा प्रवेश गर्छौ, त्यहाँ को योग्यको छ भनी पत्ता लगाओ र नगइन्जेलसम्म तिमीहरू त्यहीँ बस । जब तिमीहरू घरमा पस्छौ, तब त्यसलाई अभिवादन गर । यदि त्यो घर योग्यको छ भने, तिमीहरूको शान्ति त्यसमाथि आओस् । तर यदि त्यो योग्यको छैन भने, तिमीहरूका शान्ति तिमीहरूकहाँ नै फर्केर आओस् ।
”जसले तिमीहरूलाई ग्रहण गर्दैन वा तिमीहरूका वचन सुन्दैन, तिमीहरू त्यस सहर वा गाउँबाट निस्केर जाँदा, तिमीहरूका खुट्टाबाट धुलो टकटक्याइदेओ । साँच्चै म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा त्यस सहरको भन्दा सदोम र गमोराको इन्साफ बढी सहनीय हुन्छ ।
”हेर, म तिमीहरूलाई ब्वाँसाहरूका बिचमा भेडाझैँ पठाउँदै छु । यसकारण, सर्पझैँ चनाखो र ढुकुरझैँ सोझो होओ । मानिसहरूदेखि होसियार बस! तिनीहरूले तिमीहरूलाई परिषद्हरूमा सुम्पिदिनेछन् र तिनीहरूले आफ्ना सभाघरहरूमा तिमीहरूलाई कोर्रा लगाउनेछन् । अनि शासकहरू र राजाहरू र अन्यजातिहरूका निम्ति गवाहीको रूपमा मेरो खातिर तिमीहरू तिनीहरूका सामु ल्याइनेछौ ।
”जब तिनीहरूले तिमीहरूलाई सुम्पिदिनेछन्, तब तिमीहरूले कसरी वा के बोल्ने भन्ने विषयमा चिन्ता नगर, किनकि तिमीहरूलाई बोल्नुपर्ने कुरा सोही घडी दिइनेछ । किनकि बोल्ने तिमीहरू होइनौ, तर तिमीहरूमा बोल्नुहुने तिमीहरूका पिताका आत्मा हुनुहुन्छ ।
”दाजुले भाइलाई मृत्युको निम्ति पक्राइदिनेछ, र बुबाले आफ्नो छोरालाई । छोराछोरीहरू आफ्ना बुबा-आमाका विरुद्धमा उठ्नेछन् र मृत्युका निम्ति तिनीहरूलाई सुम्पिदिनेछन् । मेरो नाउँको खतिर तिमीहरू सबैबाट घृणित हुनेछौ । तर जसले अन्तिम घडीसम्म सहन्छ, त्यस व्यक्तिको उद्धार हुनेछ । जब तिनीहरूले यस सहरमा तिमीहरूलाई सताउँछन्, अर्को सहरमा भाग, किनकि साँच्चै म तिमीहरूलाई भन्दछु, मानिसका पुत्र नआउञ्जेलसम्म तिमीहरू इस्राएलका सहरहरू पनि घुमिसकेका हुनेछैनौ ।
”यसकारण, जसले मलाई मानिसहरूका सामुन्ने ग्रहण गर्दछ, म पनि उसलाई स्वर्गमा हुनुहुने मेरा पिताको सामु ग्रहण गर्नेछु । तर जसले मानिसहरूका सामुन्ने मलाई इन्कार गर्दछ, म पनि उसलाई स्वर्गमा हुनुहुने मेरा पिताको सामु इन्कार गर्नेछु ।
”म पृथ्वीमा शान्ति ल्याउन आएँ भनी विचार नगर । म शान्ति ल्याउन होइन, तर तरवार चलाउन आएँ । किनकि म मानिसलाई उसको पिताको विरुद्ध र छोरीलाई उसकी आमाको विरुद्ध र बुहारीलाई उसकी सासूको विरुद्ध गराउन आएँ । मानिसका शत्रुहरू उसको आफ्नै घरानाभित्रका हुनेछन् । जसले मलाई भन्दा आफ्नो बुबा वा आमालाई प्रेम गर्छ, त्यो मेरो निम्ति योग्यको हुँदैन । र जसले आफ्नो छोरा वा छोरीलाई मलाई भन्दा बढी प्रेम गर्छ, ऊ मेरो निम्ति योग्यको हुँदैन । जसले आफ्नो क्रुस उठाएर मेरो पछि लाग्दैन, ऊ मेरो निम्ति योग्यको हुँदैन । जसले आफ्नो जीवन भेट्टाउँछ, उसले त्यो गुमाउनेछ । तर जसले मेरो खतिर आफ्नो जीवन गुमाउँछ, उसले जीवन पाउनेछ । जसले तिमीहरूलाई स्वागत गर्दछ, उसले मलाई स्वागत गर्दछ र जसले मलाई स्वागत गर्दछ, उसले मलाई पठाउनुहुनेलाई पनि स्वागत गर्दछ ।
”येशूले आफ्ना बाह्र जना चेलालाई शिक्षा दिइसक्नुभएपछि तिनीहरूका सहरहरूमा सिकाउन र प्रचार गर्न उहाँ त्यहाँबाट जानुभयो ।
”दृष्टिविहीनहरूले दृष्टि पाइरहेका छन्; लङ्गडा मानिसहरू हिँडिरहेका छन्; कुष्ठरोगीहरू शुद्ध पारिएका छन्; बहिरा मानिसहरूले फेरि सुनिरहेका छन्; मरेका मानिसहरूलाई फेरि जीवनमा फर्काइएको छ, अनि खाँचोमा परेका मानिसहरूलाई सुसमाचार सुनाइँदै छ । अनि तिनीहरू धन्यका हुन् जसले मलाई तिनीहरूका निम्ति कुनै बाधा सम्झँदैनन् ।”
”बप्तिस्मा-दिने यूहन्नाको दिनदेखि अहिलेसम्म स्वर्गको राज्यले तीव्रता भोगिरहेको छ, र उग्र मानिसहरूले यसलाई बलपूर्वक पक्रन्छन् ।
”निनवेका मानिसहरू न्यायको दिनमा यस पुस्तासँग खडा हुनेछन् र यस जातिको निन्दा गर्नेछन् । किनकि योनाको सन्देश सुनेर तिनीहरूले पश्चात्ताप गरेका थिए, र हेर, योनाभन्दा अझै महान् कोही यहाँ छन् ।
”तब येशूले दृष्टान्तहरूमा उनीहरूलाई धेरै कुरा भन्नुभयो । उहाँले यसो भन्नुभयो, “हेर, एक जना बिउ छर्ने मान्छे बिउ छर्न निस्क्यो । जसै उनले छरे, केही बिउहरू बाटोको छेउमा परे, अनि चराहरू आएर ती बिउलाई निलिदिए । अरू बिउहरूचाहिँ ढुङ्गेनी जमिनमा परे, जहाँ धेरै माटो थिएन । ती तुरुन्तै उम्रे, किनकि त्यहाँ माटो गहिरो थिएन । तर जब चर्को घाम लाग्यो, ती डढे किनकि तिनका जरा थिएनन्, अनि ती सुकिहाले । अरू बिउहरू काँडाघारी माझमा परे । ती काँडाका बोटहरू बढेर आए र तिनलाई निसासिदिए । अरू बिउहरू असल माटोमा परे र केहीले सय गुणा, केहीले साठी गुणा र केहीले तिस गुणा अन्न उब्जाए ।
”तब बिउ छर्नेको दृष्टान्त सुन । जब कसैले राज्यको वचन सुन्छ तर त्यसलाई बुझ्दैन, तब दुष्ट आउँछ र उसको हृदयमा जे छरिएको थियो, त्यो खोसेर लैजान्छ । योचाहिँ त्यो बिउ हो जुन बाटोको छेउमा छरिएको थियो । ढुङ्गेनी माटोमा छरिएको चाहिँ त्यो हो जसले वचन सुन्छ र तुरुन्तै खुसीसाथ त्यसलाई ग्रहण गर्छ । तर ऊ आफैँमा जरा हुँदैन र केही बेरसम्म मात्र टिकिरहन्छ । तर जब वचनको कारण सतावट वा कष्ट आउँछ, उसले तुरुन्तै ठेस खान्छ । काँडाघारीमा छरिएको चाहिँ त्यो हो, जसले वचन सुन्छ, तर संसारको वास्ता र धनीहरूको कपटले वचनलाई निसासिदिन्छ, अनि ऊ निष्फल हुन्छ । असल माटोमा छरिएको चाहिँ त्यो हो, जसले वचन सुन्छ र त्यसलाई बुझ्छ । त्यसले नै साँचो रूपमा फल फलाउँछ र केहीले सय गुणा, केहीले साठी गुणा, र केहीले तिस गुणा फल फलाउँछ ।”
”त्यसपछि येशूले तिनीहरूलाई अर्को दृष्टान्त भन्नुभयो । उहाँले भन्नुभयो, “स्वर्गको राज्यचाहिँ रायोको दानाजस्तो हो जुन एउटा मानिसले लियो र आफ्नो बारीमा छर्यो । यो बिउ अरू सबै बिउभन्दा सानो हुन्छ । तर जब यो हुर्कन्छ, यो बगैँचामा भएका सबै बोटभन्दा ठुलो हुन्छ । यो एउटा रुख बन्छ, अनि आकाशका चराहरू आउँछन् र यसका हाँगाहरूमा गुँड बनाउँछन् ।”
”येशूले उत्तर दिनुभयो र भन्नुभयो, “हरेक बिरुवा जुन स्वर्गमा हुनुहुने मेरा पिताले रोप्नुभएको छैन, त्यो उखेलिनेछ ।
”त्यसपछि येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “यदि कसैले मलाई पछ्याउने इच्छा गर्छ भने, उसले आफैँलाई इन्कार गर्नुपर्छ; आफ्नो क्रुस उठाउनुपर्छ र मलाई पछ्याउनुपर्छ । किनकि जसले आफ्नो प्राण बचाउन खोज्छ उसले त्यो गुमाउनेछ र जसले मेरो खातिर आफ्नो जीवन गुमाउँछ त्यसले त्यो प्राप्त गर्नेछ । किनकि एउटा मानिसले सारा जगत् प्राप्त गरेर आफ्नो जीवनचाहिँ गुमायो भने उसलाई के लाभ हुन्छ र? एउटा मानिसले आफ्नो जीवनको बदलामा के दिन सक्छ? किनकि मानिसका पुत्र आफ्ना पिताको महिमामा उहाँका स्वर्गदूतहरूसँग आउनेछन् । त्यसपछि उनले हरेक व्यक्तिलाई उसको कामअनुसारको प्रतिफल दिनेछन् ।
”प्रत्येक जसले मेरो नामको खातिर घरबार, दाजुभाइ, दिदी-बहिनीहरू, बुबा, आमा, बालबच्चाहरू वा देश त्यागेको छ, उसले सय गुणा प्राप्त गर्नेछ र अनन्त जीवनको अधिकार पाउनेछ ।
”किनकि परमेश्वरको राज्य एक जना जमिन मालिकजस्तै हो, जो दाखबारीको लागि खेतालाहरूलाई ज्यालादारीमा लगाउन एका बिहानै बाहिर गए । ती कामदारहरूसँग दिनको एक दिनारमा काम गराउन उनी सहमत भएपछि उनले तिनीहरूलाई दाखबारीमा पठाए । उनी नौ बजे बाहिर गए र बजारमा अरू कामदारहरूलाई केही काम नगरी उभिरहेको देखे । उनले तिनीहरूलाई भने, ‘तिमीहरू पनि दाखबारीमा जाओ, र जे उचित छ, त्यो म तिमीहरूलाई दिनेछु ।’ यसैकारण तिनीहरू काम गर्न गए । फेरि उनी बार्ह बजे र तिन बजे बाहिर गए र त्यसै गरे । एक पटक फेरि उनी पाँच बजे बाहिर गए र अरूहरूलाई केही काम नगरी उभिरहेको भेट्टाए । उनले तिनीहरूलाई भने, ‘तिमीहरू दिनभरि नै यहाँ किन व्यर्थमा केही काम नगरी बसिरहेका छौ?’ तिनीहरूले उनलाई भने, ‘किनकि कसैले पनि हामीलाई काममा लगाएको छैन ।’ उनले तिनीहरूलाई भने, ‘तिमीहरू पनि दाखबारीमा जाओ ।’ जब साँझ पर्यो, ती दाखबारीका मालिकले उनका व्यवस्थापकलाई भने, ‘ती कामदारहरूलाई बोलाऊ र अन्तिममा आएकोबाट सुरु गर्दै तिनीहरूलाई तिनीहरूका ज्याला तिरिदेऊ ।’ जब पाँच बजे काममा लगाइएका कामदारहरू आए, तिनीहरू सबैले एक दिनार पाए । जब सुरुका कामदारहरू आए, तिनीहरूले धेरै पाउनेछन् भनी तिनीहरूले विचार गरे, तर तिनीहरू हरेकले पनि एक दिनार नै प्राप्त गरे । जब तिनीहरूले आफ्ना ज्यालाहरू प्राप्त गरे, तिनीहरूले त्यस जमिन मालिकको विरुद्धमा गनगन गरे । तिनीहरूले भने, ‘यी अन्तमा आएका कामदारहरूले एक घण्टा मात्र काममा बिताएका थिए, तर तपाईंले उनीहरूलाई हामी समान बनाउनुभएको छ, हामीहरू जसले सारा दिनको बोझ र पोल्ने घामलाई सह्यौँ ।’ तर ती मालिकले जवाफ दिए र तिनीहरूमध्ये एक जनालाई भने, ‘मित्र, मैले तिमीलाई कुनै खराबी गरेको छैनँ । के तिमी मसँग एक दिनारमा मञ्जुर भएका थिएनौ र? जे तिम्रो हो त्यो लेऊ र आफ्नो बाटो लाग । मैले तिमीलाई दिए जत्तिकै म यी अन्त्यमा काममा लगाइएका कामदारहरूलाई पनि दिने इच्छा गर्दछु । के मैले मेरो आफ्नो सम्पत्तिलाई मैले चाहना गरेजस्तो गर्नु न्यायसङ्गत होइन र? वा म असल भएको कारणले तिम्रा आँखा दुष्ट भएको हो?’
