30 – र्याप्चर
यी सर्वशक्तिमान परमेश्वरका पवित्र वचनहरू हुन्।
हामी मानिसका शब्दहरूमा चासो राख्दैनौं।
परमेश्वरलाई प्रेम गर्ने जो कोहीका लागि... परमेश् वर यसो भन् नुहुन्छ: र्याप्चर.
यी सर्वशक्तिमान परमेश्वरका पवित्र वचनहरू हुन्।
हामी मानिसका शब्दहरूमा चासो राख्दैनौं।
परमेश्वरलाई प्रेम गर्ने जो कोहीका लागि... परमेश् वर यसो भन् नुहुन्छ: र्याप्चर.
तर ती दिनमा सङ्कष्ट आए लगत्तै सूर्य अँध्यारो हुनेछ; चन्द्रमाले आफ्नो ज्योति दिनेछैन; ताराहरू आकाशबाट खस्नेछन्, र स्वर्गका शक्तिहरू डगमगाउनेछन् । तब मानिसका पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ, अनि पृथ्वीका सबै जातिले विलाप गर्नेछन् । तिनीहरूले मानिसका पुत्रलाई आकाशको बादलमा शक्ति र ठुलो महिमासाथ आउँदै गरेको देख्नेछन् । उहाँले आफ्ना स्वर्गदूतहरूलाई तुरहीको ठुलो आवाजका साथ पठाउनुहुनेछ, अनि तिनीहरूले उहाँका चुनिएकाहरूलाई आकाशको एउटा छेउदेखि अर्को छेउसम्म चारै दिशाबाट भेला गराउनेछन् ।
”प्रभु आफै स्वर्गबाट ठुलो प्रशंसा, प्रधान स्वर्गदूतको आवाज र तुरहीको गर्जनसहित आउनुहुनेछ र ख्रीष्टमा मरेकाहरू पहिले बिउँतनेछन् । तब हामी जो जीवित छौँ उठाई लगिएकाहरूसँग एकसाथ बादलमा प्रभुलाई भेट्नेछौँ र हामी सदासर्वदा प्रभुसँगै हुनेछौँ ।
”अब भाइहरू हो, हाम्रा प्रभु येशूको आगमन र हाम्रो उहाँसँग एकसाथ भेट गर्ने सम्बन्धमा हामी अनुरोध गर्दछौँ, कि प्रभुको दिन आइसकेको छ भनी तिमीहरूको मन सजिलै नधर्मराओस्, न त विचलित होस्, न आत्माद्वारा, न वचन न त हाम्रो पत्रद्वारा । प्रभुको आगमन पहिल्यै भइसकेको छ भनेर तिमीहरूलाई कसैले कुनै प्रकारले छल्न नपाओस् । किनकि पतित, पापमय विनाशको छोरो, अधर्मी मानिस प्रकट नहोऊन्जेलसम्म यो हुन आउनेछैन । यो त्यो हो जसले आफैलाई उचाल्दछ र परमेश्वरको विरोध गर्दछ र आफैलाई परमेश्वरको रूपमा प्रस्तुत गरेर महिमित हुन चाहन्छ र उहाँको मन्दिरमा बस्छ ।
”तेरो र स्त्रीबिच, अनि तेरो सन्तान र स्त्रीको सन्तानबिच म दुश्मनी हालिदिनेछु । त्यसले तेरो शिर कुल्चनेछ, र तैँले त्यसको कुर्कुच्चा डस्नेछस् ।”
”तर मेरो बारेमा, मेरा उद्धारक जिउँदो हुनुहुन्छ, र अन्त्यमा उहाँ पृथ्वीमा खडा रहनुहुनेछ । मेरो शरीरको छाला, अर्थात् शरीर पूरै गलेपछि, मेरो शरीरमा नै म परमेश्वरलाई देख्नेछु । मेरा आफ्नै आँखाले— अरू कसैको होइन म आफैंले उहाँलाई देख्नेछु । मेरो हृदय मभित्रै विह्वल बन्छ ।
”अन्तका दिनहरूमा यस्तो हुनेछ परमप्रभुको मन्दिरको पर्वतलाई सबैभन्दा उच्च पर्वतहरूझैं स्थापित गरिनेछ, र डाँडाहरूभन्दा माथि त्यो उचालिनेछ, र सबै जातिहरू यतैतिर आउनेछन् । धेरै जना मानिसहरू आउनेछन् र भन्नेछन्, “आओ, परमप्रभुको पर्वत, याकूबका परमेश्वरको भवनमा माथि जाऔं, ताकि उहाँले आफ्ना केही मार्गहरू हामीलाई सिकाउनु भएको होस् र हामी उहाँका मार्गहरूमा हिंड्न सकौं ।” किनकि सियोनबाट नै व्यावस्था र यरूशलेमबाट नै परमप्रभुको वचन जानेछ । उहाँले जातिहरूका बिचमा न्याय गर्नुहुनेछ र धेरै जना मानिसहरूका निम्ति निर्णय दिनुहुनेछ । तिनीहरूले आफ्ना तरवारहरू पिटेर फालीहरू र आफ्ना भालाहरू पिटेर हँसियाहरू बनाउनेछन् । एउटा जातिले अर्को जातिको विरुद्धमा तरवार उठाउनेछैन, न त तिनीहरूले फेरि युद्धको निम्ति तालिम नै दिनेछन् ।
”चट्टानका ठाउँहरूमा जाओ र परमप्रभुको त्रास र उहाँको वैभवको महिमाबाट जमिनमा लुक । मानिसहको अहङ्कारी हेराइलाई तल झारिनेछ र मानिसहरूको घमण्डलाई तल पारिनेछ, अनि त्यो दिन परमप्रभुलाई मात्र उचालिनेछ । किनकि घमण्ड गर्ने र उच्च पारिएका हरेकको विरुद्धमा, र हरेक अहङ्कारीको विरुद्धमा परमप्रभुको दिन आउनेछ— र त्यसलाई तल झारिनेछ— र लेबनानका अग्ला र माथि उठेका सबै देवदारुका विरुद्धमा, र बाशानका सबै फँलाटका विरुद्धमा हुनेछ । सर्वशक्तिमान् परमप्रभुको त्यो दिन सबै अग्ला पर्वतका विरुद्धमा, माथि उठेका सबै डाँडाका विरुद्धमा, र हरेक अग्ला धरहराका विरुद्धमा, छेड्नै नसक्ने हरेक पर्खालका विरुद्धमा, र तर्शीशका सबै पानी जहाजका विरुद्धमा र सबै सुन्दर जहाजका विरुद्धमा हुनेछ । मानिसको घमण्डलाई तल झारिनेछ र मानिसहरूका हठको पतन हुनेछ । त्यो दिनमा परमप्रभु मात्र उच्च पारिनुहुनेछ । मूर्तीहरू पुर्ण रूपमा बितेर जानेछन् । पृथ्वीलाई त्रासमा पार्न जब परमप्रभु खडा हुनुहुन्छ, तब मानिसहरू उहाँको त्रास र उहाँको वैभवको महिमाबाट लुक्न चट्टानहरूका गुफाहरू र जमिनको दुलोहरू भित्र पस्नेछन् । त्यस दिन मानिहरूले सुन र चाँदीका आफ्ना मूर्तीहरू फाल्नेछन्, जसको पुजा गर्न तिनीहरू आफैले बनाएका छन्— ती तिनीहरूले छुचुन्द्रा र चमेराहरूका अगि फाल्नेछन् । पृथ्वीलाई त्रासमा पार्न जब परमप्रभु खडा हुनुहुन्छ, तब मानिसहरू उहाँको त्रास र उहाँको वैभवको महिमाबाट लुक्न चट्टानहरूका प्वालहरू र कडा चट्टानहरूका कन्दराहरूमा पस्नेछन् ।
”जब परमप्रभुले सियोनकी छोरीहरूको मैला धुनुहुनेछ, र फैसलाको आत्मा र आगोको ज्वालाको आत्माले, यरूशलेमको माझबाट रगतका दाखहरू शुद्ध पार्नुहुनेछ, तब यसो हुनेछ । सम्पूर्ण सियोन पर्वतमाथि र त्यसको सभाको स्थानमाथि, परमप्रभुले दिनमा बादल, धूँवा, र रातमा बलिरहेको आगोको चम्कने ज्वाला सृजना गर्नुहुनेछ । यो नै सबै महिमामाथिको ढाक्ने कुरा हुनेछ ।
”किनकि हाम्रा निम्ति एउटा बालकको जन्म भएको छ, हाम्रो निम्ति एउटा छोरा जन्मेको छ, र शासन उहाँको काँधमा हुनेछ । अनि उहाँको नाउँ अचम्मको सल्लाकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता र शान्तिका राजकुमार राखिनेछ । दाऊदको सिंहासनमा र उनको राज्यलाई स्थापित गर्न, अनि त्यसलाई न्याय र धार्मिकताले थाम्न उहाँले अहिलेदेखि लिएर सदासर्वदा राज्य गर्नुहुँदा, उहाँको शासन र शान्ति वृद्धिको अन्त हुनेछैन । सर्वशक्तिमान् परमप्रभुको जोशले यो पुरा गर्नेछ ।
”डाँको छोडेर रोओ, किनकि परमप्रभुको दिन नजिकै छ । यो सर्वशक्तिमान्बाट विनाशसँगै आउँछ । यसकारण सबै हात कमजोर हुन्छन् र हरेक मुटुले ठाउँ छोड्छ । तिनीहरू त्रसित हुनेछन् । प्रसव वेदनामा परेकी स्त्रलाई झै तिनीहरूलाई पीडा र वेदनाले समात्छ । तिनीहरूले चकित हुँदै एकअर्कालाई हेर्नेछन् । तिनीहरूका अनुहारहरू राता हुनेछन् । हेर, देशलाई विनाश पार्न र त्यसबाट पापीहरूलाई नाश पार्न, परमप्रभुको दिन निर्दयी क्रोध र प्रचूर रिस लिएर आउँछ । आकाशका ताराहरू र तारा पुन्जहरूले आफ्ना प्रकाश दिनेछैनन् । बिहानैदेखि सूर्य नै अध्याँरो हुनेछ र चन्द्रमा चम्कनेछैन । संसारलाई त्यसको दुष्टताको निम्ति अनि दुष्टहरूलाई तिनीहरूका अपराधको निम्ति म सजाय दिनेछु । घमण्डीको अहङ्कारलाई म अन्त गर्नेछु र निर्दयीको अहङ्कारलाई तल खसाल्नेछु । मानिसहरूलाई निखुर सुनभन्दा पनि दुर्लभ र मानवजाति भेट्न ओपीरको शुद्ध सुनभन्दा पनि कठिन म बनाउनेछु । यसकारण सर्वशक्तिमान् परमभुको डरलाग्दो क्रोध र उहाँको प्रचण्ड रिसको दिनमा, आकाशलाई म हल्लाउनेछु, र पृथ्वी आफ्नो ठाउँमा हल्लिनेछ ।
”उहाँले मृत्युलाई सदाको निम्ति निल्नुहुनेछ, र परमप्रभु परमेश्वरले सबैको मुहारको आँसु पुछ्नुहुनेछ । उहाँले आफ्ना मानिसहरूको अपमानलाई सबै पृथ्वीबाट हटाउनुहुनेछ, किनकि यो परमप्रभुले भन्नुभएको छ ।
”किनकि परमप्रभु सबै जातिसँग सबै जातिहरूसँग रिसाउनुभएको छ र तिनीहरूका सबै फौज विरुद्ध क्रोधित हुनुहुन्छ । उहाँले तिनीहरूलाई पुर्ण रूपमा विनाश पार्नुभएको छ, उहाँले तिनीहरूलाई संहारको निम्ति सम्पनुभएको छ । तिनीहरूका मृतकहरूका लाशहरू बाहिर फालिनेछन् । लाशहरूको दुर्गन्ध जताततै हुनेछ । अनि पर्वतहरूले तिनीहरूका रगत सोस्नेछ । आकाशका सबै ताराहरू विलीन हुनेछन् र आकाशचाहिं एउटा चर्मपत्रको मुट्ठाझैं बेह्रिनेछ । अनि दाखको पात झरेर ओइलाएझैं र अञ्जिरका गलेका अञ्जिर खसेझैं तिनीहरूका सबै ताराहरू विलीन हुनेछन् । किनकि जब मेरो तरवारले स्वर्गमा अघाउञ्जेल पिउनेछ । हेर, मैले विनाशको निम्ति अलग गरिरहेका मानिसहरू एदोममाथि त्यो आउनेछ । परमप्रभुको तरवारबाट रगत चुहिरहेको छ र बोसोले ढाकेको छ, थुमाहरू र बोकाहरूका रगत चुहिरहेको छ, भेडाहरूका मृगौलाको बोसोले ढाकिएको छ । किनकि बोज्रामा परमप्रभुको बलिदान छ र एदोममा ठुलो संहार छ । तिनीहरूसँगै जङ्गली साँढेहरू, अनि वृद्ध साँढेहरूसँगै जवानहरू ढल्नेछन् । तिनीहरूका देश रगतले मात्नेछ र तिनीहरूका माटो बोसोले मोटाउनेछ । किनकि परमप्रभुको निम्ति यो बदलाको दिन हुनेछ र उहाँले सियोनको निम्ति तिनीहरूसँग साटो फेर्ने एउटा वर्ष हुनेछ । एदोमका नदीहरू अकत्रामा, त्यसको माटो गन्धकमा परिणत हुनेछ र त्यसको देश जलिरहने अलकत्रा हुनेछ । त्यो रातदिन जल्नेछ । त्यसको धुवाँ सदासर्वदा माथि उठिरहनेछ । पुस्तादेखि पुस्तासम्म यो उजाड भूमी हुनेछ । सदासर्वदा यसबाट कोही पनि हिंड्नेछैन ।
”ए पृथ्वीका अन्तिम छेउका हो, मतिर फर्क र बाँच । किनकि म नै परमेश्वर हुँ र त्यहाँ अरू कोही छैन । म आफैंमा शपथ खान्छु, मेरो न्यायी आदेश दिन्छु र यो फिर्ता हुनेछैन, 'मेरो सामु हरेक घुँडा टेक्नेछ, हरेक जिब्रोले स्विकार गर्नेछ ।
”सुरुदेखि नै म अन्तको बारेमा, अनि अझसम्म नघटेको कुराका बारेमा पहिलेदेखि नै म भन्न सक्छु । म भन्छु, “मेरो योजना पुरा हुनेछ र मलाई जस्तो इच्छा लाग्छ त्यस्तै म गर्नेछु ।”
”सुन्, तिमीहरूका रक्षकहरूले आफ्ना सोर उच्च पार्छन्, तिनीहरू आनन्दले कराउँछन्, किनकि आफ्ना हरेक आँखाले तिनीहरूले परमप्रभु सयोनमा फर्कनुभएको देख्नेछन् ।
”किनकि हेर, मैले नयाँ आकाश र नयाँ पृथ्वी सृष्टि गर्न लागेको छु । अनि पहिले कुराहरू याद हुने वा मनमा आउनेछैन ।
”किनकि, यो परमप्रभुको घोषणा हो, जसरी मैले बनाउने नयाँ आकाश र नयाँ पृथ्वी मेरो सामु रहनेछन्, त्यसरी नै तिमीहरूका सन्तानहरू र तिमीहरूको नाउँ मेरो सामु रहनेछ ।
”हाय! त्यो दिन कस्तो डरलाग्दो दिन हुनेछ । त्यस्तो अरू कुनै दिन हुनेछैन । यो याकूबको निम्ति दुःखकष्टको समय हुनेछ, तर त्यसबाट ऊ बचाइनेछ ।
”किनकि परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: हेर, मेरो बगालको खोजी म आफैं गर्नेछु र तिनीहरूको रेखदेख गर्नेछु, जसरी गोठाला आफ्नो छरपष्ट भएको बगालको बिचमा भएको दिनमा उसले आफ्नो बगलाको खोजी गर्छ । त्यसरी नै म आफ्नो बगालको खोजी गर्नेछु, अनि बादल र अन्धकारको दिनमा तिनीहरू छरपष्ट भएका सबै ठाउँबाट म तिनीहरूलाई बचाउनेछु । तब तिनीहरूलाई मानिसहरूका बिचबाट म बाहिर ल्याउनेछु । तिनीहरूलाई देशहरूबाट भेला गराउनेछु र तिनीहरूलाई आफ्नै देशमा ल्याउनेछु । तिनीहरूलाई इस्राएलको पर्वतहरूमा भएका खर्कहरूमा, खोलाहरूका छेउमा, र देशका हरेक वस्तीहरूमा म राख्नेछु ।
”यसकारण अगमवाणी गर् र तिनीहरूलाई यसो भन्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: हेर, ए मेरा मानिसहरू, म तिमीहरूका चिहान उघार्नेछु र त्यहाँबाट तिमीहरूलाई बाहिर निकाल्नेछु । तिमीहरूलाई म इस्राएल देशमा फर्काएर ल्याउनेछु । ए मेरा मानिसहरू, जब म तिमीहरूका चिहान उघार्नेछु र तिमीहरूलाई त्यहाँबाट बाहिर निकाल्नेछु, तब म नै परमप्रभु हुँ भनी तिमीहरू जान्नेछौ ।
”तापनि, त्यहाँ एक यस्तो परमेश्वर हुनुहुन्छ जो स्वर्गमा वास गर्नुहुन्छ, जसले रहस्यहरू प्रकट गर्नुहुन्छ र आउने दिनहरूमा के हुनेछ भनी उहाँले हजुर महाराजा नबूकदनेसरलाई प्रकट गर्नुभएको छ । हजुर आफ्नो ओछ्यानमा पल्टनुहुँदा हजुरले देख्नुभएको सपना र हजुरका मनका दर्शनहरू यसप्रकार थिए ।
”महाराजा, हजुरले माथि हेर्नुभयो र हजुरले एउटा ठुलो सालिक देख्नुभयो । त्यो धेरै शक्तिशाली र उज्यालो सालिक हजुरको सामु खडा भयो । त्यसको चमक डरलाग्दो थियो । त्यस सालिकको शिर निक्खर सुनले बनेको थियो । त्यसको छाती र हातहरू चाँदीका थिए । त्यसको पेट र तिघ्राहरू काँसाका थिए, र त्यसका गोडाहरू फलामका थिए । त्यसका पाउहरू केही फलाम र केही माटोले बनेका थिए । हजुरले माथि हेर्नुभयो, र एउटा ढुङ्गो काटियो । तापनि त्यो मानिसको हातले होइन, अनि फलाम र माटोले बनेको सालिकको पाउहरूमा त्यो ठोक्कियो, र त्यसले ती चकनाचूर पार्यो । तब फलाम, माटो, काँसा, चाँदी र सुन सबै सँगै टुक्रा-टुक्रा भए र ती ग्रीष्म ऋतुमा अन्न चुट्ने खलाका भुसझैं भए । बतासले तिनलाई उडायो र त्यहाँ तिनका कुनै नाउँ निशाना रहेन । तर त्यो सालिकलाई हिर्काउने ढुङ्गोचाहिं एउटा ठुलो पर्वत बन्यो र त्यसले सम्पूर्ण पृथ्वीलाई ढाक्यो ।
”हजुरको सपना यही थियो । अब हामी महाराजालाई अर्थ बताउँछौं। महाराजा, हजुर राजाहरूका महाराजा हुनुहुन्छ जसलाई स्वर्गका परमेश्वरले राज्य, शक्ति, बल र सम्मान दिनुभएको छ । मानवजातिहरू बस्ने ठाउँ उहाँले हजुरका हातमा दिनुभएको छ । जमिनका पशुहरू र आकाशका चराहरू उहाँले हजुरका हातमा दिनुभएको छ, र ती माथि हजुरलाई शासन गर्ने बनाउनुभएको छ । हजुर नै त्यस सालिकको सुनको शिर हुनुहुन्छ । हजुरपछि, अर्को एउटा राज्य खडा हुनेछ जुन हजुरको भन्दा कमजोर हुनेछ, र त्यसपछि अझै काँसाको अर्को तेस्रो राज्यले सबै पृथ्वीमाथि शासन गर्नेछ ।
”त्यहाँ फलामझैं बलियो चौथो राज्य हुनेछ, किनकि फलामले अरू कुराहरूलाई टुक्रा-टुक्रा पार्छ र हरेक कुरालाई चकनाचूर पार्छ । त्यसले यी सबै कुराहरूलाई चकनाचूर पार्नेछ र कुल्चनेछ । जसरी हजुरले देख्नुभयो, पाउहरू र बुढी औंलाहरू केही पाकेका माटो र केही फलामले बनेका थिए, त्यसरी नै त्यो एउटा विभाजित राज्य हुनेछ । त्यसमा केही फलामको शक्ति हुनेछ, जसरी हजुरले फलाम र नरम माटो मिसिएको देख्नुभयो । जसरी पाउहरूका बुढी औंलाहरू केही फलाम र केही माटोले बनेका थिए, त्यसरी नै त्यो राज्य केही शक्तिशाली र केही सजिलै टुक्रिने किसिमको हुनेछ । जसरी हजुरले फलामलाई नरम माटोसँग मिसिएको देख्नुभयो, त्यसरी नै मानिसहरू पनि मिश्रित हुनेछन् । तिनीहरू मिलेर बस्नेछैनन्, जसरी फलाम माटोसँग मिल्न सक्दैन ।
”ती राजाहरूको समयमा, स्वर्गका परमेश्वरले एउटा राज्य खडा गर्नुहुनेछ, जुन कहिल्यै नाश पारिनेछैन, नत कुनै अर्को जातिद्वारा परास्त हुनेछ । त्यसले अरू राज्यहरूलाई टुक्रा-टुक्रा पार्नेछ र तिनीहरू सबैको अन्त्य गर्नेछ, र त्योचाहिं सदाको निम्ति रहनेछ । जसरी पर्वतबाट एउटा ढुङ्गो काटिएको हजुरले देख्नुभयो, तर मानिसको हातले होइन । त्यसले फलाम, काँसा, माटो, चाँदी र सुनलाई टुक्रा-टुक्रा पार्यो । महाराजा, महान् परमेश्वरले हजुरलाई यसपछि के हुनेछ भनेर बताउनुभएको छ । यो सपना साँचो हो र त्यसको अर्थ विश्वासयोग्य छ ।”
”दानिएलले वर्णन गरे, “रातमा मैले देखेको दर्शनमा स्वर्गका चार बतासले महान् समुद्रलाई घोलिरहेको मैले देखें । प्रत्येक नै एक-अर्काबाट भिन्न चार विशाल पशु समुद्रबाट बाहिर आए । पहिलोचाहिं सिंहजस्तो देखिन्थ्यो तर त्यसका चीलका पखेटाहरू थिए । मैले हेर्दै गर्दा, त्यसका पखेटाहरू च्यातिए र जमिनबाट त्यसलाई माथि उठाइयो र मानिसझैं दुई खुट्टामा त्यसलाई खडा गरियो । त्यसलाई मानिसको मन दिइएको थियो । अनि त्यहाँ अर्को एउटा भालुजस्तो पशु थियो, र त्यो झुकिरहेको थियो । आफ्ना दाँतहरूका बिचमा त्यसले तिनवटा करङ थिए । त्यसलाई यसो भनियो, ‘उठ् र धेरै जना मानिसलाई खा ।’ यसपछि मैले फेरि हेरें । त्यहाँ अर्को एउटा पशु थियो, जुन चितुवाजस्तो देखिन्थ्यो । त्यसको पछाडिपट्टि चराका जस्तै चारवटा पखेटा थिए, र त्यसका चारवटा टाउका थिए । राज्य गर्ने अधिकार त्यसलाई दिइएको थियो । त्यसपछि रातको दर्शनमा डरलाग्दो, भयङ्कर, र धेरै बलियो थियो एउटा चौथो पशु मैले देखें । त्यसका फलाममा ठुला-ठुला दाँत थिए । त्यसले चपायो, टुक्रा-टुक्रा पार्थ्यो, र बाँकीलाई खुट्टामुनि कुल्चियो । अरू पशुभन्दा त्यो फरक थियो, र त्यसका दशवटा सिङ थिए । जसै मैले ती सिङहरूका बारेमा विचार गर्दै थिएँ, मैले हेरें र ती सिङका बिचमा अर्को एउटा सानो सिङ बढ्दै गरेको देखें । पहिलो तिनवटा सिङ उखेलिएर झरे । यो सिङका आँखा मानिसका आँखाजास्ता भएको मैले देखें र त्यसको एउटा मुखले ठुला कुराहरूको सेखी गर्दै थियो ।
