01 – पवित्र बाइबल

यी सर्वशक्तिमान परमेश्वरका पवित्र वचनहरू हुन्।
हामी मानिसका शब्दहरूमा चासो राख्दैनौं।
परमेश्वरलाई प्रेम गर्ने जो कोहीका लागि... परमेश् वर यसो भन् नुहुन्छ: पवित्र बाइबल.

शीर्ष ३ सबैभन्दा महत्वपूर्ण श्लोकहरू

सम्‍पूर्ण पवित्र-शास्‍त्र परमेश्‍वरबाट भएको हो र यो सिद्धान्तको लागि, दोष देखाउनको लागि, सच्‍याउनको लागि, धार्मिकतामा तालिम दिनको लागि लाभदायक छ,

किनकि म तिमीहरूलाई साँचो रूपमा भन्दछु, कि स्वर्ग र पृथ्वी टलेर नगएसम्म र सबै कुरा पुरा नभएसम्म, व्यवस्थाको एउटै पनि कुरा वा बिन्दु बितेर जानेछैन ।

जसले मलाई इन्कार गर्छ, र मेरा वचनहरू ग्रहण गर्दैन, त्यसको न्याय गर्ने एक जना हुनुहुन्छः मैले बोलेको मेरो वचनले नै अन्त्यको दिनमा त्यसको न्याय गर्नेछ ।

क्यानोनिकल अर्डरमा प्रत्येक पद - 343 खण्डहरू

परमेश्‍वरले उज्यालोलाई हेर्नुभयो, र त्यो असल थियो । उहाँले उज्यालोलाई अन्धकारबाट छुट्‍ट्याउनुभयो ।

परमप्रभु परमेश्‍वरले बनाउनुभएका सबै जङ्गली पशुहरूमध्ये सर्पचाहिँ बढी धूर्त थियो । त्यसले स्‍त्रीलाई भन्यो, “के परमेश्‍वरले साँच्‍चै नै तिमीहरूलाई बगैँचाको कुनै रुखको फल नखानू भनी भन्‍नुभएको छ?”

पृथ्वीका मानिसहरूको दुष्‍टता बढी भएको र तिनीहरूका हृदयका विचारको हरेक भावना निरन्तर खराबै मात्र भएको परमप्रभुले देख्‍नुभयो ।

परमप्रभु मेरा योद्धा हुनुहुन्छ, उहाँको नाउँ परमप्रभु हो ।

मोशा गएर परमप्रभुका वचनहरू र विधिविधानहरू मानिसहरूलाई सुनाइदिए । सबै मानिसले एकै सोरमा भने, “परमप्रभुले भन्‍नुभएका सबै वचन हामी पालन गर्नेछौँ ।” तब मोशाले परमप्रभुका सबै वचन लेखे । बिहान सबेरै उठेर मोशाले पर्वतको फेदीमा एउटा वेदी बनाए र इस्राएलका बाह्र कुलको प्रतिनिधित्व हुने गरी बाह्रवटा ढुङ्गाका वेदी बनाए ।

परमेश्‍वर मानिस वा मानव हुनुहुन्‍न कि उहाँले ढाँट्नुपरोस्, उहाँले आफ्नो मन बदल्नुपरोस् । के उहाँले पुरा नगर्ने गरी कुनै कुरा प्रतिज्ञा गर्नुभएको छ? के उहाँले कुनै गर्छु भनेर पुरा गर्नुभएको छैन र?

मैले तिमीहरूलाई आज्ञा गरेका वचनहरूमा नथप्‍नू न त तीबाट घटाउनू ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिन लाग्‍नुभएका आज्ञाहरू तिमीहरूले पालन गर्न सक ।

हेर, परमप्रभु मेरा परमेश्‍वरले मलाई आज्ञा गर्नुभएझैँ मैले तिमीहरूलाई विधिविधानहरू सिकाएको छु, कि तिमीहरूले अधिकार गर्न लागिरहेको देशमा तिमीहरू प्रवेश गर्दा तिमीहरूले ती पालन गर्नुपर्छ । त्यसकारण ती मान र पालन गर । किनकि जाति-जातिहरूको दृष्‍टिमा यो तिमीहरूको बुद्धि र समझशक्ति हुने छ जसले यी सबै विधिविधानको बारेमा सुनेर यसो भन्‍ने छन्, 'निश्यच नै, यो महान् जाति बुद्धिमानी र समझशक्ति भएको जाति रहेछ ।'

होरेबमा तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु उभिएको दिनमा परमप्रभुले मलाई यसो भन्‍नुभयो, 'मानिसहरूलाई जम्मा गर् र म तिनीहरूलाई मेरा वचन सुन्‍ने बनाउने छु ताकि यस पृथ्वीमा तिनीहरू बाचुञ्‍जेलसम्म तिनीहरूले मेरो भय मान्‍न सिकून् र तिनीहरूका छोराछोरीहरूलाई सिकाउन सकून् ।'

किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर भस्म पार्ने आगो र डाही परमेश्‍वर हुनुहुन्छ ।

त्यसकारण, परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएका आज्ञाहरू पालन गर ।

तिमीहरूले पमरप्रभु तिमीहरूका परमेश्‍वरलाई आफ्नो सारा ह्रदय, सारा प्राण र सारा शक्तिले प्रेम गर्नू । आज मैले तिमीहरूलाई आज्ञा गरेका यी वचनहरू तिमीहरूका हृदयमा राख । अनि तिमीहरूले आफ्ना छोराछोरीहरूलाई ती मेहनतसाथ सिकाउनू । तिमीहरू आफ्ना घरमा बस्दा, बाटोमा हिँड्दा, सुत्दा र उठ्दा तिमीहरूले तिनकै चर्चा गर्नू । तिमीहरूले चिन्हको रूपमा तिनलाई हातमा बाँध्‍नू र तिमीहरूका आँखाका बिचमा तिनले पट्टको काम गरून् । तिमीहरूले तिमीहरूका घरका चौकोस र ढोकाहरूमा ती लेख्‍नू ।