”“स्वर्गको राज्य एउटा यस्तो राजाजस्तो हो, जसले आफ्नो छोराको निम्ति विवाह भोजको तयारी गरे । उनले भोजमा आउनको निम्ति निम्त्याइएकाहरूलाई बोलाउन आफ्ना नोकरहरू पठाए, तर तिनीहरू आउन मानेनन् । फेरि राजाले यसो भन्दै आफ्ना अरू नोकरहरू पठाए, ‘ती निम्त्याइएकाहरूलाई यसो भन्नू, ‘मैले मेरो भोज तयार पारेको छु । मेरा गोरुहरू र मोटा पशुहरू मारिएका छन्, र सबै कुरा तयार छन् । विवाहको भोजमा आओ ।’ तर तिनीहरूले केही वास्ता नै गरेनन्, र एउटा आफ्नो खेतबारी, र अर्को आफ्नो व्यवसायतिर लाग्यो । अरूहरूले चाहिँ राजाका नोकरहरूलाई पक्रे; तिनीहरूसँग लाजमर्दो व्यवहार गरे, र तिनीहरूलाई मारे । तर राजा रिसाए । उनले आफ्ना सेनाहरू पठाए; ती हत्याराहरूलाई मारे, र तिनीहरूको सहर जलाइदिए ।
”त्यसपछि उनले आफ्ना नोकरहरूलाई भने, ‘विवाहको निम्ति सबै तयार छन्, तर जसलाई निम्त्याइएको थियो तिनीहरू योग्यका थिएनन् । त्यसैले, तिमीहरू सडकहरूमा जाओ र तिमीहरूले सक्ने जति सबै मानिसलाई विवाह भोजमा सहभागी हुन बोलाओ ।’ ती नोकरहरू सडकहरूमा गए र तिनीहरूले भेट्टाए जति असल र खराब दुवै थरीका मानिसलाई एकसाथ भेला गरे । त्यसैले, विवाहको घर पाहुनाहरूले भरियो ।
”तब तिनीहरूले तिमीहरूलाई सङ्कष्टको लागि सुम्पनेछन् र तिमीहरूलाई मार्नेछन् । मेरो नामको खातिर सबै जातिद्वारा तिमीहरूलाई घृणा गरिनेछ । तब धेरै जनाले ठेस खानेछन्, र एक अर्कालाई धोका दिनेछन्, एक अर्कालाई घृणा गर्नेछन् । धेरै झुटा अगमवक्ता खडा हुनेछन् र धेरै जनालाई बहकाउनेछन् ।
”राज्यको यो सुसमाचार सारा संसारमा सबै जातिलाई साक्षीको रूपमा प्रचार गरिनेछ । तब अन्त आउनेछ ।
”येशू उनीहरूकहाँ आउनुभयो र उनीहरूसँग बोल्नुभयो र भन्नुभयो, “स्वर्ग र पृथ्वीमा सबै अधिकार मलाई दिइएको छ । यसकारण, जाओ र सबै देशका जातिलाई चेला बनाओ । पिता, पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देओ । मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ । र हेर, यस संसारको अन्तसम्म पनि म सधैँ तिमीहरूको साथमा छु ।”
”यूहन्ना उजाड-स्थानमा बप्तिस्मा दिँदै र पाप-क्षमाको निम्ति पश्चात्तापको बप्तिस्माको प्रचार गर्दै आए ।
”अब यूहन्ना पक्राउ परेपछि परमेश्वरको सुसमाचार प्रचार गर्दै येशू गालीलमा आउनुभयो । र भन्नुभयो, “समय पुरा भएको छ, र परमेश्वरको राज्य नजिकै छ । पश्चात्ताप गर र सुसमाचारमा विश्वास गर ।
”गालील समुद्र भएर जानुहुँदा उहाँले सिमोन र उनका भाइ अन्द्रियासलाई जाल हानिरहेको देख्नुभयो, किनभने तिनीहरू मछुवाहरू थिए । येशूले तिनीहरूलाई भन्नुभयो, “आओ, मेरो पछि लाग र म तिमीहरूलाई मानिसहरूका मछुवाहरू बनाउनेछु ।” तुरुन्तै तिनीहरूले जालहरू छोडे र येशूको पछि लागे ।
”उहाँले भन्नुभयो, “हामी कतै वरिपरि सहरहरूमा जाऔँ, ताकि मैले त्यहाँ पनि प्रचार गर्न सकूँ । त्यसैको लागि म यहाँ आएँ ।
”उहाँ जाँदै गर्नुहुँदा उहाँले अल्फयसका छोरा लेवी कर उठाउने ठाउँमा बसिरहेको देख्नुभयो र उहाँले तिनलाई भन्नुभयो, “मेरो पछि लाग ।” तिनी उठे, र उहाँको पछि लागे ।
”उहाँले बाह्र जनालाई नियुक्त गर्नुभयो,, ताकि तिनीहरू उहाँसँग रहन सकून् र उहाँले तिनीहरूलाई प्रचार गर्न पठाउन सक्नुभएको होस्, अनि भूतहरूलाई निकाल्ने अधिकार होस् ।
”“सुन, बिउ छर्ने बिउ छर्न निस्क्यो । त्यसले बिउ छर्दा केही बिउ बाटोमा परे र चराहरू आएर ती बिउहरू खाइदिए । अरू बिउहरूचाहिँ त्यति माटो नभएको ढुङ्गेनी जमिनमा परे । तिनीहरू तुरुन्तै उम्रिए, किनभने त्यहाँ माटो गहिरो थिएन । तर जब घाम लाग्यो, तिनीहरू ओइलाए, अनि तिनीहरूको जरा नभएकोले र ती सुकिहाले । अरू बिउहरू काँढाका झाङहरूमा परे । काँढाका झाङहरू बढे, र ती निसासिए, अनि तिनीहरूले कुनै फल फलाएनन् । अरू बिउहरू असल जमिनमा परे, र यो बढ्दै र हुर्कंदै गर्दा फल फलाए, केहीले तिस गुणा, साठी गुणा र सय गुणाभन्दा बढी फल फलाए ।” अनि उहाँले भन्नुभयो, “जसको सुन्ने कान छ, त्यसले सुनोस् ।” येशू एकलै हुनुहुँदा उहाँका नजिकका मानिसहरू र बाह्र जना चेलाले उक्त दृष्टान्तको बारेमा उहाँसँग सोधे । उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरूलाई परमेश्वरको राज्यको रहस्य दिइएको छ । तर बाहिरकाहरूलाई हरेक कुरा दृष्टान्तहरूमा दिइएको छ । त्यसैले, जब तिनीहरूले हेर्छन्, हो, तिनीहरूले हेर्छन्, तर देख्दैनन्, र जब तिनीहरूले सुन्छन्, हो, तिनीहरूले सुन्छन्, तर बुझ्दैनन्, नत्रता तिनीहरू फर्कन्थे र परमेश्वरले तिनीहरूलाई क्षमा गर्नुहुने थियो ।”
”अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरूले यो दृष्टान्त बुझ्दैनौ? त्यसो भए, तिमीहरूले अरू दृष्टान्तहरू कसरी बुझ्नेछौ?” बिउ छर्नेले वचन छर्छ । वचन छर्दा बाटोतिर परेका केही बिउ यी नै हुन् । जब तिनीहरूले वचन सुन्छन्, र तुरुन्तै शैतान आउँछ र तिनीहरूमा छरिएका वचन खोसेर लैजान्छ । ढुङ्गेनी जमिनमा छरिएका केही बिउचाहिँ यी नै हुन्, जब तिनीहरूले वचन सुन्छन्, तिनीहरूले यसलाई तुरुन्तै आनन्दसाथ ग्रहण गर्छन् । तिनीहरूको आफ्नो कुनै जरा हुँदैन, तर केही समयसम्म मात्र टिक्छन् । वचनको कारणले सङ्कष्ट वा सतावट आउँदा तिनीहरूले तुरुन्तै ठेस खान्छन् । अरूहरूचाहिँ ती हुन्, जो काँढाका झाङहरूका माझमा छरिएका छन् । तिनीहरूले वचन सुन्छन्, तर संसारको फिक्री, धन-सम्पत्तिको छल र अन्य कुराहरूको लालसा प्रवेश गर्छन् जसले वचनलाई निसासिदिन्छन् र यो फलदायी हुँदैन । असल जमिनमा छरिएका बिउहरूचाहिँ ती नै हुन् । तिनीहरूले वचन सुन्छन्; यसलाई ग्रहण गर्छन् अनि केहीले तिस गुणा, केहीले साठी गुणा र केहीले सय गुणा फल फलाउँछन् ।”
”येशूले भन्नुभयो, “परमेश्वरको राज्य जमिनमा बिउ छर्ने मानिसजस्तो हो । ऊ रातमा सुत्छ अनि दिन भएपछि उठ्छ, अनि कसरी भयो भन्ने उसले नजाने पनि बिउ उम्रन्छ र बढ्छ । जमिन आफैँले अन्न फलाउँछः पहिला टुसा पलाउँछ, त्यसपछि बाला लाग्छ अनि बालामा अन्न पाक्छ । जब अन्न पाक्छ, तुरुन्तै उसले त्यसलाई हँसियाले काट्छ, किनभने कटनीको समय आएको छ ।”
”उहाँले भन्नुभयो, “हामीले परमेश्वरको राज्यलाई केसँग तुलना गर्ने अथवा यसलाई व्याख्या गर्न कुन दृष्टान्त प्रयोग गर्न सकिन्छ? यो रायोको बिउजस्तो हो । यसलाई छर्दा पृथ्वीका बिउहरूमध्ये यो सबैभन्दा सानो हुन्छ । तैपनि यसलाई छरेपछि यो बढ्छ र बगैँचाका सबै बिरुवाभन्दा ठुलो हुन्छ । यसमा ठुला हाँगाहरू पलाउँछ, ताकि आकाशमा उड्ने चराहरूले त्यसको छहारीमा गुँड बनाउन सकून् ।
”तर येशूले त्यसलाई आफूसँग आउन अनुमति दिनुभएन । उहाँले भन्नुभयो, “तिम्रो जाति र तिम्रो घरमा जाऊ, र प्रभुले तिम्रो निम्ति के गर्नुभयो र कस्तो अनुग्रह गर्नुभयो, सो उनीहरूलाई भन ।” त्यसकारण, त्यो मानिस गयो र डेकापोलिसमा येशूले त्यसको निम्ति गर्नुभएका महान् कुराहरू बताउन थाल्यो, अनि तिनीहरू सबै छक्क परे ।
”उहाँले बाह्र जनालाई बोलाउनुभयो, र अशुद्ध आत्माहरूमाथि अधिकार दिनुभयो र दुई-दुई जना गरी तिनीहरूलाई पठाउनुभयो । र उहाँले यात्रामा एउटा लट्ठीबाहेक न रोटी न झोला र कम्मरमा पैसा नै बोक्न दिनुभयो । तर उहाँले चप्पल लगाउन र दुई ओटा दौरा नलगाउनलाई निर्देशन दिनुभयो । उहाँले तिनीहरूलाई भन्नुभयो, “जब तिमीहरू कुनै घरभित्र पस्छौ, त्यो ठाउँ नछोडेसम्म त्यहीँ बस ।
”यदि कुनै नगरले तिमीहरूलाई स्वागत गरेन भने त्यो ठाउँ छोड, र तिनीहरूका निम्ति गवाहीको रूपमा आफ्नो पैतालाको धुलो टकटकाइदिनू ।” तिनीहरू त्यहाँबाट बाहिर गए र मानिसहरू आफ्नो पापबाट फर्केर आउनुपर्छ भनी घोषणा गरे ।
”अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू परमेश्वरको आज्ञालाई सहजै इन्कार गर्दछौ, कि तिमीहरूले आफ्नो परम्परा पालन गर्न सक!
”तिनीहरूसँग थोरै स-साना माछा पनि थिए । त्यसको लागि धन्यवाद दिनुभएपछि उहाँले त्यो पनि बाँडिदिन चेलाहरूलाई आज्ञा गर्नुभयो । तिनीहरूले खाए र अघाए । अनि तिनीहरूले खाएर उब्रेका सात टोकरी रोटीका टुक्रा-टाक्रीहरू बटुले । त्यहाँ लगभग चार हजार जना पुरुष थिए । येशूले तिनीहरूलाई पठाउनुभयो ।
”त्यसपछि उहाँले भिड र उहाँका चेलाहरूलाई सँगै बोलाउनुभयो, र तिनीहरूलाई भन्नुभयो, “यदि कसैले मलाई पछ्याउन चाहन्छ भने, त्यसले आफैँलाई इन्कार गर्नुपर्छ, त्यसको क्रुस बोक्नुपर्छ र मलाई पछ्याउनुपर्छ । किनकि जसले आफ्नो जीवन बचाउन खोज्छ त्यसले त्यो गुमाउनेछ, र जसले मेरो र सुसमाचारको खातिर आफ्नो जीवन गुमाउँछ, त्यसले यसलाई बचाउनेछ । मानिसले सारा संसार प्राप्त गरेर आफ्नै जीवन गुमायो भने उसलाई के लाभ हुन्छ र? मानिसले आफ्नो जीवनको बद्लामा के दिन सक्छ र?
”यस व्यभिचारी र पापी पुस्तामा जो म र मेरो वचनसँग शर्माउँछ, मानिसका पुत्र पनि पवित्र स्वर्गदूतहरूसँग पिताको महिमामा आउँदा त्यससँग शर्माउनेछ ।”
”येशूले भन्नुभयो, “साँचो साँचो म तिमीहरूलाई भन्दछु, जसले मेरो र सुसमाचारको खातिर आफ्नो घर वा दाजुभाइहरू वा दिदी बहिनीहरू वा आमा वा बुबा वा छोरा-छोरीहरू वा जग्गा जमिन त्याग्छ, त्यसले यही संसारमा अहिले नै सतावटको साथै यसको सय गुणा घरहरू, दाजुभाइहरू, दिदी बहिनीहरू, आमाहरू, छोराछोरीहरू र आउने संसारमा अनन्त जीवन पाउनेछ ।
”आफूलाई सचेत राख । तिनीहरूले तिमीहरूलाई परिषद्हरूको हातमा सुम्पिनेछन्, र सभाघरहरूमा तिमीहरू पिटिनेछौ । मेरा साक्षीको रूपमा तिमीहरू शासक र राजा दुवैका सामु मेरा खातिर खडा हुनेछौ । तर सबै जातिलाई पहिले सुसमाचार प्रचार गरिनुपर्छ ।
”जब उनीहरूले तिमीहरूलाई गिरफ्तार गर्छन् र सुम्पन्छन्, तिमीहरूले के बोल्ने भनी चिन्ता नगर । किनभने त्यो समय तिमीहरूले के बोल्नुपर्ने हो, सो तिमीहरूलाई दिइनेछ; त्यस बेला बोल्ने तिमीहरू होइनौ, तर पवित्र आत्मा हुनुहुनेछ ।
”दाजुले भाइलाई र बुबाले आफ्नो छोरोलाई मृत्यको लागि सुम्पिनेछन् । छोराछोरीहरू आफ्ना बुबा-आमाको विरुद्धमा खडा हुनेछन् र तिनीहरूलाई मृत्युमा पुर्याउनेछन् । मेरो नाउँको खातिर तिमीहरू सबैद्वारा घृणित हुनेछौ । तर जो अन्त्यसम्म रहनेछ, त्यो मानिस बचाइनेछ ।
”उहाँले तिनीहरूलाई भन्नुभयो, “सारा संसारमा जाओ, र समग्र सृष्टिलाई सुसमाचार प्रचार गर । जसले विश्वास गर्छ र बप्तिस्मा लिन्छ त्यो बचाइनेछ र जसले विश्वास गर्दैन त्यो दोषी ठहरिनेछ ।
”चेलाहरू गए, र सबैतिर प्रचार गरे र प्रभुले तिनीहरूसँग काम गर्नुभयो र तिनीहरूसँग भएका आश्चर्य चिन्हहरूले वचनलाई पुष्टि गर्नुभयो ।
”तिनीहरूले यी कुरा हामीलाई भर्खरै सुम्पिदिए, जो सुरुदेखि नै प्रत्यक्षदर्शी र वचनका सेवकहरू भएका छन् ।
”तिनीहरूका पाप-क्षमाद्वारा उहाँले आफ्ना मानिसहरूलाई मुक्तिको ज्ञान दिनुभएको छ ।
”तब स्वर्गदूतले तिनीहरूलाई भने, “नडराऊ, किनभने आज म तिमीहरूलाई बडो आनन्दको सुसमाचार घोषणा गर्छु, जसले सबै मानिसहरूलाई ठुलो आनन्द दिनेछ ।
”उनले पाप क्षमाका निम्ति बप्तिस्माको प्रचार गर्दै यर्दन नदी वरपरिका क्षेत्रहरूमा प्रचार गर्दै हिँडे । जसरी यशैया अगमवक्ताको पुस्तकमा लेखिएको छ, “उजाड-स्थानमा कसैको आवाजले बोलाइरहेको छ, प्रभुको मार्ग तयार पार, उहाँका मार्गहरू सोझो बनाऊ । हरेक उपत्यका बनाइनेछ, हरेक पहाड र डाँडाहरू समतल पारिनेछ, बाङ्गा बाटाहरू सोझो हुन आउनेछन् र नराम्रा बाटोहरू राम्रा बनाइनेछन् । सबै मानिसहरूले परमेश्वरको उद्धारलाई देख्नेछन् ।”
”उहाँले मानिसहरूलाई अझ धेरै उत्साह दिँदै सुसमाचार प्रचार गर्नुभयो ।
”“परमप्रभुका आत्मा ममाथि छ, किनभने उहाँले मलाई गरिबहरूलाई सुसमाचार सुनाउनको निम्ति अभिषेक गर्नुभएको छ । उहाँले कैदीहरूलाई छुटकाराको घोषणा गर्न मलाई पठाउनुभएको छ र दृष्टिविहीनहरूलाई दृष्टि दिन, अन्यायमा परेकाहरूलाई स्वतन्त्रता प्रदान गर्न,
”तर येशूले भन्नुभयो, “मैले अन्य सहरहरूमा पनि राज्यको सुसमाचार प्रचार गर्नुपर्छ, किनभने म यसैको लागि पठाइएको हुँ ।”
”उहाँले बोलिसक्नुभएपछि सिमोनलाई भन्नुभयो, “माछाहरू समात्नलाई तिम्रो डुङ्गा गहिरो पानीतिर लैजाऊ र जाल हान ।” सिमोनले जवाफ दिएर भने, “प्रभु, हामीले रातभरि जाल हान्यौँ, तर केही पनि पक्रन सकेनौँ । तरै पनि तपाईं भन्नुहुन्छ भने म जाल हान्नेछु ।” जब तिनीहरूले यसो गरे, तिनीहरूले धेरै सङ्ख्यामा माछाहरू बटुले र तिनीहरूको जाल फाट्न लागिरहेको थियो । त्यसैले, तिनीहरूले आफ्ना डुङ्गाका अरू साथीहरूलाई सहयोग गर्न आउनको लागि इसारा गरे । तिनीहरू आए र सबै डुङ्गाहरू भरे अनि ती डुब्न थाले । तर सिमोन पत्रुसले जब यो देखे, येशूको अगाडि घुँडा टेकेर भने, “हे प्रभु, मबाट टाढा जानुहोस् किनकि म पापी हुँ ।” तिनीहरूले माछा समातेको देखेर उनी र तिनीसँग भएका सबै जना आश्चर्य चकित भए । यस कार्यमा जब्दियाका छोराहरू याकूब र यूहन्ना पत्रुससँग साझेदार थिए । येशूले पत्रुसलाई भन्नुभयो, “नडराऊ, किनभने अबदेखि तिमीले मानिसहरू पक्रनेछौ ।” जब तिनीहरूले आफ्नो डुङ्गालाई जमिनमा ल्याए, उनीहरूले आफूसँग भएका सबै कुरा छोडेर उहाँको पछि लागे ।
”यसपछि येशू त्यहाँबाट जानुभयो र लेवी नाउँ गरेको कर उठाउने व्यक्तिलाई कर उठाउने ठाउँमा बसिरहेको देख्नुभयो । उहाँले उसलाई भन्नुभयो, “मलाई पछ्याऊ ।” त्यसैले, लेवीले सब थोक छाडेर उठे अनि उहाँलाई पछ्याए ।
”त्यसदिन तिमीहरू रमाओ र आनन्दले उफ्र, किनकि निश्चय नै स्वर्गमा तिमीहरूका लागि ठुलो इनाम हुनेछ । किनकि तिनीहरूका पुर्खाहरूले पनि अगमवक्ताहरूलाई त्यसै गरेका थिए ।
”येशूले तिनीहरूलाई जवाफ दिएर भन्नुभयो, “तिमीहरू आफ्नो बाटो लागिसकेपछि तिमीहरूले जे सुनेका र देखेका छौ, सो यूहन्नालाई बताइदेओ । दृष्टिविहीनहरूले दृष्टि पाइराखेका छन्, लङ्गडाहरू हिँडिराखेका छन्, कुष्ठरोगीहरू शुद्ध भइराखेका छन्, कान नसुन्नेहरूले सुनिराखेका छन्, मृतकहरू जीवित भइराखेका छन् र आवश्यकतामा परेका मानिसहरूलाई सुसमाचार सुनाइएको छ । मेरो क्रियाकलापको कारणले मलाई विश्वास गर्न नछोड्ने त्यो मानिस धन्यको हो ।
”यसपछि छिट्टै प्रभु येशू आफ्ना बाह्र जना चेलाका साथमा वरपरका सहरहरू र गाउँहरूमा प्रचार गर्दै र परमेश्वरको राज्यको सुसमाचार घोषणा गर्दै जानुभयो ।
”“एउटा बिउ छर्ने केही बिउहरू छर्नलाई निस्क्यो । उसले छर्दा केही बिउहरू बाटोमा परे र ती बिउहरू खुट्टाले कुल्चिए, र आकाशका चराहरूले ती खाए । अरू बिउ ढुङ्गेनी जमिनमा परे र चाँडै ती बोटको रूपमा बढे र सुकिहाले, किनकि त्यो जमिन ओबानो थियो । अझै अरू बिउहरू काँढाँका बिरुवाहरूमा परे, र बिउहरू सँगसँगै बिरुवाहरू पनि बढे र बिउहरूलाई काँढे झाडीले निसासिदियो । तर केही बिउहरू असल जमिनमा परे र सय गुणा फल फलाए ।” येशूले यी कुराहरू भनिसक्नुभएपछि उहाँले बोलाउनुभयो, जससँग सुन्ने कानहरू छन् त्यसले सुनोस् । त्यसपछि उहाँका चेलाहरूले उहाँलाई यो दृष्टान्तको अर्थ के हुन सक्छ भनी सोधे । येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूलाई परमेश्वरका राज्यका रहस्यका कुराहरू बुझ्ने अवसर दिइएको छ, तर बाँकी मानिसहरूलाई दृष्टान्तमा सिकाइने छ । त्यसकारण ‘वास्तवमा तिनीहरूले हेरेर पनि देख्नेछैनन्, सुनेर पनि बुझ्नेछैनन् ।’
”अब दृष्टान्तको अर्थ यही होः बिउ परमेश्वरको वचन हो । बाटोको किनारमा परेका बिउ ती मानिसहरूजस्ता हुन् जसले वचन सुन्छन्, तर दुष्ट आउँछ र तिनीहरूको हृदयमा भएका वचन खोसेर लैजान्छ ताकि तिनीहरूले विश्वास नगरून् र नबाँचून् । त्यसपछि ढुङ्गेनी जमिनमा परेको बिउ ती मानिसहरूजस्ता हुन् जसले वचन सुन्छन्, खुसीसाथ ग्रहण गर्छन्, तर तिनीहरूको गहिराइ नभएकोले केवल एक क्षणका लागि मात्र विश्वास गर्छन् र जाँचको समयमा तिनीहरू पतन भएर जान्छन् । काँडाको झाडीमा परेको बिउ ती मानिसहरूजस्ता हुन् जसले वचन सुनेका छन्, तर जीवन जिउने क्रममा, संसारका धन सम्पत्तिको फिक्री, सुख विलासका कारण निसासिएर परिपक्व फल फलाउन सक्दैनन् । तर असल जमिनमा परेका बिउ ती मानिसहरूजस्तउ हुन्, जसले इमानदार र असल हृदयसाथ वचन सुनेर यसलाई सुरक्षितसाथ पक्री राख्छन् र धैर्यसाथ फल फलाउँछन् ।
”“आफ्नो घर फर्क र परमेश्वरले तिम्रो निम्ति गर्नुभएका महान् कार्यहरूको स्मरण गर ।”
”उहाँले बाह्र जनालाई एकैसाथ बोलाउनुभयो र तिनीहरूलाई सबै भूतहरू निकाल्ने र रोगहरू निको पार्ने अधिकार र शक्ति दिनुभयो । उहाँले तिनीहरूलाई परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्न र बिरामी निको पार्न पठाउनुभयो । उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले यात्राका निम्ति केही नलैजाओ न त लौरो, न त थैली, न त रोटी, न त पैसा, न त दुईवटा दौरा लैजाओ । तिमीहरू जुन घरमा पस्छौ, त्यस ठाउँलाई नछोडेसम्म त्यहीँ बस ।
”कसैले तिमीहरूलाई ग्रहण गर्दैन भने, जब तिमीहरू त्यस सहरलाई छोडछौ, तिनीहरूका विरुद्धमा साक्षीका लागि तिमीहरूका खुट्टाको धुलोसमेत टकटकाइदेओ ।” तब तिनीहरू सुसमाचारको घोषणा गर्दै हिँडे र हरेक ठाउँका रोगी मानिसहरूलाई निको पार्दै गाउँहरूतिर गए ।
”उहाँले तिनीहरू सबैलाई भन्नुभयो, “यदि कोही मेरो पछि आउन चाहन्छ भने, उसले आफैँलाई इन्कार गरोस्, दिनहुँ आफ्नो क्रुस उठाओस् र मलाई पछ्याओस् । जसले आफ्नो जीवनलाई बचाउने प्रयास गर्दछ, उसले त्यसलाई गुमाउनेछ, तर मेरो खातिर जसले आफ्नो जीवन गुमाउँछ, त्यसले त्यो बचाउनेछ । सारा संसार हात पारेर पनि उसले आफैँलाई नाश गर्छ वा गुमाउँछ भने, मानिसलाई के लाभ हुन्छ र?