”जसै मैले हेरें, सिंहासनहरू तयार पारिएका थिए, र दिनहरूभन्दा प्राचीनले चाहिं आफ्नो आशन ग्रहण गर्नुभयो । उहाँका वस्त्र हिउँझैं सेता थिए, र उहाँको शिरको कपाल शुद्ध ऊनजस्तो थियो । उहाँको सिंहासनमा आगोको ज्वाला थियो, र त्यसका चक्काहरू बलिरहने आगो थियो । उहाँको सामुबाट आगोको नदी बग्यो । लाखौं-लाखले उहाँको सेवा गरे, र दस करोडचाहिं उहाँको सामु खडा थिए । अदालतले न्यायको काम सुरु गर्यो, र पुस्तकहरू खोलिए ।
”त्यो सिङले बोलेका अहङ्कारपुर्ण वचनहरूका कारणले मैले निरन्तर हेरें । त्यो पशु मारिएको र त्यसको शरीर नष्ट पारिएको, र त्यसलाई जलाउनलाई दिइएको मैले देखें । चारवटा पशुमध्येका अरू बाँकीका बारेमा, राज्य गर्ने अधिकार खोसियो, तर केही समयको निम्ति तिनीहरूका उमेर बढाइयो ।
”त्यस रातको मेरा दर्शनहरूमा, आकाशका बादलहरूका साथमा मानिसका पुत्रजस्तै एक जना आउँदै गर्नुभएको मैले देखें । दिनहरूभन्दा प्राचीनकाहाँ उहाँ आउनुभयो र उहाँको सामु उपस्थित गराउनुभयो । राज्य गर्नलाई अधिकार र महिमा र राजकीय शक्ति उहाँलाई दिइयो, यसैले कि सबै मानिसहरू, जातिहरू, र भाषा बोल्नेहरूले उहाँको सेवा गरून् । राज्य गर्ने उहाँको अधिकारचाहिं सदासर्वदाको अधिकार हो जुन बितेर जानेछैन, अनि उहाँको राज्य त्यस्तो हो जुन कहिल्यै पनि नाश हुनेछैन ।
”‘यी विशाल पशुका चारवटा सङ्ख्याले चार जना राजालाई जनाउँछन् जो पृथ्वीमा खडा हुनेहुन् । तर सर्वोच्च परमेश्वरका पवित्र मानिसहरूले त्यो राज्य प्राप्त गर्नेछन्, र तिनीहरूले सदासर्वदाको निम्ति त्यसको अधिकार गर्नेछन् ।’
”अनि त्यो चौथो पशुको बारेमा अझै धेरै जान्ने मलाई इच्छा भयो— त्यो अरूभन्दा धेरै फरक थियो र आफ्ना फलामका दाँत र काँसाका नङ्ग्राका कारणले त्यो धेरै डरलाग्दो थियो । त्यसले चपायो, टुक्रा-टुक्रा पार्थ्यो, र बाँकीमाथि खुट्टाले कुल्चियो । त्यसको शिरका दशवटा सिङ र नयाँ पलाएको अर्को सिङ जसको सामु तिनवटा सिङ उखेलिएर झरेको बारेमा जान्ने इच्छा मलाई भयो। आँखा भएका सिङ र ठुला कुराहरूको सेखी गर्ने मुखको बारेमा जान्ने इच्छा मलाई भयो, अनि त्यो आफ्ना मित्रहरूभन्दा महान् देखिन्थ्यो । जसै मैले हेरें, त्यो सिङले पवित्र मानिसहरूका विरुद्ध युद्ध सुरु गर्यो र तिनीहरूलाई पराजित गर्दै थियो, जबसम्म दिनहरूभन्दा प्राचीन आउनुभएन, र सर्वोच्च परमेश्वरका पवित्र मानिसहरूलाई न्याय दिनुभएन । तब समय आयो जब पवित्र मानिसहरूले राज्य प्राप्त गरे ।
”ती मानिसले यसो भने, ‘चौथो पशुको बारेमा, त्यो पृथ्वीमा चौथो राज्य हुनेछ जुनचाहिं अरू सबै राज्यभन्दा फरक हुनेछ । त्यसले सारा पृथ्वीलाई नाश गर्नेछ र त्यसलाई कुल्चनेछ र त्यसलाई टुक्रा-टुक्रा पार्नेछ । दसवटा सिङका बारेमाचाहिं, यो राज्यबाट दस जना राजा खडा हुनेछन्, तिनीहरूभन्दा पछि अर्को खडा हुनेछ । पहिलेकाभन्दा ऊ फरक हुनेछ, र उसले तिन जना राजालाई पराजित गर्नेछ । उसले सर्वोच्च परमेश्वरका विरुद्ध बोल्नेछ र सर्वोच्च परमेश्वरका पवित्र मानिसहरूमाथि अत्याचार गर्नेछ । उसले चाडहरू र व्यवस्थालाई परिवर्तन गर्न कोसिस गर्नेछ । यी कुराहरूलाई उसको हातमा एक वर्ष, दुई वर्ष, र आधा वर्षको लागि दिइनेछ । तर अदालतले न्यायको काम सुरु गर्नेछ, र अन्त्यमा भष्म पारिन र नाश गरिनलाई तिनीहरूले उसका राजकीय शक्तिलाई खोस्नेछन् । राज्य र प्रभुत्व, र सम्पूर्ण स्वर्गमुनिका राज्यहरूको महान्ता ती मानिसहरूलाई दिइनेछ जो सर्वोच्च परमेश्वरका पवित्र मानिसहरू हुन् । उहाँको राज्य सदासर्वदाको राज्य हो, र अरू सबै राज्यहरूले उहाँको सेवा गर्नेछन् र उहाँको आज्ञा मान्नेछन् ।’
”तीमध्येबाट अर्को एउटा सिङ पलायो, जुन पहिला सानो थियो, तर त्यो दक्षिणमा, पूर्वमा, र सुन्दरताको देशमा धेरै विशाल भयो । त्यो यति विशाल भयो, कि त्यो स्वर्गको सेनासँग युद्ध गर्न तयार भयो । ती सेनामध्ये कोही र केही ताराहरू पृथ्वीमा फालिए, र त्यसले तीमाथि कुल्चियो । त्यसले आफूलाई सेनाका कमान्डर जत्तिकै महान् बनायो । त्यसले उहाँबाट नियमित होमबलि खोसेर लग्यो, र उहाँको पवित्रस्थानलाई अशुद्ध पारियो । विद्रोहको कारणले, त्यो सेनालाई बोकोको सिङकहाँ सुम्पिइनेछ, र होमबलि रोकिनेछ । त्यो सिङले सत्यतालाई तल जमिनमा फाल्नेछ, र त्यसले जे गर्छ त्यसमा त्यो सफल हुनेछ । त्यसपछि एक जना पवित्र जनले बोल्दै गर्नुभएको र अर्को पवित्र जनले उहाँलाई यसो भनेर जवाफ दिंदै गर्नुभएको मैले सुनें, “यी दर्शनका कुराहरू रहने, होमबलि, सर्वनाश ल्याउने पाप, पवित्रस्थानको हस्तान्तरण, र स्वर्गका सेनाहरू कुल्चिइएका पूरा हुनलाई कहिलेसम्म लाग्छ?” उहाँले मलाई भन्नुभयो, “यो २,३०० साँझ र बिहानसम्म रहनेछ । त्यसपछि पवित्रस्थान फेरि शुद्ध पारिनेछ ।”
”जब म, दानिएलले त्यो दर्शन देखें, तब मैले त्यो बुझ्ने कोसिस गरें । तब मेरो सामु एक जना खडा भए जो मानिसजस्तो देखिन्थे । ऊलै नहरको किनाराहरूका बिचबाट एक जना मानिसले यस्तो भन्दै गरेको आवाज मैले सुनें । उहाँले भन्नुभयो, “ए गाब्रिएल, यो दर्शन बुझ्नलाई यस मानिसलाई मदत गर ।” यसैले तिनी म उभिएको ठाउँ नजिक आए । जब तिनी आए, म भयभीत भएँ र आफूलाई भुइँमा लम्पसार पारेर दण्डवत् गरें । तिनले मलाई भने, “ए मानिसको पुत्र, यो दर्शन अन्तको समयको निम्ति हो भन्ने कुरा बुझ ।” तिनले मसँग बोलिरहँदा, मेरो अनुहार भुइँमा घोप्टो पारेर म गहिरो निद्रामा निदाएँ । तब तिनले मलाई छोए र मलाई खडा गराए । तिनले भने, “हेर, पछि क्रोधको समयमा के हुनेछ भनेर म तिमीलाई देखाउनेछु, किनभने यो दर्शन अन्त हुन तोकिएको समयको निम्ति हो ।
”ती राज्यहरूको पछिल्लो समयमा, जब अपराधीहरूको पाप चरम सिमामा पुग्छ, एक जना हठी राजा खडा हुनेछ, जो धेरै बुद्धिमान् हुनेछ । उसको शक्ति महान् हुनेछ— तर उसको आफ्नै शक्तिले होइन । उसले जे कुराको विनाश गर्छ, त्यसमा ऊ अचम्ममा पर्नेछ । काम गर्नेछ र सफल हुनेछ । उसले शक्तिशाली मानिसहरू, अर्थात् पवित्र जनहरूका बिचमा भएका मानिसहरूलाई सर्वनाश गर्नेछ । आफ्नो धूर्तताले उसले आफ्नो हातमुनि छललाई सफल पार्नेछ । आफ्नै मनमा ऊ महान् हुनेछ । उसले अप्रत्यासित किसिमले धेरै मानिसहरूलाई नाश गर्नेछ । राजाहरूका राजाको विरुद्धमा पनि ऊ उठ्नेछ, र ऊ टुक्रा-टुक्रा पारिनेछ, तर मानिसका हातले होइन । साँझ र बिहानको विषयमा बताइएका यी दर्शनहरू सत्य हुन् । तर यो दर्शनलाई मोहर लगाई बन्द गर, किनकि यसले भविष्यका धेरै दिनहरूलाई जनाउँछ ।”
”तिम्रा मानिसहरू र तिम्रो पवित्र सहरको दोषको अन्त्य गर्न र पापलाई अन्त्य गर्न, दुष्टताको निम्ति पश्चात्ताप गर्न, अनन्त धार्मिकता ल्याउन, दर्शन र अगमवाणीलाई पुरा गर्न, र अति पवित्र स्थानलाई शुद्ध पार्नलाई सत्तरी सातहरूको आदेश दिइएको छ । यो जान र बुझ, कि यरूशलेमलाई पुनर्स्थापित र पुनर्निर्माण गर्ने आज्ञा दिएपछि, अभिषिक्त जनको आगमनसम्म त्यहाँ सात सातहरू र बैसठ्ठी सातहरू हुनेछन् । धेरै विपदका समयहरू हुने भए तापनि, सडकहरू र सुरुङहरूसहित यरूशलेमको पुनर्निर्माण हुनेछ । बैसठ्ठी सातहरूपछि, अभिषिक्त जनलाई नाश पारिनेछ र तिनीसँग केही पनि हुनेछैन । आउनेवाला शासकका सेनाले सहर र पवित्र स्थानलाई नाश गर्नेछ । बाढीसँगै त्यसको अन्त्य आउनेछ, र अन्त्यसम्मै युद्ध हुनेछ । सर्वनाश पार्ने आज्ञा दिइएको छ । एउटा सातको निम्ति तिनले धेरै जनासँग करार सदर गर्नेछन् । सातको बिचमा तिनले बलिदान र भेटीलाई समाप्त गर्नेछन् । घृणित कुराहरूको पखेटामा कोही व्यक्ति आउनेछ जसले सर्वनाश गर्नेछ । सर्वनाश गर्ने व्यक्तिलाई पूर्ण रूपमा खत्तम गर्ने र विनाश पार्ने आदेश भएको छ ।”
”तिम्रा मानिसहरूलाई अन्तका दिनमा के हुनेछ भनेर बुझ्न तिमीलाई मदत गर्न म आएको हुँ । किनकि यो दर्शनचाहिं अझै आउन बाँकी दिनको निम्ति हो ।”
”यी दुवै राजाहरू, आफ्नो हृदयमा एक-अर्काको विरुद्धमा दुष्टता लिएर, एउटै टेबिलमा बस्नेछन् र एक-अर्कालाई ढाँट्नेछन्, तर त्यो केही कामको हुनेछैन । किनभने तोकिएकै समयमा अन्त्य आउनेछ । अनि उत्तरका राजा धेरै धनदौलत लिएर, आफ्नो हृदयलाई पवित्र करारको विरुद्धमा उठाएर आफ्नै देशमा फर्कनेछ । उसले त्यस्तै काम गर्नेछ र आफ्नै देशमा फर्कनेछ ।
”तोकिएको समयमा ऊ फर्कनेछ र दक्षिणको विरुद्धमा खडा हुनेछ । तर यस पटक पहिलाको झैं हुनेछैन । किनभने कित्तिमका जहाजहरू उसको विरुद्धमा आउनेछन्, र ऊ डराउनेछ र पछि हट्नेछ । त्यो पवित्र करारको विरुद्ध ऊ रिसले चूर हुनेछ, र पवित्र करारलाई त्याग्नेहरूलाई उसले समर्थन गर्नेछ । उसको सैन्य-बल उठ्नेछ र पवित्र-स्थानका किल्लाहरूलाई अशुद्ध पार्नेछ । तिनीहरूले दैनिक होमबलि हटाउनेछन्, र तिनीहरूले घृणित थोक स्थापना गर्नेछन् जसले विनाश ल्याउनेछ । अनि करारको विरुद्धमा दुष्टतापूर्ण काम गर्नेहरूलाई उसले तिनलाई धोका दिनेछ र तिनलाई भ्रष्ट पार्नेछ । तर आफ्ना परमेश्वरलाई चिन्ने मानिसहरू बलियै हुनेछन् र सोअनुसार काम गर्नेछन् । मानिसहरूमध्ये बुद्धिमान्ले धेरै जनालाई बुझाउनेछ । तर तरवार र आगोले तिनीहरू ढल्नेछन् । तिनीहरू कैदमा जानेछन् र धेरै दिनसम्म लुटिनेछन् । तिनीहरू ढलेका अवस्थामा, तिनीहरूलाई थोरै सहायता मिल्नेछ । कपट गरेर धेरै जनाले तिनीहरूसँग मिलाप गर्नेछन् ।
”बुद्धिमान्मध्ये कोही-कोहीले ठेस खानेछन्, जसले गर्दा तिनीहरू अन्तको समयसम्म खारिनेछन्, शुद्ध पारिनेछन्, र दागरहित हुनेछन् । किनभने तोकिएको समय आउन अझै बाँकी हुन्छ ।
”राजाले आफ्नो इच्छाहरूअनुसार काम गर्नेछ । उसले आफैंलाई उठाउनेछ र सारा देवहरूमाथि आफूलाई महान् बनाउनेछ । देवहरूका परमेश्वरको विरुद्धमा उसले आश्चर्यलाग्दा कुराहरू भन्नेछ, किनभने क्रोधको समय पूरा नभएसम्म ऊ सफल हुनेछ । किनभने जे आदेश दिइएको छ, त्यो पूरा भएरै छोड्नेछ । आफ्ना पुर्खाका देवहरू वा स्त्रीहरूले रुचाएका देवप्रति पनि उसले ध्यान दिनेछैन । न त उसले अन्य देवहरूप्रति ध्यान दिनेछ । किनभने सबैभन्दा माथि उसले आफैंलाई महान् बनाउनेछ । यीभन्दा किल्लाहरूका देवलाई उसले सम्मान गर्नेछ । उसले पुर्खाहरूले नमान्ने देवलाई उसले सुन र चाँदी, र बहुमुल्य पत्थरहरू, अनि महत्त्वपूर्ण उपहारहरूले सम्मान गर्नेछ । सबैभन्दा बलिया किल्लाहरूलाई उसले पराई देवको सहायताले आक्रमण गर्नेछ । उसका कुरा मान्ने हरेकलाई उसले धेरै सम्मान दिनेछ । उसले तिनीहरूलाई धेरै मानिसहरूका शासकहरू बनाउनेछ, र त्यो देशलाई उसले इनामको रूपमा विभाजन गर्नेछ ।
”अन्त्यको समयमा, दक्षिणका राजाले आक्रमण गर्नेछन् । उत्तरको राजाले दक्षिणको राजाको विरुद्ध रथहरू र घोडचडीहरू, र धेरै जहाजहरूको साथमा आँधीझैं युद्ध गर्नेछ । ऊ धेरै देशहरूका विरुद्ध जानेछ, र तिनीहरूलाई बाढीले झैं बगाउनेछ र अगि बढ्नेछ । ऊ सुन्दारताको देशमा जानेछ, र दशौं हजार इस्राएलीहरू मर्नेछन् । तर त्यसका हातबाटः एदोम, मोआब, र अम्मोनका मानिसमद्ये बाँकी रहेकाहरू उम्कनेछन् । उसले देशहरूमाथि आफ्नो अधिकार फैलाउनेछ । अनि मिश्रदेश बचाइनेछैन । सुन र चाँदीका, र मिश्रदेशका सारा धन-सम्पत्तिमा उसले नियन्त्रण गर्नेछ । लिबियाली र कूशीहरू उसका पाउँमुनि हुनेछन् । तर पूर्व र उत्तरबाट आउने समाचारले उसलाई भयभीत बनाउनेछ, र पूर्ण रूपमा नाश गर्न र धेरैलाई विनाशको निम्ति अलग गर्न ऊ क्रोधित भएर जानेछ । उसले समुद्रहरू र पवित्रताको सुन्दरताको पर्वतको बिचमा आफ्नो राजकीय वासस्थानको पाल खडा गर्नेछ । उसको अन्त्य हुनेछ, र उसको निम्ति त्यहाँ सहायता गर्ने कोही पनि हुनेछैन ।
”“त्यो समयमा, तिम्रा मानिसहरूको रक्षा गर्ने महान् राजकुमार, मिखाएल खडा हुनेछन् । त्यहाँ विपत्तिको समय हुनेछ, जुन कुनै पनि जातिको सुरुदेखि त्यो समयसम्म कहिल्यै भएको थिएन । त्यो समयमा तिम्रा मानिसमध्ये हरेक, जसका नाम पुस्तकमा लेखिएका पाइनेछ, ती बचाइनेछन् । पृथ्वीको माटोमा सुतेकाहरूमध्ये धेरै जना, कोही अनन्तको जीवनको निम्ति, अनि कोही लाज र अनन्तको निन्दाको निम्ति फेरि उठ्नेछन् । बुद्धिमान् मानिसहरू माथि आकाशको उज्यालोझैं चम्कनेछन्, र धेरैलाई धार्मिकतामा डोर्याउनेहरू सदाको निम्ति ताराहरूझैं हुनेछन् । तर तिमी दानिएल, यी वचनलाई बन्द गर । अन्तको समयसम्म त्यो पुस्तकलाई मोहर लगाई राख । धेरै जना यता-उता दौडनेछन्, र ज्ञान बढ्नेछ ।”
”तब, म, दनिएलले हेरें, र त्यहाँ अरू दुई जना खडा थिए । एक जना नदीको यतापट्टिको किनारमा, र एक जना नदीको अर्कोपट्टिको किनारमा खडा थिए । तीमध्ये एक जनाले नदीको माथि भएका मलमलको लुगा लगाउने मानिसलाई सोधे, “यी अचम्मका घटनाहरू पूरा हुन कति समय लाग्नेछ?” नदीमाथि भएका मलमलको लुगा लगाउने मानिसको आवाज मैले सुनें— तिनले आफ्नो दाहिने र देब्रे हात स्वर्गतिर उचाले र अनन्तसम्म रहनुहुनेको नाउँमा सपथ खाएर भने, कि त्यो एक वर्ष, दुई वर्ष, र आधा वर्षसम्म हुनेछ । आखिरीमा जब पवित्र मानिसहरूका शक्ति तोडिनेछ, तब यी सबै कुराहरू पूरा हुनेछन् ।
”मैले सुनें, तर मैले बुझिनँ । यसैले मैले सोधें, “ए मेरा मालिक, यी सबै कुराहरूको परिणाम के हुनेछ?” तिनले भने, “ए दानिएल, तिमी आफ्नो बाटो लाग, किनभने अन्तको समय नभएसम्म यी वचनलाई बन्द गरिएका र मोहर लगाइएका छन् । धेरै जना शुद्ध पारिनेछन्, दागरहित बनाइनेछन्, र खारिनेछन्, तर दुष्टहरूले दुष्ट काम गर्नेछन् । दुष्टहरूमध्ये कसैले पनि बुझ्नेछैन, तर बुद्धिमान्हरूले बुझ्नेछन् ।
”दैनिक होमबलि हटाइएको र पूर्ण विनाश ल्याउने घृणित थोकको स्थापना गरिएको समयदेखि, त्यहाँ १,२९० दिन हुनेछन् । त्यो मानिस धन्यको जो १,३३५ दिनहरूका अन्त्यसम्म पर्खकन्छ । अन्तसम्म तिमी आफ्नै बाटो लाग, र तिमीले विश्राम पाउनेछौ । दिनहरूका अन्तमा तिमीलाई दिइएको ठाउँमा तिमी खडा हुनेछौ ।”
”“यो परमप्रभुको घोषणा हो, त्यो दिन यस्तो हुनेछ, तैंले मलाई ‘मेरो पति’ भन्नेछस्, अनि फेरि मलाई ‘मेरो बाल’ भन्नेछैनस् ।
”सियोनमा तुरही फुक, र मेरो पवित्र पर्वतमा चेतावनी ध्वनि बजाओ! देशका सबै बासिन्दाहरू डरले थरथर होऊन्, किनकि परमप्रभुको दिन आउँदैछ, वास्तवमा, त्यो नजिकै छ । यो अन्धकार र उदासको दिन हो, बादलहरू र बाक्लो अन्धकारको दिन हो । जसरी पर्वतहरूमा झिसमिसे बिहानी फैलिन्छ, त्यसरी नै एउटा ठुलो र शक्तिशाली सेना नजिक आउँदैछ । त्यस्तो सेना पहिले कहिल्यै थिएन, अनि पुस्तौं-पुस्ता पछिसम्म पनि, त्यहाँ त्यस्तो फेरि कहिल्यै हुनेछैन । त्यसको अगाडिका सबै कुरालाई आगोले भष्म पार्दैछ, र त्यसको पछाडि आगोको ज्वाला बलिरहेको छ । त्यसको अगाडिको देश अदनको बगैंचाजस्तो छ, तर त्यसको पछाडि एउटा नाश भएको उजाड-स्थान छ । त्यसबाट कुनै कुरा फुत्कनेछैन । त्यो सेना घोडाहरूझैं देखा पर्छ, र तिनीहरू घोडचढीहरूझैं दौडन्छन् । पर्वतहरूका टाकुराहरूमा रथहरूले गरेझैं, झिंजाहरू भस्म पार्ने भयङ्कर ज्वालाको आवाजझैं, युद्धको निम्ति तयार भएको शक्तिशाली सेनाझैं, आवाज गरेर तिनीहरू उफ्रन्छन् । तिनीहरूको उपस्थितिले मानिसहरू वेदनामा पर्छन्, अनि तिनीहरूका सम्पूर्ण अनुहार पहेंलो हुन्छ । शक्तिशाली लडाकुहरूझैं तिनीहरू दौडन्छन्, सेनाहरूझैं तिनीहरू पर्खालहरूमा चढ्छन्, तिनीहरू हरेक व्यक्ति पङ्तिवद्ध भएर हिंड्छन्, र आफ्नो पङ्तिलाई बिगार्दैनन् । न त एउटाले अर्कालाई धक्का दिन्छन् । तिनीहरू प्रत्येक नै आ-आफ्नै बाटोमा हिंड्छन् । तिनीहरू सुरक्षाबलहरूलाई तोड्दै अघि बढ्छन्, र आफ्नो लाइनभन्दा बाहिर पुग्दैनन् । तिनीहरूले सहरलाई आक्रमण गर्छन्, तिनीहरू पर्खालमा दौडन्छन्, तिनीहरू घरहरूमाथि चढ्छन्, र चोरहरूझैं तिनीहरू झ्यालहरूबाट भित्र जान्छन् । तिनीहरूको अगि पृथ्वी काम्छ, आकाश थरथर हुन्छ, सूर्य र चन्द्रमा अँध्यारो हुन्छन्, अनि ताराहरू चम्कन छोड्छन् । परमप्रभुले आफ्नो सेनाको सामु ठुलो सोरले कराउनुहुन्छ, किनकि उहाँका योद्धाहरू असङ्ख्य छन्, किनकि उहाँका आज्ञा पालन गर्नेहरू, ती बलिया छन् । किनकि परमप्रभुको दिन महान् र अत्यन्तै भयानक हुन्छ । त्यसबाट को बाँच्न सक्छ र?