”जो मेरा वचनहरू र मसँग शर्माउँछ, महिमाका पिता र पवित्र दूतहरूका सामु मानिसका पुत्र पनि आफ्नो महिमामा आउँदा तिनीहरूसँग शर्माउँनेछन् ।
”तब उहाँले अर्को मानिसलाई भन्नुभयो, “मेरो पछि लाग ।” तर उसले भन्यो, “प्रभु, मलाई पहिले मेरा बुबालाई गाड्न दिनुहोस् ।” तर उहाँले उसलाई भन्नुभयो, “मृतकहरूलाई नै तिनीहरूको मृत शरीर गाड्न देऊ, तर तिमी जाऊ र जताततै परमेश्वरको राज्यको घोषणा गर ।”
”अर्को मानिसले पनि भन्यो, “प्रभु म तपाईंलाई पछ्याउँछु, तर पहिले मेरो घरमा भएकाहरूसँग बिदा माग्न दिनुहोस् ।” तर येशूले उसलाई भन्नुभयो, “हलोमा आफ्नो हात राखेर पछाडि हेर्ने कोही पनि परमेश्वरको राज्यको योग्य हुँदैन ।”
”अब यी कुराहरूपछि, प्रभुले अरू सत्तरी जनालाई नियुक्त गर्नुभयो, र जहाँ उहाँ आफैँ जान चाहनुहुन्थ्यो हरेक सहर र ठाउँमा तिनीहरूलाई उहाँको अगि-अगि जोडी-जोडी बनाएर पठाउनुभयो ।
”उहाँले तिनीहरूलाई भन्नुभयो, “फसल प्रशस्त छ, तर खेतालाहरू थोरै छन् । यसकारण फसलका प्रभुसँग जरुरी प्रार्थना गर, ताकि उहाँले खेतालाहरूलाई उहाँको फसलमा पठाऊन् ।
”तिम्रो मार्गमा गई राख । हेर, म तिमीहरूलाई ब्वाँसाहरूका बिचमा भेडाजस्तै पठाउँदै छु । पैसाको थैली नबोक, यात्राको निम्ति झोला नबोक, न त फाल्तु चप्पलहरू, र बाटोमा कसैलाई अभिवादन नगर ।
”तर तिमीहरू जुन सहरमा प्रवेश गर्छौ र तिनीहरूले तिमीहरूलाई स्वागत गरेनन् भने, त्यस सहरका सडकहरूमा गएर यसो भन, “तिमीहरूको सहरबाट हाम्रा खुट्टाहरूमा टाँसिएका धुला पनि तिमीहरूको विरुद्ध टकटकाउदँ छौ । तर यो जान कि परमेश्वरको राज्य तिमीहरूको नजिक आएको छ ।” म तिमीहरूलाई भन्दछु, कि न्यायको दिन त्यस सहरलाई भन्दा सदोमका निम्ति सह्य हुनेछ ।
”जसले तिमीहरूले भनेको सुन्छ, त्यसले मैले भनेको सुन्छ, जसले तिमीहरूलाई इन्कार गर्छ, त्यसले मलाई इन्कार गर्छ, र जसले मलाई इन्कार गर्छ, त्यसले मलाई पठाउनुहुनेलाई इन्कार गर्छ ।
”निनवेका मानिसहरू यो पुस्ताका मानिसहरूसँगै न्यायमा उभिनेछन् र यिनीहरूलाई दोष लगाउनेछन् । तिनीहरूले योनाको प्रचार सुनेर पश्चात्ताप गरे र हेर, योनाभन्दा पनि महान् कोही यहाँ हुनुहुन्छ ।
”म तिमीलाई भन्दछु, कि हरेक जसले मानिसहरूका अगि मलाई स्वीकार गर्दछ, परमप्रभुका दूतहरूका अगि मानिसका पुत्रले पनि उसलाई स्वीकार गर्नेछन् । तर जसले मलाई मानिसहरूका सामु इन्कार गर्दछ, परमप्रभु परमेश्वरका दूतहरूले उसलाई पनि इन्कार गर्नेछन् ।
”जब तिनीहरूले तिमीहरूलाई सभाघरको शासक र अधिकारीहरूको अगि ल्याउनेछन, कसरी प्रतिकार गर्ने र के बोल्ने भन्ने विषयमा चिन्तित नहोओ । पवित्र आत्माले तिमीहरूलाई त्यही घडी के भन्नुपर्ने हो भनी सिकाउनुहुनेछ ।
”आफ्ना धन सम्पत्ति बेच र गरिबहरूलाई देओ । तिनलाई नखिइने थैलीभित्री राख; स्वर्गमा धन संचय गर, जहाँ चोरले चोर्न सक्दैन, र किराले हानि पुर्याउँदैन, न त खिया नै लाग्दछ । जहाँ तिम्रो धन छ, त्यहीँ नै तिम्रो मन पनि हुनेछ ।
”के म पृथ्वीमा शान्ति ल्याउन आएको हुँ भनी सोच्द्छौ? होइन, म तिमीहरूलाई भन्दछु, कि म बरु विभाजन ल्याउन आएँ । अब परिवारमा भएका पाँच जना मानिसमध्ये तिन जना दुई जनाको विरुद्धमा वा दुई जना तिन जनाको विरुद्धमा हुनेछन् । त्यहाँ विभाजन हुनेछ । बाबुको विरुद्धमा छोरा र छोराको विरुद्धमा बाबु हुनेछ; आमा छोरीको विरुद्धमा र छोरी आमाको विरुद्धमा, सासू बुहारीको विरुद्धमा र बुहारी सासूको विरुद्धमा हुनेछिन् ।
”म भन्छु, होइन । तर यदि तिमीहरूले पश्चात्ताप गरेनौ भने, तिमीहरू पनि यसरी नै नष्ट हुनेछौ ।
”तर येशूले त्यसलाई भन्नुभयो, “एक जना मानिसले ठुलो भोजको आयोजना गर्यो र धेरैलाई निम्तो दियो । जब भोज तयार भयो, तब उसले आफ्नो सेवकलाई निम्तो गरिएकाहरूलाई बोलाउन पठायो ‘आउनुहोस् सबै कुरा तयार भइसक्यो ।’ तिनीहरू सबैले फरक-फरक किसिमको बहाना बनाउन थाले । पहिलोले भन्यो, ‘मैले भर्खर खेत किनेको छु र मैले गएर त्यो हेर्नुपर्छ । कृपया मलाई माफ गर्नुहोस् ।’ र अर्कोले भन्यो, ‘मैले पाँच हल गोरु किनेको छु र मैले तिनीहरूलाई जोत्नुपर्छ । कृपया मलाई माफ गर्नुहोस् ।’ र अर्को मानिसले भन्यो, ‘मैले श्रीमती विवाह गरेको छु, त्यसकारण म आउन सक्दिनँ ।’ त्यो सेवक फर्केर आएर आफ्ना मालिकलाई ती कुराहरू सुनाइदियो, तब त्यस घरका मालिक रिसाए र सेवकलाई भने, ‘छिटो बाहिर गल्ली र सहरका खुल्ला मैदानमा जाऊ र गरिब, लुला, लङ्गडा, दृष्टिविहीनहरूलाई यहाँ ल्याऊ ।’ तब सेवकले भन्यो, ‘मालिक, तपाईंको आदेशअनुसार सबै कुरा भयो, तरै पनि त्यहाँ अझै ठाउँ बाँकी छ ।’ मालिकले सेवकलाई भने, ‘राजमार्गहरू, गल्लीहरूमा गएर मानिसहरूलाई भित्र आउन अनुरोध गर, ताकि मेरो घर भरिएको होस् । किनकि म तिमीलाई भन्दछु, पहिला बोलाएकाहरू कसैले पनि मेरो भोज चाख्न पाउने छैन ।’
”“यदि कोही मेरो पछि आउँछ भने र आफ्नो आमा, बुबा, श्रीमती, छोराछोरी, दाजुभाइ र दिदी-बहिननी, र आफ्नै जीवनलाई पनि इन्कार गर्दैन भने, ऊ मेरो चेला हुन सक्दैन । जसले आफ्नो क्रुस बोकेर मेरो पछि लाग्दैन, ऊ मेरो चेला हुन सक्दैन ।
”त्यसैले, तिमीहरूमध्ये कसैले आफूसँग भएको सबै कुरा त्याग्न सक्दैन भने, ऊ मेरो चेला हुन सक्दैन । नुन असल हो, तर यदि नुनले यसको स्वाद गुमायो भने, यसलाई कसरी फेरि नुनिलो बनाउने?
”म पनि तिमीहरूलाई भन्दछु, कि उनान्सय जना पश्चात्ताप गर्न नपर्ने धर्मी मानिसहरूभन्दा पश्चात्ताप गर्नुपर्ने एक जना पापी मानिसको खातिर स्वर्गमा ठुलो रमाहट हुनेछ ।
”त्यसै गरी, म तिमीहरूलाई भन्दछु, कि एक जना पश्चात्ताप गर्ने पापीका खातिर परमेश्वरका दूतहरूका उपस्थितिमा स्वर्गमा ठुलो आनन्द हुनेछ ।”
”किनकि मानिसका पुत्र हराएकाहरूलाई खोज्न र बचाउनको लागि आएका हुन् ।”
”येशूले मन्दिरमा मानिसहरूलाई शिक्षा दिइरहनुहुँदा र सुसमाचार प्रचार गरिरहनुहुँदा, अगुवाहरूसहित मुख्य पुजारीहरू र शास्त्रीहरू येशूकहाँ आए ।
”तर यी सबै कुरा हुन अगाडि, तिनीहरूका हात तिमीहरूमाथि पर्नेछन् र तिनीहरूले तिमीहरूलाई सताउनेछन्, सभाघरमा सुम्पिदिनेछन् र झ्यालखानामा हाल्नेछन्, तिमीहरूलाई मेरो नाउँको कारण राजाहरू र हाकिमहरूका अगाडि ल्याउनेछन् । यसले तिमीहरूको गवाहीका लागि अवसरतिर डोर्याउनेछ ।
”त्यसकारण, तिमीहरूले बचाउको लागि के भन्ने भनेर अगिबाटै हृदयमा नसोच । तिमीहरूका विरोधीहरूले सबै कुराको खण्डन गर्न नसकून् भनेर म तिमीहरूलाई वचन र बुद्धि दिनेछु ।
”तर तिमीहरूलाई तिमीहरूका आमा बुबा र दाजुभाइहरू, नातेदारहरू र साथीभाइहरूले सुम्पिदिनेछन् र तिमीहरूमध्ये केही मृत्युका लागि सुम्पिनेछौ । मेरो नाउँको खातिर सबैले तिमीहरूलाई घृणा गर्नेछन् ।
”तब येशूले तिनीहरूलाई भन्नुभयो, “जब मैले तिमीहरूलाई पैसाको थैलो, खानेकुरा, वा जुत्ताहरूविना पठाउँदा, के तिमीहरूलाई केही कुराको खाँचो पर्यो र?” र तिनीहरूले जवाफ दिए, “खाँचो परेन ।” तब उहाँले तिनीहरूलाई भन्नुभयो, “तर अहिले जोसँग पैसाको थैली छ, उसलाई बोक्न देऊ र खानेकुरा बोक्ने झोला पनि । जससँग तरवार छैन, त्यसले आफ्नो ओढ्ने बेचोस् र एउटा किनोस् ।
”र उहाँको नाउँमा यरूशलेमबाट सुरु गरेर सबै जातिहरूलाई पश्चात्ताप र पाप क्षमाको बारेमा प्रचार गर्नुपर्छ । तिमीहरू यी कुराहरूका साक्षी छौ ।
”तर जतिले उहाँलाई स्वीकार गरे अर्थात् उहाँको नाउँमा विश्वास गरे उहाँले तिनीहरूलाई परमेश्वरका सन्तानहरू हुने अधिकार दिनुभयो । यिनीहरू न रगतले, न शारीरिक इच्छाअनुसार, न मानिसको इच्छाअनुसार नै जन्मेका थिए, तर परमेश्वरबाट जन्मेका थिए ।
”अर्को दिन जब येशू गालीलतिर जान त्यस ठाउँलाई छोड्न चाहनुभयो, उहाँले फिलिपलाई भेट्नुभयो र उनलाई भन्नुभयो, “मलाई पछ्याऊ ।”
”येशूले तिनलाई जवाफ दिनुभयो, “साँचो, साँचो म तिमीलाई भन्दछु, कोही फेरि नजन्मिएसम्म, त्यसले परमेश्वरको राज्य देख्न सक्दैन ।” निकोदेमसले उहाँलाई भने “मानिस वृद्ध भएपछि कसरी जन्मन सक्छ? ऊ फेरि दोस्रो पल्ट उसकी आमाको गर्भमा पस्न, र जन्मन सक्दैन, सक्छ त? येशूले जवाफ दिनुभयो, “साँचो, साँचो म तिमीलाई भन्दछु, कोही पनि पानी र आत्माबाट नजन्मेसम्म ऊ परमेश्वरको राज्यमा पस्न सक्दैन । शरीरबाट जन्मेको शरीर हो, र पवित्र आत्माबाट जन्मेको आत्मा हो । मैले तिमीलाई, ‘तिमी फेरि जन्मनुपर्छ’ भनेकोमा अचम्म नमान । हावा जता चाहन्छ त्यतै बहन्छ; तिमीले यसको आवाज सुन्छौ; तर यो कहाँबाट आउँछ, र कतातिर गइरहेको छ तिमी जान्दैनौ । पवित्र आत्माबाट जन्मेका सबै त्यस्तै हुन्छन् ।”
”साँचो, साँचो म तिमीलाई भन्दछु, कि हामी जे जान्दछौँ, त्यहीँ भन्छौँ, र हामीले जे देखेका छौँ, त्यसैको गवाही दिन्छौँ । तापनि तिमीहरू हाम्रो गवाही स्वीकार गर्दैनौ । यदि मैले तिमीलाई पृथ्वीको कुरा भनेँ भने तिमीहरू विश्वास गर्दैनौ, यदि मैले स्वर्गका कुराहरू भनेँ भने तिमीले कसरी विश्वास गर्छौ?
”किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एक मात्र पुत्र दिनुभयो, ताकि उहाँमा विश्वास गर्ने कोही पनि नमरोस्, तर उसले अनन्त जीवन पाओस् । किनकि परमेश्वरले यस संसारलाई दण्ड दिन होइन, तर उहाँद्वारा संसारलाई बचाउन आफ्ना पुत्र पठाउनुभयो । उहाँमा विश्वास गर्ने दण्डित हुँदैन, तर उहाँमा विश्वास नगर्ने अगि नै दण्डित भइसकेको छ, किनभने त्यसले परमेश्वरका एक मात्र पुत्रको नाउँमा विश्वास गरेको छैन । न्यायको कारण यही होः ज्योति संसारमा आउनुभएको छ, र मानिसहरूले ज्योतिभन्दा अन्धकारलाई नै रुचाए, किनभने तिनीहरूका कामहरू दुष्ट थिए । किनकि दुष्ट काम गर्ने हरेकले ज्योतिलाई घृणा गर्छ, र त्यो ज्योतितर्फ आउँदैन, ताकि त्यसका कार्यहरू प्रकट नहोऊन् । तापनि सत्य काम गर्ने ज्योतिमा आउँछ, ताकि परमेश्वरमा गरिएका त्यसका कामहरू प्रकट होऊन् ।
”पुत्रमा विश्वास गर्नेसँग अनन्त जीवन हुन्छ, तर पुत्रको अवाज्ञा गर्नेले जीवन देख्नेछैन, तर त्यसमाथि परमेश्वरको क्रोध पर्नेछ ।”
”अझ पनि चार महिना छ र त्यसपछि कटनी गर्ने समय आउनेछ भनी के तिमीहरू भन्दैनौ? म तिमीहरूलाई भन्दै छु, हेर र खेतलाई देख, किनकि तिनीहरू कटनीको निम्ति अगि नै पाकिसकेका छन् । जसले कटनी गर्छ, त्यसले ज्याला पाउँछ र अनन्त जीवनको निम्ति फल बटुल्छ, ताकि छर्ने र कटनी गर्ने सँगसँगै रमाउन सकून् । किनकि एउटाले छर्छ र अर्काले कटनी गर्छ भन्ने यो भनाइ यसैमा साँचो छ । तिमीहरूले काम नगरेका कुरा कटनी गर्न मैले तिमीहरूलाई पठाएँ । अरूहरूले काम गरेका छन्, र तिमीहरू उनीहरूका श्रममा प्रवेश गरेका छौ ।”
”साँचो, साँचो, जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुनेलाई विश्वास गर्छ त्यससँग अनन्त जीवन हुन्छ र त्यो दोषी ठहराइनेछैन, तर त्यो मृत्युबाट जीवनमा सरेको छ ।
”यसकारण म तिमीहरूलाई भन्दछु, तिमीहरू आफ्नो पापमा नै मर्नेछौ, किनभने म उही हुँ भनी तिमीहरूले विश्वास नगरेसम्म तिमीहरू आफ्नो पापमा नै मर्नेछौ ।”
”येशूले उहाँमा विश्वास गर्ने यहूदीहरूलाई भन्नुभयो, “यदि तिमीहरू मेरो वचनमा रहिरह्यौ भने तिमीहरू साँच्चै मेरा चेलाहरू हौ; र तिमीहरूले सत्य जन्नेछौ, र सत्यले तिमीहरूलाई स्वतन्त्र पार्नेछ ।”
”मलाई पठाउनुहुनेका कामहरू हामीले दिन हुँदै गर्नुपर्छ । रात आउँदै छ, तब कसैले पनि काम गर्न सक्दैन ।
”“साँचो, साँचो म तिमीहरूलाई भन्दछु, जो भेडाको खोरको ढोकाबाट प्रवेश गर्दैन, तर अरू नै मार्गहरूबाट चढ्छ, त्यो मानिस चोर र डाँकु हो ।
”जसले मलाई इन्कार गर्छ, र मेरा वचनहरू ग्रहण गर्दैन, त्यसको न्याय गर्ने एक जना हुनुहुन्छः मैले बोलेको मेरो वचनले नै अन्त्यको दिनमा त्यसको न्याय गर्नेछ । किनकि म मेरो आफ्नै तर्फबाट बोलिनँ, तर मलाई पठाउनुहुने पिता नै हुनुहुन्छ, जसले मैले के बोल्ने र के भन्ने विषयमा आज्ञा दिनुभएको छ ।
”येशूले तिनलाई भन्नुभयो, “बाटो, सत्य र जीवन मै नै हुँ; मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन ।
”तर यीचाहिँ लेखिएका छन्, ताकि येशू नै ख्रीष्ट अर्थात् परमेश्वरका पुत्र हुनुहुन्छ भनी तिमीहरूले विश्वास गर्न सक र विश्वास गरेर उहाँको नाउँमा तिमीहरूले जीवन पाउन सक ।
”उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूको जाल डुङ्गाको दाहिनेपट्टि हान, अनि तिमीहरूले केही भेट्टाउनेछौ ।” त्यसैले, तिनीहरूले आफ्नो जाल हाने, तर माछाहरू अति धेरै भएकोले तिनीहरूले त्यो तान्न सकेनन् । तब येशूले प्रेम गर्नुभएका चेलाले पत्रुसलाई भने, “उहाँ प्रभु हुनुहुन्छ ।” जब सिमोन पत्रुसले उहाँ प्रभु हुनुहुन्छ भन्ने सुने, तिनले तिनको बाहिरी वस्त्र बाँधे, र समुद्रमा आफैँ हाम्फाले । अरू चेलाहरू डुङ्गामा चढे, र तिनीहरूले माछाले भरिएको जाल तानिरहेका थिए । जब तिनीहरू जमिनमा उत्रे, तिनीहरूले आगोको भुङ्ग्रो र त्यसमा रोटीसँगै माछा राखेको देखे । येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले भर्खरै पक्रेका केही माछाहरू ल्याओ ।” तब सिमोन पत्रुस गए, र एक सय त्रिपन्नवटा ठुला-ठुला माछाले भरिएको त्यो जाल जमिनमा ल्याए । त्यहाँ यति धैरै माछाहरू थिए, तर पनि जाल च्यातिएन ।
”तर जब पवित्र आत्मा तिमीहरूमाथि आउनुहुन्छ, तिमीहरूले शक्ति प्राप्त गर्नेछौ, अनि तिमीहरू यरूशलेममा र सारा यहूदियामा र सामरिया र पृथ्वीको अन्तिम छेउसम्मै मेरा साक्षीहरू हुनेछौ ।”
”यस्तो हुनेछ कि परमेश्वरको नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ ।
”अनि पत्रुसले तिनीहरूलाई भने, “पश्चात्ताप गर र तिमीहरू हरेकले तिमीहरूका पाप क्षमाको निम्ति येशू ख्रीष्टको नाउँमा बप्तिस्मा लेओ र तिमीहरूले पवित्र आत्माको वरदान प्राप्त गर्नेछौ । यो प्रतिज्ञा तिमीहरूका लागि, तिमीहरूका सन्तानहरूका लागि र टाढा-टाढा भएका सबैका लागि, र परमेश्वरले बोलाउनुहुने सबै मानिसहरूका लागि हो ।” अरू धेरै वचनहरूद्वारा तिनले गवाही दिए र तिनीहरूलाई आग्रह गरे । तिनले भने, “यो दुष्ट पुस्ताबाट तिमीहरूले आफैँलाई बचाओ ।”
”तब तिनीहरूले तिनको वचन ग्रहण गरे र बप्तिस्मा लिए र झन्डै तिन हजार प्राणहरू त्यस दिन थपिए ।
”तिनीहरूले परमेश्वरको महिमा गर्थे र सबै मानिसहरूमाझ शुभेच्छा थियो । प्रभुले उद्धार पाइरहेकाहरूलाई दिनदिनै तिनीहरूका माझमा थप्नुभयो ।
”त्यसकारण, पश्चाताप गर्नुहोस् र फर्कनुहोस् ताकि तपाईंहरूका पाप मेटिऊन्, र परमप्रभुको उपस्थितिबाट ताजा बनाउने समय आओस् । र उहाँले नियुक्त भइसक्नुभएका ख्रीष्ट येशूलाई तपाईंहरूका निम्ति पठाउन सक्नुहुनेछ । सबै कुराहरूको पुनर्स्थापना नभएसम्म उहाँलाई स्वर्गले ग्रहण गर्नुपर्छ, जसको बारेमा परमेश्वरले उहाँका पवित्र अगमवक्ताहरूद्वारा धेरै पहिले देखि बोल्नु भयो ।
”तर सन्देश सुनेका मानिसहरूमध्ये धेरै जनाले विश्वास गरे र विश्वास गर्ने मानिसहरूको सङ्ख्या करिब पाँच हजार थियो ।
”अरू कुनै व्यक्तिमा मुक्ति छैन किनभने हामी बचाइनका लागि स्वर्गमुनि मानिसहरूका माझमा अर्को कुनै नाउँ दिइएको छैन ।”
”जब तिनीहरूले पत्रुस र यूहन्नाको साहस देखे र महसुस गरे कि उनीहरू साधारण र आशिक्षित मानिसहरू थिए, तब पत्रुस र यूहन्ना येशूसँगै रहने गर्दथे भन्ने कुरा थाहा पाएर तिनीहरू छक्क परे ।
”तिनीहरूले पत्रुस र यूहन्नालाई भित्र बोलाए र येशूको नाउँमा बोल्दै नबोल्नू न त शिक्षा नै दिनू भनी आज्ञा दिए । तर पत्रुस र यूहन्नाले उनीहरूलाई जवाफ दिए र भने, “परमेश्वरको नजरमा उहाँको भन्दा बढी तपाईंहरूको आज्ञापालन गर्नु उचित हो कि होइन, तपाईंहरू नै न्याय गर्नुहोस् । किनकि हामीले देखेका र सुनेका कुराहरूको बारेमा हामी नबोली रहन सक्दैनौँ ।”
”हे प्रभु, अब तिनीहरूका चेताउनीलाई हेर्नुहोस् र तपाईंका सेवकहरूलाई तपाईंको वचन पुरा साहससित बोल्न दिनुहोस् । ताकि जब तपाईंले निको पार्नका लागि आफ्नो हात पसार्नुहुन्छ तपाईंका पवित्र सेवक येशूको नाउँद्वारा चिन्हहरू र आश्चर्यहरू होऊन् ।” तिनीहरूले प्रार्थना गरेर सिध्याएपछि तिनीहरू भेला भएको ठाउँ हल्लियो र तिनीहरू सबै पवित्र आत्माले भरिए र तिनीहरूले परमेश्वरको वचन साहससित बोले ।
”ठुलो शक्तिसाथ प्रेरितहरूले प्रभु येशूको पुनरुत्थानको बारेमा गवाही घोषणा गर्दैथिए र उनीहरू सबैमाथि ठुलो अनुग्रह थियो ।
”तिनीहरूले उनीहरूलाई ल्याएपछि, तिनीहरूले उनीहरूलाई सभाको अगि राखे । प्रधान पूजाहारीले उनीहरूलाई यसो भनेर सोधपुछ गरे, “हामीले तिमीहरूलाई यस नाउँमा नसिकाउनलाई कडा आज्ञा दियौँ तर पनि तिमीहरूले आफ्नो शिक्षाले यरूशलेम भरिसकेका छौ र त्यस मानिसको रगत हामीमाथि ल्याउने इच्छा गर्छौ ।” तर पत्रुस र प्रेरितहरूले जवाफ दिए, “हामीले मानिसहरूको भन्दा परमेश्वरको आज्ञा पालन गर्नु पर्छ ।
”तब तिनीहरूले प्रेरितहरूलाई भित्र बोलाए र उनीहरूलाई कुटे र येशूको नाउँमा नबोल्नलाई आज्ञा गरे र तिनीहरूलाई जान दिए । तिनीहरू त्यस नाउँको निम्ति अपमान भोग्न योग्यका गनिएकामा तिनीहरूले अनान्दित हुँदै त्यो परिषद् छाडे । त्यसपछि हरेक दिन मन्दिर र घर-घरमा, तिनीहरूले निरन्तर येशूलाई नै ख्रीष्टको रूपमा सिकाइरहेका र प्रचार गरिरहेका थिए ।
”तथापि छरपष्ट भएका विश्वासीहरूले चारैतिर वचन बाँड्दै गए । फिलिप सामरियाको सहरमा गए र तिनले तिनीहरूलाई ख्रीष्टको बारेमा प्रचार गरे ।
”तर जब फिलिपले परमेश्वरको राज्य र येशू ख्रीष्टको सुसमाचारको बारेमा जे प्रचार गरे तिनीहरूले त्यसमाथि विश्वास गरे अनि पुरुष र स्त्रीहरू दुवैले बप्तिस्मा लिए ।
”पत्रुस र यूहन्नाले साक्षी दिई परमप्रभुको वचन बोलेपछि तिनीहरू यरूशलेम फर्के र बाटोमा सामरियाका धेरै गाउँहरूमा तिनीहरूले सुसमाचार प्रचार गरे ।
”फिलिपले बताउन थाले । तिनले उनलाई येशूको बारेमा बताउन यशैयाको यस खण्डबाट सुरु गरे । तिनीहरू जाँदै गर्दा तिनीहरू केही पानी भएको ठाउँमा आइपुगे । नपुंसकले भने, “हेर्नुहोस्, यहाँ पानी छ । मलाई बप्तिस्मा लिनदेखि केले रोक्छ?” त्यसैले, ती इथियोपियालीले रथ रोक्न आज्ञा दिए अनि फिलिप र नपुंसक दुवै जना पानी भएको ठाउँमा गए र फिलिपले तिनलाई बप्तिस्मा दिए ।
”तर फिलिप अश्दोदमा देखा परे । तिनी कैसरिया नपुगुञ्जेलसम्म तिनले सबै सहरहरूमा सुसमाचार सुनाए ।
”तर बारनाबासले तिनलाई चेलाहरूकहाँ ल्याए । दमस्कसको बाटोमा कसरी शाऊलले प्रभुलाई देखे र प्रभु तिनीसित बोल्नुभयो अनि दमस्कसमा कसरी तिनले साहसपूर्वक येशूको नाउँ प्रचार गरे भनी तिनले उनीहरूलाई बताए । यरूशलेमको भित्र-बाहिर गर्दा तिनले उनीहरूलाई भेटे । तिनले साहसपूर्वक प्रभु येशूको नाउँमा बोले । र तिनले ग्रिक-यहूदीहरूसित वादविवाद गरे । तथापि उनीहरूले तिनलाई मार्न खोजिरहे ।
”परमेश्वरले इस्राएलीहरूलाई पठाउनुभएको सन्देश तपाईंहरूलाई थाहै छ । उहाँले सबैका प्रभु अर्थात् येशू ख्रीष्टद्वारा शान्तिको बारेमा सुसमाचार प्रचार गर्नुभयो । यूहन्नाले प्रचार गरेको बप्तिस्मापश्चात् गालीलबाट सुरु गरेर सारा यहूदियाभरि भएका घटनाहरूको बारेमा तपाईंहरूलाई थाहै छ ।
”परमेश्वरले उहाँलाई नै जिउँदा र मरेकाहरूको न्यायकर्ता हुन चुन्नुभएको छ भनी मानिसहरूलाई प्रचार गर्न र गवाही दिन उहाँले हामीलाई आज्ञा दिनुभयो । सबै अगमवक्ताहरूले उहाँको गवाही दिएका छन् ताकि उहाँमाथि विश्वास गर्ने हरेकले उहाँको नाउँद्वारा पापको क्षमा पाओस् ।” पत्रुसले यी कुराहरू बताइरहँदा तिनको सन्देश सुन्नेहरू सबैमाथि पवित्र आत्मा ओर्लनुभयो ।
”अहिले यहूदीयामा भएका प्रेरितहरू र भाइहरूले गैरयहूदीहरूले पनि परमेश्वरको वचन ग्रहण गरेका थिए भन्ने सुने ।
”उनले स्वर्गदूत तिनको घरमा उभिरहेको कसरी देखेका थिए, र तिनले उनलाई यसो भने भनी हामीलाई बताए, “योप्पामा मानिसहरूलाई पठाऊ र सिमोनलाई फर्काएर ल्याऊ, जसको अर्को नाउँ पत्रुस हो । उनले तिम्रो लागि एउटा सन्देश बताउने छन् जसद्वारा तिमी बचाइनेछौ, तिमी र तिम्रो सबै घराना ।”
”जब तिनीहरूले यी कुराहरू सुने, तिनीहरूले कुनै पनि प्रतिकृया जनाएनन् । तर तिनीहरूले परमेश्वरको प्रशंसा गरे र भने, ‘‘परमेश्वरले गैर-यहूदीहरूलाई पनि जीवनको निम्ति पश्चात्ताप दिनुभएको छ ।’’
”तर तिनीहरूमध्ये केही मानिसहरू साइप्रस र कुरेनीबाटका एन्टिओखियामा आए र ग्रिकहरूसँग पनि बोले र प्रभु येशूको प्रचार गरे । र तिनीहरूसँग प्रभुको हात थियो, ठुलो संख्यामा मानिसहरूले विश्वास गरे र प्रभुतिर फर्के ।
”येशू आउनुभन्दा अगाडि नै यो हुन थाल्यो, जब यूहन्नाले पहिला इस्राएलका सबै मानिसहरूलाई पश्चात्तापको बप्तिस्माको बारेमा घोषणा गरे ।
”यसकारण हाम्रा पितापुर्खाहरूलाई प्रतिज्ञा गरिएको असल समाचार हामीले तपाईंहरूकहाँ ल्याएकाछौँ ।
”अर्को विश्राममा, लगभग पुरै सहर नै प्रभुको वचन सुन्नलाई सँगसँगै भेलाभएको थियो ।