”केही समयपछि सबै मानिसमाथि, म आफ्नो आत्मा खन्याउनेछु, र तिमीहरूका छोराहरू र छोरीहरूले अगमवाणी बोल्नेछन् । तिमीहरूका वृद्ध मानिसहरूले सपनाहरू देख्नेछन्, र तिमीहरूका जवान मानिसहरूले दर्शनहरू देख्नेछन् । साथै ती दिनहरूमा दासहरू र दासीहरूमा, म आफ्नो आत्माबाट खन्याउनेछु ।
”आकाश र पृथ्वीमा अचम्मका कामहरू, रगत, आगो, र धूँवाका मुस्लाहरू म देखाउनेछु । परमप्रभुको त्यो महान् र भयानक दिन आउनुअघि, सूर्य अन्धकारमा अनि चन्द्रमा रगतमा परिवर्तन हुनेछ । परमप्रभुको नाउँ पुकार्ने हरेक व्यक्ति बचाइनेछ । किनकि जस्तो परमप्रभुले भन्नुभएको छ, सियोन पर्वतमा र यरूशलेममा छुटकारा पाएका मानिसहरू हुनेछन्, जसलाई परमप्रभुले बोलाउनुहुन्छ ।
”हँसिया बोक, किनकि फसल पाकेको छ । आओ, दाखहरूलाई पेल, किनको दाखको कोल भरिएको छ । घ्याम्पोहरू भरिएर पोखिन्छन्, किनकि तिनीहरूका दुष्टता विशाल छ ।” त्यहाँ होहल्ला छ, इन्साफको बेसीमा कोलाहल छ । किनकि इन्साफको बेसीमा परमप्रभुको दिन नजिकै छ । सुर्य र चन्द्रमा अन्धकार हुन्छन्, र ताराहरूले आफ्नो चमक लुकाउँछन् । सियोनबाट परमप्रभु गर्जनुहुन्छ, र यरूशलेमबाट आफ्नो आवाज उठाउनुहुन्छ । आकाश र पृथ्वी थरथर काम्नेछन्, तर परमप्रभु आफ्ना मानिसहरूका निम्ति शरणस्थान, र इस्राएलका मानिसहरूका निम्ति किल्ला हुनुहुनेछ ।
”“यसैले, परमप्रभु तिमीहरूका परमेश्वर म नै हुँ भनी तिमीहरूले जान्नेछौ, म आफ्नो पवित्र पर्वत सियोनमा बास गर्छु । तब यरूशलेम पवित्र हुनेछ, र त्यसबाट फेरि कहिलै कुनै सेना हिंड्नेछैन । त्यो दिनमा यस्तो हुनेछ, पहाडहरूबाट मिठो दाखमद्य चुहिनेछ, डाँडाहरूबाट दूध बग्नेछ, यहूदाका सबै खोलाहरूमा पानी बग्नेछ, र परमप्रभुको मन्दिरबाट मूल फुट्नेछ, र शित्तिमको उपत्यकालाई भिजाउनेछ । यहूदाका मानिसहरूमाथि अत्याचार गरिएको हुनाले, तिनीहरूले आफ्नो देशमा निर्दोष रगत बगाएको हुनाले, मिश्र त्यागिएर उजाड हुनेछ, र एदोमचाहिं त्यागिएको उजाड-स्थान हुनेछ । तर यहूदामा सधैं मानिसहरू बसोबास गर्नेछन्, र यरूशलेममा चाहिं पुस्तादेखि पुस्तासम्म बसोबास हुनेछ । मैले बदला नलिएको रगतको म बदला लिनेछु, किनकि परमप्रभु सियोनमा बास गर्नुहुन्छ ।”
”तर अन्त्यका दिनहरूमा परमप्रभुको घरानाको पर्वत अरू पर्वतहरूमाथि स्थापित हुनेछ । त्यो पहाडहरूभन्दा माथि उचालिनेछ र जाति-जातिहरू त्यसतर्फ जानेछन् । धेरै जातिहरू गएर भन्नेछन्, “आओ, परमप्रभुको पर्वत, अर्थात् याकूबका परमेश्वरको वासस्थानसम्म जाऔँ । उहाँले हामीलाई उहाँका मार्ग सिकाउनुहुनेछ, र हामी उहाँको बाटोमा हिँड्नेछौँ ।” किनभने सियोनबाट व्यवस्था र यरूशलेमबाट परमप्रभुको वचन बाहिर निस्कनेछ । उहाँले धेरै जातिहरूको न्याय गर्नुहुनेछ र टाढा-टाढा भएका धेरै जातिहरूका विषयमा निर्णय गर्नुहुनेछ । तिनीहरूले आफ्ना तरवारहरूलाई पिटेर हलोका फाली र आफ्ना भालाहरूलाई छिमल्ने हँसिया बनाउँनेछन् । एउटा जातिले अर्को जातिको विरुद्ध तरवार उठाउने छैन, नत तिनीहरूले अबदेखि युद्धको निम्ति तालिम लिनेछन् । बरु, तिनीहरूले हरेक मानिसलाई उहाँको दाखको बोटमुनि र उहाँको नेभाराको रूखमुनि राख्नेछन् । कसैले पनि तिनीहरूलाई भयभीत बनाउनेछैन, किनभने सेनाहरूका परमप्रभु बोल्नुभएको छ ।
”परमप्रभुको त्यो महान् दिन नजिकै छ, नजिक र चाँडै आउँदै छ । परमप्रभुको दिनको आवाज चिच्याई-चिच्याई रोइरहेको योद्धाको झैँ हुनेछ । त्यो दिन क्रोधको दिन, संकट र पीडाको दिन, आँधी र विनाशको दिन, अन्धकार र विरक्तको दिन, बादल र घोर अन्धकारको दिन हुनेछ । त्यो दिन किल्ला भएका शहरहरु र उच्च धरहराहरूको विरुद्ध तुरही र चेतावनीको सोरको दिन हुनेछ । किनभने म मानवजातिमाथि संकट ल्याउनेछु, अनि तिनीहरूले परमप्रभुको विरुद्ध पाप गरेका हुनाले तिनीहरू अन्धा मानिसहरूझैँ हिँड्नेछन् । तिनीहरूको रगत धुलोझैँ र तिनीहरूका भित्री अङ्गहरू लादीझैँ बाहिर फ्याँकिनेछन् । परमप्रभुको क्रोधको दिनमा न त तिनीहरूको चाँदी न तिनीहरूको सुनले तिनीहरूलाई बचाउन सक्नेछ । उहाँको डाहको आगोमा सारा पृथ्वी भस्म हुनेछ, किनभने उहाँले पृथ्वीका सारा वासिन्दाहरूको पूर्ण र भयानक अन्त गर्नुहुनेछ ।”
”त्यसैकारण जुन दिनसम्म म शिकारलाई पक्रनको निम्ति उठ्दिनँ, त्यस बेलासम्म मलाई पर्ख, परमप्रभु घोषणा गर्नुहुन्छ । किनकि मेरो निर्णय जाति-जातिहरूलाई एकठ्ठा गर्ने, राज्यहरूलाई जम्मा गर्ने, र तिनीहरूमाथि मेरो क्रोध, मेरो सम्पूर्ण ज्वलन्त क्रोध खन्याउने हो, किनभने मेरो डाहको आगोमा सारा पृथ्वी भस्म हुनेछ ।
”तर त्यसपछि म मानिसहरूका ओठहरूलाई शुद्ध पार्नेछु, ताकि तिनीहरू सबैले काँधमा काँध मिलाएर परमप्रभुको सेवा गर्नको निम्ति उहाँको नाउँ पुकारून् ।
”किनभने सेनाहरूका परमप्रभु यस्तो भन्नुहुन्छ: केही समयमा, म फेरि आकाश र पृथ्वी, र समुद्र र सुक्खा भूमिलाई हल्लाउनेछु! म हरेक जातिलाई हल्लाउनेछु, र हरेक जातिले तिनीहरूका बहुमुल्य थोकहरू मकहाँ ल्याउनेछन्, अनि म यो भवनलाई महिमाले भर्नेछु, सेनाहरूका परमप्रभु भन्नुहुन्छ । चाँदी र सुन मेरै हुन्! - सेनाहरूका परमप्रभु यो घोषणा गर्नुहुन्छ । यस भवनको महिमा सुरुवातको समयको भन्दा पछि अति महान् हुनेछ, सेनाहरूका परमप्रभु भन्नुहुन्छ, र म यस ठाउँमा शान्ति दिनेछु - सेनाहरूका परमप्रभु यो घोषणा गर्नुहुन्छ ।”
”हेर! परमप्रभुको त्यो दिन आउँदै छ जब तिमीहरूको लुटको सम्पत्ति तिमीहरूका माझमा बाँडिनेछ । किनभने म यरूशलेमको विरुद्ध युद्ध गर्नको निम्ति सारा जातिलाई तयार गर्नेछु र त्यो सहर कब्जा हुनेछ । घरहरू लुटिनेछन् र स्त्रीहरूको इज्जत लुटिनेछ । आधा सहर निर्वासनमा जानेछ, तर बाँकी रहेका मानिसहरू सहरबाट बहिष्कृत हुनेछैनन् । तर परमप्रभु बाहिर निस्कनुहुनेछ र यूद्धको दिनमा झैँ ती जातिहरूको विरूद्ध लडाइँ सुरु गर्नुहुनेछ।
”त्यस दिन उहाँले यरूशलेमको पूर्वतिर भएको जैतून डाँडामा आफ्ना खुट्टा टेक्नुहुनेछ । जैतून डाँडाको पूर्व र पश्चिम एउटा ठुलो बेँसीद्वारा दुई भाग हुनेछ र त्यस डाँडाको आधा भाग उत्तरतिर जानेछ र आधा भाग दक्षिणतिर जानेछ । अनि तिमीहरू परमप्रभुका पर्वतहरूको बिचको बेँसीतर्फ भाग्नेछौ, किनकि ती पर्वतहरूका बिचको बेँसी आसेलसम्म पुग्दछ । यहूदाका राजा उज्जियाहका दिनमा भूकम्पबाट भागेझैँ तिमीहरू भाग्नेछौ । त्यसपछि परमप्रभु मेरा परमेश्वर आउनुहुनेछ र सबै पवित्र जनहरू उहाँसँग हुनेछन् । त्यस दिन त्यहाँ उज्यालो हुनेछैन, न त चिसो हुनेछ, न तुसारो पर्नेछ । त्यस दिन, जुन दिनको विषयमा परमप्रभुलाई मात्र थाहा छ, दिन वा रात हुनेछैन, किनभने साँझचाहिँ उज्यालोको समय हुनेछ । त्यस दिन यरूशलेमबाट जिउँदो पानी बग्नेछ । गर्मीमा र जाडोमा, आधाचाहिँ पूर्वीय समुद्रतिर र आधाचाहिँ पश्चिमी समुद्रतिर बग्नेछ ।
”परमप्रभु सारा पृथ्वीका राजा हुनुहुनेछ । त्यस दिन एक मात्र परमेश्वर परमप्रभु हुनुहुनेछ, र उहाँको नाउँ मात्र रहनेछ ।
”गेबादेखियरूशलेमको दक्षिण रिम्मोनसम्म सारा भूमि अराबाजस्तै हुनेछ । यरूशलेम निरन्तर माथि उठाइनेछ र बेन्यामीनको ढोकादेखि पहिलो ढोकाको ठाउँसम्म, कुने ढोकासम्म, र हननेलको बुर्जादेखि राजाको दाखको कोलसम्म त्यो आफ्नै ठाउँसम्म रहनेछ । मानिसहरू यरूशलेममा बस्नेछन् र परमेश्वरद्वारा तिनीहरूको पूर्ण विनाश हुनेछैन । यरूशलेम सुरक्षित रहनेछ । यरूशलेमको विरुद्ध युद्ध सुरु गर्ने सबै जातिहरूलाई परमप्रभुले यस्तो महामारीद्वारा प्रहार गर्नुहुनेछः तिनीहरू आफ्ना खुट्टा उभिरहँदा पनि तिनीहरूको मासु कुहेर जानेछ । तिनीहरूका आँखा तिनीहरूकै खोपिल्टामा कुहुनेछन्, र तिनीहरूका जिब्रा तिनीहरूकै मुखमा कुहुनेछन् । त्यस दिन तिनीहरूका बिचमा परमप्रभुको त्यो महान् भय छाउनेछ । हरेकले अर्को व्यक्तिको हात समाउनेछ, र एउटाको हात अर्काको विरुद्ध उठ्नेछ । यहूदा पनि यरूशलेमको विरुद्ध लडाइँ गर्नेछ । तिनीहरूले वरपरका सबै जातिहरूका सम्पत्तिहरू-सुन, चाँदी, र असल लुगाहरू प्रशस्त मात्रामा बटुल्नेछन् । घोडाहरू र खच्चरहरू, ऊँटहरू र गधाहरू, र ती छाउनीहरूमा भएका सबै पशुहरूमा त्यही महामारी फैलिनेछ ।
”यरूशलेमको विरुद्धभएका तीजातिहरूका सबै बाँकी रहेकाहरू वर्षेनी राजा, अर्थात् सेनाहरूका परमप्रभुलाई दण्डवत् गर्न, र छाप्रो-वासको पर्व मनाउन माथि जानेछन् । ती सारा जातिहरूमध्ये कोही राजा, अर्थात् सेनाहरूका परमप्रभुलाई दण्डवत् गर्न माथि यरूशलेममा गएनन् भने, परमप्रभुले तिनीहरूमाथि झरी वर्षाउनुहुनेछैन । यदि मिश्रदेशका मानिसहरू माथि गएनन् भने, त्यहाँ वर्षात हुनेछैन । छाप्रो-बासको पर्व मनाउन माथि नजाने जातिहरूमाथि परमप्रभुको महामारीको प्रहार हुनेछ । छाप्रो-बासको पर्व मनाउन माथि नजाने मिश्रको निम्ति र हरेक जातिको निम्ति यही दण्ड हुनेछ ।
”तर त्यस दिन, घोडाहरूका घन्टीमा यस्तो लेखिएको हुन्छ, “परमप्रभुको निम्ति अलग गरिएको,” र परमप्रभुको घरानाका बाटाहरू वेदीसामुका कचौराहरूझैँ हुन्छन् । किनकि यरूशलेम र यहूदाका हरेक भाँडाहरू सेनाहरूका परमप्रभुको निम्ति अलग गरिनेछन् र बलिदान ल्याउने सबैले तीबाटै खानेछन् र तिनमा नै पकाउनेछन् । त्यस दिन सेनाहरूका परमप्रभुको भवनमा कोही व्यापारीहरू बाँकी हुनेछैनन् ।
”तर उहाँको आगमनको दिन कसले सहन सक्छ र? उहाँ आउनुहुँदा को खडा हुन सक्छ र? किनभने उहाँ सुनारको आगो र धोबीको साबूनझैँ हुनुहुनेछ । उहाँ चाँदी खार्ने र सफा गर्नेझैँ गरी बस्नुहुनेछ, र उहाँले लेवीका छोराहरूलाई शुद्ध पार्नुहुनेछ । उहाँले तिनीहरूलाई सुन र चाँदीलाई झैँ खार्नुहुनेछ, र तिनीहरूले धार्मिकताका भेटीहरू परमप्रभुकहाँ ल्याउनेछन् ।
”बारीचाहिँ संसार हो; अनि असल बिउचाहिँ राज्यका पुत्रहरू हुन् । अनि सामाहरूचाहिँ दुष्टका छोराहरू हुन्, र त्यो शत्रु जसले ती सामाहरू छरे, त्योचाहिँ दुष्ट हो । फसलको कटनी संसारको अन्त हो, र कटनी गर्नेहरूचाहिँ स्वर्गदूतहरू हुन् । त्यसैले, जसरी सामाहरू बटुलिन्छन् र आगोमा जलाइन्छन्, यो संसारको अन्तमा यस्तै हुनेछ । मानिसका पुत्रले आफ्ना स्वर्गदूतहरूलाई पठाउनेछन्, र तिनीहरूले उनको राज्यबाट पाप ल्याउने सबै थोक र पाप गर्ने सबै जनालाई बटुल्नेछन् । तिनीहरूले तिनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ । तब धर्मी मानिसहरू उनीहरूका पिताको राज्यमा सूर्यझैँ चम्कनेछन् । जससँग कान छ, उसले सुनोस् ।
”फेरि, स्वर्गको राज्य समुद्रमा फ्याँकिएको जालजस्तो हो, अनि त्यसले सबै खालका प्राणीलाई बटुल्यो । जब त्यो भरियो, जालाहारीहरूले त्यसलाई समुद्रको किनारमा ताने । तब उनीहरू बसे अनि राम्रा कुराहरू भाँडाहरूमा बटुले । तर काम नलाग्ने चिजहरूलाई फ्याँकिदिए । संसारको अन्तमा यस्तै हुनेछ । स्वर्गदूतहरू आउनेछन् र धर्मीहरूका माझबाट दुष्टहरूलाई छुट्ट्याउनेछन् । उनीहरूले तिनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।
”तर उहाँले उत्तर दिनुभयो र तिनीहरूलाई भन्नुभयो, “जब साँझ हुन्छ, तिमीहरू भन्छौ, ‘मौसम सफा हुनेछ, किनकि आकाश रातो छ ।’ र बिहान तिमीहरू भन्छौ, ‘आज मौसम नराम्रो हुनेछ, किनकि आकाश रातो र बादलले ढाकिएको छ ।’ आकाशको अवस्था हेरेर कसरी अर्थ लगाउने भनेर तिमीहरू जान्दछौ, तर तिमीहरूले समयका चिन्हहरूको अर्थ लगाउन सक्दैनौ ।
”किनकि मानिसका पुत्र आफ्ना पिताको महिमामा उहाँका स्वर्गदूतहरूसँग आउनेछन् । त्यसपछि उनले हरेक व्यक्तिलाई उसको कामअनुसारको प्रतिफल दिनेछन् । साँच्चै म तिमीहरूलाई भन्दछु, यहाँ खडा भएकाहरूमध्ये तिमीहरू कोही छौ, जसले मानिसका पुत्रलाई उनको राज्यमा आउँदै गरेका नदेखुन्जेलसम्म मृत्यु चाख्नेछैन ।”
”येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरू जसले मलाई पछ्याएका छौ, नयाँ जन्ममा जब मानिसका पुत्र इस्राएलका बाह्र कुलको न्याय गर्दै आफ्नो महिमाको सिंहासनमा बस्छन्, तिमीहरू पनि बाह्रवटा सिंहासनमा बस्नेछौ ।
”जब उहाँ जैतून डाँडामा वस्नुभयो, चेलाहरू उहाँकहाँ सुटुक्कै आए र भने, “हामीलाई भन्नुहोस्, यी कुराहरू कहिले हुनेछन्? तपाईंको आगमन र संसारको अन्तको चिन्ह के हुनेछ?” येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्नुभयो, “होसियार रहो, कसैले तिमीहरूलाई नभड्काओस् ।” किनकि मेरो नाउँमा धेरै जना आउनेछन् । किनकि तिनीहरूले भन्नेछन्, ‘म नै ख्रीष्ट हुँ!’ र धेरैलाई भड्काउनेछन् । तिमीहरूले लडाइँ र लडाइँका हल्ला सुन्नेछौ । तर तिमीहरू, विचलित नहोओ, किनकि यी कुराहरू हुनैपर्छ; तर अझै अन्त आइसकेको हुँदैन । किनकि जातिको विरुद्धमा जाति खडा हुनेछ, र राज्यको विरुद्धमा राज्य खडा हुनेछ । विभिन्न ठाउँमा अनिकाल हुनेछ र भूकम्पहरू जानेछन् । तर यी सबै कुरा प्रसव-वेदनाको सुरुवात मात्र हो ।
”तब तिनीहरूले तिमीहरूलाई सङ्कष्टको लागि सुम्पनेछन् र तिमीहरूलाई मार्नेछन् । मेरो नामको खातिर सबै जातिद्वारा तिमीहरूलाई घृणा गरिनेछ । तब धेरै जनाले ठेस खानेछन्, र एक अर्कालाई धोका दिनेछन्, एक अर्कालाई घृणा गर्नेछन् । धेरै झुटा अगमवक्ता खडा हुनेछन् र धेरै जनालाई बहकाउनेछन् । किनभने अधर्मको वृद्धि हुनेछ; धेरै जनाको प्रेम सेलाउनेछ । तर जो अन्तसम्म स्थिर रहन्छ, उसले उद्धार पाउनेछ । राज्यको यो सुसमाचार सारा संसारमा सबै जातिलाई साक्षीको रूपमा प्रचार गरिनेछ । तब अन्त आउनेछ ।
”त्यसकारण, जब तिमीहरूले दानिएल अगमवक्ताले भनेका जस्तै त्यस विनाशकारी घृणित व्यक्तिलाई पवित्र स्थानमा उभिएको देख्छौ, जो यहूदियामा छन्, तिनीहरू पहाडहरूतिर भागून्, जो घरको छानामाथि छ, ऊ घरबाट कुनै सामान लिन तल नझरोस् । र जो खेतमा छ, ऊ आफ्नो खास्टो लिन नफर्कोस् । तर ती दिनमा हाय तिनीहरूलाई जो गर्भवती छन् र जसले शिशुहरूलाई दूध चुसाउँछन्! हिउँदमा वा शबाथको दिनमा तिमीहरू भाग्न नपरोस् भनी प्रार्थना गर । किनकि त्यस बेला महासङ्कष्ट हुनेछ, जुन संसारको सुरुदेखि अहिलेसम्म कहिल्यै भएको छैन, न त कहिल्यै फेरि हुनेछ । ती दिनहरू नघटाइएसम्म कुनै शरीर पनि बच्नेछैन । तर चुनिएकाहरूका निम्ति ती दिनहरू घटाइनेछन् ।
”तब यदि कसैले तिमीहरूलाई ‘हेर, ख्रीष्ट यहाँ छन्!’ वा, ‘ख्रीष्ट त्यहाँ छन्!’ भन्छ भने त्यसलाई विश्वास नगर । किनकि झुटा ख्रीष्टहरू र झुटा अगमवक्ताहरू आउनेछन् र हुन सके, चुनिएकाहरूलाई समेत बहकाउनलाई ठुला-ठुला चिन्हहरू र चमत्कारहरू देखाउनेछन् । हेर, मैले यी अगाडि नै तिमीहरूलाई बताएको छु । त्यसकारण, यदि तिनीहरूले तिमीहरूलाई ‘हेर, उहाँ उजाड-स्थानमा हुनुहुन्छ’ भनेर भन्छन् भने, उजाड-स्थानतिर नजाओ । वा ‘हेर, उहाँ भित्री कोठाहरूमा हुनुहुन्छ’ भनेर भन्छन् भने, त्यसलाई विश्वास नगर । किनकि जसरी बिजुली पूर्वबाट चम्कन्छ र पश्चिमसम्मै त्यसको उज्यालो पुग्दछ, मानिसका पुत्रको आगमन पनि त्यस्तै हुनेछ । जहाँ सिनो छ, त्यहाँ गिद्धहरू भेला हुनेछन् ।
”तर ती दिनमा सङ्कष्ट आए लगत्तै सूर्य अँध्यारो हुनेछ; चन्द्रमाले आफ्नो ज्योति दिनेछैन; ताराहरू आकाशबाट खस्नेछन्, र स्वर्गका शक्तिहरू डगमगाउनेछन् । तब मानिसका पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ, अनि पृथ्वीका सबै जातिले विलाप गर्नेछन् । तिनीहरूले मानिसका पुत्रलाई आकाशको बादलमा शक्ति र ठुलो महिमासाथ आउँदै गरेको देख्नेछन् । उहाँले आफ्ना स्वर्गदूतहरूलाई तुरहीको ठुलो आवाजका साथ पठाउनुहुनेछ, अनि तिनीहरूले उहाँका चुनिएकाहरूलाई आकाशको एउटा छेउदेखि अर्को छेउसम्म चारै दिशाबाट भेला गराउनेछन् ।
”अन्जीरको बोटबाट पाठ सिक । जब त्यसका हाँगाहरू कलिला हुन्छन् र पातहरू पलाउँछन्, तब ग्रीष्म ऋतु आउँदै छ भनेर तिमीहरूले थाहा पाउँछौ । त्यसरी नै, जब तिमीहरूले पनि यी सबै कुरा देख्छौ, उहाँ नजिकै अर्थात् ढोकाकै छेउमा हुनुहुन्छ भनी तिमीहरूले जान्नुपर्छ । साँच्चै म तिमीहरूलाई भन्दछु, यी सबै कुरा नभएसम्म यो पुस्ता बितेर जानेछैन । स्वर्ग र पृथ्वी बितेर जानेछ, तर मेरा वचन बितेर जानेछैनन् । तर त्यस दिन र घडीको विषयमा कसैलाई पनि थाहा छैन, न त स्वर्गका स्वर्गदूतहरूलाई, न पुत्रलाई, तर पितालाई मात्र थाहा छ । मानिसका पुत्रको आगमन पनि नोआका दिनमा जस्तै हुनेछ । किनकि ती दिनहरूमा जलप्रलय आउनुभन्दा अगि नोआ जहाजभित्र नपसुन्जेल तिनीहरू खाँदै र पिउँदै, विवाह गर्दै र विवाह गराउँदै थिए, अनि प्रलय आएर तिनीहरू सबैलाई नलगुन्जेलसम्म तिनीहरूलाई केही पनि थाहा थिएन । मानिसका पुत्रको आगमन पनि त्यस्तै हुनेछ ।
”तब खेतमा दुई जना हुनेछन्– एक जना लगिनेछ, र अर्को यहीँ छोडिनेछ । दुई जना स्त्री जाँतो पिँधिरहेका हुनेछन्– एउटी लगिनेछ र अर्की त्यहीँ छोडिनेछ । त्यसकारण, तिमीहरू जागा रहो, किनकि तिमीहरूका प्रभु कुन दिन आउनुहुनेछ भन्ने कुरा तिमीहरूलाई थाहा छैन । तर यो जान, कि रातको कुन समयमा चोर आउँदै छ भन्ने कुरा घरको धनीलाई थाहा भएको भए, ऊ जागा बस्ने थियो र चोरलाई उसको घर फोर्न दिने थिएन । त्यसकारण, तिमीहरू पनि तयार हुनुपर्छ, किनकि मानिसका पुत्र तिमीहरूले आशा नगरेको बेलामा आउनुहुनेछ ।
”त्यसैले, विश्वासयोग्य र बुद्धिमान् नोकर को हो, जसलाई उसको मालिकले आफ्नो घरका मानिसहरूलाई तिनीहरूका खाना ठिक समयमा तिनीहरूलाई दिनलाई नियुक्त गरेको छ? त्यो नोकर धन्य हो, जसलाई उसको मालिक आउँदा त्यसै गरिरहेको भेट्टाउनेछ । साँच्चै म तिमीहरूलाई भन्दछु, कि मालिकले उसित भएका सबै कुराको जिम्मा उसलाई दिनेछ । तर यदि दुष्ट नोकरले त्यसको मनमा, ‘मेरो मालिक ढिला हुनुभएको छ’ भनी भन्दछ, अनि उसले आफ्ना सहकर्मी नोकरहरूलाई पिट्न थाल्छ, र मतवालाहरूसँग खान्छ र पिउँछ भने, त्यस नोकरले आशा नगरेको दिनमा र त्यसलाई थाहा नभएको घडीमा त्यस नोकरको मालिक आउनेछ । त्यसको मालिकले त्यसलाई दुई टुक्रा पारी काट्नेछ र त्यसको दशा ती पाखण्डीहरूको जस्तै हुनेछ, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।
”तब स्वर्गको राज्य ती दस कन्याजस्तै हुनेछ जसले आ-आफ्ना बत्तीहरू लिएर दुलहालाई भेट्न गए । तिनीहरूमध्ये पाँच जना निर्बुद्धि र पाँच जना बुद्धिमती थिए । किनकि जब ती निर्बुद्धि कन्याहरूले आफ्ना बत्तीहरू लिए, तिनीहरूले आफूसँग कत्ति पनि तेल लगेनन् । तर बुद्धिमती कन्याहरू प्रत्येकले बत्तीहरूसँगै आ-आफ्ना तेलका भाँडाहरू पनि लगे । दुलहा आउन ढिला भएको हुनाले तिनीहरू सबै निन्द्रामा परे र सुते । तर मध्यरातमा एउटा आवाज आयो, ‘हेर, दुलहा! बाहिर जाऊ अनि उनलाई भेट ।’ त्यसपछि ती सबै कन्या उठे र आ-आफ्ना बत्तीहरूलाई ठिक्क पारे । निर्बुद्धि कन्याहरूले बुद्धिमतीहरूलाई भने, ‘हामीलाई तिमीहरूका केही तेल देऊ किनभने हाम्रा बत्तीहरू निभ्न लागेका छन् ।’ तर बुद्धिमती कन्याहरूले जवाफ दिए र भने, ‘तिमीहरू र हामी दुवैलाई प्रशस्त पुग्ने तेल नभएकोले, तेल बेच्नेहरूकहाँ जाओ र आफ्नो लागि तेल किन ।’ जब तिनीहरू तेल किन्न बाहिर गए, दुलहा आइपुगे अनि जति जना तयार थिए तिनीहरू विवाहको भोजमा उनीसँगै गए, अनि ढोका बन्द गरियो । केही समयपछि अरू कन्याहरू पनि आएर भने, ‘प्रभु, प्रभु, हाम्रो लागि खोलिदिनुहोस् ।’ तर उनले जवाफ दिएर भने, ‘साँच्चै म तिमीहरूलाई भन्दछु, म तिमीहरूलाई चिन्दिनँ ।’ त्यसकारण, जागा रहो, किनकि त्यो दिन वा घडी तिमीहरूलाई थाहा छैन ।
”जब मानिसका पुत्र आफ्नो महिमामा आउनेछन् र उनको साथमा सारा स्वर्गदूतहरू आउनेछन्, उनी आफ्नो महिमित सिंहासनमा विराजमान हुनेछन् । उनको सामुन्ने सारा जाति भेला गराइनेछन्, र जसरी गोठालाले आफ्ना भेडाहरूलाई बाख्राहरूबाट छुट्ट्याउँछ, त्यसरी नै उनले एउटा मानिसलाई अर्कोबाट छुट्ट्याउनेछन् । उनले भेडाहरूलाई आफ्नो दायाँ हातपट्टि र बाख्राहरूलाई आफ्नो बायाँपट्टि राख्नेछन् ।
”त्यसपछि राजाले आफ्नो दाहिनेपट्टि भएकाहरूलाई भन्नेछन्, ‘आओ, तिमीहरू जो मेरा पिताद्वारा आशिषित् भएका छौ, संसारको सृष्टिदेखि नै तिमीहरूका लागि तयार पारिएको राज्यलाई अधिकार गर । किनकि म भोकाएको थिएँ, अनि तिमीहरूले मलाई खान दियौ; म प्यासी थिएँ र तिमीहरूले मलाई पिउन दियौ; म परदेशी थिएँ र तिमीहरूले मलाई भित्र आउन दियौ; म नाङ्गो थिएँ र तिमीहरूले मलाई लुगा पहिराइदियौ; म बिरामी थिएँ र तिमीहरूले मेरो वास्ता गर्यौ; म झ्यालखानामा थिएँ र तिमीहरू मकहाँ आयौ ।’ त्यसपछि धर्मी जनहरूले जवाफ दिई भन्नेछन्, ‘प्रभु हामीले कहिले तपाईंलाई भोकाउनुभएको देख्यौँ र तपाईंलाई खुवायौँ? वा तिर्खाउनुभएको देख्यौँ र तपाईंलाई पिउन दियौँ? र हामीले कहिले तपाईंलाई परदेशी भएको देख्यौँ र तपाईंलाई भित्र ल्यायौँ? र हामीले तपाईंलाई बिरामी वा झ्यालखानामा कहिले देख्यौँ र हामी तपाईंकहाँ आयौँ?’ र राजाले जवाफ दिनेछन् र तिनीहरूलाई भन्नेछन्, ‘साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरूले यहाँ मेरा भाइहरूमध्ये सानोभन्दा सानोलाई जे-जति गर्यौ, त्यो मेरो निम्ति नै गर्यौ ।’
”त्यसपछि उनले आफ्नो बायाँ हातपट्टि भएकाहरूलाई भन्नेछन्, ‘हे श्रापितहरू, मबाट दूर भएर अनन्त आगोमा जाओ, जुन दुष्ट र त्यसका दूतहरूका लागि तयार गरिएको हो, किनभने म भोकाएको थिएँ, तर तिमीहरूले मलाई खान दिएनौ; म तिर्खाएको थिएँ, तर तिमीहरूले मलाई पिउन दिएनौ; म परदेशी थिएँ, तर तिमीहरूले मलाई भित्र लगेनौ; नाङ्गो थिएँ, तर तिमीहरूले मलाई पहिराएनौ; बिरामी थिएँ र झ्यालखानामा थिएँ, तर तिमीहरूले मेरो वास्ता गरेनौ ।’ त्यसपछि तिनीहरूले पनि जवाफ दिनेछन् र भन्नेछन्, ‘प्रभु, हामीले तपाईंलाई भोकाउनुभएको, वा तिर्खाउनुभएको, वा परदेशी, वा नाङ्गो, वा बिरामी हुनुभएको, वा झ्यालखानामा कहिले देख्यौँ र हामीले तपाईंको सेवा गरेनौँ?’ अनि उनले तिनीहरूलाई जवाफ दिनेछन् र भन्नेछन्, ‘साँच्चै म तिमीहरूलाई भन्दछु, यिनीहरूमध्ये सानोभन्दा सानोलाई तिमीहरूले जे गरेनौ, त्यो तिमीहरूले मेरो निम्ति गरेनौ ।’ यिनीहरू अनन्तको दण्डमा जानेछन् तर धर्मीहरूचाहिँ अनन्त जीवनमा प्रवेश गर्नेछन् ।”
”येशूले तिनलाई जवाफ दिनुभयो, “त्यो तपाईं आफैँले नै भन्नुभएको छ । तर म तपाईंलाई भन्दछु, कि अबदेखि उसो तपाईंले मानिसका पुत्रलाई सर्वशक्तिमान्को दाहिने हाततिर बसिरहेका र स्वर्गका बादलहरूमाथि आउँदै गरेका देख्नुहुनेछ ।”
”यस व्यभिचारी र पापी पुस्तामा जो म र मेरो वचनसँग शर्माउँछ, मानिसका पुत्र पनि पवित्र स्वर्गदूतहरूसँग पिताको महिमामा आउँदा त्यससँग शर्माउनेछ ।”
”उहाँले तिनीहरूलाई भन्नुभयो, “साँचो, साँचो म तिमीहरूलाई भन्दछु, यहाँ खडा हुनेहरूमा तिमीहरूमध्ये केहीले परमेश्वरको राज्य शक्तिसित आएको देख्नुअगि मृत्यु चाख्नेछैनन् ।
”“हामीलाई भन्नुहोस्, कि यी कुराहरू कहिले हुनेछन्? यी सबै कुरा हुन लाग्दा कस्ता-कस्ता चिन्हहरू हुनेछन्?” येशूले तिनीहरूलाई भन्न सुरु गर्नुभयो, “होसियार रहो, कसैले पनि तिमीहरूलाई नबहकाओस् ।” मेरो नाउँमा धेरै जना आउनेछन् र भन्नेछन् ‘म उही हुँ’ र तिनीहरूले धेरैलाई भड्काउनेछन् । जब तिमीहरूले युद्ध र युद्धको हल्ला सुन्नेछौ, चिन्ता नगर; यी कुराहरू हुनैपर्छ, तर अन्त्य अझै आइसकेको हुँदैन । किनभने जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य खडा हुनेछ । धेरै ठाउँमा भूकम्प र अनिकालहरू हुनेछन् । यी प्रसव-वेदनाको सुरुवात हुन् ।
”आफूलाई सचेत राख । तिनीहरूले तिमीहरूलाई परिषद्हरूको हातमा सुम्पिनेछन्, र सभाघरहरूमा तिमीहरू पिटिनेछौ । मेरा साक्षीको रूपमा तिमीहरू शासक र राजा दुवैका सामु मेरा खातिर खडा हुनेछौ । तर सबै जातिलाई पहिले सुसमाचार प्रचार गरिनुपर्छ । जब उनीहरूले तिमीहरूलाई गिरफ्तार गर्छन् र सुम्पन्छन्, तिमीहरूले के बोल्ने भनी चिन्ता नगर । किनभने त्यो समय तिमीहरूले के बोल्नुपर्ने हो, सो तिमीहरूलाई दिइनेछ; त्यस बेला बोल्ने तिमीहरू होइनौ, तर पवित्र आत्मा हुनुहुनेछ । दाजुले भाइलाई र बुबाले आफ्नो छोरोलाई मृत्यको लागि सुम्पिनेछन् । छोराछोरीहरू आफ्ना बुबा-आमाको विरुद्धमा खडा हुनेछन् र तिनीहरूलाई मृत्युमा पुर्याउनेछन् । मेरो नाउँको खातिर तिमीहरू सबैद्वारा घृणित हुनेछौ । तर जो अन्त्यसम्म रहनेछ, त्यो मानिस बचाइनेछ ।
”जब तिमीहरूले विनाशकारी घृणित थोक खडा नहुनुपर्ने ठाउँमा खडा भइरहेको देख्छौ, यहूदियामा हुनेहरू पहाडहरूतिर भागून् । घरको छतमा हुनेहरू तल नओर्लून् वा उसले घरभित्रबाट केही पनि ननिकालोस्, र खेतमा हुनेहरू आफ्नो खास्टो लिन नआऊन् । तर हाय, ती दिनमा बालक भएकाहरू र दूध खुवाउने आमाहरू! यो हिउँदमा नपरोस् भनी प्रार्थना गर । किनकि त्यस बेला ठुलो महासङ्कष्ट हुनेछ । यस्तो त परमेश्वरले संसार सृष्टि गर्नुभएको दिनको सुरुदेखि अहिलेसम्म भएको छैन, न त फेरि कहिल्यै हुनेछ । परमप्रभुले ती दिनलाई नघटाउनुभएको भए, कुनै पनि प्राणी बाँच्ने थिएन, तर चुनिएकाहरूका खातिर, जसलाई उहाँले छान्नुभएको छ, उहाँले दिनहरूको सङ्ख्या घटाई दिनुभयो ।
”यदि कसैले तिमीहरूलाई, हेर ख्रीष्ट यहाँ हुनुहुन्छ! वा हेर उहाँ त्यहाँ हुनुहुन्छ भन्यो भने विश्वास नगर । किनकि झुटा ख्रीष्ट र अगमवक्ताहरू देखा पर्नेछन् र सम्भव भए चुनिएकाहरूलाई पनि तिनीहरूले धोखा दिन चिन्ह र आश्चर्यकर्महरू गर्नेछन् । सचेत रहो! मैले तिमीहरूलाई समय आउनुअगि नै यी सबै कुरा बताइदिएको छु ।
”तर ती दिनको महासङ्कष्टपछि सूर्य अँध्यारो हुनेछ; चन्द्रमाले आफ्नो प्रकाश दिनेछैन; ताराहरू आकाशबाट खस्नेछन्, र स्वर्गमा भएका शक्तिहरू हल्लिनेछन् । त्यसपछि तिनीहरूले मानिसका पुत्रलाई बादलमा महान् शक्ति र महिमामा आउँदै गरेको देख्नेछन् । तब उसले आफ्ना स्वर्गदूहरूलाई पठाउनेछन् र उसले चारै दिशाबाट, पृथ्वीको अन्तिम छेउदेखि आकाशको अन्तिम छेउबाट आफ्ना चुनिएकाहरूलाई जम्मा गर्नेछ ।
”अञ्जीरको रुखबाट पाठ सिक । जब हाँगाहरूमा मुना पलाउँछ र पातहरू लाग्छन्, तिमीहरू ग्रीष्म नजिकै छ भनी जान्दछौ । त्यसै गरी, जब तिमीहरूले यी सबै कुराह घटिरहेको देख्छौ, उहाँ नजिकै हुनुहुन्छ, ढोकाकै नजिक हुनुहुन्छ भनी तिमीहरूले जान । साँच्चै, म तिमीहरूलाई भन्दछु, यी सबै कुरा नभएसम्म यो पुस्ता बितेर जानेछैन । स्वर्ग र पृथ्वी बितेर जानेछ, तर मेरो वचन कहिल्यै बितेर जानेछैन । तर त्यस दिन र घडीको विषयमा पितालाई बाहेक कसैलाई पनि थाहा छैन, न स्वर्गदूतहरूलाई, न त पुत्रलाई । सचेत रहो! होसियार होओ, किनभने यो कुन समयमा हुन्छ भनी तिमीहरू जान्दैनौ । यो यात्रामा गएका एक जना मानिसजस्तो होः उसले आफ्नो घर छोड्छ र उसका नोकरहरू हरेकलाई आ-आफ्नो कामसहित उसको घरको जिम्मा दिन्छ । अनि उसले पहरेदारलाई जागा रहन आज्ञा दिन्छ । त्यसकारण, जागा रहो! किनकि घरको मालिक साँझ वा मध्यरात वा भाले बास्दा वा बिहान कुन समयमा आउँछन् भनी तिमीहरू जान्दैनौ । यदि उनी अचानक आइपुगे भने, उनले तिनीहरूलाई सुतिरहेको नभेट्टाऊन् । जे म तिमीहरूलाई भन्छु, त्यो म सबैलाई भन्छु, जागा रहो!”
”येशूले भन्नुभयो, “म हुँ । र तिमीहरूले मानिसका पुत्रलाई शक्तिको दाहिने हातपट्टि बसेको र आकाशको बादलसँग आएको देख्नेछौ ।”
”जो मेरा वचनहरू र मसँग शर्माउँछ, महिमाका पिता र पवित्र दूतहरूका सामु मानिसका पुत्र पनि आफ्नो महिमामा आउँदा तिनीहरूसँग शर्माउँनेछन् । तर म तिमीहरूलाई साँचो भन्दछु, यहाँ तिमीहरूमध्ये उभिनेहरू कोही छन् जसले मृत्युको स्वाद चाख्नअगि परमेश्वरको राज्य देख्नेछैनन् ।
”तिम्रो लामो पोसाक कम्मरको पेटीसम्म होस् र तिम्रा बत्तीहरू बलिरहून् । आफ्नो मालिक विवाहको भोजबाट फर्केर आउने प्रतीक्षामा रहेका मानिसहरूझैँ होओ । जब मालिक आउँछ र ढोका ढकढकाउँदछ, तिनीहरूले तुरुन्तै ढोका खोल्नेछन् । धन्य हुन् ती सेवकहरू, जो आफ्नो मालिक फर्केर आउँदा उसले जागा रहेको भेट्टाउनेछ । म तिमीहरूलाई साँचो भन्दछु, कि उसले आफ्नो लामो वस्त्रलाई पेटीले कसेर भित्री भागमा सुरक्षित राखी खानामा बसाल्दछ र आएर उनीहरूको सेवा गर्नेछ । यदि मालिक दोस्रो पटक रातको समय आयो भने पनि वा तेस्रो चोटि हेर्न आयो भने पनि तिनीहरू जागा भेट्टाइए भने, तिनीहरू धन्यका हुन् । तर पनि यो जानी राख, कि यदि घरको मालिकलाई चोर कुन बेला आउँछ भन्ने थाहा भएको भए उसले आफ्नो घर फोर्नबाट बचाउने थियो । जागा रहो, किनभने तिमीहरूलाई मानिसका पुत्र कुन घडीमा आउँछ भन्ने कुरा थाहा छैन ।”
”धन्य हो त्यो सेवक, जसले आफ्नो मालिक फर्कंदा यी कार्यहरू गरिरहेको भेट्टाउनेछ । म साँचो भन्दछु, कि उसले सबै सम्पत्तिको हक उसलाई दिनेछ । तर यदि सेवकले आफ्नो हृदयमा यसो भन्दछ भने, मेरो मालिक फर्की आउन ढिलो गर्नुहुनेछ भनी स्त्री तथा पुरुष सेवकहरूलाई दुर्व्यवहार गरी कुटपिट गर्दछ अनि खाँदै, पिउँदै दाखमद्यले मातिन्छ । त्यस सेवकले नचिताएको बेलामा मालिक फर्की आउनेछ, जुन घडी उसलाई थाहै हुनेछैन । आफ्नो मालिकले उसलाई भेटेर टुक्रा-टुक्रा गरी काट्नेछ र अविश्वासीहरूका लागि तयार पारेको ठाउँमा उसको नियुक्ति हुनेछ । त्यस सेवकलाई आफ्नो मालिकले यस्तै गर्नेछन भन्ने थाहा हुँदाहुँदै पनि आफैँलाई तयार नगरी वा आफ्नो इच्छाअनुसार गरेको कारण उसलाई धेरै मुक्का हानिनेछ ।
”येशूले भिडलाई पनि यसो भनिरहनुभएको थियो, “जब तिमीहरूले पश्चिम दिशामा बादल उठेको देख्दछौ र तुरुन्तै भन्दछौ, ‘वृष्टि हुनेछ र त्यस्तै हुनेछ ।’ जब दक्षिणबाट बतास बहन्छ, तिमीहरू भन्दछौ, ‘त्यो एकदमै प्रचण्ड तातो हुनेछ र त्यस्तै हुनेछ ।’ पाखण्डीहरू हो, तिमीहरू जान्दछौ कि पृथ्वी र स्वर्गमा भएका चिह्नहरूलाई हेरेर, के हुँदै छ त्यो भन्न सक्दछौ, तर अहिलेको वर्तमान समयको विषयमा केही भन्न सक्दैनौँ?
”येशूले चेलाहरूलाई भन्नुभयो, “त्यो दिन आउनेछ जब तिमीहरूले मानिसका पुत्रलाई हेर्ने इच्छा गरौला तर तिमीहरूले देख्नेछैनौ । तिनीहरूले तिमीलाई भन्नेछन्, ‘यता हेर! उता हेर!’ तर तिमीहरूले नहेर, न त तिनीहरूलाई पछ्याओ । आकाशमा एउटा कुनामा बिजुली चम्कदा अर्को कुनामा देखिएजस्तै मानिसका पुत्रको आगमनको दिनमा त्यस्तै हुनेछ ।
”तर उहाँ पहिले विभिन्न थोकहरूबाट सताइनुहुनेछ र यो पुस्ताद्वारा अस्वीकार गरिनुहुनेछ । यस्ता घटनाहरू नोआको समयमा पनि भएको थिए र मानिसका पुत्रको समयमा पनि ती कुराहरू हुनेछन् । नोआ जहाजभित्र नपसुन्जेलसम्म तिनीहरू खाँदै, पिउँदै, र विवाहमा सहभागी भएका थिए । त्यसपछि बाढी आयो र सबै कुरालाई विनाश गर्यो । यस्तै घटनाहरू लोतको समयमा पनि घटेको थियो । त्यस समयमा तिनीहरूले खाँदै, पिउँदै, किन्दै, बेच्दै, र ती विभिन्न कुराहरूको निर्माण गर्दै थिए । तर त्यो दिन जब लोत सदोम छोडेर गए, त्यसपछि आगो र गन्धक स्वर्गबाट बर्सियो र सबै कुरालाई नष्ट गर्यो । अब मानिसका पुत्रको समयमा पनि यस्तै कुराहरू हुनेछन् ।
”त्यस दिनमा घरको माथिल्लो तल्लाबाट आफ्ना असल चिज लिनको लागि तल नआओ । र कोही खेतमा छ भने, नफर्क । लोतकी पत्नीलाई सम्झ । जसले आफ्नो प्राण बचाउन खोज्ला उसले त्यो गुमाउनेछ, तर जसले गुमाउला, उसको बचाइनेछ ।
”म तिमीलाई भन्नेछु, रातको समयमा दुई जना एकै ठाउँमा सुत्नेछन् । तिनीहरूमध्ये एक जना लगिनेछ, र अर्को छोडिनेछ । तिनीहरूले उहाँलाई सोधे, “कहाँ प्रभु?” र उहाँले तिनीहरूलाई भन्नुभयो, “जहाँ सिनो हुन्छ, त्यहाँ गिद्धहरू जम्मा हुनेछन् ।”
”के परमेश्वरले पनि उहाँलाई दिनरात पुकारा गर्ने आफ्ना चुनिएका मानिसहरूको निम्ति न्याय गरिदिनुहुन्न र? के उहाँ तिनीहरूप्रति धैर्यवान् हुनुहुन्न र? म तिमीहरूलाई भन्दछु, उहाँले तिनीहरूलाई तुरुन्तै न्याय दिलाउनुहुनेछ । तर जब मानिसका पुत्र आउनेछन्, के उनले पृथ्वीमा विश्वास भेट्टाउनेछन् र?”
”तब उहाँले तिनीहरूलाई भन्नुभयो, “राज्य-राज्यको विरुद्धमा र देश-देशको विरुद्धमा उठ्नेछन् । त्यहाँ धेरै भूकम्पहरू जानेछन्, र धेरै ठाउँमा महामारी र अनिकालहरू हुनेछन् । त्यहाँ डरलाग्दा घटनाहरू हुनेछन् र आकाशमा ठुला-ठुला चिह्नहरू हुनेछन् ।
”तर यी सबै कुरा हुन अगाडि, तिनीहरूका हात तिमीहरूमाथि पर्नेछन् र तिनीहरूले तिमीहरूलाई सताउनेछन्, सभाघरमा सुम्पिदिनेछन् र झ्यालखानामा हाल्नेछन्, तिमीहरूलाई मेरो नाउँको कारण राजाहरू र हाकिमहरूका अगाडि ल्याउनेछन् । यसले तिमीहरूको गवाहीका लागि अवसरतिर डोर्याउनेछ । त्यसकारण, तिमीहरूले बचाउको लागि के भन्ने भनेर अगिबाटै हृदयमा नसोच । तिमीहरूका विरोधीहरूले सबै कुराको खण्डन गर्न नसकून् भनेर म तिमीहरूलाई वचन र बुद्धि दिनेछु । तर तिमीहरूलाई तिमीहरूका आमा बुबा र दाजुभाइहरू, नातेदारहरू र साथीभाइहरूले सुम्पिदिनेछन् र तिमीहरूमध्ये केही मृत्युका लागि सुम्पिनेछौ । मेरो नाउँको खातिर सबैले तिमीहरूलाई घृणा गर्नेछन् । तर तिमीहरूको शिरको एउटै कपाल पनि नष्ट हुनेछैन । तिमीहरूको सहनशीलतामा तिमीहरूले प्राण प्राप्त गर्नेछौ ।
”जब तिमीहरूले यरूशलेमलाई सेनाले घेरेको देख्नेछौ, तब त्यसको विनाश नजिकै छ भनी जान । तब यहूदियामा हुनेहरू पहाडहरूतिर भागून् र जो सहरको बिचमा छन् तिनीहरू सहर बाहिर भागून्, र बाहिर हुनेहरू सहरभित्र नपसून् । यी दिनहरू बदला लिने दिनहरू हुनेछन्, यसैले लेखिएका सबै कुराहरू पुरा हुनेछन् । हाय ती दिनमा गर्भवती र दूध चुसाउने स्त्रीहरू! त्यस देशमाथि महासङ्कष्ट आउनेछ, र ती मानिसहरूमाथि क्रोध आइपर्नेछ । तिनीहरू तरवारले मारिनेछन् र सबै देशहरूमा तिनीहरू कैदी भएर जानेछन्, र गैरयहूदीहरूको समय पुरा नभएसम्म गैरयहूदीहरूले यरूशलेम नै कैदी बनाएर राख्नेछन् ।
”सूर्य, चन्द्रमा र ताराहरूमा चिह्नहरू देखा पर्नेछन् । अनि समुद्रका गर्जनहरू र छालहरूबाट पृथ्वीमा भएका राष्ट्रहरू कष्टमा पर्नेछन् । संसारमा आइपर्न लागेका घटनाहरूका आशङ्काले मानिसहरू मुर्छित हुनेछन्, किनकि आकाशका शक्तिहरू डग्मगाउनेछन् । त्यसपछि तिनीहरूले मानिसका पुत्रलाई ठुलो शक्ति र महामहिमाका साथ बादलमा आउँदै गरेको देख्नेछन् । जब यी कुरा हुन आउनेछन्, उठ र आफ्ना शिरहरू ठाडो पारेर हेर, तिमीहरूको उद्धारको दिन नजिकै छ ।”
”येशूले उनीहरूलाई एउटा दृष्टान्त भन्नुभयो, “नेभाराको रुखलाई हेर र अरू सबै रुखहरूलाई पनि । जब तिनहरूले पालुवा फेरेको तिमीहरूले देख्छौ, तब गृष्म ऋतु नजिकै छ भनी तिमीहरू आफैँले थाहा पाउनेछौ । त्यसैले पनि, जब तिमीले यी थोकहरू भएको देख्नेछौ, परमेश्वरको राज्य नजिकै छ भन्ने कुरा तिमीहरूले थाहा पाउनेछौ । तिमीहरूलाई म साँचो भन्दछु, यी सब कुराहरू पुरा नभइन्जेलसम्म यो पुस्ता बितेर जानेछैन । स्वर्ग र पृथ्वी टलेर जानेछ, तर मेरा वचनहरू कहिल्यै टल्नेछैनन् । तर तिमीहरू आफैँ होसियार रहो । त्यसकारण तिमीहरूको हृदय विलास, मतवालापान र जीवनको चिन्ताले नभरियोस् । नत्रभने, त्यो दिन तिमीहरूमाथि अचानक आइपर्ला । यसरी नै सारा पृथ्वी भरि जिउने हरेकमाथि त्यो पासोझैँ आइपर्नेछ । तर हर समय सतर्क रहो, र हुन आउने सम्पूर्ण कुराहरूबाट उम्कनलाई बलियो हुन सक र मानिसका पुत्रका अगाडि खडा हुनलाई प्रार्थना गर्दै रहो ।”
”साँचो, साँचो म तिमीहरूलाई भन्छु, समय आइरहेको छ र यो अहिले नै हो, जब मृतकहरूले परमेश्वरका पुत्रको सोर सुन्नेछन्, र ती सुन्नेहरू बाँच्नेछन् । किनकि जसरी पिता आफैँसँग जीवन छ, त्यसरी नै उहाँले पुत्रलाई पनि दिनुभएको छ, ताकि ऊ आफैँसँग जीवन होस्, र पिताले पुत्रलाई न्याय गर्ने अधिकार दिनुभएको छ । किनकि ऊ मानिसका पुत्र हो । यस कुरामा तिमीहरू अचम्म नमान, किनकि चिहानमा हुनेहरूले उसको सोर सुन्ने समय आइरहेको छ, र तिनीहरू चिहानबाट बाहिर आउनेछन्ः असल गर्नेहरू जीवनको पुनरुत्थानको निम्ति र दुष्ट काम गर्नेहरू न्यायको पुनरुत्थानको निम्ति ।
”मेरा पिताको घरमा बस्ने धेरै कोठाहरू छन् । यदि त्यसो नहुँदो हो त, मैले तिमीहरूलाई भन्ने थिएँ त, किनकि म तिमीहरूका लागि ठाउँ तयार पार्न गइरहेको छु । म जान्छु, र तिमीहरूका लागि ठाउँ तयार पार्छु भने, म फेरि आउनेछु र म आफैँसँग लानेछु, ताकि जहाँ म हुन्छु तिमीहरू पनि त्यहाँ हुनेछौ ।
”येशूले यी कुराहरू भनिसक्नुभएपछि, तिनीहरूले माथि हेरिरहँदा उहाँलाई माथि उठाइयो, र बादलले उहाँलाई तिनीहरूका आँखाबाट छेक्यो । उहाँ जाँदै गर्नुहुँदा तिनीहरूले स्वर्गतिर उत्कटतापूर्वक हेरिररहेका बेला सेतो वस्त्र पहिरेका दुई जना मानिस अचानक तिनीहरूका छेउमा खडा भए । तिनीहरूले भने, “हे गालीलका मानिसहरू हो, तिमीहरू यहाँ उभिएर किन स्वर्गतिर हेरिरहन्छौ? स्वर्ग आरोहण हुनुभएका यी येशूलाई तिमीहरूले जसरी स्वर्गतिर गइरहेका देखेका छौ, उहाँ त्यसरी नै फर्कनुहुनेछ ।
”यो वर्तमान समयका कष्टहरू हामीलाई प्रकट गरिने महिमासँग तुलना गर्न योग्यका छैनन् भन्ने म ठान्छु । किनकि सृष्टिको उत्कट आशा परमेश्वरका पुत्रहरूको प्रकटीकरणको प्रतीक्षामा छ ।
”किनकि यस्तो लेखिएको छ, परमप्रभु भन्नुहुन्छ, “जस्तो म जीवित छु, मेरो निम्ति हरेक घुँडा टेक्नेछ र हरेक जिब्रोले परमप्रभुको प्रशंसा गर्नेछ ।”
”शान्तिका परमेश्वरले चाँडै नै शैतानलाई तिमीहरूको पैतालामुनि कुच्च्याउनुहुनेछ । हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूसित रहोस् ।
”यदि त्यस जगमाथि कसैले सुन, चाँदी, बहुमूल्य पत्थर, काठ, वा परालको प्रयोग गरेर निर्माण गर्छ भने उसको काम दिनमा प्रकट गरिनेछ, किनकि दिनको उज्यालोले त्यो प्रकट गर्नेछ । किनकि त्यो आगोमा प्रकट हुनेछ । हरेकको कामको गुणस्तरलाई आगोद्वारा जाँचिनेछ । यदि कसैले गरेको काम रहिरह्यो भने त्यसले इनाम प्राप्त गर्नेछ । तर यदि कसैको काम जलेर नष्ट भयो भने त्यसले नोक्सानी भोग्नुपर्नेछ । तर ऊ आफैँचाहिँ आगोबाट फुत्केझैँ बचाइनेछ ।
”यसकारण समय आउनुभन्दा अगि वा येशू आउनुभन्दा अगि कुनै पनि कुराको बारेमा न्याय नगर । उहाँले अन्धकारमा लुकाइएका कुराहरूलाई ज्योतिमा ल्याउनुहुनेछ, र हृदयका उद्देश्यहरू प्रकट गर्नुहुनेछ । त्यसपछि हरेकले परमेश्वरबाट आफ्नो प्रशंसा पाउनेछ ।
”शरीरको विनाशको निम्ति त्यस मानिसलाई मैले शैतानको हातमा सुम्पेको छु, ताकि प्रभुको दिनमा त्यस मानिसको आत्माचाहिँ बाँचोस् । तिमीहरूको घमण्ड ठिक होइन । के थोरै खमिरले पुरै रोटीलाई खमिरी बनाउँछ भन्ने तिमीहरू जान्दैनौ?