”तर पावल र बारनाबासले साहससित बोल्दै भने, “परमेश्वरको वचन पहिले तपाईंहरूकहाँ नै बोल्नु नै आवश्यक थियो । तपाईंहरूबाट धकेलिएको देखेर आफूले आफैँलाई अनन्त जीवन प्राप्त गर्नदेखि अयोग्य तुल्याउनुभएको हुनाले, हेर्नुहोस्, हामी गैरयहूदी तर्फ फर्केनेछौँ । किनभने परमेश्वरले हामीलाई यस्तो आज्ञा गर्नुभएको छ, ‘मैले तिमीलाई गैरयहूदीहरूका निम्ति ज्योतिको रूपमा राखेकोछु, र पृथ्वीको अन्तिम छेउसम्म तिमीहरूले मुक्ति ल्याउनु पर्छ ।”
”जब गैरयहूदीहरूले यो सुने, तिनीहरू खुसी भए र परमेश्वरको वचनको महिमा गरे । अनन्त जीवनका लागि नियुक्त गरिएका जतिले विश्वास गरे । त्यस सम्पूर्ण क्षेत्रभरि नै प्रभुको वचन फैलियो ।
”तर यहूदीहरूले भक्त र महत्त्वपूर्ण स्त्रीहरू र साथ-साथै सहरका मुख्य मानिसहरूसँग पावल र बारनाबासको विरुद्धमा अनुरोध गरे । तिनीहरूले पावल र बारनाबासलाई दण्डित गरे उनीहरूलाई तिनीहरूको सहरको सिमाना कटाए । तर पावल र बारनाबासले आफ्नो खुट्टामा लागेको धुलो तिनीहरूका विरुद्धमा टकटक्याए । त्यसपछि तिनीहरू आइकोनियम सहरमा गए ।
”आइकोनियममा आइसकेपछि पावल र बारनाबास सँगसँगै यहूदीहरूको सभाघरमा गए र यसरी बोले जसको कारण यहूदीहरू र ग्रिकहरू दुवैका ठुलो भिडले विश्वास गरे । तर अनाज्ञाकारी यहूदीहरूले गैरयहूदीहरूका मनहरूलाई खल्बल्याइदिए र दाजुभाइहरूको विरुद्धमा तितो बनाइदिए ।
”त्यसैले उहाँले आफ्नो अनुग्रहको सन्देशको बारेमा प्रमाण दिनुभएकाले प्रभुको शक्तिमा सहासपूर्वक बोल्दै तिनीहरू लामो समयसम्म त्यहाँ बसे । उहाँले यो परमेश्वरले पावल र बारनाबासका हातहरूद्वारा यी चिह्नहरू र अचम्मका कामहरू दिएर गर्नुभयो ।
”र भने, “ए मानिसहरू हो, यी कुराहरू तपाईंहरूले किन गरिरहनु भएको छ? हामी पनि तपाईंहरूजस्तै भावना भएका मानव जाति हौँ । हामीले तपाईंहरूलाई अर्थविहीन् कुराहरूबाट ती जीवित परमेश्वरतिर फर्कनुपर्छ भनेर सुसमाचार ल्याएका छौँ जसले स्वर्ग, पृथ्वी, समुद्र र तिनमा भएका हरेक थोक बनाउनु भयो ।
”सहरमा तिनीहरूले सुसमाचार प्रचार गरे र धेरैलाई चेलाहरू बनाएपछि तिनीहरू लुस्त्रा, आइकोनियम र एन्टिओखियामा फर्किए । तिनीहरूले चेलाहरूको मनलाई दह्रिलो बनाउँदै र विश्वासमा रहिरहनका निम्ति उत्साहित दिने काममा लागिरहे । तिनीहरूले उनीहरूलाई धेरै दुःख र सातवटहरूबाट भएर नै हामी परमेश्वरको राज्यमा पस्नुपर्छ भनी बताए ।
”धेरै छलफलपछि, पत्रुस उठे र तिनीहरूलाई भने, “भाइहरू, केही समय अगाडि परमेश्वरले तपाईंहरूको माझमा गर्नुभएको एउटा छनौट तपाईंहरूलाई थाहै छ कि मेरो मुखद्वारा गैरयहूदीहरूले सुसमाचारको वचन सुन्न सकून् र विश्वास गरून् ।
”एसियामा वचन प्रचार गर्न उनीहरूलाई पवित्र आत्माले मनाही गर्नुभएको हुँदा, पावल र उनका साथीहरू फ्रिगिया र गलातियाका क्षेत्रहरू हुँदै अगि बढे । जब उनीहरू माइसियाको नजिक आइपुगे उनीहरूले बिथिनिया जान प्रयास गरे, तर येशूका आत्माले उनीहरूलाई रोक्नुभयो । त्यसैले माइसियाहुँदै अगाडि बढ्दै जाँदा, उनीहरू त्रोआस सहरमा झरे । रातको समयमा पावलले एउटा दर्शन देखे जसमा माकेडोनियाका एकजना व्यक्ति उभिएर उनलाई यसो भनिरहेका थिए, “माकेडोनिया आउनुहोस् र हामीलाई सहायता गर्नुहोस् ।” पावलले त्यो दर्शन देखेपछि, परमेश्वरले हामीलाई तिनीहरूलाई सुसमाचार प्रचार गर्न बोलाउनुभएको हो भन्ने निष्कर्ष निकालेर हामीहरू तुरुन्तै माकेडोनियाको बाटोतर्फ लाग्यौँ ।
”झ्यालखानाका हाकिमले बत्ती बाल्न लगाए र दौडेर भित्र पसे अनि डराउँदै पावल र सिलासको सामु भुइँमा लम्पसार परे । अनि उनीहरूलाई बाहिर निकाले र भने, “हजुर, उद्धार पाउनका निम्ति मैले के गर्नुपर्छ?” उनीहरूले भने, “प्रभु येशूमा विश्वास गर्नुहोस् अनि तपाईंले उद्धार पाउनुहुने छ, तपाईं र तपाईंको परिवारले ।”
”पावलले आफ्नो आदतअनुसार उनीहरूकहाँ गए र तिनवटा विश्राम दिनसम्म त्यहाँका मानिसहरूसँग धर्मशास्त्रबाट तर्क गरे । उनले धर्मशास्त्र खोल्दै ख्रीष्टले दुःख भोग्नु र मृत्युबाट फेरि जीवित हुनु आवश्यक थियो भनी व्याख्या गरे । उनले भने, “यिनै येशू जसलाई मैले तपाईंहरूका बिचमा घोषणा गरेको छु, उहाँ नै ख्रीष्ट हुनुहुन्छ ।” केही यहूदीहरू साथै ईश्वरभक्त ग्रीकहरू, धेरै अगुवा स्त्रीहरू र ठुलो भिडले पावल र सिलासको कुरामा विश्वास गरे ।
”थेसलोनिकेमा भएका मानिसहरूभन्दा यहाँका मानिसहरू असल थिए किनभने यिनीहरूले सिकाइएका कुराहरू त्यस्तै हुन् कि होइनन् भनी दैनिक रूपमा धर्मशास्त्रबाट जाँच्दै खुल्ला रूपमा परमेश्वरको वचनलाई ग्रहण गर्थे ।
”त्यसैले पावल अरिओपागसको बिचमा उभिए र यसो भने, “एथेन्सबासी हो, तपाईंहरू हरेक क्षेत्रमा धार्मिक हुनुहुन्छ भन्ने कुरा मैले देखेँ । किनिक यहाँ हिँड्दै गर्दा मैले तपाईंहरूले पुज्ने वस्तुहरू देखेँ । मैले यस्तो एउटा वेदी पनि देखेँ, जसमा ʻअज्ञात ईश्वरका निम्तिʼ भन्ने कुँदिएको थियो । यसकारण जसलाई तपाईंहरूले नजानिकन पुज्नुहुन्छ, तिनै ईश्वरको बारेमा म तपाईंहरूलाई बताउँछु । परमेश्वर जसले संसार र त्यसमा भएका सबै थोक बनाउनुभयो, उहाँ स्वर्ग र पृथ्वीका प्रभु हुनुभएको कारण उहाँ मानिसका हातहरूले बनाएका मन्दिरहरूमा बस्नुहुन्न । न त उहाँलाई केही कुराको खाँचो परेजस्तै मानिसका हातद्वारा सेवा गरिनुपर्छ, किनकि उहाँले नै मानिसहरूलाई जीवन, सास र सबै थोक दिनुहुन्छ । उहाँले एउटा मानिसबाट पृथ्वीमा रहने सबै जातिका मानिसहरूलाई बनाउनुभयो अनि ऋतुहरू र तिनीहरू बस्ने क्षेत्रका सिमानाहरू निर्धारण गर्नुभयो । यसैकारण उनीहरूले तिनै परमेश्वरलाई खोजून् र सायद तिनीहरूले उहाँलाई खोजेर पाउनेछन् । वास्तवमा उहाँ हामीमध्ये कसैबाट पनि टाढा हुनुहुन्न । किनकि हामी उहाँमा नै जिउँछौँ र हिँडडुल गर्छौं र उहाँमै हाम्रो अस्तित्व छ, जसरी तपाईंहरूका आफ्नै कविहरूले भनेका छन्: ʻकिनकि हामीहरू पनि उहाँकै सन्तान हौँ ।ʼ यसकारण हामी परमेश्वरका सन्तान भएका हुनाले परमेश्वरलाई मानिसको कला वा विचारअनुसार सुन वा चाँदी वा ढुङ्गाबाट खोपेर बनाइएको चीज हो भनी ठान्नु हुँदैन । यसकारण परमेश्वरले पहिलेको अज्ञानताको समयलाई ध्यान दिनुभएन, तर अहिले परमेश्वरले सबै ठाउँका सारा मानिसहरूलाई आफ्नो पापको पश्चात्ताप गर्ने आज्ञा गर्नुहुन्छ । किनभने उहाँले एक दिन निश्चित गर्नुभएको छ, जुन दिन आफूले चुन्नु भएको मानिसद्वारा उहाँले धार्मिकतामा संसारलाई न्याय गर्नुहुनेछ । परमेश्वरले उहाँलाई मृत्युबाट जीवित पार्नुभएर सबै मानिसहरूलाई यी मानिसको बारेमा प्रमाण दिनुभएको छ ।”
”अब अपोलोस नाउँ गरेका एक जना यहूदी जो जन्मका आधारमा एलेक्जेन्ड्रियाका थिए, उनी पनि एफिससमा आए । उनी धर्मशास्त्रीय ज्ञानमा र बोल्नमा दक्ष थिए । अपोलोस प्रभुको वचनका बारेमा ज्ञान पाएका व्यक्ति थिए । आत्मामा जोशिलो हुँदै येशू ख्रीष्टको बारेमा ठिक कुराहरू बोल्थे र सिकाउँथे तर उनलाई यूहन्नाको बप्तिस्माको बारेमा मात्र ज्ञान थियो । अपोलोसले सभाघरहरूमा बडो साहसका साथ बोल्न थाले । जब अकिला र प्रिस्किलाले उनको बारेमा सुने तब तिनीहरू उनको साथ लागे र उनलाई परमेश्वरको वचनको बारेमा अझै ठिकसँग बताइदिए ।
”पावलले सभाघरमा गएर साहससाथ प्रचार गर्दै तीन महिना बिताए । उनले परमेश्वरको राज्यको बारेमा मानिसहरूसँग बहस गरे र विश्वास दिलाए । तर केही यहूदीहरूले हृदय कठोर पारे र अनाज्ञाकारी भए, अनि तिनीहरूले ख्रीष्टको मार्गको विरुद्धमा भिडहरूका सामु दुष्ट कुरा बोल्न थाले । यसकारण पावलले उनीहरूलाई छोडे र विश्वासहरूलाई लिएर त्यहाँबाट गए । उनले टुरान्नसको प्रवचन कक्षमा हरेक दिन बोल्न थाले । यो प्रक्रिया दुई वर्षसम्म चल्यो र यसरी एसियामा भएका यहूदी र ग्रीकहरू दुवैले प्रभुको वचन सुने ।
”कुनै पनि भलाइको कुरा तपाईंहरूको बिचमा घोषणा गर्नदेखि मैले आफैँलाई रोकिनँ अनि सार्वजनिक रूपमा र घर-घरमा गएर मैले कसरी तपाईंहरूलाई शिक्षा दिएँ भन्ने कुरा तपाईंहरूलाई थाहै छ । तपाईंहरूलाई थाहै छ कि मैले कसरी यहूदी र ग्रीकहरू दुवैलाई परमेश्वरतिर फर्कन पश्चात्ताप गर्नुपर्ने र हाम्रा प्रभु येशूमा विश्वास गर्नुपर्ने कुराको बारेमा चेताउनी दिइरहेँ । अब हेर्नुहोस्, म पवित्र आत्मामा बाध्य भएर यरूशलेममा जाँदैछु, त्यहाँ मलाई के-कस्तो हुन आउने हो त्यो मलाई थाहा छैन । केवल पवित्र आत्माले मलाई यो गवाही दिनुहुन्छ कि हरेक सहरमा साङ्लाहरू र कष्टहरूले मलाई पर्खिरहेका छन् । तर म आफ्नो जीवनलाई कुनै मूल्यको ठान्दिनँ, ताकि परमेश्वरको अनुग्रहको सुसमाचारको गवाही बन्नको निम्ति मेरो दौड र प्रभु येशूबाट मलाई प्राप्त भएको सेवा-कार्य पुरा गर्न सकूँ ।
”किनभने तिमीले देखेका र सुनेका कुराहरूको बारेमा तिमी सबै मानिसहरूका लागि गवाही बन्नेछौ ।
”अर्को रात परमेश्वर उनको छेउमा आएर उभिनुभयो, र भन्नुभयो, “नडराऊ, किनकि जसरी तिमीले मेरो बारेमा यरूशलेममा गवाही दिएका छौ, त्यसरी नै तिमीले रोममा पनि गवाही दिनुपर्छ ।”
”अब तिमी उठ, र तिम्रो पाउमा खडा होऊ, किनकि म तिमीलाई सेवक र अहिले तिमीले मेरो बारेमा जानेका कुराहरू र पछि मैले तिमीलाई देखाउने कुराहरूको गवाही बन्नको लागि नियुक्त गर्ने उद्देश्यले म तिमीकहाँ देखा परेँ l
”तिनीहरूका आँखा खोल्न र तिनीहरूलाई अन्धकारबाट ज्योतिमा फर्काउन र शैतानको शक्तिबाट परमेश्वरमा फर्काउनको लागि, ताकि तिनीहरूले परमेश्वरबाट पापको क्षमा र मैले ममाथिको विश्वासद्वारा मेरो आफ्नै निम्ति अलग गरेकाहरूलाई मैले दिने उत्तराधिकार प्राप्त गर्न सकून् ।
”परमेश्वरले अहिलेसम्म मलाई सहायता गर्नुभएको छ । यसैकारण म खडा भएर साधारण मानिसहरू र ठुला मानिसहरूलाई अगमवक्ताहरू र मोशाले जे हुने थिए भनेका थिए ती कुराहरूभन्दा बढी कुनै पनि कुराको गवाही दिन्नँ । कि ख्रीष्टले दु:ख भोग्नुपर्छ, र उहाँ मृतकहरूबाट जीवित हुनेहरूमा पहिलो हुनुहुन्छ, र यहूदीहरूसाथै गैरयहूदी मानिसहरूमा ज्योतिको घोषणा गर्ने जन हुनुहुनेछ ।
”पावल आफ्नो भाडामा लिएको घरमा पुरा दुई वर्षसम्म बसे, र उनीकहाँ आउने सबैलाई स्वागत गरे । उनले परमेश्वरको राज्यको प्रचार गरिरहेका थिए, र ठुलो साहसका साथ प्रभु येशू ख्रीष्टको बारेमा शिक्षा दिइरहेका थिए । कसैले पनि उनलाई रोकेन ।
”पहिले, तिमीहरू सबैका निम्ति येशू ख्रीष्टद्वारा म परमेश्वरलाई धन्यवाद चढाउँछु, किनकि तिमीहरूको विश्वास सारा संसारभरि घोषणा गरिएको छ ।
”म यहूदीहरू र विदेशीहरू, बुद्धिमान्हरू र मूर्खहरू दुवैप्रति ऋणी छु । त्यसैले, मेरो हकमा म तिमीहरू रोममा हुनेहरूलाई पनि सुसमाचार घोषणा गर्न तयार छु । म सुसमाचारको निम्ति शर्माउँदिनँ, किनकि यो विश्वास गर्ने सबैको निम्ति परमेश्वरको मुक्तिको शक्ति हो, पहिलो यहूदी र त्यसपछि ग्रिकहरूका निम्ति ।
”तर परमेश्वरले हामीप्रति उहाँको आफ्नो प्रेम प्रमाणित गर्नुहुन्छ, किनकि हामी पापी हुँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो ।
”किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सित्तैँको वरदानचाहिँ हाम्रा प्रभु येशू ख्रीष्टमा अनन्त जीवन हो ।
”यदि तिमीले तिम्रो मुखले येशूलाई प्रभु भनी स्वीकार गर्छौ र परमेश्वरले उहाँलाई मृतकहरूबाट जीवित पार्नुभयो भनी आफ्नो हृदयमा विश्वास गर्छौ भने, तिमी बचाइनेछौ । किनकि मानिसले धार्मिकताको निम्ति आफ्नो हृदयले विश्वास गर्छ, र उसले उद्धारको निम्ति आफ्नो मुखले स्वीकार गर्छ । किनकि धर्मशास्त्रले भन्छ, “हरेक जसले उहाँमा विश्वास गर्छ, त्यो शर्ममा पारिनेछैन ।” किनकि यहूदी र ग्रिकहरूबिच कुनै भिन्नता छैन । किनकि उही प्रभु नै सबैका प्रभु हुनुहुन्छ र उहाँलाई पुकार्ने सबैको लागि उहाँ प्रशस्त हुनुहुन्छ । किनकि प्रभुको नाम पुकार्ने सबै बचाइनेछन् ।
”त्यसो हो भने, जसमाथि तिनीहरूले विश्वास गरेका छैनन् उहाँलाई कसरी पुकार्ने? र जसको विषयमा तिनीहरूले सुनेका छैनन् उहाँमाथि कसरी विश्वास गर्ने? र प्रचारकविना तिनीहरूले कसरी सुन्न सक्छन्? र जबसम्म तिनीहरू पठाईंदैनन् तिनीहरूले कसरी प्रचार गर्छन् र? जस्तो लेखिएको छ, “असल कुराहरूबारे खुसीको सन्देश प्रचार गर्नेहरूका पाउ कति राम्रा?”