”त्यसैले, अब भाइहरू हो म भन्छु कि मासु र रगत परमेश्वरको राज्यको हकदार हुन सक्नेछैन, न त विनाशी अविनाशिको हकदार हुन सक्छ । हेर! म तिमीहरूलाई गोप्य सत्य बताउँछुः हामी सबै मर्नेछैनौँ, तर हामी सबै परिवर्तन हुनेछौँ । हामीहरू एकै क्षणमा, आँखाको एक निमेषमा, तुरहीको अन्तिम आवाजमा परिवर्तन हुनेछौँ । किनकि तुरही बज्नेछ र मरेकाहरू अविनाशी शरीरमा जीवित पारिनेछन् र हामी परिवर्तन हुनेछौँ ।
”उहाँले यसो गर्नुभयो, ताकि येशूको नाममा हरेक घुँडाहरू टेकिऊन्ः स्वर्ग, पृथ्वी र पृथ्वीमुनि भएका सबैका घुँडाहरू । र उहाँले यो गर्नुभयो, ताकि परमेश्वर पिताको महिमाका लागि प्रत्येक जिब्रोले येशू ख्रीष्ट नै प्रभु हुनुहुन्छ भनी स्वीकार गरोस् ।
”जब ख्रीष्ट प्रकट हुनुहुनेछ जो तिमीहरूका जीवन हुनुहुन्छ, तब तिमीहरू पनि उहाँसँगै महिमामा प्रकट हुनेछौ ।
”र उहाँका पुत्र आकाशमा आउने समयलाई पर्खिराखेका छौ, जसलाई उहाँले मृतकबाट जीवित पार्नुभयो । उहाँ येशू हुनुहुन्छ जसले हामीलाई आउने वाला क्रोधबाट छुटकारा दिनुहुन्छ ।
”भाइहरू हो, सुतिगएकाहरूका विषयमा तिमीहरू अन्जान बस भन्ने हामी चाहन्नौँ ताकि आशा नहुने मानिसहरूले जस्तो तिमीहरूले शोक गर्न नपरोस् । येशू मर्नुभयो र जीवित हुनुभयो भनी हामी विश्वास गर्छौं भने परमेश्वरले पनि जो-जति येशूमा सुतेका छन् तिनीहरूलाई उहाँमा जीवित पार्नुहुनेछ । परमेश्वरको वचनद्वारा हामी तिमीलाई यसो भन्छौँ कि हामी जो जीवित छौँ र प्रभुको आगमनसम्म बाँचिरहन्छौँ, हामीले कुनै हालतमा पनि मरिगएकाहरूलाई उछिन्नेछैनौँ ।
”प्रभु आफै स्वर्गबाट ठुलो प्रशंसा, प्रधान स्वर्गदूतको आवाज र तुरहीको गर्जनसहित आउनुहुनेछ र ख्रीष्टमा मरेकाहरू पहिले बिउँतनेछन् । तब हामी जो जीवित छौँ उठाई लगिएकाहरूसँग एकसाथ बादलमा प्रभुलाई भेट्नेछौँ र हामी सदासर्वदा प्रभुसँगै हुनेछौँ ।
”भाइहरू हो, तिमीहरूलाई समय र ऋतुहरूको बारेमा कुनै कुरा लेखिरहनु जरुरत छैन । किनकि तिमीहरू आफैले राम्ररी जान्दछौ कि प्रभुको आगमनको समय राती आउने चोरको जस्तै हुनेछ । तिनीहरूले “शान्ति र सुरक्षा” भन्दै गर्दा गर्भवती स्त्रीलाई प्रसव-वेदना भएझैँ तिनीहरूमाथि अचानक विनाश आइपर्छ र तिनीहरू कुनै पनि किसिमले उम्कनेछैनन् । तर भाइहरू हो, त्यो दिन तिमीहरूमाथि चोरझैँ आइपर्नलाई तिमीहरू अन्धकारमा छैनौ ।
”किनभने परमेश्वरले हामीलाई क्रोधको निम्ति होइन, तर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा मुक्तिको निम्ति चुन्नुभयो । उहाँ हाम्रो निम्ति मर्नुभयो ताकि हामी जागा हौँ वा निन्द्रामा हामी सबै उहाँसँग जिउन सकौँ ।
”त्यसैले, हामीहरू तिमीहरूको धैर्य र विश्वासको बारेमा परमेश्वरका मण्डलीहरूका बिचमा तिमीहरूले सहने तिमीहरूका सारा सतावटहरू र दुःख भोगाइहरूप्रति गर्व गर्दछौँ । यो परमेश्वरको धार्मिक न्यायको प्रष्ट चिन्ह हो, जसको कारणले तिमीहरू परमेश्वरको राज्यको योग्य ठहरिन्छौ, जुन राज्यको निम्ति तिमीहरू दुःख पनि भोग्दछौ । तिमीहरूलाई दुःख दिनेहरूलाई दुःख दिनु नै परमेश्वरको धार्मिकता हो, र येशू ख्रीष्ट स्वर्गबाट स्वर्गदूतहरूका शक्तिसाथ उहाँको आगमनमा आउनुहुँदा, हामीसँग दुःख भोगेकाहरूलाई छुटकारा मिल्नेछ । जसले परमेश्वरलाई चिन्दैनन् र तिनीहरू जसले हाम्रा प्रभु येशूको सुसमाचार पालन गर्दैनन्, उहाँले तिनीहरूलाई बलिरहेको आगोमा बदला लिनुहुनेछ । तिनीहरूले प्रभु र उहाँको शक्तिको महिमाको उपस्थितिबाट टाढा रहेर अनन्त विनाशको दण्ड भोग्नेछन्, तिमीहरूले हाम्रो गवाहीमा विश्वास गर्यौ । त्यसै गरी विश्वास गर्ने सबैद्वारा अचम्मित पार्नलाई र सबै सन्तहरूद्वारा महिमित हुनलाई उहाँ त्यो दिनमा आउनुहुन्छ ।
”अब भाइहरू हो, हाम्रा प्रभु येशूको आगमन र हाम्रो उहाँसँग एकसाथ भेट गर्ने सम्बन्धमा हामी अनुरोध गर्दछौँ, कि प्रभुको दिन आइसकेको छ भनी तिमीहरूको मन सजिलै नधर्मराओस्, न त विचलित होस्, न आत्माद्वारा, न वचन न त हाम्रो पत्रद्वारा । प्रभुको आगमन पहिल्यै भइसकेको छ भनेर तिमीहरूलाई कसैले कुनै प्रकारले छल्न नपाओस् । किनकि पतित, पापमय विनाशको छोरो, अधर्मी मानिस प्रकट नहोऊन्जेलसम्म यो हुन आउनेछैन । यो त्यो हो जसले आफैलाई उचाल्दछ र परमेश्वरको विरोध गर्दछ र आफैलाई परमेश्वरको रूपमा प्रस्तुत गरेर महिमित हुन चाहन्छ र उहाँको मन्दिरमा बस्छ ।
”म तिमीहरूसँग हुँदा मैले तिमीहरूलाई ज भनेँ के तिमीहरू त्यो सम्झदैनौ? अब तिमीहरू जान्दछौ कि कुनै कुराले उसलाई रोक्दछ, ताकि ऊ ठिक समयमा मात्र प्रकट हुनेछ । किनभने, पापको रहस्यले पहिले देखि नै काम गरिरहेको छ जबसम्म जसले उसलाई थामिराख्नुभएको छ उहाँले उसका मार्गबाट हटाउनुहुन्न । त्यसपछि पापको मानिस प्रकट हुनेछ, जसलाई प्रभु येशूले उहाँको मुखको सासले मार्नुहुनेछ र उहाँका आगमनले उसको अन्त हुनेछ । शैतानका सबै शक्तिशाली काम, चिन्हहरू र झुटा आश्चर्यकर्महरूको कारण पापको मानिसको आगमन हुनेछ । त्यो अधार्मिकताका सबै छलका साथ आउनेछ । यी कुराहरू नाश हुनेहरूका निम्ति हुनेछन् जसले बचाइनको लागि परमेश्वरको प्रेमको सत्यतालाई ग्रहण गरेनन् । यसकारण, तिनीहरूले झुटो विश्वास गरून् भनी परमेश्वरले भ्रमको काम पठाई रहनुभएको छ, ताकि अधार्मिकतामा रमाउने तर सत्यतालाई विश्वास नगर्ने सबैको न्याय होस् ।
”यस आज्ञालाई हाम्रा प्रभु येशू ख्रीष्ट देखा नपरुन्जेल सिद्ध र दोषरहित राख । अनि धन्य सर्वशक्तिमान, राज्य गर्ने राजा, शासन गर्ने परमप्रभु परमेश्वार उपयुक्त समयमा उहाँको आगमनलाई प्रकट गर्नु हुनेछ । केवल उहाँ मात्र अमर हुनुहुन्छ र कोही पनि जान नसक्ने ज्योतिमा वास गर्नुहुन्छ । नत उहाँलाई कसैले देखेको छ नत देख्न सक्दछ । उहाँलाई नै आदर र अनन्त शक्ति होस् । आमिन ।
”तर यो जान कि अन्तिम दिनहरूमा खतरापूर्ण समय आउनेछ । किनकि मानिसहरू आफैलाई प्रेम गर्नेहरू, धनका प्रेमी, घमण्डी, हठी, अरूको निन्दा गर्ने, आमा बुबाले भनेको नमान्ने, कृतघ्न, अपवित्र, स्वाभाविक प्रेमरहित, कठोर, निन्दा गर्नेहरू, आत्म-नियन्त्रण गर्न नसक्ने, विद्रोही, असल नरुचाउने, ठगाहा, जिद्धिवाल, घमण्डी, परमेश्वरको प्रेमको साटो सुखविलास रुचाउने हुनेछन् । तिनीहरू भक्तिमय देखिनेछन्, तर यसको शक्तिलाई भने इन्कार गर्नेछन् । यस्ता मानिसहरूबाट अलग बस ।
”परमेश्वर र येशू ख्रीष्टको सामने जसले जिउँदा र मरेकाहरूको न्याय गर्न लाग्नुभएको छ, र उहाँको प्रकटीकरण र राज्यलाई ध्यानमा राखेर म तिमीहरूलाई कडा आज्ञा दिन्छुः वचन प्रचार गर, सजिलो र असजिलो दुवै अवस्थामा तयार बस । सबै प्रकारका धैर्य र शिक्षाद्वारा सुधार गर, हप्काऊ र अर्ती देऊ । त्यस्तो समय आउनेछ जब मानिसहरूले असल शिक्षा सहने छैनन् । तर तिनीहरू आफ्नो अभिलाषाअनुसारको शिक्षा दिने शिक्षकहरूबाट घेरिनेछन् । यसरी तिनीहरूले आफूलाई मन परेको कुरा मात्र सुन्दछन् । तिनीहरूले सत्यताबाट आफ्नो कान फर्काउनेछन् र दन्त्य कथातिर लगाउनेछन् । तर तिमी सबै कुरामा सचेत होऊ; कष्ट भोग; प्रचारकको काम गर; आफ्नो सेवा पुरा गर ।
”मेरो लागि धर्मिकताको मुकुट राखिएको छ, जुन त्यस दिनमा धार्मिक न्यायाधीश प्रभुले मलाई त्यो मुकुट दिनुहुनेछ, मलाई मात्र होइन तर उहाँको आगमनलाई प्रिय ठान्ने सबैलाई ।
”धार्मिक र ईश्वरीय जीवन जिउन तालिम दिन्छ ।
”“हे प्रभु, आदिमा तपाईंले पृथ्वीको जग बसाल्नुभयो । स्वर्गहरू तपाईंका हातका काम हुन् । तिनीहरू नष्ट हुनेछन्, तर तपाईं रहिरहनुहुनेछ । तिनीहरू लगाइने कपडाका टुक्राझैँ झुत्रा हुनेछन् । तपाईंले तिनीहरूलाई लबेदाजस्तै बेर्नुहुनेछ, र तिनीहरू कपडाको टुक्राझैँ परिवर्तन हुनेछन् । तर तपाईं सधैँ उस्तै हुनुहुन्छ, र तपाईंका वर्षहरूको अन्त्य कहिल्यै हुँदैन ।”
”त्यसकारण, स्वर्गमा भएका थोकहरूका नक्कलहरूलाई जनावरहरूको बलिदानद्वारा शुद्ध पारिनुपर्थ्यो भने स्वर्गमा भएका थोकहरू आफैँलाई झन् कति धेरै उत्तम बलिदानद्वारा शुद्ध पार्न आवश्यक पर्यो । किनकि ख्रीष्ट हातद्वारा बनाइएको महा-पवित्रस्थानमा प्रवेश गर्नुभएन, जुनचाहिँ सत्यताको एक नक्कल मात्र हो । बरु, उहाँ आफैँ स्वर्गमा प्रवेश गर्नुभयो, अनि हाम्रा निम्ति अहिले उहाँ परमेश्वरको सामु उपस्थित हुनुहुन्छ । उहाँ आफ्नै निम्ति घरिघरि बलि चढाउनका निम्ति त्यहाँ जानुभएको होइन, जसरी प्रधान पुजारीले हरेक वर्ष अर्काको रगत लिएर महा-पवित्रस्थानभित्र प्रवेश गर्दछन् । त्यसो भएको भए, संसारको उत्पत्तिदेखि नै उहाँले धेरै पल्ट दुःख भोग्नुपर्ने हुन्थ्यो । तर यस युगको अन्त्यमा एक पल्ट उहाँको आफ्नै बलिद्वारा पापलाई हटाउन उहाँ सधैँका निम्ति एकै पल्ट प्रकट हुनुभएको हो । हरेक व्यक्ति एक पटक मर्न निश्चित छ, र त्यसपछि न्याय आउँदछ । त्यसरी नै, ख्रीष्ट पनि धेरै जनाका पाप बोक्नलाई सधैँका निम्ति एकै पल्ट बलि हुनुभयो । पापसँग सामना गर्नलाई दोस्रो पल्ट उहाँ देखा पर्नुहुने होइन, तर मुक्तिका लागि धैर्यसाथ उहाँका निम्ति पर्खिरहनेहरूका लागि हो ।
”हामी एक-अर्कामा सँगसँगै भेला हुन नछोडौँ, जसरी कतिले छोडेका छन् । बरु, दिन नजिकै आएको हुनाले जतिसक्दो एकले अर्कालाई झन् बढी उत्साह देओ ।
”स्त्रीहरूले आफ्ना मरेकाहरूलाई पुनरुत्थानद्वारा प्राप्त गरे । अरूले अझ उत्तम पुनरुत्थान प्राप्त गर्नलाई तिनीहरूले छुटकारालाई स्वीकार गरेनन् । त्यसैले, तिनीहरूले दण्ड भोगे ।
”अब आओ, तिमीहरू जो धनी छौ, तिमीहरूमा आउन लागेका कष्टहरूको कारण रोओ र विलाप गर । तिमीहरूका धनहरू सडेका छन् र तिमीहरूका पोसाकहरू किराले खाएका छन् । तिमीहरूका सुन र चाँदीहरूमा कस लागेको छ । तिनीहरूमा लागेको कस तिमीहरूको विरुद्ध साक्षी हुनेछ । त्यसले तिमीहरूका शरीरलाई आगोले झैँ नाश पार्नेछ । तिमीहरूले आफ्ना धन सम्पत्तिलाई अन्तिम दिनका निम्ति थुपारिराखेका छौ ।
”त्यसकारण, भाइहरू हो, प्रभुको आगमनसम्म धैर्य धारण गर । किसानले जमिनबाट मूल्यवान् फसल पाउनलाई प्रतीक्षा गरेको हेर । त्यसले अगिल्लो र पछिल्लो वर्षा नपाएसम्म उसले त्यो धैर्यसँग प्रतीक्षा गरिरहन्छ । तिमीहरू पनि धैर्य धारण गर । तिमीहरूको हृदयलाई बलियो बनाओ, किनभने प्रभुको आगमन नजिकै छ ।
”पहिले यो कुरा जान कि अन्तिम दिनहरूमा गिल्ला गर्नेहरू तिमीहरूलाई गिल्ला गर्दै र आफ्नै इच्छामा हिँड्दै आउनेछन् । अनि यसो भन्दै आउनेछन्, “उहाँको आगमनको प्रतिज्ञा कहाँ गयो? हाम्रा पुर्खाहरू बितेर गए, तर सृष्टिको सुरुदेखि नै सबै चिज उस्तै छन् ।” s5 धेरै वर्षअगि वचनद्वारा नै स्वर्ग र पृथ्वी पानीबाट बनाइएका थिए भन्ने कुरा तिनीहरू स्वेच्छाले बिर्सन्छन् । अनि त्यस बेलाको पृथ्वी उहाँको वचन र जल प्रलयद्वारा नष्ट भयो अनि स्वर्ग र पृथ्वी आगोको न्यायको निम्ति र दुष्टहरूको विनाशको लागि त्यही वचनद्वारा सुरक्षित राखिएको छ ।
”प्रिय हो, यो कुरा नभुल कि प्रभुको लागि एक दिन एक हजार वर्ष र एक हजार वर्ष एक दिनझैँ हुन्छ । अरूले सोचेजस्तै परमेश्वर आफ्नो प्रतिज्ञाको बारेमा ढिलो गर्नुहुन्न, तर तिमीहरूको निम्ति उहाँ धैर्यवान् हुनुहुन्छ । उहाँ तिमीहरूमध्ये कोही पनि नाश होस् भन्ने चाहनुहुन्न, तर उहाँले सबैलाई पश्चात्ताप गर्ने समय दिने चाहना गर्नुहुन्छ ।
”तर परमेश्वरको समय चोरजस्तै गरी आउनेछ । ठुलो आवाजसहित आकाश बितेर जानेछ । आगोले तत्त्वहरू पगाल्नेछ र पृथ्वी अनि यसमा भएका कामहरू प्रकट हुनेछन् । सबै कुरा यसरी नै नाश गरिनेछन् भने तिमीहरू कस्ता मानिसहरू हुनुपर्ने हो? तिमीहरूले पवित्र र धर्मी जीवन जिउनुपर्छ । तिमीहरूले व्यग्रतासाथ परमेश्वरको आगमनको लागि आशा गर्नुपर्छ । त्यस दिन आकाशहरू आगोद्वारा नष्ट गरिनेछ र तत्त्वहरूलाई प्रचण्ड तापले पगाल्नेछन् । तर उहाँको प्रतिज्ञाअनुसार हामी नयाँ स्वर्ग र नयाँ पृथ्वीको पर्खाइमा छौँ, जहाँ धार्मिकताले बास गर्छ ।
”संसार र यसका इच्छाहरू बितेर जाँदै छन् । तर जसले परमेश्वरको इच्छाअनुसार गर्छ, त्यो सदासर्वदा रहिरहन्छ । साना बालकहरू हो, यो आखिरी घडी हो । तिमीहरूले ख्रीष्ट विरोधी आइरहेको छ भनी सुन्दै छौ, अहिले पनि धेरै ख्रीष्ट विरोधीहरू आइसकेका छन् । यसद्वारा नै यो आखिरी घडी हो भन्ने हामी जान्दछौँ । तिनीहरू हामीबाट बाहिर गए, तर तिनीहरू हाम्रा थिएनन् । यदि तिनीहरू हाम्रा भएका भए तिनीहरू हामीहरूसँगै रहिरहने थिए, तर तिनीहरू हाम्रा होइनन् भन्ने देखाउन तिनीहरू गए ।
”प्रिय हो, हरेक आत्मालाई विश्वास नगर, तर ती आत्माहरू परमेश्वरबाट आएका हुन् वा होइनन् भनी जाँच गर, किनभने धेरै झुटा अगमवक्ताहरू संसारमा आइसकेका छन् । यसैद्वारा तिमीहरूले परमेश्वरको आत्मालाई चिन्नेछौः येशू ख्रीष्ट शरीरमा आउनुभयो भनी स्वीकार गर्ने हरेक आत्मा परमेश्वरको हो । अनि येशूलाई स्वीकार नगर्ने हरेक आत्मा परमेश्वरको होइन । यो ख्रीष्ट विरोधी आत्मा हो, जुन तिमीहरूले संसारमा आउँदै छ भनी सुनेका छौ, र त्यो संसारमा अगिदेखि नै छ । मेरा प्रिय बालकहरू हो, तिमीहरू परमेश्वरका हौ, र तिमीहरूले ती आत्माहरूलाई जितेका छौ, किनभने तिमीहरूमा जो हुनुहुन्छ उहाँ संसारमा हुनेभन्दा महान् हुनुहुन्छ । ती आत्माहरू संसारका हुन्, यसकारण, तिनीहरूले भनेका कुराहरू संसारकै हुन्, र संसारले तिनीहरूको कुरा सुन्छ । हामी परमेश्वरका हौँ । जसले परमेश्वरलाई चिन्छ, त्यसले हाम्रो कुरा सुन्छ । जो परमेश्वरका होइनन्, त्यसले हाम्रो कुरा सुन्दैन । यसैद्वारा हामी सत्यको आत्मा र झुटको आत्मालाई चिन्छौँ ।
”किनकि धेरै छलीहरू संसारमा गएका छन्, जसले येशू शरीरमा आउनुभएको हो भनी स्वीकार गर्दैनन् । यो नै छली र ख्रीष्ट विरोधी हो । आफैँलाई हेर, कि तिमीले ती कुराहरू नगुमाऊ जसको लागि हामी सबैले परिश्रम गरेका छौँ, तर तिमीले पूरा इनाम पाउन सक । जो अगाडि बढिरहन्छ र ख्रीष्टको शिक्षामा रहँदैन त्यससँग परमेश्वर हुनुहुन्न । जो शिक्षामा रहन्छ योसँग पिता र पुत्र दुवै हुनुहुन्छ । यदि कोही तिमीकहाँ आउँछ र यो शिक्षा ल्याउँदैन भने त्यसलाई तिम्रो घरमा स्वागत नगर र त्यसलाई अभिवादन पनि नगर । किनकि जसले त्यसलाई अभिवादन गर्छ त्यो त्यसको दुष्ट कामहरूमा सहभागी हुन्छ ।
”आदमदेखि सातौँ पुस्ताका हनोकले तिनीहरूको विषयमा यसो भनी अगमवाणी गरेका थिए, “हेर! परमप्रभु उहाँका हजारौँ पवित्र जनसँग आउँदै हुनुहुन्छ । उहाँ सबैको इन्साफ गर्न आउँदै हुनुहुन्छ । परमेश्वरको भय नमान्नेहरूले ईश्वरहीन रूपमा गरेका सबै काम, र परमेश्वरको भय नमान्ने पापीहरूले उहाँको विरुद्धमा बोलेका कठोर बोलीको दोष लगाउन उहाँ आउँदै हुनुहुन्छ ।”
”परमेश्वरले आफ्ना सेवकहरूलाई अब चाँडै हुन आउने कुराहरू प्रकट गर्नुभएको यो येशू ख्रीष्टको प्रकाश हो । उहाँले यो कुरा आफ्ना स्वर्गदूत पठाउनुभई उहाँका सेवक यूहन्नालाई प्रकट गराउनुभयो ।
”हेर, उहाँ बादलमा आउँदै हुनुहुन्छ । हरेक आँखाले उहाँलाई देख्नेछ, उहाँलाई घोच्नेहरूले पनि । अनि उहाँको कारण पृथ्वीका सबै कुलले बिलौना गर्नेछन् । यसै होस्, आमेन ।
”तिमीले मेरो वचन धैर्यसाथ पालन गरेका हुनाले पृथ्वीमा जिउनेहरूको जाँच आउँदा सारा संसारमा आइपर्ने विपत्तिको घडीमा पर्नबाट म पनि तिमीलाई जोगाउनेछु । म चाँडै आउँदै छु । तिमीसँग जे छ त्यसलाई बलियो गरी पक्रिराख ताकि तिम्रो मुकुटलाई कसैले लिएर जान नसकोस् । जसले जित्छ त्यसलाई म मेरा परमेश्वरको मन्दिरमा एउटा खाँबो बनाउनेछु र ऊ यसबाट कहिल्यै बाहिर जानेछैन । उसमाथि मेरा परमेश्वरको सहरको नाउँ, मेरा परमेश्वरको नाउँ, अनि मेरो नयाँ नाउँ म लेखिदिनेछु ।
”मलाई तिम्रा कामहरू थाहा छ, कि तिमी न तातो न चिसो छौ । तिमी कि त तातो वा चिसो भएको म चाहन्थेँ । त्यसैले, तिमी मनतातो, न तातो न चिसो छौ । यसैकारण, मैले तिमीलाई मेरो मुखबाट उकेलिदिन आँटेको छु । किनकि तिमी भन्छौ, ‘म धनी छु र मसित धेरै भौतिक सम्पत्ति छन् र मलाई कुनै थोकको आवश्यक छैन ।’ तर तिमी दुःखित, दयनीय, गरिब, अन्धा र नाङ्गै छौ भनी तिमीलाई थाहा नै छैन । मेरो सल्लाहलाई ध्यान देऊः आगोद्वारा शुद्ध पारिएको सुन मबाट किन ताकि तिमी धनी हुन सक, र तिम्रो नाङ्गोपनको लाज ढाक्नलाई चम्किलो सेतो वस्त्र लगाऊ र तिम्रो नाङ्गोपनको लाज नदेखियोस्, र आफ्ना आँखामा मलहम लगाऊ ताकि तिमीले देख्न सक । मैले प्रेम गर्ने प्रत्येकलाई म तालिम दिन्छु, र तिनीहरू कसरी जिउनुपर्छ सो म तिनीहरूलाई सिकाउँछु । त्यसकारण, पश्चात्ताप गर र इमानदार होऊ ।
”यी कुराहरूपछि मैले हेरेँ र स्वर्गमा एउटा ढोका उघ्रिएको मैले देखेँ । मैले सुनेको तुरहीको जस्तो पहिलो आवाजले मलाई भन्यो, “यहाँ माथि आऊ, र यी कुराहरूपछि के हुन आउनेछ म तिमीलाई देखाउनेछु ।”
”तब सिंहासनमा विराजमान हुनुहुनेको दाहिने हाततिर सातवटा छाप लगाएर यसलाई बन्द गरिएको अगाडि र पछाडि लेखिएको एउटा चर्मपत्रको मुट्ठो मैले देखेँ । “यस मुट्ठोलाई खोल्न र यसका छापहरूलाई तोड्न को योग्यको छ?” भनी एक जना शक्तिशाली स्वर्गदूतले चर्को सोरमा घोषणा गरेको मैले देखेँ । स्वर्गमा वा यस पृथ्वीमा वा यस पृथ्वीमुनि भएका कसैले पनि यस मुट्ठोलाई खोल्न वा यसलाई पढ्न सकेन । म दुःखित भएर रोएँ, किनकि यस मुट्ठोलाई खोल्न र पढ्न योग्यको कोही पनि भेट्टाइएन । तर ती एल्डरहरूमध्येका एक जनाले मलाई भने, “नरोऊ । हेर! यहूदाको कुलको सिँह, दाऊदको मुलले विजय प्राप्त गर्नुभएको छ । त्यो मुट्ठो र त्यसका सातवटा छाप खोल्न उहाँ योग्यका हुनुहुन्छ ।” मैले सिंहासन र चारवटा जीवित प्राणी र एल्डरहरूका बिचमा मारिएको जस्तो देखिनुहुने एउटा थुमालाई उभिरहेको देखेँ । उहाँका सातवटा सिङ र सातवटा आँखा थिए । यी सारा संसारभरि पठाइएका परमेश्वरका सात आत्मा हुन् । उहाँ जानुभयो र सिंहासनमा बसिरहनुहुनेको दाहिने हातबाट त्यस मुट्ठोलाई समात्नुभयो । जब उहाँले त्यो मुट्ठोलाई लिनुभयो, ती चारवटा जीवित प्राणी र चौबिस जना एल्डर उहाँको अगाडि घोप्टो परे । तिनीहरू हरेकसँग वीणा र धूपले भरिएका सुनका धुपौराहरू थियो, जुन विश्वासीहरूका प्रार्थना हुन् । तिनीहरूले एउटा नयाँ गीत गाएः “तपाईं त्यो मुट्ठोलाई लिन र त्यसका छापहरूलाई खोल्न योग्यका हुनुहुन्छ । किनकि तपाईं मारिनुभयो, र तपाईंको रगतले हरेक जाति, भाषा, मानिस र राष्ट्रलाई तपाईंले परमेश्वरका निम्ति किन्नुभयो । परमेश्वरको सेवा गर्न तपाईंले तिनीहरूलाई राज्य र पुजारीहरू बनाउनुभयो, र तिनीहरूले पृथ्वीमा राज्य गर्नेछन् ।”