”तर तिनीहरू सबैले सुसमाचार सुनेनन् । किनकि यशैया भन्छन्, “हे प्रभु, हाम्रो सन्देश कसले विश्वास गरेको छ?”
”त्यसकारण, विश्वास सुनाइबाट आउँछ, र सुनाइ ख्रीष्टको वचनद्वारा आउँछ । तर म भन्छु, “के तिनीहरूले सुनेनन्?” हो, निश्चय नै । “तिनीहरूको आवाज सारा पृथ्वीभरि र तिनीहरूका शब्दहरू पृथ्वीको अन्त्यसम्म नै पुगेका छन् ।”
”चिन्हहरू र चमत्कारहरूको शक्तिद्वारा अनि पवित्र आत्माको शक्तिद्वारा गरिएका हुन् । मैले यरूशलेम र वरिपरिको क्षेत्रदेखि इल्लुरिकनसम्म ख्रीष्टको सुसमाचार पूर्ण रूपमा प्रचार गर्न सकूँ भनेर यसो भएको हो ।
”अब उहाँलाई जसले तिमीहरूलाई मेरो सुसमाचार र येशू ख्रीष्टको सन्देशअनुसार अर्थात् धेरै अगाडिदेखि गुप्त रहेको रहस्यको प्रकाशअनुसार जो तिमीहरूलाई खडा राख्न सक्षम हुनुहुन्छ, तर अब सारा गैरयहूदीहरूका बिचमा विश्वासको आज्ञाकारिताको निम्ति अनन्त परमेश्वरको आज्ञाअनुसार अगमवाणीका धर्मशास्त्रहरूद्वारा त्यसलाई प्रकट गरिएको र जनाइएको छ,
”किनकि येशूले मलाई बप्तिस्मा दिनलाई होइन, तर प्रचार गर्नलाई पठाउनुभयो । ख्रीष्टको क्रुस शक्तिहीन नबनाइयोस् भनेर उहाँले मलाई मानवीय बुद्धिका वचनहरूद्वारा प्रचार गर्न पठाउनुभएन । किनकि क्रुसको सन्देश मरिरहेकाहरूका निम्ति मूर्खता हो, तर परमेश्वरले बचाइरहनुभएका मानिसहरूका लागि शक्ति हो । किनकि यस्तो लेखिएको छ, “म बुद्धिमान्हरूको बुद्धि नष्ट गर्नेछु । म चतुरहरूको समझलाई बेकम्मा तुल्याउनेछु ।”
”संसारले आफ्नो बुद्धिले परमेश्वरलाई चिनेन । यसको ज्ञानले उहाँलाई चिन्न नसकेको हुनाले विश्वास गर्नेहरूलाई प्रचारको मूर्खताद्वारा बचाउन परमेश्वरलाई उचित लाग्यो । किनकि यहूदीहरू चिन्ह माग्छन्, र ग्रिकहरू ज्ञानको खोजी गर्छन् । तर हामीचाहिँ क्रुसमा मर्नुभएका येशूको प्रचार गर्छौ, जुन यहूदीहरूका निम्ति ठेस लाग्ने ढुङ्गो हो, र ग्रिकहरूका निम्ति मूर्खता हो । तर तिनीहरू अर्थात् यहूदी र ग्रिक दुवै जसलाई परमेश्वरले बोलाउनुभएको छ, तिनीहरूका माझमा हामी ख्रीष्टलाई परमेश्वरको शक्ति र बुद्धिको रूपमा प्रचार गर्छौं । किनकि परमेश्वरको मूर्खता मानिसभन्दा बुद्धिमानी छ, र परमेश्वरको दुर्बलता मानिसभन्दा शक्तिशाली छ ।
”भाइहरू हो, गुप्तमा रहेका परमेश्वरका सत्यताहरूको घोषणा गर्न म तिमीहरूकहाँ आउँदा कुशल वक्ता र बुद्धिका साथमा आइनँ । तिमीहरूका माझमा हुँदा येशू ख्रीष्ट र क्रुसमा टाँगिनुभएका येशूलाई बाहेक मैले कुनै पनि कुरा नजान्ने निर्णय गरे । अनि कमजोरी, डर र धेरै कम्पसाथ म तिमीहरूसित थिएँ । र मेरा सन्देश र घोषणा ज्ञानको आकर्षक वचनहरूमा थिएनन् । बरु, ती पवित्र आत्मा र शक्तिको प्रदर्शनमा थिए । तिमीहरूको विश्वास मानिसहरूको बुद्धिमा होइन, तर परमेश्वरको शक्तिमा भएको होस् ।
”अब, परिपक्वहरूका बिचमा हामी बुद्धिका कुरा गर्दछौँ, तर यस संसारका वा यस युगका शासकहरूको बुद्धि होइन जो बितेर जाँदै छन् । बरु, लुकाइएका सत्यतामा हामी परमेश्वरको बुद्धिको प्रचार गर्छौं, लुकेको बुद्धि जो परमेश्वरले हाम्रो महिमाको निम्ति युगको अगिबाटै नियुक्त गर्नुभयो । यस युगका कुनै पनि शासकहरूले यो ज्ञानलाई जानेनन्, तर तिनीहरूले त्यस समयमा यो कुरा बुझेका भए, तिनीहरूले महिमाको प्रभुलाई क्रुसमा टाँग्ने थिएनन् । तर यसो लेखिएको छ, “आँखाले नदेखेका, कानले नसुनेका, मनले विचारै नगरेका कुराहरू उहाँलाई प्रेम गर्नेहरूका निम्ति परमेश्वरले तयार पार्नुभएको छ ।”
”परमेश्वरले पवित्र आत्माद्वारा हामीलाई यी कुराहरू प्रकट गर्नुभएको छ । किनकि आत्माले हरेक कुराको खोजी गर्नुहुन्छ, उहाँले परमेश्वरका गहिरा कुराहरूको पनि खोजी गर्नुहुन्छ । मानिसमा भएको आत्माबाहेक कसले मानिसका विचारहरू बुझ्न सक्छ? यसरी नै, परमेश्वरका आत्माबाहेक कसैले पनि परमेश्वरका गहिरा कुराहरू बुझ्दैन । तर हामीले संसारको आत्मा पाएका छैनौँ, तर परमेश्वरका आत्मा पाएका छौँ, ताकि परमेश्वरले हामीलाई सित्तैँमा दिनुभएका कुराहरू हामीले जान्न सकौँ । हामी यी कुराहरू मानिसको बुद्धिले सिकाउन नसक्ने वचनहरूमा बोल्छौँ, तर आत्माले हामीलाई सिकाउनुहुन्छ । आत्माले आत्मिक वचनहरूलाई आत्मिक बुद्धिले प्रकाश पार्नुहुन्छ ।
”परमेश्वरका आत्माका कुराहरू अनात्मिक व्यक्तिले ग्रहण गर्दैन, किनकि तिनीहरू त्यसका निम्ति मूर्खता हुन्छन् । उसले तिनीहरूलाई बुझ्न सक्दैन किनभने तिनीहरूलाई आत्मिक रूपले जाँच्न सकिन्छ । आत्मिक व्यक्तिले सबै कुराहरू जाँच गर्दछ, तर ऊचाहिँ अरूद्वारा जाँचिदैन । किनाकि “कसले परमेश्वरको मनलाई जान्दछ? र कसले उहाँलाई अर्ती दिन सक्छ?” तर हामीसँग ख्रीष्टको मन छ ।
”अनि भाइहरू हो, मैले तिमीहरूसँग आत्मिक मानिसहरूसित बोलेझैँ बोल्न सकिनँ, तर शारीरिक मानिसहरू अर्थात् ख्रीष्टमा बालकहरूसित बोलेझैँ बोलेँ । मैले तिमीहरूलाई दूध खुवाएँ, मासु होइन, किनकि तिमीहरू मासु खानको लागि तयार थिएनौ ।
”मैले रोपेँ, अनि अपोल्लोसले पानी हाले, तर परमेश्वरले नै बढाउनुभयो । त्यसैले, रोप्ने र पानी हाल्ने केही होइन । तर परमेश्वर जसले बढाउनुहुन्छ, उहाँ नै महान् हुनुहुन्छ । अब रोप्ने र पानी हाल्ने एकै हुन्, ती हरेकले आफ्नो कामको परिश्रमअनुसार ज्याला पाउनेछन् । किनकि हामीहरू परमेश्वरका सहकर्मी हौँ । तिमीहरू परमेश्वरका बगैँचा र उहाँका भवनहरू हौ ।
”परमेश्वरको अनुग्रहअनुसार उहाँले मलाई दिनुभएको कारिगरको क्षमतालाई प्रयोग गरेर मैले जग बसालेँ, र अर्कोले त्यसमाथि घर बनाउँदै छ । तर हरेक व्यक्तिले कसरी बनाउँदै छ भन्ने बारेमा सावधान रहनुपर्छ । किनकि जुन जग बसालिएको छ, त्यो बाहेक कसैले पनि अर्को जग बसाल्न सक्दैन, जुन जग ख्रीष्ट हुनुहुन्छ । यदि त्यस जगमाथि कसैले सुन, चाँदी, बहुमूल्य पत्थर, काठ, वा परालको प्रयोग गरेर निर्माण गर्छ भने उसको काम दिनमा प्रकट गरिनेछ, किनकि दिनको उज्यालोले त्यो प्रकट गर्नेछ । किनकि त्यो आगोमा प्रकट हुनेछ । हरेकको कामको गुणस्तरलाई आगोद्वारा जाँचिनेछ । यदि कसैले गरेको काम रहिरह्यो भने त्यसले इनाम प्राप्त गर्नेछ । तर यदि कसैको काम जलेर नष्ट भयो भने त्यसले नोक्सानी भोग्नुपर्नेछ । तर ऊ आफैँचाहिँ आगोबाट फुत्केझैँ बचाइनेछ ।
”मैले सुसमाचार प्रचार गरेँ भनेर मैले घमण्ड गर्ने कारण नै छैन, किनभने मैले यो गर्नुपर्छ । यदि मैले सुसमाचार प्रचार गरिनँ भने मलाई धिक्कार छ ।
”किनकि यदि मैले आफूखुसी यसो गरेको छु भने मैले इनाम पाउँछु । तर यो आफूखुसी होइन भने मलाई सुम्पिएको जिम्मेवारी अझ पनि मसँग बाँकी नै छ । त्यसो भए मेरो इनाम के हो? यही हो कि जब म प्रचार गर्छु, सित्तैँमा सुसमाचार प्रचार गरूँ र सुसमाचरमा मेरो हकको पूर्ण प्रयोग नगरूँ ।
”किनकि म सबै कुरामा स्वतन्त्र भए तापनि धेरैलाई जित्न सकौँ भनेर म सबैको दास भएँ । यहूदीहरूलाई जित्नको लागि म यहूदीजस्तै बनेँ । व्यवस्थाको अधीनमा भएकाहरूलाई जित्नको निम्ति म व्यवस्थाको अधीनमा भएको जस्तै बनेँ । म आफैँ व्यवस्थाको अधीनमा नभए तापनि मैले यसो गरेँ । म आफैँ परमेश्वरको व्यवस्थाबाट बाहिर नभएर ख्रीष्टको व्यवस्थामा भए तापनि व्यवस्थाबाट बाहिर भएकाहरूलाई जित्नको निम्ति म व्यवस्थाबाट बाहिर भएजस्तै बनेँ । व्यवस्थाबाट बाहिर भएकाहरूलाई जित्न सकूँ भनेर मैले यसो गरेँ । कमजोरहरूलाई जित्न सकूँ भनेर कमजोरहरूको लागि म कमजोर बनेँ । सबै उपायहरूद्वारा केहीलाई बचाउन सकूँ भनेर म सबै मानिसहरूका लागि सबै कुरा बनेको छु ।
”मानौँ, मसँग अगमवाणी गर्ने वरदान छ र म लुकेका रहस्यहरू बुझ्न सक्छु र मसँग पहाडहरू हटाउन सक्ने सम्मको विश्वास छ, तर मसँग प्रेम छैन भने म केही पनि होइनँ । र मानौँ, मसँग भएका सबै थोकहरू गरिबहरूलाई खुवाउनको लागि दिन्छु अनि मेरो शरीरलाई जलाउन दिन्छु, तर मसँग प्रेम छैन भने मलाई केही पनि फाइदा हुँदैन ।
”भाइहरू हो, तिमीहरूका माझमा मैले घोषणा गरेको सुसमाचार तिमीहरूलाई म स्मरण गराउँछु जुन तिमीहरूले पायौ र तिमीहरू त्यसैमा रहन्छौ । मैले प्रचार गरेको वचनमा अटल रह्यौ भने यही सुसमाचारद्वारा तिमीहरू बचाइन्छौ । नत्रता तिमीहरूले व्यर्थमा विश्वास गर्यौ ।
”तर म जे छु परमेश्वरको अनुग्रहमा छु र ममा भएको उहाँको अनुग्रह व्यर्थमा थिएन । बरु, मैले तिनीहरू सबैले भन्दा बढी परिश्रम गरेँ । तरै पनि त्यो मैले होइनँ तर ममा काम गर्नुहुने परमेश्वरको अनुग्रहले थियो । यसैकारण, म वा तिनीहरू जसले भए पनि हामी प्रचार गर्छौं र तिमीहरूले विश्वास गर्यौ ।
”तिमीहरू अति अन्जान छौ! जे रोप्छौ सो नमरेसम्म उम्रन थाल्नेछैन, अनि तिमीहरूले जे रोप्छौ त्यो पछि हुने शरीर होइन, तर बिउ मात्र हो । त्यो गहुँ या अन्य कुनै कुरा बन्न सक्छ ।
”तर परमेश्वरलाई धेरै धन्यवाद होस्, जसले हामीलाई सधैँ विजयमा अगुवाइ गर्नुहुन्छ । हामीद्वारा उहाँले सबैतिर ज्ञानको मिठो सुबास्ना छर्नुहुन्छ । किनकि हामी परमेश्वरको निम्ति उद्धार पाएकाहरू र नष्ट भइरहेकाहरूका निम्ति ख्रीष्टका सुबास्ना हौँ । नष्ट भइरहेका मानिसहरूका लागि यो मृत्युदेखि मृत्युसम्मको सुबास्ना हो । अनि बचाइएकाहरूको लागि हामी जीवनदेखि जीवनसम्मको सुबास्ना हो । यी कुराहरूका लागि को योग्यको छ?
”हामी नाफाको लागि परमेश्वरको वचन बेच्ने धेरै मानिसहरूजस्ता होइनौँ । बरु, हामी ख्रीष्टमा शुद्ध अभिप्रायले परमेश्वरको दृष्टिमा उहाँले पठाउनुभएको जस्तै गरी बोल्दछौँ ।
”अब ढुङ्गामा कुँदिएको मृत्यु ल्याउने अक्षर यस्तो महिमासँग इस्राएलीहरूको बिचमा आयो कि इस्राएलीहरूले मोशाको अनुहार सिधै हेर्न सकेनन् । यो उनको अनुहारको महिमाको कारणले गर्दा हो, जुन महिमा मन्द हुँदै थियो । पवित्र आत्माको काम झन् कति धेरै महिमित होला? यदि निन्दापूर्ण सेवाको महिमा थियो भने धार्मिकताको सेवा अझ कति धेरै महिमित हुन्छ! किनकि वास्तवमा जुन एक समय महिमित पारिएको थियो, यसलाई माथ गर्ने अर्को महिमाको कारण अहिले त्यो महिमित छैन । यदि बितेर जानेको कुराको महिमा थियो भने सधैँको लागि रहने कुराको झन् कति धेरै महिमा हुनेछ!