”तब मैले हेरेँ र सिंहासन, जीवित प्राणीहरू र एल्डरहरूका वरिपरि धेरै स्वर्गदूतका आवाजलाई सुनेँ । तिनीहरूको पुरा सङ्ख्या दसौँ हजार र हजारै हजार थियो । तिनीहरूले चर्को सोरमा यसो भने, “शक्ति, धन, बुद्धि, बल, आदर, महिमा र प्रशंसा प्राप्त गर्न मारिनुभएका थुमा योग्यका हुनुहुन्छ ।” स्वर्गमा, पृथ्वीमा, पृथ्वीमुनि र समुद्रमुनि सृष्टि गरिएका हरेक थोकले यसो भनेको मैले सुनेँ, “उहाँ जो सिंहासनमा विराजमान हुनुहुने र थुमालाई, प्रशंसा, आदर, महिमा र राज्य गर्ने शक्ति सदासर्वदा होस् ।” ती चारैवटा जीवित प्राणीले भने, “आमेन ।” र एल्डरहरू आफैँ घोप्टो परेर आराधना गरे । [टिपोटः पुरानो संस्करणमा यसरी लेखिएको छ] चौबिस एल्डर आफैँ घोप्टो परेर सदासर्वदा रहिरहनुहुनेलाई आराधना गरे ।
”जब थुमाले सातवटा छापमध्ये एउटालाई खोल्नुभएको मैले देखेँ, अनि ती चार जीवित प्राणीमध्ये एक जनाले गर्जनको आवज जस्तोमा “आऊ” भनेको मैले सुनेँ । मैले हेरेँ र त्यहाँ एउटा सेतो घोडा थियो । त्यसमाथि चढ्नेले एउटा वाण समातेका थिए र उनलाई एउटा मुकुट दिइयो । अनि जित्नेले जस्तै गरी उनी विजयी गर्नलाई आए ।
”जब थुमाले दोस्रो छापलाई खोल्नुभयो, तब मैले त्यो दोस्रो जीवित प्राणीले “आऊ” भनिरहेको सुनेँ । तब अर्को अग्निमय रातो घोडा निस्केर आयो । त्यसमा सवार गर्नेलाई पृथ्वीबाट शान्ति लिएर जानलाई अनुमति दिइएको थियो । त्यसकारण, ती मानिसहरूले एक-अर्कालाई मार्नेछन् । यी घोडसवारलाई एउटा ठुलो तरवार दिइएको थियो ।
”जब थुमाले तेस्रो छापलाई खोल्नुभयो, तब तेस्रो जीवित प्राणीले “आऊ” भनेको मैले सुनेँ । मैले एउटा कालो घोडालाई देखेँ, र यसका घोडसवारले उनको हातमा एकजोर तराजुलाई समाइरहेका थिए । मैले चार जीवित प्राणीका बिचमा एउटा आवाज जस्तो देखिनेले भनेको कुरा सुने, “एक दिनको ज्यालामा एक किलो गहूँ र एक दिनको ज्यालामा तिन किलो जौ । तर तेल र दाखमद्यलाई नष्ट नगर्नू ।”
”जब थुमाले चौथो छापलाई खोल्नुभयो, तब मैले चौथो जीवित प्राणीले “आऊ” भनेको सोरलाई सुनेँ । तब मैले पहेँलो घोडालाई देखेँ । यसको घोडसवारको नाउँ मृत्यु थियो, र पातालले त्यसलाई पछ्याइरहेको थियो । अनि तिनीहरूलाई पृथ्वीको एक-चौथाइ भागमाथि तरवारले मार्न, अनिकाल र रोगहरूमाथि, र पृथ्वीका जङ्गली जनावरलाई मार्न अधिकार दिइएको थियो ।
”जब थुमाले पाँचौ छापलाई खोल्नुभयो, तब वेदीको मुनि परमेश्वरको वचन र तिनीहरूको गवाहीका खातिर मारिएका आत्माहरूलाई मैले देखेँ । तिनीहरूले चर्को सोरमा कराए, “सबैमाथिका शासक, पवित्र र साँचो, कहिलेसम्म तपाईंले हाम्रो रगतको बदला लिनुहुन्न र पृथ्वीमा बाँचिरहेकाहरूको न्याय गर्नुहुन्न?” तब तिनीहरू हरेकलाई एउटा सेतो वस्त्र दिइयो, अनि तिनीहरूका सहकर्मी सेवकहरू र तिनीहरूका दाजुभाइहरू र दिदी-बहिनीहरू तिनीहरूजस्तै जो मारिएर सङ्ख्यामा पूर्ण नभएसम्म तिनीहरूलाई पर्खनू भनियो ।
”जब थुमाले छैटौँ छापलाई खोल्नुभयो, तब त्यहाँ एउटा ठुलो भूकम्प गएको मैले देखेँ । सूर्य भाङग्राको कपडाजस्तै कालो र चन्द्रमा पुरा रगतजस्तै बन्यो । जसरी अञ्जीरको रुखलाई आँधीबेहरीले हल्लाउँदा नपाकेका फलहरू झरेजस्तै स्वर्गमा भएका ताराहरू पृथ्वीमा खसे । आकाश चर्मपत्रको मुट्ठोजस्तै बेरिएर लोप भयो, जुनचाहिँ बटारिएको थियो । हरेक पहाड र टापु त्यसको ठाउँदेखि हटेर गए । तब पृथ्वीका राजाहरू र महत्त्वपूर्ण मानिसहरू अनि जनसाधारणहरू, धनी, शक्तिशाली, अनि दास र स्वतन्त्र हरेक व्यक्ति पहाडका चट्टानहरूका बिचमा र गुफाहरूमा लुके । तिनीहरूले पर्वत र चट्टानहरूलाई भने, “हामीमा खस! सिंहासनमा विराजमान हुनुहुनेको मुहारबाट र थुमाको क्रोधबाट हामीलाई लुकाऊ । किनकि तिनीहरूको क्रोधको महान् दिन आएको छ र त्यहाँ को उभिन सक्छ र? ।”
”त्यसपछि पृथ्वीका चारै कुनामा चार जना स्वर्गदूत उभिइरहेका मैले देखेँ जसले पृथ्वीको चारैतिर भएका बतासलाई बलियोसँग पक्रिरहेका थिए । त्यसैले, पृथ्वी, समुद्र वा कुनै पनि रुखको विरुद्धमा कुनै पनि बतास नचलोस् । जीवित परमेश्वरको छाप लिएर अर्को स्वर्गदूत पूर्वबाट माथि आउँदै गरेको मैले देखेँ, जसले पृथ्वी र समुद्रलाई हानि गर्ने अनुमति पाएका चार स्वर्गदूतलाई ठुलो सोरले चिच्च्याउँदै यसो भने, “हाम्रा परमेश्वरका सेवकहरूका निधारमा हामीले मोहोर नलगाउञ्जेलसम्म पृथ्वी, समुद्र वा रुखहरूलाई हानि नगर ।”
”मैले छाप लगाइएका एक लाख चवालिस हजारको सङ्ख्या सुनेँ, जो इस्राएलका मानिसको हरेक कुलबाट छाप लगाइएका थिएः यहूदाको कुलबाट बाह्र हजारलाई, रूबेनको कुलबट बाह्र हजारलाई, गादको कुलबाट बाह्र हजारलाई छाप लगाइएको थियो, आशेरको कुलबाट बाह्र हजारलाई, नप्तालीको कुलबाट बाह्र हजारलाई र मनश्शेको कुलबाट बाह्र हजारलाई छाप लगाइएको थियो । शिमियोनको कुलबाट बाह्र हजारलाई, लेवीको कुलबाट बाह्र हजारलाई, इस्साखारको कुलबाट बाह्र हजारलाई, जबूलूनको कुलबाट बाह्र हजारलाई, योसेफको कुलबाट बाह्र हजारलाई र बेन्यामीनको कुलबाट बाह्र हजारलाई छाप लगाइएको थियो ।
”यी कुराहरूपछि मैले हेरेँ, र हरेक जाति, कुल, मानिस र भाषाका कसैले पनि गन्न नसक्ने एउटा ठुलो भिड सेतो पोशाक लगाएर र आ-आफ्ना हातमा खजुरका हाँगा लिई सिंहासन अगाडि र थुमाका सामु उभिरहेका थिए । अनि तिनीहरूले ठुलो सोरमा बोलाइराखेका थिएः “मुक्त्ति सिंहासनमा विराजमान हुनुहुने हाम्रा परमेश्वर र थुमाको हो ।” अनि सबै स्वर्गदूत चार जीवित प्राणी, एल्डरहरूका वरिपरि र सिंहासनका वरिपरि उभिए र तिनीहरू आफैँ लम्पसार परेर सिंहासनको अगि आफ्नो अनुहार झुकाए । तिनीहरूले यसो भन्दै परमेश्वरको आराधना गरे, “आमेन । हाम्रा परमेश्वरलाई प्रशंसा, महिमा, बुद्धि, धन्यवाद, आदर, शक्ति र बल सदासर्वदा भइरहोस् । आमेन ।” त्यसपछि एल्डरहरूमध्ये एक जनाले मलाई सोधे, “यी सेता वस्त्रहरू पहिरनेहरू को हुन्, र तिनीहरू कहाँबाट आएका हुन्?” अनि मैले उहाँलाई भनेँ, “हजुर, तपाईंलाई नै थाहा छ,” र उहाँले मलाई भन्नुभयो, “यिनीहरू नै हुन् जो महासङ्कष्टबाट आएका हुन् । तिनीहरूले आफ्ना वस्त्रहरू थुमाका रगतमा धोएर सेता बनाएका छन् । यसैकारणले गर्दा, तिनीहरू परमेश्वरको सिंहासनको अगाडि छन्, अनि उहाँको मन्दिरमा तिनीहरूले दिनरात उहाँको आराधना गर्दछन् । सिंहासनमा विराजमान हुनुहुनेले तिनीहरूमाथि आफ्नो पाल फैलाउनुहुनेछ । तिनीहरू फेरि भोकउनेछैनन्, न त तिनीहरू फेरि तिर्खाउनेछन् । सूर्यको ताप तिनीहरूमाथि पर्नेछैन, न त कुनै तापले तिनीहरूलाई जलाउनेछ । किनकि सिंहासनका माझमा हुनुहुने थुमा तिनीहरूका गोठालो हुनुहुनेछ, अनि उहाँले तिनीहरूलाई जिउँदो पानीको मुहानतिर डोर्याउनुहुनेछ, र परमेश्वरले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ ।”
”जब थुमाले सातौँ मोहोर खोल्नुभयो, स्वर्गमा लगभग आधा घण्टा जति सन्नाटा छायो । त्यसपछि मैले परमेश्वरको अगाडि उभिरहेका सात जना स्वर्गदूतलाई देखेँ, र तिनीहरूलाई सातवटा तुरही दिइयो । अर्को स्वर्गदूत आए र सुनको धुपौरो लिएर वेदीको छेउमा उभिए । सिंहासन अगाडि सबै विश्वासीका प्रार्थनासँग चढाउनका लागि ती स्वर्गदूतलाई धेरै धूप दिइयो । विश्वासीहरूका प्रार्थनासँगै धूपको धुवाँ स्वर्गदूतको हातबाट परमेश्वरको अगाडि पुग्यो । स्वर्गदूतले धुपौरो लिए र वेदीबाट आगो भरे । तब तिनले त्यसलाई पृथ्वीमा फ्याँकिदिए, अनि चट्याङ, गडगडाहट, बिजुलीका चमकहरू उत्पन भए र भूकम्प गयो । तब सातवटा तुरही भएका सात स्वर्गदूतहरू ती फुक्नलाई तयार भए ।
”पहिलो स्वर्गदूतले आफ्नो तुरही फुके र त्यहाँ असिना र रगत मिसिएको आगो आयो । यसलाई तल पृथ्वीमा फालियो । यसले पृथ्वीको तिन भागको एक-तिहाइ भागलाई डढायो; तिन भागको एक-तिहाइ रुखहरूलाई डढायो र सबै हरिया घाँसलाई पनि डढायो । [टिपोटः केही पुराना संस्करणहरूमा यसलाई छोडिएको छ] । त्यसैले, यसको तिन भागको एक-तिहाइ डढेको थियो ।
”दोस्रो स्वर्गदूतले आफ्नो तुरही फुके, अनि आगोले जलिरहेको एउटा ठुलो पहाडजस्तो केही समुद्रमा फालियो । समुद्रको एक-तिहाइ भाग रगत बन्यो । त्यसपछि समुद्रमा भएका जीवित प्राणीहरूमध्ये एक-तिहाइ भाग मरे, र जहाजहरूका एक-तिहाइ भाग नष्ट भए ।
”तेस्रो स्वर्गदूतले आफ्नो तुरही फुके, अनि आकाशबाट बलिरहेको राँकोजस्तो एउटा ठुलो तारा नदीहरूका एक-तिहाइ भाग र पानीको मुहानमा खस्यो । त्यो ताराको नाउँ “ऐरेलु” हो । एक-तिहाइ भागको पानी तितो भयो, र त्यो तितो भएको पानीबाट धेरै मानिस मरे ।
”चौथो स्वर्गदूतले आफ्नो तुरही फुके, त्यसैले, सूर्यको एक-तिहाइ भाग साथसाथै चन्द्रमाको एक-तिहाइ र ताराहरूको एक-तिहाइ भागमा प्रहार गरियो । एक-तिहाइ भाग अन्धकारमा परिणत भयो, अनि दिनको एक-तिहाइ र रातको एक-तिहाइ भागमा ज्योति भएन । अनि मैले हेरेँ, र आकाशको बिचमा उडिरहेको एउटा गरुड ठुलो सोरमा यसो भन्दै कराइरहेको सुनेँ, “बाँकी रहेका तिन स्वर्गदूतले फुक्नै आँटेका तुरहीको आवाजको कारण पृथ्वीमा बस्ने मानिसहरूलाई धिक्कार, धिक्कार, धिक्कार ।”
”त्यसपछि पाँचौ स्वर्गदूतले आफ्नो तुरही फुके । अनि मैले स्वर्गबाट पृथ्वीमा एउटा तारा खशिरहेको देखेँ । त्यो तारालाई अतल कुण्डको साँचो दिइयो । त्यसले अतल कुण्ड खोल्यो, अनि त्यस कुण्डबाट धुवाँको मुस्लोजस्तो माथि गइरहेको थियो । त्यसले सूर्य र वायुलाई अँध्यारो बनाइदियो । धुवाँबाट पृथ्वीमा सलहहरू निस्केर आए । अनि पृथ्वीमा बिच्छीहरूको जस्तो शक्ति तिनीहरूलाई दिइयो । पृथ्वीमा भएका घाँस वा कुनै पनि हरियो बोट बिरुवा वा रुखलाई हानि नगर्नू भनी तिनीहरूलाई भनियो । तर तिनीहरूलाई निधारमा परमेश्वरको मोहर नभएका मानिसहरूलाई मात्र हानि गर्नू भनियो । तिनीहरूलाई पाँच महिना मात्र यातना दिनू, तर ती मानिसहरूलाई नमार्नू भन्ने अनुमति दिइयो । अनि तिनीहरूको पीडा एक जना व्यक्तिलाई बिच्छीले डसेको जस्तो हुनेछ । ती दिनहरूमा मानिसहरूले मृत्यु खोज्नेछन्, तर यसलाई भेट्टाउनेछैनन् । तिनीहरूले मर्न ठुलो इच्छा गर्नेछन्, तर मृत्यु तिनीहरूबाट भाग्नेछ । सलहहरू लडाइँका निम्ति तयार गरिएका घोडाहरूजस्ता देखिन्थे । तिनीहरूका शिरमा सुनको जस्ता मुकुट र तिनीहरूका अनुहार मानवको अनुहारहरूजस्ता देखिन्थे । तिनीहरूका कपाल स्त्रीहरूका कपालजस्तै र तिनीहरूका दाँत सिंहका दाँतजस्ता थिए । तिनीहरूका छाती-पाता, फलामका छाती-पाताजस्तै अनि तिनीहरूका पखेटाहरूको आवाज युद्धमा दगुर्ने धेरै रथ र घोडाहरूका जस्तै थिए । तिनीहरूका पुच्छर र खिल बिच्छीका जस्तै थिए, र तिनीहरूका पुच्छरमा पाँच महिनासम्म मनिसहरूलाई हानि गर्ने शक्ति थियो । गहिरो अतल कुण्डका स्वर्गदूत तिनीहरूका राजाजस्तै थिए । हिब्रू भाषामा त्यसको नाउँ एबाड्डोन थियो र ग्रिक भाषामा त्यसको नाउँ अपोल्लियोन थियो । पहिलो विपत्ति बितिहाल्यो । हेर, यसपछि दुईवटा विपत्ति आउन बाँकी नै छन् ।
”छैटौँ स्वर्गदूतले आफ्नो तुरही फुके । मैले परमेश्वरको अगाडि भएको सुनको वेदीका सिङहरूबाट एउटा आवाज आइरहेको सुने । तुरही बोक्ने छैठौँ स्वर्गदूतलाई आवाजले यसो भन्यो, “ठुलो नदी यूफ्रेटिसमा बाँधिराखेका चार जना स्वर्गदूतलाई छोडिदेऊ ।” मानव-जातिको एक-तिहाइ भागलाई मार्न त्यस घडी, त्यस दिन, त्यस महिना, त्यस वर्षका निम्ति तयार पारिराखेका चार स्वर्गदूत छाडिए । घोडामा सवार भएका सिपाहीहरूको सङ्ख्या बिस करोड थियो । मैले तिनाहरूको सङ्ख्या सुनेँ । यसरी मैले दर्शनमा घोडाहरू र ती घोडाहरूमाथि सवार हुनेहरूलाई देखेँ । तिनीहरूका छाती-पाता आगोजस्तै रातो, गाडा निलो र गन्धकजस्तो पहेँलो थियो । घोडाहरूका टाउका सिंहहरूका टाउकाजस्तै थिए, अनि तिनीहरूका मुखबाट आगो, धुवाँ र गन्धक निस्कन्थे । तिनीहरूका मुखबाट निस्केका आगो, धुवाँ र गन्धकको यी विपत्तिहरूद्वारा मानिसको एक-तिहाइ भागलाई मारियो । किनभने घोडाहरूको शक्ति तिनीहरूका मुख र पुच्छरमा थियो, किनकि तिनीहरूका पुच्छर सर्पको जस्तै थियो; तिनीहरूका टाउकोले हानेर मानिसहरूलाई चोट पुर्याएका थिए । बाँकी रहेका मानव-जाति जो यी विपत्तिहरूद्वारा मारिएका थिएनन्, तिनीहरूले आफूले गरेका कामहरूबाट पश्चात्ताप गरेनन् । तिनीहरूको सुन, चाँदी, काँसा, ढुङ्गा र काठहरू अनि देख्न, सुन्न वा हिँड्न नसक्ने थोकहरूका मूर्तिहरू र भूतहरूलाई पुज्न छोडेनन्; न त तिनीहरूले गरेको हत्या, जादुगरी, अनैतिक यौन वा चोरीजस्ता कामदेखि पश्चात्ताप गरे ।
”त्यसपछि मैले स्वर्गबाट अर्को शक्तिशाली स्वर्गदूत आइरहेको देखेँ । तिनलाई बादलले घेरेको थियो, र तिनको शिरमाथि इन्द्रेणी थियो । तिनको अनुहार सूर्यजस्तै अनि तिनका खुट्टा आगोका खाँबाहरूजस्तै थिए । तिनको हातमा खोलिएको एउटा सानो चर्मपत्रको मुट्ठो थियो, र तिनले आफ्नो दाहिने खुट्टा समुद्रमा र आफ्नो देब्रे खुट्टा पृथ्वीमा राखेका थिए । त्यसपछि तिनी सिंह गर्जेजस्तै ठुलो सोरमा कराए । जब तिनी कराए, तब सातवटा गर्जनले आफ्नो आवाज निकाले । जब ती सातवटा गर्जनले आवाज निकाले, तब मैले लेख्नै लागेको थिएँ । तर मैले स्वर्गबाट यसो भनेको आवाज सुनेँ, “ ती सातवटा गर्जनले भनेका कुरा गुप्त राख । यसलाई नलेख ।” तब मैले स्वर्गतिर आफ्नो दाहिने हात उचालेर समुद्र र पृथ्वीमा उभिरहेको स्वर्गदूतलाई देखेँ । त्यसपछि सदासर्वदा जीवित रहनुहुने, जसले स्वर्ग र त्यसमा भएका सबै थोक, पृथ्वी र त्यसमा भएका सबै थोक, समुद्र र त्यसमा भएका थोक सृष्टि गर्नुहुनेको नाउँमा शपथ खाएर स्वर्गदूतले भने, “अब त्यहाँ ढिलो हुनेछैन । तर त्यस दिन सातौँ स्वर्गदूतले आफ्नो तुरही फुक्नै लाग्दा त्यस दिनमा उहाँका सेवक अगमवक्ताहरूलाई घोषणा गर्नुभएजस्तै त्यो रहस्य परमेश्वरले पुरा गर्नुहुनेछ ।”
”तब स्वर्गबाट मैले सुनेको आवाजले फेरि मलाई भन्यो, “जाऊ, समुद्र र जमिनमा उभिरहेका स्वर्गदूतको हातमा भएको खुल्ला चर्मपत्रको मुट्ठो लेऊ ।” जब म स्वर्गदूतकहाँ गएँ र त्यो सानो चर्मपत्रको मुट्ठो मागे, तब तिनले मलाई भने, “चर्मपत्रको मुट्ठो लाऊ र खाऊ । यसले तिम्रो पेटलाई तितो बनाउनेछ, तर तिम्रो मुखमा यो महजस्तै गुलियो हुनेछ ।” मैले स्वर्गदूतको हातबाट त्यो सानो चर्मपत्रको मुट्ठो लिएँ र त्यसलाई खाएँ । मेरो मुखमा त्यो महजस्तै गुलियो भयो, तर मैले यसलाई खाइसकेपछि मेरो पेट तितो भयो । अनि मलाई कसैले भन्यो, “धेरै मनिसहरू, जातिहरू, भाषाहरू र राजाहरूको बारेमा तिमीले फेरि अगमवाणी गर्नुपर्छ ।”
”मलाई नाप्ने निगालोको एउटा टाँगो दिइयो । “उठ र परमेश्वरको मन्दिर र वेदी, र जसले त्यसमा आराधना गर्दछन् तिनीहरूको नाप लेऊ भनी मलाई भनियो । तर मन्दिरदेखि बाहिर चोकको भागलाई ननाप, किनभने त्यो गैरयहूदीहरूलाई दिइएको छ । तिनीहरूले बयालिस महिनासम्म पवित्र सहरलाई कुल्चनेछन् । मेरा दुई साक्षीलाई म १,२६० दिनका निम्ति भाङ्ग्राको लुगा लगाएर अगमवाणी गर्न अधिकार दिनेछु ।” यी साक्षीहरू दुईवटा जैतुनका रुखहरू र दुईवटा सामदानहरू हुन्, जो पृथ्वीमा परमेश्वरको अगि उभिएका थिए । यदि कसैले तिनीहरूलाई हानि गर्न चाहन्छ भने, तिनीहरूका मुखबाट निस्केर आउने आगोले तिनीहरूका शत्रुहरूलाई नाश पार्नेछ । कसैले तिनीहरूलाई हानि गर्न चाहन्छ भने, त्यसलाई पनि यसरी नै मारिनुपर्छ । यी साक्षीहरूसँग अगमवाणी गरेको समयमा पानी नपरोस् भनी आकाश बन्द गर्ने अधिकार थियो । यी साक्षीहरूले पानी पार्न सक्ने सम्मको अधिकार उनीहरूको अगमवाणीको समयमा पाएका थिए । पानीलाई रगतमा परिवर्तन गर्न सक्ने र पृथ्वीलाई विभिन्न प्रकारका विपत्तिहरूबाट तिनीहरूलाई इच्छा लागेको बेलामा प्रहार गर्ने शक्ति तिनीहरूसित थियो ।
”जब तिनीहरूले आफ्ना गवाही सिद्ध्याउनेछन्, तब अतल कुण्डबाट निस्केर आउने पशुले तिनीहरूको विरुद्धमा युद्ध गर्नेछ । त्यसले तिनीहरूलाई जित्नेछ र तिनीहरूलाई मार्नेछ । तिनीहरूका मृत शरीरहरू ठुलो सहरको बाहिर गल्लितिर पस्रिरहनेछन् जहाँ तिनीहरूका प्रभु क्रुसमा टाँगिनुभएको थियो । किनकि साँढे तिन दिनसम्म हरेक राष्ट्र, जाति, भाषा र मानिसहरूले तिनीहरूका मृत शरीरलाई हेर्नेछन् । तिनीहरूले तिनीहरूलाई चिहानमा गाड्न अनुमति दिनेछैनन् । पृथ्वीमा जिउनेहरू तिनीहरूको मृत्युमा आनन्दित हुनेछन् र उत्सव मनाउनेछन् । तिनीहरूले एक-अर्कालाई उपहारहरू पनि पठाउनेछन् किनभने ती दुई अगमवक्ताले पृथ्वीमा जिउनेहरूलाई सताएका थिए ।
”तर साँढे तिन दिनपछि परमेश्वरबाट आएको जीवनको सास तिनीहरूभित्र पस्नेछ र तिनीहरू आफ्ना खुट्टामा उभिनेछन् । तिनीहरूलाई देख्नेहरू ठुलो डरले भरिनेछ । तब तिनीहरूलाई स्वर्गबाट एउटा ठुलो आवाजले “यतामाथि आओ” भनेको तिनीहरूले सुन्नेछन् । अनि तिनीहरूका शत्रुहरूले हेर्दाहेर्दै तिनीहरू बादलमाथि स्वर्गसम्मै जानेछन् । त्यसै घडीमा त्यहाँ ठुलो भूकम्प जानेछ, र सहरको दसौँ भाग पूर्ण रूपमा विनाश हुनेछ । त्यस भूकम्पमा सात हजार मानिस मारिनेछन् र बाँचेकाहरूले डराउँदै स्वर्गका परमेश्वरलाई महिमा दिनेछन् । दोस्रो विपत्ति बितिगयो । हेर, तेस्रो विपत्ति चाँडै आउँदै छ ।