”हामीसँग यस्तो आशा भएको कारण हामी साहसी छौँ ।
”यी सबै कुरा परमेश्वरबाट भएका हुन् । उहाँले हामीलाई ख्रीष्टद्वारा उहाँसँगै मिलापमा ल्याउनुभयो र हामीलाई मिलापको सेवा दिनुभएको छ । अर्थात् तिनीहरूका पापका लेखा नलिएर परमेश्वरले ख्रीष्टद्वारा संसारलाई आफूसित मिलापमा ल्याउँदै हुनुहुन्छ । उहाँले मिलापको सन्देशको जिम्मा हामीलाई सुम्पनुहुँदै छ ।
”त्यसैले, परमेश्वरले हामीद्वारा अनुरोध गरिरहनुभए झैँ गरेर हामी ख्रीष्टका दूतको रूपमा नियुक्त गरिएका छौँ । “परमेश्वरमा मिलापमा आओ!” भनेर हामी तिमीहरूसित ख्रीष्टको खातिर अनुरोध गर्छौं ।
”उहाँ यसरी भन्नुहुन्छ, “मैले उपयुक्त समयमा तिम्रो वास्ता गरेँ, र मुक्तिको दिनमा मैले तिम्रो सहायता गरेँ ।” हेर, यो मुक्तिको दिन यो ।
”हामी कसैको अगाडि ठेस लाग्ने कुराहरू राख्दैनौँ, कारण हामी हाम्रो सेवामा बेइमानी गर्न चाहन्नौँ ।
”किनकि ईश्वरीय शोकले पश्चात्ताप ल्याउँछ जसले पछुतोविना नै मुक्तिको काम पुरा गर्छ । तर सांसारिक शोकले मृत्यु ल्याउँछ ।
”यसको अर्थ होः थोरैसँग छर्नेले थोरै बटुल्छ; आशिष् पाउने उद्देश्यले छर्नेले आशिष्कै कटनी गर्छ ।
”छर्नेलाई बिउ र खानाको निम्ति रोटी उपलब्ध गराउनुहुनेले तिमीहरूको बिउ उपलब्ध गराएर वृद्धि पनि गराउनुहुनेछ । उहाँले तिमीहरूको धार्मिकताको फसल प्रशस्ततासँग वृद्धि गराउनुहुनेछ ।
”हामी यसको आशा गर्दछौँ, ताकि तिमीहरूभन्दा परका क्षेत्रहरूमा पनि हामी सुसामाचार प्रचार गर्न सकौँ । अरूको क्षेत्रमा भइरहेको कामको बारेमा हामी घमण्ड गर्दैनौँ ।
”के मैले तिमीहरूलाई उच्च पार्नको निम्ति आफैँलाई नम्र पारेर पाप गरेँ? किनकि मैले तिमीहरूलाई सित्तैँमा सुसमाचार प्रचार गरेँ ।
”तर हामीले तिमीहरूका माझमा जुन सुसमाचार घोषणा गर्यौँ, त्योभन्दा बाहेक अरू कुनै सन्देशलाई यदि हामी वा स्वर्गबाट आएका स्वर्गदूतले नै प्रचार गरे तापनि त्यो श्रापित होस् । हामीले पहिले नै भनिसकेका छौँ र म अहिले फेरि पनि भन्दछु, “कसैले तिमीहरूले स्वीकार गरेको भन्दा बाहेक तिमीहरूका सामु अर्को सन्देशको घोषणा गर्दछ भने, त्यो श्रापित होस् ।”
”के मैले अहिले मानिसहरू वा परमेश्वरको समर्थन खोजिरहेको छु र? के मैले मानिसहरूलाई खुसी पार्न खोजिरहेको छु र? यदि मैले अझै पनि मानिसहरूलाई खुसी पार्ने प्रयास गरिरहेको छु भने, म ख्रीष्टको दास होइनँ । भाइहरू हो, तिमीहरूले यो कुरा जान भन्ने म चाहन्छु, कि मैले घोषणा गरेको सुसमाचार मानिसहरूबाट मात्र आएको होइन ।
”म ख्रीष्टसँगै क्रुसमा टाँगिएको छु । अब उसो जिउने म होइनँ, तर ख्रीष्ट ममा जिउनुहुन्छ । अब जुन जीवन म शरीरमा जिउँछु, म परमेश्वरका पुत्रको विश्वासमा जिउँछु, जसले मलाई प्रेम गर्नुभयो र आफैँलाई मेरो निम्ति दिनुभयो ।
”धोकामा नपर । परमेश्वरको ठट्टा हुँदैन । मानिसले जे रोप्दछ, त्यसले त्यही नै कटनी गर्नेछ । किनकि जसले आफ्नै पाप-स्वभावमा बिउ छर्दछ, त्यसले विनाशको कटनी गर्नेछ, तर जसले आत्मामा बिउ छर्दछ, त्यसले आत्माबाट अनन्त जीवनको कटनी गर्नेछ ।
”येशू आउनुभयो र धेरै टाढा र नजिक भएकाहरूलाई उहाँले शान्तिको घोषणा गर्नुभयो ।
”ख्रीष्टले यस्ता वरदानहरू दिनुभयोः प्रेरितहरू, अगमवक्ताहरू, प्रचारकहरू, पास्टरहरू र शिक्षकहरू । ख्रीष्टको शरीरलाई निर्माण गर्ने सेवाको कार्यको निम्ति विश्वासीहरूलाई निपुण गर्नलाई उहाँले यो गर्नुभयो । विश्वासको एकता र परमेश्वरका पुत्रको ज्ञानमा हामी नपुगेसम्म उहाँले यो गर्नुहुन्छ । ख्रीष्टको उचाइमा पूर्ण रूपमा पुगेकाहरू झैँ हामी परिपक्व नभएसम्म उहाँले यो गर्नुहुन्छ । हामी अब बालकहरू जस्तै नहोऔँ भनेर यो जरूरी छ । हामी अब उसो यता-उता नबरालिऔँ भनेर यो जरूरी छ । सबै शिक्षाको बेगसँगै र मानिसहरूको धोखा दिने चलाखीपनको छलद्वारा हामी नबहकिऔँ भनेर यो जरूरी छ ।
”र ख्रीष्टले हामीलाई प्रेम गर्नुभएर आफैँलाई हाम्रो निम्ति दिनुभए झैँ तिमीहरू प्रेममा हिँड । परमेश्वरको निम्ति सुगन्धित सुवास्ना हुनको निम्ति उहाँ एक भेटी र बलिदान हुनुहुन्थ्यो ।
”र मेरो निम्ति प्रार्थना गर, ताकि मैले आफ्नो मुख खोल्दा, मलाई सन्देश दिइयोस् । सुसमाचारको गुप्त सत्यतालाई मैले दृढतापूर्वक अरूलाई बताउन सकूँ भनेर प्रार्थना गरिदेऊ । सुसमाचारको निम्ति साङ्ग्लाले बाँधिएको म एक राजदूत हुँ, र मैले बोल्नुपर्ने समयमा म आँटिलो भएर यस विषयमा बोल्न सकूँ ।
”र परमप्रभुमा भएका धेरै भाइहरू मेरा साङ्लाहरूका कारण निडर भएर वचन बोल्ने आँट गर्न झनै बढी उत्साहित भएका छन् । कसै-कसैले त ईर्ष्या र बेमेलमा, र अरूहरूले सद्भावले पनि ख्रीष्टको प्रचार गरेका छन् । प्रेमले ख्रीष्टको प्रचार गर्नेहरूले सुसमाचारको समर्थन गरेको कारण मलाई यहाँ राखिएको छ भन्ने कुरा जान्दछन् । तर अरूहरूले ख्रीष्टको प्रचार स्वार्थ र निष्ठाहीन उद्देश्यले गर्दछन् । मेरा यी साङ्लाहरूका अवस्थामा तिनीहरूले मलाई अझै कष्ट दिइरहेका छन् भनी तिनीहरू विचार गर्छन् । त्यसो भए के त? चाहे बहानामा होस् वा सत्यतामा दुवै तरिकाले ख्रीष्टको प्रचार हुन्छ, र म यसैमा रमाउँदछु । हो, म रमाउनेछु ।
”तिमीहरू स्थापित र बलियो हुँदै, तिमीहरूले सुनेका सुसमाचारको निश्चित आशाबाट टाढा नगई विश्वासमा निरन्तर अगाडि बढ्नुपर्छ । यो त्यही सुसमाचार हो जुन स्वर्गमुनि सृष्टि गरिएका सबै व्यक्तिलाई घोषणा गरिएको थियो । यो त्यही सुसमाचार हो, जसको म पावल दास भएको छु । तिमीहरूका लागि मेरो कष्टमा म अब आनन्द मनाउँछु । ख्रीष्टका कष्टहरूको कमीलाई उहाँको शरीर अर्थात् मण्डलीको खातिर म मेरो शरीरमा पुरा गर्दछु । परमेश्वरको वचनलाई पुरा गर्नको लागि तिमीहरूका खातिर मलाई परमेश्वरबाट दिइएको जिम्मेवारीअनुसार म यसै मण्डलीको एक सेवक हुँ । यो युगौँ र पुस्तौँसम्म लुकाइएको गुप्त सत्यता हो । तर अहिले उहाँमा विश्वास गर्नेहरूका लागि यो प्रकट गरिएको छ । यो तिनीहरूका निम्ति हो जसलाई परमेश्वरले अन्यजातिहरूका बिचमा यस रहस्यको महिमाको सम्पत्ति के हो, सो थाहा गराउन चाहनुभयो । यो रहस्य त्यही हो, कि ख्रीष्ट तिमीहरूमा हुनुहुन्छ, र यो भविष्यको महिमाको निश्चयता हो । उहाँ त्यही व्यक्ति हुनुहुन्छ जसलाई हामी घोषणा गर्छौं । प्रत्येक व्यक्तिलाई ख्रीष्टमा पूर्ण प्रकारले प्रस्तुत गर्न सकियोस् भनी सम्पूर्ण बुद्धिसाथ हामी सबैलाई सल्लाह दिन्छौँ र सिकाउछौँ ।
”तिमीहरू जान्दछौ, कि तिमीहरूले परमप्रभुबाट उत्तराधिकारको इनाम पाउनेछौ । तिमीहरूले जसको सेवा गर्दछौ, उहाँ प्रभु ख्रीष्ट हुनुहुन्छ ।
”हाम्रो निम्ति पनि सँगसँगै प्रार्थना गर, ताकि ख्रीष्टको गुप्त सत्यताको वचन बोल्नको निम्ति परमेश्वरले ढोका खोलिदिनुभएको होस् । यही वचनको कारण, म बाँधिएको छु । जसरी मैले बोल्नुपर्ने हो, त्यसरी नै मैले यसलाई स्पष्टपार्न सकूँ भनेर प्रार्थना गर । बाहिरकाहरूसँग बुद्धिमानीपूर्वक व्यवहार गर्दै हिँड, अनि तिमीहरूको समयलाई बुद्धिमानीपूर्वक प्रयोग गर । तिमीहरूका वचनहरू सधैँ अनुग्रहसहित होस् । तिनीहरू नुनले स्वादिलो पारिएको जस्तै होऊन्, र हरेक मानिसलाई तिमीहरूले कसरी जवाफ दिनुपर्छ, सो तिमीहरूले जान्न सक ।
”हाम्रो सुसमाचार तिमीहरूकहाँ कसरी आयो, वचनमा मात्र होइन, तर शक्तिमा, पवित्र आत्मामा, र धेरै निश्चयतामा । तिमीहरूका खातिर हामी कस्ता मानिसहरू हौँ, सो तिमीहरूलाई थाहा छ । तिमीहरू हाम्रो र प्रभुको देखासिकी गर्नेहरू भयौ जसरी तिमीहरूले कष्टमा वचन पायौ र आनन्द र पवित्र आत्मामा ग्रहण गर्यौ ।
”तर तिमीहरूलाई थाहा छ, हामीले पहिला नै कष्ट भोग्यौँ र फिलिप्पिमा हामीलाई निर्लज्जपूर्वक व्यवहार गरियो । हामी ठुलो विवादको बिचमा पनि तिमीहरूसँग परमेश्वरको सुसमाचार बताउन परमेश्वरमा साहसी भयौँ । किनभने हाम्रो उत्साह गलत कुराबाट होइन न त अशुद्ध, न छलबाट नै आएको हो, तर जसरी परमेश्वरले हामीहरूलाई सुसमाचार सुम्पिएको व्यक्तिको रूपमा स्वीकृति दिनुभएको छ, त्यसैले हामी मानिसलाई होइन तर हाम्रो हृदय जाँच्नुहुने परमेश्वरलाई खुसी पार्नलाई बोल्छौँ । तिमीहरूलाई थाहा छ र परमेश्वर पनि साक्षी हुनुहुन्छ कि हामीले कुनै पनि बेला चाप्लुसी गरेनौँ, न त लोभको निम्ति बहाना नै बनायौँ, न त हामीले मानिसहरूबाट महिमा खोज्यौँ, न त तिमीहरूबाट या अरूहरूबाट नै, जब कि हामीले ख्रीष्टको प्रेरितहरूको रूपमा विशेष सुविधाहरूको दाबी गर्न सक्थ्यौँ । s5 यसको सट्टा हामीहरू तिमीहरूका माझमा एउटा आमाले आफ्ना बाल बच्चालाई सान्त्वना दिएजस्तै भद्र भयौँ । यसरी तिमीहरूप्रति हाम्रो गहिरो प्रेम थियो, हामी तिमीहरूसँग परमेश्वरको सुसमाचार बाँड्न मात्र होइन, तर हाम्रो जीवन बाँड्न पनि खुसी थियौँ किनभने तिमीहरू हाम्रो निम्ति अति प्रिय भएका छौ । किनभने भाइहरू हो, तिमीहरूलाई हाम्रो परिश्रम र काम याद छ, कि हामीले तिमीहरूलाई परमेश्वरको सुसमाचार प्रचार गर्दै हामी तिमीहरू कसैलाई बोझ नबनौँ भनेर हामीले दिनरात काम गर्यौँ ।
”तिमीहरूले हाम्रो गवाहीमा विश्वास गर्यौ । त्यसै गरी विश्वास गर्ने सबैद्वारा अचम्मित पार्नलाई र सबै सन्तहरूद्वारा महिमित हुनलाई उहाँ त्यो दिनमा आउनुहुन्छ ।
”हाम्रा सुसमाचारद्वारा प्रभु येशूको महिमा प्राप्त गर्न सक भनी उहाँले तिमीहरूलाई यसतर्फ बोलाउनुभयो । यसैले अब भाइहरू हो, स्थिर रहो, वचन या हाम्रा पत्रद्वारा तिमीहरूलाई सिकाएका परम्पराहरूलाई पक्रिराख ।
”विश्वासको उत्तम लडाई लड । अनन्त जीवनलाई पक्री राख जसका लागि तिमी बोलाइएका थियौ । यो धेरै गवाहाहरूको सामु जे असल छ त्यसको बारेमा तिमीले गवाहीको बारेमा थियो ।
”तब हाम्रा प्रभुको बारेमा गवाही दिन नसर्माऊ, र मेरो बारेमा पनि । म पावल उहाँका एक कैदी हुँ, तर परमेश्वरको शक्तिद्वारा कष्टमा पनि सुसमाचार प्रचार गर, जसले हामीलाई उहाँको पवित्र बोलावटमा बचाउनुभयो र बोलाउनुभयो, हाम्रो आफ्नै कामहरूद्वारा होइन, तर उहाँको आफ्नो योजना र अनुग्रहअनुसार जुन हामीलाई ख्रीष्ट येशूमा समयको सुरुवातभन्दा अगि नै प्रदान गर्नुभएको थियो । तर अहिले परमेश्वरको मुक्ति ख्रीष्ट येशूको आगमनले प्रकट गरिदिएको छ, जसले मृत्युलाई नाश पार्नुभयो, सुसमाचारद्वारा कहिल्यै अन्त नहुने जीवन ल्याउनुभयो । त्यसैको निम्ति म प्रचारक, प्रेरित र शिक्षक हुन नियुक्त भएको छु । यसको निम्ति म सतावटमा परेको छु, तरै पनि म शर्माऊँदिनँ । किनकि म उहाँलाई जान्दछु र विश्वास गर्दछु, साथै म विश्वस्त छु कि उहाँले मैले सुम्पेका सबै कुराहरूलाई अन्तिम दिनसम्म सुरक्षित राख्नुहुनेछ ।
”र धेरै गवाहीको माझमा तिमीले जे कुरा मबाट सुनेका छौ, अरूलाई पनि सिकाउन सक्ने विश्वासयोग्य मानिसहरूलाई सुम्पिदेऊ ।
”त्यसैकारण चुनिएकाहरूका लागि म सबै कुरा सहन्छु, ताकि तिनीहरूले अनन्तको महिमाका साथ येशू ख्रीष्टमा भएको मुक्ति प्राप्त गरून् । यो भनाइ भरोसायोग्य छः “हामी उहाँसँगै मर्यौँ भने, हामी उहाँसँगै जीवित पनि हुनेछौँ । हामीले सह्यौँ भने, हामीले उहाँसँगै राज्य गर्नेछौँ । हामीले उहाँलाई इन्कार गर्यौँ भने, उहाँले पनि हामीलाई इन्कार गर्नुहुन्छ ।
”तिनीहरूलाई यी कुराहरूको निरन्तर सम्झना दिलाऊ । शब्दहरूमा तर्क-वितर्क नगर भनी तिनीहरूलाई परमेश्वरको अगाडि चेतावनी देओ, किनभने तिनीहरूले केही फाइदा गर्दैनन् र यी कुराहरू सुन्नेहरूलाई नोक्सान मात्र पुग्छ । सत्यको वचनलाई होसियारीसाथ प्रयोग गर्ने शर्माउन नपर्ने कामदारजस्तै परमेश्वरको उपस्थितिमा स्वीकारयोग्य हुन भरमग्दुर प्रयत्न गर । भक्तिहीन कुरालाई त्याग, जसले तिमीहरूलाई अझ धेरै भक्तिहीनतातर्फ डोर्याउँछ ।