”तब सातौँ स्वर्गदूतले आफ्नो तुरही फुके, र स्वर्गमा ठुलो स्वरमा यसो भनियो, “संसारको राज्य हाम्रा प्रभु र उहाँका ख्रीष्टको राज्य भएको छ । उहाँले सदासर्वदा राज्य गर्नुहुनेछ ।” त्यसपछि चौबिस जना धर्म-गुरु जो तिनीहरूको सिंहासनअगि आ-आफ्ना आसनमा परमेश्वरको उपस्थितिमा घोप्टो परेर अनुहार निहुराएर बसिरहेका थिए, तिनीहरूले परमेश्वरको आराधना गरे । तिनीहरूले भने, “सर्वशक्तिमान् परमप्रभु परमेश्वर हामी तपाईंलाई धन्यवाद दिन्छौँ, जो हुनुहुन्छ र जो हुनुहुन्थ्यो, किनकि तपाईंले महान् शक्ति लिनुभएको छ र राज्य गर्न थाल्नुभएको छ । संसारका राष्ट्रहरू क्रोधित भएका थिए, तर तपाईंको क्रोध आएको छ । मृतकहरूको न्याय गर्ने समय आएको छ, र तपाईंका दास अगमवक्ताहरू सन्तहरू, जो विश्वासीहरू हुन्, र जो तपाईंको नाउँमा डराउँछन्, महत्त्वहीन र शक्तिशाली दुवैलाई इनाम दिने समय र पृथ्वीलाई नाश गर्नेहरूलाई नाश गर्ने समय आएको छ ।” तब स्वर्गमा परमेश्वरको मन्दिर खोलियो र मन्दिरभित्रै उहाँको करारको सन्दुक देखियो । त्यहाँ ज्योतिका चमकहरू, गर्जनहरू, चट्याङको आवाजसाथै भूकम्प गयो, र ठुला-ठुला असिना परेका थिए ।
”स्वर्गमा एउटा ठुलो चिह्न देखियोः सूर्य पहिरेकी तथा चन्द्रमालाई आफ्नो पैतलामुनि कुल्चेकी स्त्रीले बाह्रवटा तारा भएको मुकुटलाई पहिरेकी थिई । त्यो गर्भवती थिई, र बालक जन्माउने प्रसव-वेदनामा चिच्च्याइरहेकी थिई । त्यसपछि स्वर्गमा अर्को चिह्न देखियोः हेर! त्यहाँ ठुलो रातो सातवटा टाउका र दसवटा सिङ र त्यसको टाउकोमा सातवटा मुकुट लगाएको एउटा ठुलो रातो पशु थियो । त्यसको पुच्छरले स्वर्गमा भएको एक-तिहाइ तारालाई सोहोरेर तिनीहरूलाई पृथ्वीमा खसाल्यो । बालक जन्माउन लागेकी त्यस स्त्रीको अगि त्यो डरलाग्दो पशु उभियो ताकि त्यसले त्यसको बालकलाई जन्माउने बित्तिकै निल्न सकोस् । त्यसले एउटा बालकलाई जन्माई, जसले फलामको लौरोसँगै सबै जातिमाथि शासन गर्नेछ । त्यसको बालकलाई खोसेर परमेश्वर र उहाँको सिंहासनतिर लगियो । अनि त्यो स्त्री उजाड-स्थानभित्र भागी, जहाँ परमेश्वरले त्यसको निम्ति ठाउँ तयार पार्नुभएको थियो, ताकि बाह्र सय साठी दिनसम्म त्यसलाई हेरचाह गर्न सकियोस् ।
”अब स्वर्गमा युद्ध भयो । मिखाएल र तिनका दूतहरूले त्यस पशुको विरुद्धमा लडाइँ गरे, अनि अजिङ्गर र त्यसका दूतहरूले पनि लडाइँ गरे । तर जित्नका निम्ति त्यो अजिङ्गरसँग पर्याप्त बल थिएन । त्यसकारण, स्वर्गमा त्यसको र त्यसका दूतहरूका निम्ति कुनै ठाउँ भएन । त्यो ठुलो अजिङ्गर अर्थात् प्राचीन सर्प जसलाई दुष्ट वा शैतान भनिन्थ्यो, जसले सारा संसारलाई छल गर्छ, त्यसलाई पृथ्वीमा फ्याँकियो र त्यसका दूतहरूलाई पनि त्यससँगै पृथ्वीमा फ्याँकियो । तब मैले स्वर्गमा एउटा ठुलो आवाज सुनेँः “अब मुक्ति, शक्ति, हाम्रा परमेश्वरको राज्य, ख्रीष्टको अधिकार आएका छन् । किनभने हाम्रा भाइहरूलाई दोष लगाउने फ्याँकिएको छ, जसले परमेश्वरको सामु तिनीहरूलाई दिनरात दोष लगाउँथ्यो । तिनीहरूले त्यसलाई थुमाको रगतद्वारा र वचनको साक्षीद्वारा जिते, किनकि तिनीहरूले मृत्युसम्मै पनि आफ्नो जीवनलाई प्रेम गरेनन् । त्यसकारण, हे स्वर्ग र त्यसमा रहनेहरू तिमीहरू सबै रमाओ । तर पृथ्वी र समुद्रलाई धिक्कार! किनकि शैतान तिमीहरूकहाँ तल गएको छ । त्यो डरलाग्दो रिसले भरिएको छ, किनभने त्योसँग थोरै मात्र समय छ भनेर त्यसलाई थाहा छ ।
”आफू पृथ्वीमा फ्याँकिएको कुरा जब अजिङ्गरले महसुस गर्यो, तब त्यसले बालक जन्माउने स्त्रीलाई सतायो । अनि सर्पको उपस्थितिबाहिर तयार पारेको ठाउँ उजाड-स्थानमा उडेर जानका निम्ति त्यस स्त्रीलाई एउटा ठुलो गरुडको दुइवटा पखेटा दिइयो । यो त्यही ठाउँ थियो जहाँ त्यसलाई एक समय, समयहरू र आधा समयका निम्ति वास्ता गर्न सकिन्थ्यो । त्यस स्त्रीलाई बाढीले बगाएर टाढा लैजाओस् भनेर त्यस सर्पले आफ्नो मुखबाट पानीको नदिजस्तै निकाल्यो । तर पृथ्वीले स्त्रीलाई सहायता गर्यो । अजिङ्गरले आफ्नो मुखबाट निकालेको नदी पृथ्वीले आफ्नो मुख उघारेर निल्यो । त्यसपछि त्यो अजिङ्गर स्त्रीप्रति क्रोधित भयो अनि परमेश्वरको आज्ञा पालन गर्ने र येशूको बारेमा गवाही दिने त्यसका बाँकी रहेका सन्तानहरूसँग युद्ध गर्न गयो । तब त्यो अजिङ्गर समुद्र किनारको बालुवामाथि उभियो ।
”त्यसपछि मैले समुद्रबाट एउटा पशु आइरहेको देखेँ । त्यसको दसवटा सिङ र सातवटा टाउका थिए । त्यसका सिङहरूमाथि दसवटा मुकुट थिए, र हरेक टाउकामाथि ईश्वर-निन्दाका नाउँहरू थिए । मैले देखेको त्यो पशु चितुवाजस्तै थियो । त्यसका खुट्टाहरू भालुका जस्ता थिए, र त्यसको मुख सिंहको जस्तो थियो । त्यसलाई शासन गर्नको निम्ति एउटा अजिङ्गरले आफ्नो शक्ति, आफ्नो सिंहासन र आफ्नो महान् अधिकार दियो । त्यो पशुको टाउकामा गहिरो चोट थियो, जसले मृत्युसम्म लैजान सक्थ्यो, तर त्यो घाउ निको भयो । र सारा पृथ्वी अचम्मित भयो र तिनीहरूले त्यस पशुलाई पछ्याए । तिनीहरूले अजिङ्गरको पनि आराधना गर्दथे, किनकि त्यसले आफ्नो अधिकार त्यस पशुलाई दिएको थियो । “यो पशुजस्तो अरू को छ र?” र “यसको विरुद्धमा कसले लडाइँ गर्न सक्छ र?” भन्दै तिनीहरूले त्यस पशुलाई आराधना गरे । त्यसको मुखमा घमण्डका वचनहरू बोल्न र ईश्वर-निन्दा गर्ने वचनहरू बोल्न दिइयो । त्यसलाई बयालिस महिनाको निम्ति अधिकार गर्न अनुमति दिइएको थियो । त्यसैले, परमेश्वरको विरुद्ध ईश्वर-निन्दा गर्न, उहाँको नाउँ, उहाँको वासस्थान र स्वर्गमा बस्नेहरूका विरुद्धमा निन्दा गर्न त्यस पशुले आफ्नो मुख खोल्यो ।
”विश्वासीहरूसँग युद्ध गर्न र तिनीहरूलाई जित्न त्यो पशुलाई अनुमति दिइएको थियो । अनि हरेक जाति, मानिस, भाषा, र राष्ट्रमाथि पनि अधिकार दिइएको थियो । पृथ्वीमा बस्ने सबै मानिसले त्यो पशुको पुजा गर्नेछन्, जसको नाउँ संसारको सृष्टिदेखि नै मारिनुभएका थुमाको जीवनको पुस्तकमा लेखिएका छैनन् । कसैको कान छ भने, त्यसले सुनोस् । कसैलाई कैदमा लैजानुछ भने, त्यो कैदमा जानेछ । यदि कोही तरवारसँगै मारिनुछ भने, त्यो तरवारले नै मारिनेछ । धैर्य, सहनशिलता, र विश्वासका निम्ति जो पवित्र छन् यसैका निम्ति यहाँ बोलावट छ ।
”तब मैले पृथ्वीबाट आइरहेको अर्को पशु देखेँ । त्यसका थुमाका जस्ता दुईवटा सिङ थिए, र त्यसले अजिङ्गरले जस्तै गरी बोल्यो । त्यसले पहिले पशुको उपस्थितिमा सबै शक्तिको अभ्यास गर्यो, अनि पृथ्वी र त्यहाँ बस्ने मानिसहरूलाई त्यसले पहिले पशुलाई पुजा गर्न लगाउँथ्यो, जसको घातक घाउ निको भएको थियो । त्यसले शक्तिशाली आश्चर्यकर्म पनि देखायो । त्यसले मानिसहरूका अगाडि स्वर्गबाट पृथ्वीमा आगो झार्ने कामसमेत गर्यो । शक्तिशाली चिह्नहरूद्वारा यसलाई त्यसो गर्ने अनुमति दिइयो । दोस्रो पशुले पृथ्वीमा भएका मानिसहरूलाई छल गर्यो । त्यसले पहिलो पशुलाई आदर गर्नका निम्ति तिनीहरूलाई त्यसको एउटा मूर्ति बनाउन लगायो । त्यस पशुलाई तरवारको चोट लागेको थियो, तरै पनि त्यो जीवित भयो । त्यसलाई त्यो पशुको मूर्तिलाई जीवित पार्ने अनुमति दिइयो, जसले गर्दा त्यो मूर्तिले बोल्न सकोस् र त्यस पशुको मूर्तिलाई पुजा गर्न इन्कार गर्नेहरू मारिन सकून् ।
”अनि त्यसले शक्तिशाली र महत्त्वहीन, धनी र गरिब, स्वतन्त्र र कमारा हरेकलाई दाहिने हात वा निधारमा चिह्न लगाउन दबाब दियो । त्यो पशुको चिह्न नभएकाहरूका निम्ति किन्न वा बेच्न असम्भव हुन्थ्यो । त्यो पशुको चिह्नले त्यसको नाउँको सङ्ख्यालाई प्रतिनिधित्व गर्दछ । यसले बुद्धिको आव्हान गर्छ । कसैसँग अन्तर्दृष्टि छ भने, त्यसले पशुको सङ्ख्या हिसाब गरोस् । किनकि त्यो सङ्ख्या मानव-जातिको निम्ति हो । यो सङ्ख्या ६६६ हो ।
”मैले सियोन पर्वतमा थुमा उभिरहनुभएको हेरेँ र देखेँ । उहाँसँग १,४४, ००० थिए, जोसँग उहाँको नाउँ र उहाँका पिताको नाउँ तिनीहरूका निधारमा लेखिएका थिए । मैले धेरै पानीको आवाजजस्तै र ठुलो गर्जनको आवाजजस्तो स्वर्गबाट आएको एउटा सोर सुनेँ । मैले सुनेको त्यो आवाज वीणा बजाउनेहरूले आफ्ना वीणाहरू बजाइरहेका सोरजस्तो थियो । धर्म-गुरुहरू, चार जीवित प्राणीहरू र सिंहासनका अगाडि तिनीहरूले एउटा नयाँ गीत गाए । पृथ्वीबाट ल्याइएका १,४४, ००० बाहेक अरू कसैले पनि त्यो गीत सिक्न सक्दैनथ्यो । यिनीहरू जसले आफैलाई स्त्रीहरूसित लसपस गरेका थिएनन्, किनकि तिनीहरूले अनैतिकतादेखि आफूलाई शुद्ध राखेका थिए । यी तिनीहरू हुन्, जो थुमा जहाँ-जहाँ जानुहुन्छ तिनीहरूले उहाँलाई त्यता-त्यता पछ्याउँछन् । परमेश्वर र थुमाका निम्ति यिनीहरू पहिलो फलको रूपमा मानव-जातिबाट ल्याइएकाहरू हुन् । तिनीहरूका मुखमा कुनै झुट पाइएन; तिनीहरू दोषरहित थिए ।
”तब मैले अर्को स्वर्गदूतलाई आकाशको बिचमा उडिरहेको देखेँ; पृथ्वीमा बस्ने हरेक जाति, कुल, भाषा, र मानिसलाई सुसमाचार घोषणा गर्न तिनीसँग अनन्त सन्देश थियो । तिनले चर्को सोरसँग कराएर भने, “परमेश्वरसँग डराओ र उहाँलाई महिमा देऊ । किनकि उहाँको इन्साफको घडी आएको छ । उहाँलाई आराधना गर, जसले स्वर्ग, पृथ्वी, समुद्र र पानीका मुलहरू बनाउनुभयो ।” अर्को दोस्रो स्वर्गदूतले यसो भन्दै पछ्याए, “पतन, महान् बेबिलोनको पतन भएको छ, जसले त्यसको अनैतिक कुवासनाको मद्य सबै जातिलाई पिउन लगाई ।”
”अनि अर्को तेस्रो स्वर्गदूतले चर्को सोरमा यसो भन्दै तिनीहरूलाई पछ्याए, “यदि कसैले त्यस पशु र उसको मूर्तिलाई पुजा गर्दछ, र निधारमा वा उसको हातमा छाप लगाँउछ भने, उसले पनि परमेश्वरको क्रोधबाट केही मद्य पिउनेछ, जुन उहाँको क्रोधको कचौरामा खन्याइएको छ । जसले यो पिउँछ त्यसलाई परमेश्वरका पवित्र स्वर्गदूतहरू र थुमाको अगाडि आगो र गन्धकमा यातना दिइनेछ । तिनीहरूको वेदनाबाट धुवाँ सदासर्वदाका निम्त माथितिर जान्छ; पशु र त्यसको मूर्ति पूज्नेहरू र त्यसको नाउँको छाप लिनेहरूले दिन वा रातमा कहिल्यै विश्राम पाउनेछैनन् । पवित्रहरूको धैर्यका निम्ति यहाँ एउटा बोलावट छ, जसले परमेश्वरको आज्ञा पालन गर्दछन् र येशूमा विश्वास राख्छन् ।”
”मैले स्वर्गबाट यसो भनेको एउटा सोर सुनेँ, “यो लेखः प्रभुमा मर्नेहरू धन्यका हुन् ।” “हो,” आत्मा भन्नुहुन्छ, “ताकि तिनीहरूले आफ्नो परिश्रमबाट विश्राम पाउन सकून्, किनकि तिनीहरूका कामले तिनीहरूलाई पछ्याउनेछन् ।”
”मैले हेरेँ र त्यहाँ एउटा सेतो बादल थियो, बादलमाथि बस्नुभएको एक जना मानिसका पुत्रजस्तैलाई देखेँ । उहाँको शिरमा एउटा सुनको मुकुट र उहाँको हातमा धारिलो हँसिया थियो । त्यसपछि अर्को स्वर्गदूत मन्दिरबाट बाहिर आए र बादलमाथि बस्नुहुनेलाई चर्के सोरसँग बोलाएः “तपाईंको हँसिया लिनुहोस् र कटनी गर्न सुरु गर्नुहोस् । किनभने कटनीको समय आएको छ, किनकि पृथ्वीको बाली पाकिसकेको छ ।” तब बादलमाथि बस्नुहुनेले आफ्नो हँसिया पृथ्वीमाथि चलाउनुभयो, र पृथ्वीमा कटनी भयो ।
”स्वर्गमा भएको मन्दिरबाट अर्को स्वर्गदूत बाहिर आए; तिनीसँग पनि एउटा धारिलो हँसिया थियो । अझ अर्को स्वर्गदूत धूप वेदीबाट आए, जोसँग आगोमाथि अधिकार थियो । जोसित धारिलो हँसिया थियो, उनलाई उहाँले चर्को सोरले बोलाउनुभयो, “तिम्रो धारिलो हँसिया चलाऊ र पृथ्वीका अङ्गुरहरूको झुप्पालाई जम्मा गर, किनभने तिनीहरूका अङ्गुरहरू पाकिसकेका छन् ।” ती स्वर्गदूतले आफ्नो हँसिया पृथ्वीमा चलाए र पृथ्वीका अङ्गुरको फसल जम्मा गरे । परमेश्वरको क्रोधको ठुलो दाख कोलभित्र फालिदिए । सहर बाहिरबाट दाखको कोल भरियो र घोडाको लगामको उच्चाइसम्म रगत पोखियो, किनकि यो १,६०० किलोमिटरसम्म फैलिएको थियो ।
”तब मैले अर्को अचम्म र शक्तिशाली चिह्न स्वर्गमा देखेः त्यहाँ सात जना स्वर्गदूतले सातवटा विपत्ति लिएका थिए जुनचाहिँ अन्तिम विपत्तिहरू थिए, किनकि तिनीहरूमा परमेश्वरको क्रोध पुरा भएको थियो ।
”मैले आगोसँग मिसिएको काँचको समुद्रजस्तो केही देखा परेको देखेँ । त्यहाँ समुद्रको छेउमा पशु, त्यसको मूर्ति र नाउँको सङ्ख्यामाथि प्रतिनिधित्व गर्दै विजय पाउनेहरू उभिएका थिए । परमेश्वरले दिनुभएको वीणा तिनीहरूले पक्रिरहेका थिए । तिनीहरूले परमेश्वरका दास मोशा र थुमाको गीत गाइरहेका थिएः “हे सर्वशक्तिमान् परमप्रभु परमेश्वर, तपाईंका कामहरू महान् र आश्चर्यपूर्ण छन् । हे जातिहरूका राजा, तपाईंका मार्गहरू न्यायी र सत्य छन् । हे प्रभु, तपाईंको नाउँको महिमा कसले गर्दैन र? तपाईंसँग को डराउँदैन? किनकि तपाईं मात्र पवित्र हुनुहुन्छ । सबै जाति आएर तपाईंको अगाडि आराधना गर्छन् किनभने तपाईंका धार्मिक कार्यहरू प्रकट गरिएका छन् ।
”यी कुरापछि मैले हेरँ, र स्वर्गमा गवाहीको पालको मन्दिर उघारियो । सुतीको चम्किलो पोशाक लगाएर र सुनको फित्ता छातीको वरिपरि लगाएर सात जना स्वर्गदूत सातवटा विपत्ति लिएर महा-पवित्रस्थानबाट बाहिर आए । चार जीवित प्राणीमध्ये एउटाले सदाकाल जिउनुहुने परमेश्वरको क्रोधले भरिएको सुनका सातवटा कचौरा ती स्वर्गदूतहरूलाई दिए । परमेश्वरको महिमा र उहाँको शक्तिले मन्दिर धुवाँले भरिएको थियो । ती सात स्वर्गदूतका सातवटा विपत्ति पुरा नहुञ्जेलसम्म कोही पनि त्यसभित्र पस्न सकेन ।
”मन्दिरदेखि आएको एउटा चर्को सोरले सात जना स्वर्गदूतलाई यसो भनेर बोलाएको मैले सुनेँ, “जाऊ र परमेश्वरको क्रोधका सातवटा कचौरा पृथ्वीमा खन्याओ ।”
”पहिलो स्वर्गदूत गए र आफ्नो कचौरा पृथ्वीमा खन्याए । त्यस पशुको छाप हुने र त्यसको मूर्तिलाई पुजा गर्ने मानिसहरूलाई घिनलाग्दा र पीडादायी घाउहरू आए ।
”दोस्रो स्वर्गदूतले आफ्नो कचौरा समुद्रमा खनाए । अनि यो मरेको मानिसको रगतजस्तो भयो, र समुद्रमा भएका हरेक जीवित प्राणीहरू मरे ।
”तेस्रो स्वर्गदूतले आफ्नो कचौरा नदी र पानीका मूलहरूभित्र खन्याए, र ती रगत भए । पानीको स्वर्गदूतले यसो भनेको मैले सुनेँ, “तपाईं धर्मी हुनुहुन्छ, जो हुनुहुन्छ, हुनुहुन्थ्यो, र पवित्र जन हुनुहुन्छ, किनकि यी कुराहरूलाई तपाईंले न्याय गर्नुभयो । किनभने तिनीहरूले विश्वासी र अगमवक्ताहरूको रगत बगाएका छन्, तपाईंले तिनीहरूलाई रगत पिउन दिनुभयो, तिनीहरू यसैको योग्य छन् ।” वेदीले जवाफ दिएको मैले सुनेँ, “हो, सर्वशक्तिमान् परमप्रभु परमेश्वर, तपाईंका न्याय सत्य र धार्मिक छन् ।”
”चौथो स्वर्गदूतले आफ्नो कचौरा सूर्यमा खन्याए, र त्यसलाई मानिसहरूलाई आगोले डढाउने अनुमति दिइएको थियो । तिनीहरू प्रचण्ड तापद्वारा डढे, र तिनीहरूले यस विपत्तिहरूमाथि शक्ति भएका परमेश्वरको नाउँको निन्दा गरे । तिनीहरूले पश्चात्ताप गरेनन् वा उहाँलाई महिमा दिएनन् ।
”पाँचौँ स्वर्गदूतले आफ्नो कचौरा त्यस पशुको सिंहासनमा खन्याए, र त्यसको राज्यलाई अन्धकारले ढाक्यो । तिनीहरूले कष्टमा आ-आफ्नो जिब्रो चपाए । तिनीहरूका पीडा र घाउहरूका कारण स्वर्गका तिनीहरूले परमेश्वरको नाउँको निन्दा गरे, र अझै पनि तिनीहरूले गरेका कामबाट पश्चात्ताप गर्न तिनीहरूले इन्कार गरे ।
”छैटौँ स्वर्गदूतले आफ्नो कचौरा महानदी यूफ्रेटिसमा खन्याए । पूर्वबाट आउनुहुने राजाहरूका निम्ति बाटो तयार गर्न त्यो नदीको पानी सुक्यो ।
”मैले अजिङ्गर, पशु र झुटो अगमवक्ताका मुखहरूबाट भ्यागुताजस्ता तिनवटा अशुद्ध आत्मा बाहिर निस्किरहेको देखेँ । किनकि तिनीहरू दुष्टका आत्माहरू थिए जसले आश्चर्यपूर्ण चिह्नको प्रदर्शन गर्दछन् । तिनीहरू सारा संसारका राजाहरूकहाँ गएर सर्वशक्तिमान् परमेश्वरको महान् दिनको युद्धका लागि तिनीहरूलाई सँगसँगै भेला गर्छन् । “हेर, म एउटा चोरजस्तै गरेर आउनेछु; धन्य हो त्यो मानिस जो जागा रहन्छ, जसले आफ्ना वस्त्रहरू राख्तछ, ताकि ऊ नाङ्गै बाहिर जान नपरोस् र तिनीहरूले उसको लाजमर्दो अवस्था देख्न नपरोस् ।” तिनीहरूले उनीहरूलाई एकै ठाउँमा ल्याए जसलाई हिब्रू भाषामा आर-मागेड्डोन भनिन्छ ।
”तब सातौँ स्वर्गदूतले आफ्नो कचौरा हावामा खन्याए । त्यसपछि सिंहासन र मन्दिरबाट यसो भन्दै एउटा चर्को सोर आयो, “सिद्धिएको छ ।” त्यहाँ बिजुलीहरू चम्किए, गर्जन र आवाजहरू र डरलाग्दो भूकम्प गयोः यति डरलाग्दो भूकम्प गयो कि पृथ्वीमा मानिसहरू सृष्टि भएदेखि यति ठुलो भूकम्प कहिल्यै गएको थिएन । त्यो ठुलो नगर तिन भागमा विभाजन भयो, र जातिहरूका सहरहरू नष्ट भए । अनि परमेश्वरले त्यो महान् बेबिलोन भनेर मनमा बोलाउनुभयो, र उहाँको आफ्नो डरलाग्दो क्रोधको मद्यले भरिएको कचौरा त्यस सहरलाई दिनुभयो । हरेक टापु हराएर गयो, र पर्वतहरू फेरि भेट्टाइएनन् । आकाशबाट ठुला-ठुला असिनाहरू मानिसहरूमाथि बर्सेन लागे । असिनाको विपत्तिका कारण तिनीहरूले परमेश्वरलाई सरापे, किनकि त्यो विपत्ति अति नै डरलाग्दो थियो ।
”सातवटा कचौरा लिएका सात जना स्वर्गदूतमध्ये एक जनाले मकहाँ आएर भने, “आऊ, म तिमीलाई धेरै पानीमाथि बसेकी त्यस महावेश्यालाई दिएको दण्डलाई देखाउनेछु । त्यससँग पृथ्वीका राजाहरूले यौन अनैतिकता गरेका छन् । पृथ्वीका बासिन्दाहरू त्यसको यौन अनैतिकताको मद्यले मातेका छन् ।” त्यसपछि स्वर्गदूतले मलाई आत्मामा बोकेर उजाड-स्थानतिर लगे, र निन्दा गर्ने पुरै नाउँहरूले भरिएकी रातो रङको पशुमाथि बसेकी एउटी स्त्रीलाई मैले देखेँ । त्यस जनावरको सातवटा टाउका र दसवटा सिङ थिए । त्यस स्त्रीले बैजनी र रातो चहकिलो पोशाक लगाएकी र सुन, बहुमूल्य मणि र मोतीहरूले सिँगारिएकी थिई । घिनलाग्दा कुराहरू र यौन अनैतिकताका अशुद्ध थोकहरूले भरिएको एउटा सुनको कचौरा त्यसले हातमा समातिरहेकी थिई । एउटा रहस्यको अर्थ भएको नाउँ त्यसको निधारमा लेखिएको थियोः “पृथ्वीमा भएका घिनलाग्दा कुराहरू र वेश्याहरूकी आमा महान् बेबिलोन ।” मैले त्यस स्त्रीले विश्वासीहरूको रगत र येशूको निम्ति सहिद भएकाहरूको रगत पिएर मातेकी देखेँ । जब मैले त्यसलाई देखेँ, तब म सार्है नै चकित भएँ । तर स्वर्गदूतले मलाई भने, “तिमी किन चकित हुन्छौँ? म तिमीलाई त्यो स्त्री र त्यसलाई बोक्ने सातवटा टाउका र दसवटा सिङ भएको पशुको रहस्यको अर्थ बताउनेछु ।