”वचन प्रचार गर, सजिलो र असजिलो दुवै अवस्थामा तयार बस । सबै प्रकारका धैर्य र शिक्षाद्वारा सुधार गर, हप्काऊ र अर्ती देऊ । त्यस्तो समय आउनेछ जब मानिसहरूले असल शिक्षा सहने छैनन् । तर तिनीहरू आफ्नो अभिलाषाअनुसारको शिक्षा दिने शिक्षकहरूबाट घेरिनेछन् । यसरी तिनीहरूले आफूलाई मन परेको कुरा मात्र सुन्दछन् । तिनीहरूले सत्यताबाट आफ्नो कान फर्काउनेछन् र दन्त्य कथातिर लगाउनेछन् । तर तिमी सबै कुरामा सचेत होऊ; कष्ट भोग; प्रचारकको काम गर; आफ्नो सेवा पुरा गर ।
”तर प्रभु मसँग उभिनुभयो र मलाई बल दिनुभयो, ताकि मद्वारा सुसमाचारको घोषणा पूर्ण रूपमा पुरा हुन सकोस् र सबै गैरयहूदीहरूले सुन्न पाऊन् । यसैले, मैले सिंहको मुखबाट छुटकारा पाएँ ।
”हेर, हामीले खुसीसाथ आशा गरिरहेका अर्थात् हाम्रा महान् परमेश्वर र मुक्तिदाता येशू ख्रीष्टको महिमा प्रकट हुने कुरालाई हामीले प्राप्त गर्न प्रतिक्षा गर्दा, हरेककहाँ मुक्ति ल्याउन सक्षम परमेश्वरको अनुग्रह देखा परेको छ,
”म प्रार्थना गर्छु, कि ख्रीष्टमा हामीमा भएको हरेक असल कुराको ज्ञानको निम्ति तिम्रो विश्वासको सहभागिता प्रभावकारी हुन सकोस् । किनकि तिम्रो प्रेमले मलाई ज्यादै आनन्द र सान्त्वना दिएको छ, किनभने भाइ, तिमीले विश्वासीहरूका हृदयलाई ताजा बनाएका छौ । यसकारण, तिमीले के गर्नुपर्छ, त्यो कुरा तिमीलाई आज्ञा दिनको निम्ति ख्रीष्टमा ममा साहस भए, तापनि
”यसकारण, हामी निकै होसियार होऔँ ताकि हामीमध्ये कोही पनि परमेश्वरको विश्राममा प्रवेश गर्ने प्रतिज्ञा हुँदा हुँदै विश्राम गर्नदेखि वञ्चित हुन नपरोस् । किनभने तिनीहरूलाई जस्तै हामीलाई पनि सुसमाचार सुनाइएको थियो । तर सुनेको वचनले तिनीहरूलाई कुनै पनि फाइदा भएन । किनकि सुन्नेहरूले विश्वाससाथ स्वीकार गरेनन् । तर त्यो सन्देश सुन्नेहरू जसले विश्वासविना नै सहभागी भए तिनीहरूलाई फाइदा भएन । किनकि हामी जसले विश्वास गरेका छौँ त्यस विश्राममा हामी प्रवेश गर्नेछौँ, जसरी उहाँले भन्नुभयो, “जसरी मैले मेरो क्रोधमा शपथ खाएँ, ‘तिनीहरू कहिल्यै मेरो विश्राममा प्रवेश गर्नेछैनन्’ ।” उहाँले यसो भन्नुभयो, यद्यपि संसारको उत्पत्तिमा नै उहाँका सृष्टिका कामहरू पुरा भइसकेका थिए ।
”किनभने परमेश्वरको वचन जीवित र क्रियाशील अनि दुईधारे तरवारभन्दा पनि धारिलो छ । यसले आत्मा, प्राण र मासीलाई अलग गर्दछ र छेड्दछ अनि यो हृदयका भावना र विचारहरूको जाँच गर्न सक्षम छ । सृष्टिको कुनै पनि थोक परमेश्वरको दृष्टिमा लुकेको छैन । बरु, उहाँको दृष्टिमा हरेक कुरा छर्लङ्गै छ जसलाई हामीले लेखा दिनुपर्छ ।
”त्यसकारण, आफ्नो निश्चयतालाई नगुमाओ, जसको ठुलो इनाम छ ।
”विनाविश्वास परमेश्वरलाई प्रसन्न पार्न असम्भव छ । किनकि जो परमेश्वरकहाँ आउँछ उसले परमेश्वर अस्तित्वमा हुनुहुन्छ भन्ने कुरामा विश्वास गर्नैपर्छ र उहाँलाई जसले खोज्छ त्यसले इनाम पाउनेछ भनी विश्वास गर्नुपर्छ ।
”तर यदि तिमीहरूमध्ये कसैलाई बुद्धिको खाँचो छ भने, माग्ने जति सबैलाई उदारतासँग र नहप्काइकन दिनुहुने परमेश्वरसँग उसले मागोस् र उहाँले उसलाई त्यो दिनुहुनेछ ।
”यदि कसैले आफैँलाई धार्मिक ठान्दछ, तर उसले आफ्नो जिब्रोलाई नियन्त्रण गर्दैन भने उसले आफ्नो हृदयलाई धोका दिन्छ र उसको धर्म व्यर्थको हुन्छ ।
”मेरा भाइहरू हो, यदि तिमीहरूमध्ये कोही सत्यबाट तर्किएर जान्छ, र कसैले उसलाई फर्काएर ल्याउँछ भने, त्यस व्यक्तिले यो थाहा गरोस्, कि जसले कुनै पापीलाई त्यसको भड्किएको मार्गबाट फर्काउँछ, उसले त्यसलाई मृत्युबाट बचाउनेछ, र असङ्ख्य पापलाई ढाक्नेछ ।
”यो अगमवक्तालाई प्रकट गरिएको थियो जुन तिनीहरूले यी कुराहरूको सेवा गरिरहेका थिए, तिनीहरू आफ्नै लागि होइन तर तिमीहरूका लागि । यी कुरा स्वर्गबाट पठाइनुभएका पवित्र आत्माबाट तिमीहरूलाई प्रचार भएको सुसमाचार ल्याउनेहरूद्वारा तिमीहरूलाई सुनाइएको छ । यी कुराहरू प्रकट होऊन् भनेर स्वर्गदूतहरू पनि इच्छा गर्छन् ।
”तिमीहरू नयाँ गरी जन्मेका छौ, त्यो नाशवान् वीर्यबाट होइन, तर जीवित र रहिरहने परमेश्वरको वचनको अविनाशी वीर्यबाट । किनकि “सबै देह घाँसजस्तै हुन् र तिनका सबै महिमा घाँसका फुलजस्तै हुन् । घाँस सुक्छ र फुल ओइलाउँछ ।” तर परमेश्वरको वचन सदासर्वदा रहिरहन्छ । सुसमाचारको रूपमा यही सन्देशलाई तिमीहरूकहाँ घोषणा गरिएको थियो ।
”नवजात शिशुहरूले जस्तै शुद्ध आत्मिक दूधको तृष्णा गर ताकि तिमीहरू त्यसबाट मुक्तिमा बढ्न सक, यदि प्रभु भला हुनुहुन्छ भनी तिमीहरूले चाखेका छौ भने,
”त्यसैले, तिमीहरू जसले विश्वास गर्छौ तिमीहरूको निम्ति आदर छ । तर, “त्यो ढुङ्गो जसलाई निर्माणकर्ताहरूले इन्कार गरे त्यो नै कुनाको शिर-ढुङ्गा भयो ।” र “एउटा ठक्कर लाग्ने ढुङ्गा र एउटा ठक्कर लाग्ने चट्टान ।” वचन उल्लङ्घन गरेको कारण तिनीहरू ठक्कर खान्छन् जसको निम्ति तिनीहरू नियुक्त गरिएका थिए ।
”तर तिमीहरू त चुनिएका वंश, राजकीय पुजारीहरू, पवित्र जाति, परमेश्वरका निजी प्रजा हौ । त्यसैले, तिमीहरूलाई अन्धकारबाट बोलाई उहाँको उदेकको ज्योतिमा ल्याउनुहुनेका आश्चर्यकर्महरूको घोषणा गर्न सक ।
”बरु, प्रभु येशूलाई पवित्र मानेर तिमीहरूका हृदयमा राख । तिमीहरू किन परमेश्वरमा आशा राख्छौ भनेर कसैले सोधेमा त्यसको जवाफ दिन सधैँ तयार बस? यो काम नम्रता र आदरपूर्वक गर । असल विवेक कायम राख ताकि ख्रीष्टमा तिमीहरूका असल जीवनको निन्दा गर्न खोज्नेहरू लाजमा परून्, किनकि तिनीहरूले दुष्ट मानिसहरूको रूपमा तिमीहरूको विरुद्धमा कुरा गरिरहेका छन् ।
”किनकि हामीले येशू ख्रीष्टको शक्ति र आगमनको बारेमा तिमीहरूलाई बताउँदा धूर्ततासँग रचिएका दन्त्यकथाहरूलाई पछ्याएनौँ, तर हामी उहाँको वैभवको प्रत्यक्ष साक्षी थियौँ ।
”अरूले सोचेजस्तै परमेश्वर आफ्नो प्रतिज्ञाको बारेमा ढिलो गर्नुहुन्न, तर तिमीहरूको निम्ति उहाँ धैर्यवान् हुनुहुन्छ । उहाँ तिमीहरूमध्ये कोही पनि नाश होस् भन्ने चाहनुहुन्न, तर उहाँले सबैलाई पश्चात्ताप गर्ने समय दिने चाहना गर्नुहुन्छ ।
”तर यदि हामीले आफ्ना पापहरू स्वीकार गर्छौं भने उहाँ हामीलाई हाम्रा पापहरू क्षमा गर्न र सबै अधर्मबाट हामीलाई शुद्ध पार्न विश्वासयोग्य र धर्मी हुनुहुन्छ ।
”जो परमेश्वरबाट जन्मेको छ त्यसले पाप गर्दैन, किनकि परमेश्वरको स्वभाव त्यसमा रहन्छ, र उसले पाप गर्न सक्दैन, किनकि त्यो परमेश्वरबाट जन्मेको हो । यसैमा परमेश्वरका सन्तानहरू र शैतानका सन्तानहरू प्रकट गरिन्छन् । जसले धार्मिकता गर्दैन त्यो परमेश्वरको होइन, न आफ्नो भाइलाई प्रेम नगर्ने नै हो ।
”हामी परमेश्वरका हौँ । जसले परमेश्वरलाई चिन्छ, त्यसले हाम्रो कुरा सुन्छ । जो परमेश्वरका होइनन्, त्यसले हाम्रो कुरा सुन्दैन । यसैद्वारा हामी सत्यको आत्मा र झुटको आत्मालाई चिन्छौँ ।
”हामीले मानिसहरूको गवाही स्वीकार गर्छौं भने परमेश्वरको गवाही त झनै महान् हुन्छ । किनकि परमेश्वरको गवाही यही हो, कि उहाँले आफ्ना पुत्रको बारेमा गवाही दिनुभएको छ । जसले परमेश्वरका पुत्रमा विश्वास गर्छ त्यो आफैँसँग गवाही हुन्छ । जसले परमेश्वरलाई विश्वास गर्दैन, त्यसले उहाँलाई झुटो बनाएको छ, किनभने परमेश्वरले उहाँका पुत्रको विषयमा दिनुभएको गवाहीलाई त्यसले विश्वास गरेको छैन । अनि गवाही यही हो, कि परमेश्वरले हामीलाई अनन्त जीवन दिनुभयो, र यो जीवन उहाँका पुत्रमा छ ।
”परमेश्वरको वचनको सम्बन्धमा आफूले देखेका सबै कुरा र येशू ख्रीष्टको बारेमा यूहन्नाले गवाही दिएका छन् ।
”हेर, म ढोकामा उभिरहन्छु र ढकढक्याइरहन्छु । यदि कसैले मेरो स्वर सुनेर ढोका खोल्छ भने, म उसको घरभित्र आउनेछु र उसँग खानेछु अनि उसले मसँग खानेछ ।
”अनि तिनीहरूले ठुलो सोरमा बोलाइराखेका थिएः “मुक्त्ति सिंहासनमा विराजमान हुनुहुने हाम्रा परमेश्वर र थुमाको हो ।”
”मेरा दुई साक्षीलाई म १,२६० दिनका निम्ति भाङ्ग्राको लुगा लगाएर अगमवाणी गर्न अधिकार दिनेछु ।” यी साक्षीहरू दुईवटा जैतुनका रुखहरू र दुईवटा सामदानहरू हुन्, जो पृथ्वीमा परमेश्वरको अगि उभिएका थिए । यदि कसैले तिनीहरूलाई हानि गर्न चाहन्छ भने, तिनीहरूका मुखबाट निस्केर आउने आगोले तिनीहरूका शत्रुहरूलाई नाश पार्नेछ । कसैले तिनीहरूलाई हानि गर्न चाहन्छ भने, त्यसलाई पनि यसरी नै मारिनुपर्छ । यी साक्षीहरूसँग अगमवाणी गरेको समयमा पानी नपरोस् भनी आकाश बन्द गर्ने अधिकार थियो । यी साक्षीहरूले पानी पार्न सक्ने सम्मको अधिकार उनीहरूको अगमवाणीको समयमा पाएका थिए । पानीलाई रगतमा परिवर्तन गर्न सक्ने र पृथ्वीलाई विभिन्न प्रकारका विपत्तिहरूबाट तिनीहरूलाई इच्छा लागेको बेलामा प्रहार गर्ने शक्ति तिनीहरूसित थियो ।
”जब तिनीहरूले आफ्ना गवाही सिद्ध्याउनेछन्, तब अतल कुण्डबाट निस्केर आउने पशुले तिनीहरूको विरुद्धमा युद्ध गर्नेछ । त्यसले तिनीहरूलाई जित्नेछ र तिनीहरूलाई मार्नेछ । तिनीहरूका मृत शरीरहरू ठुलो सहरको बाहिर गल्लितिर पस्रिरहनेछन् जहाँ तिनीहरूका प्रभु क्रुसमा टाँगिनुभएको थियो । किनकि साँढे तिन दिनसम्म हरेक राष्ट्र, जाति, भाषा र मानिसहरूले तिनीहरूका मृत शरीरलाई हेर्नेछन् । तिनीहरूले तिनीहरूलाई चिहानमा गाड्न अनुमति दिनेछैनन् । पृथ्वीमा जिउनेहरू तिनीहरूको मृत्युमा आनन्दित हुनेछन् र उत्सव मनाउनेछन् । तिनीहरूले एक-अर्कालाई उपहारहरू पनि पठाउनेछन् किनभने ती दुई अगमवक्ताले पृथ्वीमा जिउनेहरूलाई सताएका थिए । तर साँढे तिन दिनपछि परमेश्वरबाट आएको जीवनको सास तिनीहरूभित्र पस्नेछ र तिनीहरू आफ्ना खुट्टामा उभिनेछन् । तिनीहरूलाई देख्नेहरू ठुलो डरले भरिनेछ ।
”तिनीहरूले त्यसलाई थुमाको रगतद्वारा र वचनको साक्षीद्वारा जिते, किनकि तिनीहरूले मृत्युसम्मै पनि आफ्नो जीवनलाई प्रेम गरेनन् ।
”त्यसपछि त्यो अजिङ्गर स्त्रीप्रति क्रोधित भयो अनि परमेश्वरको आज्ञा पालन गर्ने र येशूको बारेमा गवाही दिने त्यसका बाँकी रहेका सन्तानहरूसँग युद्ध गर्न गयो । तब त्यो अजिङ्गर समुद्र किनारको बालुवामाथि उभियो ।
”तिनीहरूका मुखमा कुनै झुट पाइएन; तिनीहरू दोषरहित थिए ।
”यी कुरापछि मैले ठुलो सङ्ख्यामा भएका मानिसहरूले चर्को सोरले स्वर्गमा यस भनिरहेको जस्तो सुनेँ, “हल्लेलूयाह! मुक्ति, महिमा र शक्ति हाम्रा परमेश्वरका हुन् ।
”स्वर्गदूतले मलाई भने, “यो लेखः ‘थुमाको विवाहको भोजमा निमन्त्रणा गरिएकाहरू धन्यका हुन् ।’ उनले मलाई यो पनि भने, ‘यी परमेश्वरका सत्य वचन हुन् ।’ उनलाई आराधना गर्न म उनको खुट्टा अगाडि घोप्टो परेँ, तर उनले मलाई “यसो नगर भन्नुभयो, किनभने म येशूको बारेमा गवाही राख्ने तिम्रा भाइहरू र एक सङ्गी दास मात्र हुँ । परमेश्वरको आराधना गर, किनभने येशूको बारेमा भएको गवाही अगमवाणीका आत्मा हुनुहुन्छ ।”
”अनि मैले सिंहासनहरू देखेँ । त्यसमाथि बस्नुहुनेलाई न्याय गर्ने अधिकार दिइएको थियो । मैले परमेश्वरको वचन र येशूको गवाहीका निम्ति शिर काटिएका आत्माहरूलाई पनि देखेँ । तिनीहरूले पशु वा मूर्तिहरूलाई आराधना गरेनन्, र तिनीहरूले आफ्नो निधारमा वा हातमा छाप लगाउनलाई इन्कार गरे । तिनीहरू जीवित भए, र येशूसँगै एक हजार वर्षसम्म राज्य गरे ।
”“हेर, म चाँडै आउँदै छु । हरेकले गरेको काम अनुसारको इनाम मसँग छ ।
”