”तिमीले देखेको त्यो पशु अस्तित्वमा थियो र अहिले अस्तित्वमा छैन, तर अगाध खाँदबाट माथि निस्कन लागेको छ । तब यो विनाशतिर जानेछ । पृथ्वीमा जिउनेहरू जसका नाउँ संसारको उत्पत्तिदेखि जीवनको पुस्तकमा लेखिएका छैनन्, तिनीहरू त्यो पशुलाई देखेर चकित पर्नेछन्, किनभने त्यो अस्तित्वमा थियो, अहिले अस्तित्वमा छैन, तर आउनै लागेको छ । यसले बुद्धि भएको मनलाई आव्हान गर्छ । सातवटा टाउका सातवटा डाँडा हुन् जसमाथि त्यो स्त्री बसेकी छे । तिनीहरू सात राजाहरू पनि हुन् । पाँच जना राजा पतन भइसकेका छन्, एक जना अस्तित्वमा छ, र एक जना अहिलेसम्म आएको छैन । जब त्यो आउँछ, तब केही समयका लागि रहन्छ । त्यो पशु अस्तित्वमा थियो, तर अहिले अस्तित्वमा छैन । त्यो आफैँ पनि आठौँ राजा हो, तर ती सात राजामध्ये त्यो एक हो, तर त्यो नष्ट हुन गइरहेको छ । तिमीले देखेका दसवटा सिङ दस जना राजा हुन्, जसले अहिलेसम्म राज्य प्राप्त गरेका छैनन्, तर त्यो पशुसँगै तिनीहरूले एक घण्टाका निम्ति राजाकै अधिकार प्राप्त गर्नेछन् । यिनीहरूको एउटै विचार छ, र तिनीहरूले आफ्नो शक्ति र अधिकार त्यो पशुलाई दिन्छन् ।
”तिनीहरूले थुमाको विरुद्धमा लडाइँ गर्नेछन् । तर थुमाले तिनीहरूलाई जित्नुहुनेछ, किनभने उहाँ प्रभुहरूका प्रभु र राजाहरूका राजा हुनुहुन्छ, र उहाँसँग हुनेहरू बोलाइएका, छानिएका र विश्वासयोग्यहरू हुन् ।” ती स्वर्गदूतले मलाई भने, “तिमीले देखेको पानीमाथि जहाँ त्यो वेश्या बसेकी छे, त्यो पानी मानिसहरू, भिड, जाति र भाषाहरू हुन् ।” तिमीले देखेका दसवटा सिङ र त्यो पशुले त्यो वेश्यालाई घृणा गर्नेछन् । तिनीहरूले त्यसलाई एकलो र नाङगै पारेर त्यसको शरीरलाई सिद्ध्याउनेछन्, र त्यसलाई तिनीहरूले आगोले पूर्ण रूपमा डढाउनेछन् । किनभने परमेश्वरको वचन पुरा नहोउञ्जेलसम्म एउटै मनको भई तिनीहरूले आफ्नो अधिकार त्यो पशुलाई राज्य गर्न दिन उहाँको उद्देश्य पुरा हुनलाई परमेश्वरले यस्तो विचार हलिदिनुभयो । तिमीले देखेको त्यो स्त्री पृथ्वीका राजाहरूमाथि शासन गर्ने महानगरी हो ।”
”यी कुराहरूपछि मैले अर्को स्वर्गदूत स्वर्गबाट तल झरिरहेको देखेँ । उनीसँग ठुलो शक्ति थियो, र उनको महिमाद्वारा पृथ्वी उज्यालो भएको थियो । उनी शक्तिशाली चर्को सोरले यसो भन्दै कराए, “पतन, महान् बेबिलोनको पतन भएको छ, त्यो दुष्ट आत्माहरूका निम्ति एक वासस्थान, हरेक अशुद्ध आत्माका लागि वासस्थान र हरेक अशुद्ध र घृणित चराको एक वासस्थान भएकी छे । किनभने सबै जातिले त्यसको अनैतिक कामवासनाको मद्य पिएका छन् । पृथ्वीका राजाहरूले त्यससँग अनैतिक काम गरेका छन् । त्यसको विलासिताको शक्तिको जीवन यापनबाट पृथ्वीका व्यापारीहरू धेरै धनी भएका छन् ।”
”त्यसपछि मैले स्वर्गबाट यसो भनेको अर्को आवाज सुनेँ, “मेरा मानिसहरू हो, त्यसबाट बाहिर आओ, ताकि तिमीहरू त्यसका पापहरूमा सहभागी बन्नु नपरोस्, र त्यसका कुनै पनि विपत्ति तिमीहरूले भोग्नु नपरोस् । त्यसका पापहरूको थुप्रो स्वर्गजस्तै अग्लो भएको छ, र परमेश्वरले त्यसका दुष्ट कामहरूको सम्झना गर्नुभएको छ । जसरी त्यसले अरूलाई दिएकी थिई, त्यसरी नै त्यसलाई फर्काइदेओ र त्यसले जे गरेकी छे फिर्ता गरिदेओ । त्यसले कचौरामा जे मिसाएकी थिई, त्यसको दोब्बर हुने गरी त्यसलाई देओ । जसरी त्यसले आफैँलाई महिमित तुल्याई र सुखविलासमा जीवन बिताएकी थिई, त्यसरी नै त्यसलाई यातना र शोक देओ । किनभने त्यसले आफ्नो ह्रदयमा भनेकी छे, ‘म रानीजस्तै भएर बसेकी छु, म एक विधवा होइनँ, र मैले कहिल्यै शोक हेर्नुपर्नेछैन ।’ त्यसकारण, त्यसमाथि एकै दिनमा मृत्यु, शोक र अनिकालका विपत्ति आइपर्नेछन् । त्यसलाई आगोद्वारा भस्म पारिनेछ, किनभने परमप्रभु परमेश्वर शक्तिशाली हुनुहुन्छ, र उहाँ त्यसको न्यायकर्ता हुनुहुन्छ ।”
”पृथ्वीका राजाहरूले त्यससँग अनैतिक यौन काम गरे र त्यसले नियन्त्रणदेखि बाहिर गएर बलेको धुवाँ देखेर त्यससँगै रुने र विलाप गर्नेछ । तिनीहरूले त्यसको यातनाको डरलाई देखेर टाढै उभिएर यसो भन्नेछन्, “धिकार, धिकार त्यस महान् सहरलाई, शक्तिशाली सहर बेबिलोन! किनकि एकै घडीमा तेरो न्याय आएको छ ।” पृथ्वीका व्यापारीहरूले त्यसको लागि रुने र विलाप गर्नेछन्, किनकि त्यस समयदेखि कसैले पनि त्यसका सामानहरू किन्नेछैन । सुन, चाँदी, बहुमूल्य पत्थर, मोती, मिहिन सुती कपडा, बैजनी, रेसम, चहकिलो रङ सबै किसिमका सुगन्धित काठ, हरेक प्रकारका हस्तिहाडका भाँडाहरू, हरेक बहुमूल्य काठबाट बनेको भाँडा, काँसा, फलाम, सिङ्गमरमर, तेजपात, मसला, धूप, मूर्र, सुगन्धित धूप, दाखमद्य, तेल, मसिनो पिठो, गहुँ, गाई, भेडा, घोडाहरू र रथहरू, र दासहरू र मानव आत्माहरू । तेरो सबै शक्तिले तैंले चाहेको फल तँबाट गइसकेको छ । तेरा सबै सुखविलास र वैभवहरू गुमेका छन्, ती फेरि कहिल्यै भेटिनेछैनन् । यी सामानका व्यापारीहरू जसले व्यापारद्वारा धन कमाएका थिए, तिनीहरूले त्यसमा परिआउने यातनाको डरले टाढै उभिएर रुने र चर्को गरी विलाप गर्नेछन् । तिनीहरूले भन्नेछन्, “धिकार महान् सहर, तँलाई धिकार, त्यो जसले मलमल, बैजनी र रातो रङको कपडा लगाएर सुन, मोती र बहुमूल्य गहनाहरूले सिँगारिएकी थिइस् । एकै घडीमा सबै सम्पत्ति नष्ट भएका छन् ।” हरेक जहाजको कप्तान, हरेक यात्रा गर्ने मानिस, नाविकहरू र समुद्रमा व्यापार गर्नेहरू टाढै उभिए । त्यो जलेको धुवाँ देखेर तिनीहरू कराए । तिनीहरूले भने, “योजस्तो महान् सहर अरू कुन छ र?” तिनीहरूले आफ्ना टाउकामा धुलो फ्याँकेर रुँदै र कराउँदै विलाप गरे, “धिक्कार, महान् सहरलाई धिक्कार, जहाँ समुद्रमा तिनीहरूका जहाज हुनेहरू त्यसको सम्पत्तिबाट धनी भएका थिए । किनकि एकै क्षणमा त्यो नष्ट पारिएकी छे ।” स्वर्ग, त्यसमाथि आनन्द गर, विश्वासीहरू, प्रेरितहरू र अगमवक्ताहरू, किनकि परमेश्वरले तिमीहरूमाथिको न्याय त्यसमाथि ल्याउनुभएको छ ।” एक जना शक्तिशाली स्वर्गदूतले जाँतोजस्तो एउटा ढुङ्गा उठाए र यसो भन्दै समुद्रमा फाले, “यस प्रकारले बेबिलोन, महान् सहर हिंसात्मक तरिकाले तल खसालिनेछ र त्यसलाई फेरि कहिल्यै देखिनेछैन । वीणाको स्वर, सङ्गीतकारहरू, बाँसुरी बजाउनेहरू र तुरही फुक्नेहरूको धुन तँमा फेरि कहिल्यै सुनिनेछैन । कुनै पनि कारिगर तँमाथि भेटाइनेछैन । कुनै पनि जाँतोको आवाज तँमा कहिल्यै सुनिनेछैन ।
”बत्तीको ज्योति तँमा कहिल्यै चम्कनेछैन । दुलहा र दुलहीको आवाज तँमा कहिल्यै सुनिनेछैन, किनभने तेरा व्यापारीहरू पृथ्वीका राजकुमारहरू थिए, र जातिहरू तेरा टुनामुनाद्वारा छानिएका थिए । त्यसैमा अगमवक्ताहरू र विश्वासीहरूको रगत र पृथ्वीमा मारिएकाहरू सबैको रगत भेटिएको थियो ।”
”यी कुरापछि मैले ठुलो सङ्ख्यामा भएका मानिसहरूले चर्को सोरले स्वर्गमा यस भनिरहेको जस्तो सुनेँ, “हल्लेलूयाह! मुक्ति, महिमा र शक्ति हाम्रा परमेश्वरका हुन् । उहाँको इन्साफ सत्य र न्यायपूर्ण छन् । किनभने उहाँले महान् व्यभिचारीणीलाई इन्साफ गर्नुभएको छ, जसले पृथ्वीलाई त्यसको अनैतिक यौनले भ्रष्ट पारेकी छे । उहाँले आफ्ना दासहरूका रगतको निम्ति बदला लिनुभएको छ, जुन त्यो आफैँले बगाएकी थिई ।” तिनीहरूले दोस्रो चोटि भने, “हल्लेलूयाह! त्यसबाटै सदाकालका निम्ति धुवाँ निस्किरहन्छ ।” चौबिस जना एल्डर र चार जीवित प्राणीहरू आफैँले भुइँसम्मै घोप्टो परेर सिंहासनमा विराजमान हुनुभएका परमेश्वरलाई दण्डवत् गर्दै आराधना गरे । तिनीहरूले “आमेन । हल्लेलूयाह!” भनिरहेका थिए । त्यसपछि सिंहासनबाट यसो भन्ने एउटा आवाज आयो, “तिमीहरू सबै उहाँका दासहरू हौ जसले उहाँको भय मान्दछन्, हाम्रा परमेश्वरको प्रशंसा गर ।” अनि एउटा ठुलो भिडको आवाज जस्तो सोर, धेरै पानीको आवाज र गर्जनजस्तोले “हल्लेलूयाह” भनिरहेको मैले सुनेँ किनभने हाम्रा परमप्रभु सर्वशक्तिमान् परमेश्वरले राज्य गर्नुहुन्छ ।
”हामी आनन्दित होऔँ र खुसी मनाऔँ, र उहाँलाई महिमा दिऔँ किनभने थुमाका विवाहको उत्सव मनाउने दिन आएको छ, उहाँकी दुलहीले आफैँलाई तयार बनाएकी छन् ।” तिनलाई मलमलको वस्त्र लगाउन अनुमति दिइयो, । स्वर्गदूतले मलाई भने, “यो लेखः ‘थुमाको विवाहको भोजमा निमन्त्रणा गरिएकाहरू धन्यका हुन् ।’ उनले मलाई यो पनि भने, ‘यी परमेश्वरका सत्य वचन हुन् ।’ उनलाई आराधना गर्न म उनको खुट्टा अगाडि घोप्टो परेँ, तर उनले मलाई “यसो नगर भन्नुभयो, किनभने म येशूको बारेमा गवाही राख्ने तिम्रा भाइहरू र एक सङ्गी दास मात्र हुँ । परमेश्वरको आराधना गर, किनभने येशूको बारेमा भएको गवाही अगमवाणीका आत्मा हुनुहुन्छ ।”
”तब मैले स्वर्ग खोलिएको देखेँ, र मैले हेरेँ त्यहाँ एउटा सेतो घोडा थियो । त्यसमाथि सवार हुनुहुनेलाई सत्य र विश्वासयोग्य भनिन्थ्यो । उहाँले न्यायपूर्ण रूपमा इन्साफ र युद्ध गर्नुहुन्छ । उहाँका आँखा आगोको ज्वालाजस्ता र उहाँका शिरमा धेरै मुकुट थिए । उहाँमाथि लेखिएको नाउँ उहाँलाई बाहेक अरू कसैलाई थाहा थिएन । उहाँले रगतमा चोबलिएको वस्त्र पहिरिनुभएको थियो, र उहाँको नाउँलाई परमेश्वरको वचन भनेर बोलाइन्थ्यो ।” मलमलका सफा कपडा पहिरिएर स्वर्गका सेनाहरू सेतो घोडामा उहाँलाई पछ्याइरहे । जाति-जातिहरूलाई प्रहार गर्न उहाँको मुखबाट धारिलो तरवार निस्कन्छ, र उहाँले तिनीहरूमाथि फलामको डन्डाले शासन गर्नुहुनेछ । सर्वशक्तिमान् परमेश्वरको क्रोधले दाखको कोललाई कुल्चन्छ । उहाँको पोशाक र तिघ्रामा “राजाहरूका राजा र प्रभुहरूका प्रभु” भनी एउटा नाउँ लेखिएको छ ।
”मैले एउटा स्वर्गदूतलाई सूर्यमा उभिरहेको देखेँ । तिनले माथि उडिरहेका चराहरू सबैलाई ठुलो सोरले बोलाए, “आओ, सबै परमेश्वरको ठुलो भोजका निम्ति भेला होओ । तिमीहरूले राजाहरू, कप्तानहरू, शक्तिशाली मानिसहरू, घोडाहरू र त्यसमाथि सवार हुनेहरू, सबै मानिसहरू, दास र स्वतन्त्र दुवै, कमजोर र शक्तिशाली सबैका मासु खानेछौ ।”
”मैले पशु र पृथ्वीका राजाहरूलाई तिनीहरूका सेनाहरूका साथमा देखेँ । तिनीहरू घोडामाथि सवार हुनुहुने र उहाँका सेनाहरूसँग युद्ध गर्न भेला भएका थिए । उहाँको उपस्थितिमा आश्चर्य कामहरू प्रदर्शन गर्ने झुटा अगमवक्तासँगै त्यो पशु पक्राउ पर्यो । यी चिह्नद्वारा त्यो झुटा अगमवक्ताले त्यस पशुको छाप लगाउने र त्यसको प्रतिरूपको आराधना गर्नेहरूलाई छल गर्यो । तिनीहरूमध्ये दुई जनालाई बलिरहेको गन्धकको अग्नि-कुण्डमा जिउँदै फालियो । तिनीहरूमध्ये बाँकी रहेकाहरूलाई घोडा सवारको मुखबाट निस्केको तरवारद्वारा मारियो । तिनीहरूको मृत शरीरलाई सबै चराले खाए ।
”तब मैले स्वर्गबाट तल झरिरहेको एउटा स्वर्गदूतलाई देखेँ । उनीसँग अगाध खाँदको साँचो र एउटा ठुलो साङ्लो उनको हातमा थियो । उनले अजिङ्गर अर्थात् त्यो प्राचीन सर्पलाई पक्रे, जो दुष्ट वा शैतान हो । उनले त्यसलाई एक हजार वर्षका निम्ति बाँधे । उनले त्यसलाई अगाद खाँदमा फालिदिए र यसलाई बन्द गरे र त्यसमाथि मोहोर लगाइदिए । एक हजार वर्ष पुरा नभएसम्म त्यसले जाति-जातिहरूलाई छल गर्न नपाओस् भनी यसो गरिएको थियो । त्यसपछि त्यसलाई केही समयका निम्ति स्वतन्त्र गरिनुपर्छ ।
”अनि मैले सिंहासनहरू देखेँ । त्यसमाथि बस्नुहुनेलाई न्याय गर्ने अधिकार दिइएको थियो । मैले परमेश्वरको वचन र येशूको गवाहीका निम्ति शिर काटिएका आत्माहरूलाई पनि देखेँ । तिनीहरूले पशु वा मूर्तिहरूलाई आराधना गरेनन्, र तिनीहरूले आफ्नो निधारमा वा हातमा छाप लगाउनलाई इन्कार गरे । तिनीहरू जीवित भए, र येशूसँगै एक हजार वर्षसम्म राज्य गरे । बाँकी रहेका मृतकहरू हजार वर्षको अन्त्य नभएसम्म जीवित भएनन् । यो पहिलो पुनरुत्थान हो । पहिलो पुनरुत्थानमा सहभागी हुनेहरू जो कोही पनि पवित्र र धन्यका हुन् । यिनीहरूमाथि दोस्रो मृत्युको कुनै शक्ति हुँदैन । तिनीहरूले परमेश्वर र ख्रीष्टका पुजारीहरू भएर एक हजार वर्षसम्म उहाँसँगै राज्य गर्नेछन् ।
”जब एक हजार वर्षको अन्त्य हुन्छ, तब शैतानलाई त्यसको कैदबाट छोडिनेछ । पृथ्वीको चारै कुनामा भएका जातिहरूलाई छल गर्न त्यो बहिर जानेछ, गोग र मागोगले तिनीहरूलाई युद्धका निम्ति सँगै ल्याउनेछन् । तिनीहरू समुद्रको बालुवासरह अनगिन्ती हुनेछन् । तिनीहरू पृथ्वीको चारैतिर गएर विश्वासीहरूको छाउनीवरिपरि र प्रिय सहरलाई घेरे । तर स्वर्गबाट आगो तल झरेर तिनीहरूलाई नष्ट पार्यो ।
”तिनीहरूलाई छल गर्ने त्यस दुष्टलाई गन्धकको जलिरहेको कुण्डमा फालियो, जहाँ पशु र झुटा अगमवक्ता फ्याँकिएका थिए । तिनीहरूले दिनरात सदाकाल यातना भोग्नेछन् ।
”त्यसपछि मैले एउटा महान् सेतो सिंहासन र त्यसमाथि विराजमान हुनुहुनेलाई देखेँ । उहाँको उपस्थितिबाट स्वर्ग र पृथ्वी भागेर टाढा गए, तर तिनीहरूका लागि जान त्यहाँ कुनै ठाउँ थिएन । मैले शक्तिशाली र कमजोर मृतकहरूलाई सिंहासनको अगाडि उभिरहेको देखेँ र पुस्तकहरू खोलिए । तब अर्को पुस्तक अर्थात् जीवनको पुस्तक पनि खोलिएको थियो । ती पुस्तकहरूमा लेखिएका विवरणअनुसार तिनीहरूका कामहरूका आधारमा मृतकहरूको न्याय भयो । समुद्रमा भएका मृतकहरूलाई त्यसले फिर्ता गरिदियो । मृत्यु र पातालले तिनीहरूमा भएका मृतकहरूलाई दिए, र तिनीहरूले गरेका कामअनुसार मृतकहरूको न्याय भयो । मृत्यु र पाताल अग्नि-कुण्डमा फालिए । यो अग्नि-कुण्ड दोस्रो मृत्यु हो । जीवनको पुस्तकमा कसैको नाउँ लेखिएको नभेट्टाइएमा त्यसलाई अग्नि-कुण्डमा फालियो ।
”अनि मैले नयाँ स्वर्ग र नयाँ पृथ्वी देखेँ, किनभने पहिलो स्वर्ग र पहिलो पृथ्वी बितिगए, र समुद्र त छँदै थिएन । तब परमेश्वरबाट दुलहाका लागि दुलहीझैँ सिङ्गारिएर तयार पारिएकी पवित्र सहर, नयाँ यरूशलेम स्वर्गबाट तल झरिरहेको मैले देखेँ ।
”मैले सिंहासनबाट चर्को सोरमा यसो भनेको सुनेँ, “हेर, परमेश्वरको वासस्थान मानव-जातिसँग छ, र उहाँ तिनीहरूसँग बास गर्नुहुनेछ । तिनीहरू उहाँका मानिसहरू हुनेछन्, अनि परमेश्वर आफैँ तिनीहरूसँग हुनुहुनेछ र उहाँ तिनीहरूका परमेश्वर हुनुहुनेछ । उहाँले तिनीहरूका आँखाबाट आँशुका हरेक थोपा पुछिदिनुहुनेछ, र त्यहाँ कुनै मृत्यु हुनेछैन, वा शोक वा विलौना वा कष्ट पनि हुनेछैन । पहिलेका थोकहरू बितेर गएका छन् । सिंहासनमा विराजमान हुनुहुनेले भन्नुभयो, “हेर, म सबै कुरा नयाँ बनाउनेछु ।” उहाँले भन्नुभयो, “यो लेख किनभने यी वचनहरू भरोसायोग्य र सत्य छन् ।” उहाँले मलाई भन्नुभयो, “यी कुराहरू सिद्धिएका छन् । म नै अल्फा र ओमेगा, सुरु र अन्त्य हुँ । जो तिर्खाउँछ उसलाई म सित्तैँमा जीवनको पानी मुहानबाट पिउन दिनेछु । जसले विजय प्राप्त गर्छ, त्यसले यी कुराहरूमाथि उत्तराधिकार गर्नेछ, र म त्यसको परमेश्वर हुनेछ, र ऊ मेरो छोरा हुनेछ । तर डराउनेहरू, अविश्वासीहरू, घिनलाग्दाहरू, हत्याराहरू, यौन-अनैतिकहरू, जादुगरहरू, मूर्तिपूजकहरू र झुट बोल्नेहरूको भाग बलिरहेको आगो र गन्धकको कुण्डमा हुनेछ । त्यो दोस्रो मृत्यु हो ।” अन्तिम सात विपत्तिका कचौराले भरिएका स्वर्गदूतहरूमध्ये एक जना स्वर्गदूत मकहाँ आए, र तिनले भने, “यहाँ आऊ । म तिमीलाई थुमाकी पत्नी दुलही देखाउनेछु ।”
”अनि तिनले मलाई आत्मामा बोकेर एउटा ठुलो अग्लो पर्वतमा लगे र परमेश्वरबाट स्वर्गदेखि तल झरिरहेको पवित्र सहर यरूशलेम मलाई देखाए । यरूशलेममा परमेश्वरको महिमा थियो, र त्यसको चमक बहुमूल्य रत्नहरूजस्तो, मणिक स्फटिक पत्थरको जस्तो थियो । त्यसका बाह्रवटा ढोकासँगै एउटा ठुलो अग्लो पर्खाल थियो, ढोकाहरूमा बाह्र जना स्वर्गदूत थिए । ढोकाहरूमा इस्राएलको सन्तानका बाह्रै कुलका नाउँहरू लेखिएका थिए । पूर्वमा तिनवटा ढोका, उत्तरमा तिनवटा ढोका, दक्षिणमा तिनवटा ढोका र पश्चिममा तिनवटा ढोका थिए । सहरका पर्खालका बाह्रवटा जग थिए, र तीमाथि थुमाका बाह्रै प्रेरितका बाह्रवटा नाउँ थिए । मसँग बोल्नुहुनेसँग सहर र त्यसका पर्खालहरू नाप्नलाई एउटा सुनको नाप्ने लौरो थियो । त्यो सहर वर्गाकार थियो; त्यसको लम्बाइ र चौडाइ उस्तै थिए । त्यस लौरोले सहर नाप्दा त्यो लगभग बाह्र हजार लम्बाइको थियो । तिनले त्यसको पर्खाल पनि नापे, मानिसहरूद्वारा नाप्दा त्यो पैँसट्ठी मिटरको थियो । । पर्खाल बिल्लौर र सहर शुद्ध सुनले सफा काँचजस्तै बनाइएको थियो । पर्खालका जगहरू हर प्रकारका बहुमूल्य पत्थरद्वारा बनाइएका थिए । पहिलो बिल्लौर थियो, दोस्रो निलमणि थियो, तेस्रो हरित थियो, चौथो पन्ना थियो । पाँचौँ आनिक्स थियो, छैटौँ लालमणि थियो, सातौँ पीतमणि थियो, आठौँ बेरूज थियो, नवौँ पुष्पराज थियो, दसौँ लसुने रत्न थियो । एघारौँ नीलमणि थियो, र बाह्रौँ कटेला थियो । बाह्रवटा ढोका बाह्र मोतीका थिए । प्रत्येक ढोका मोतीबाट बनेको थियो । सहरका गल्लीहरू निखुर सुनका थिए, काँचजस्तै छर्लङ्ग देखिन्थे ।
”मैले सहरमा कुनै मन्दिर देखिनँ, किनभने सर्वशक्तिमान् परमप्रभु परमेश्वर र थुमा नै यसको मन्दिर हुनुहुन्छ । सहरलाई उज्यालो पार्न सूर्य वा चन्द्रमाको कुनै आवश्यक थिएन । किनकि परमेश्वरको महिमा नै त्यसमाथि चमक थियो, र त्यसको बत्ती थुमा हुनुहुन्छ । त्यस सहरमा जाति-जातिहरू ज्योतिद्वारा हिँड्नेछन् । पृथ्वीका राजाहरूले आफ्ना वैभव त्यसमा ल्याउनेछन् । यसका ढोकाहरू दिनको समयमा बन्द गरिनेछैनन्, र त्यहाँ रात हुनेछैन । जाति-जातिहरूले आफ्ना गौरव र आदर त्यसभित्र ल्याउनेछन् । र कुनै अशुद्ध थोक कहिल्यै त्यसभित्र पस्न पाउनेछैन, न त लाजमर्दो वा छलपूर्ण काम गर्नहरू त्यहाँ जान पाउनेछन्, तर थुमाको जीवनको पुस्तकमा नाउँ लेखिएकाहरू मात्र त्यहाँ पस्न पाउनेछन् ।
”“हेर, म चाँडै आउँदै छु । हरेकले गरेको काम अनुसारको इनाम मसँग छ ।
”