उहाँले तिमीहरूलाई विनम्र तुल्याउनुभयो; भोकले पीडित तुल्याउनुभयो र मन्‍न खुवाउनुभयो जसलाई तिमीहरूले चिनेका थिएनौ न त तिमीहरूका पिता-पुर्खाहरले चिनेका थिए । मानिस रोटीले मात्र नभई परमप्रभुको मुखबाट निस्केको हरेक कुराले बाँच्दछ भनी तिमीहरूलाई बुझाउन उहाँले यसो गर्नुभयो ।

उहाँका मार्गहरूमा हिँडी उहाँलाई आदर गर्न सकून् भनेर तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको आज्ञा मान्‍नू ।

यसबाहेक, परमप्रभुले मलाई भन्‍नुभयो, 'मैले यी मानिसहरूलाई देखेको छु र तिनीहरू हठी छन् ।

अब हे इस्राएली हो, परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूबाट चाहनुभएका कुराहरू यिनै हुन्: परमप्रभु तिमीहरूका परमेश्‍वरको भय मान; उहाँका सबै मार्गमा हिँड; उहाँलाई प्रेम गर; परमप्रभु तिमीहरूका परमेश्‍वरलाई आफ्नो सारा ह्रदय र सारा प्राणले आराधना गर; परमप्रभुका आज्ञा र विधिविधानहरू पालन गर जुन तिमीहरूका भलाइको निम्ति आज मैले तिमीहरूलाई दिँदै छु ।

त्यसकारण परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्नू, र उहाँका निर्देशन, उहाँका विधिविधानहरू र उहाँका आज्ञाहरू सधैँ पालन गर्नू ।

त्यसकारण, मेरा यी वचनहरू तिमीहरूका हृदय र मनमा भण्डारण गर; तिमीहरूका हातमा चिन्हको रूपमा बाँध र ती तिमीहरूका आँखाका बिचमा फेटा होऊन् । ती आफ्ना छोराछोरीहरूलाई सिकाओ र तिमीहरू घरमा बस्दा, बाटोमा हिँड्दा र सुत्दा अनि उठ्दा तिनको चर्चा गर । तिमीहरूको घरको ढोकाको चौकोसमा र सहरका द्वारहरूमा तिनलाई लेख,

हेर, आज म तिमीहरूका सामु आशिष् र श्राप राख्छु । परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरू पालन गर्‍यौ भने तिमीहरूले आशिष् पाउने छौ, र परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरू पालन नगरी आज मैले दिएको आज्ञाबाट तिमीहरू तर्केर तिमीहरूले नचिनेका अन्य देवताहरूको पछि लाग्यौ भने तिमीहरूले सराप पाउने छौ ।

मैले जे-जे आज्ञा दिन्छु, त्यसको पालन गर । यसमा नथप न त यसबाट हटाउने काम गर ।

तिमीहरूका बिचमा कुनै अगमवक्ता वा स्वप्‍न-दर्शी देखा परी त्यसले तिमीहरूलाई कुनै चिन्ह वा चमत्कार देखाउन खोज्यो भने र त्यसले तिमीहरूलाई भनेको चिन्ह वा चमत्कार घटेपछि 'तिमीहरूले नजानेका अरू देवताहरूलाई पछ्याएर तिनीहरूको पुजा गरौँ' भन्यो भने त्यस अगमवक्ता वा स्वप्‍न-दर्शीको कुरा नसुन्‍नू । किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई सारा हृदय र सारा प्राणले उहाँलाई प्रेम गर्छौ कि गर्दैनौ भनी तिमीहरूको जाँच गर्दै हुनुहुन्छ । तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको पछि लाग्‍नू; उहाँको आदर गर्नू; उहाँका आज्ञाहरू पालन गर्नू र उहाँको कुरा सुन्‍नू र उहाँको आराधना गर्नू अनि उहाँमा टाँसिनू ।

त्यो मुट्ठा तिनीसितै हुनुपर्छ, र तिनले आफ्नो जीवनभरि यसलाई पढ्नुपर्छ । यसरी तिनले परमप्रभु आफ्ना परमेश्‍वरको आदर गर्न सकून् अनि यस व्यवस्थाको सबै वचन र विधिविधान पालन गर्न सकून् ।

आज परमप्रभु तिमीहरूका परमेश्‍वरले यी विधिविधानहरू पालन गर्न तिमीहरूलाई आज्ञा गर्दै हुनुहुन्छ । त्यसकारण, तिमीहरूका सारा ह्रदय र सारा प्राणले तिनको पालन गर र तिनलाई मान ।

'यस व्यवस्थाका वचन पुरा गर्न पालन नगर्ने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।'

आज मैले तिमीहरूलाई दिएका परमप्रभु तिमीहरूका परमेश्‍वरका सबै आज्ञा पालन गर्न उहाँको कुरा होसियारीपूर्वक सुन्यौ भने परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई पृथ्वीका सबै जातिभन्दा उच्‍च बनाउनुहुने छ ।

तर आज मैले तिमीहरूलाई दिएका सबै आज्ञासाथै विधिहरू पालन गर्न तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको कुरा सुनेनौ भने यी सबै श्राप तिमीहरूमाथि आइपर्ने छन् ।

गुप्‍त कुराहरू परमप्रभु हाम्रा परमेश्‍वरका मात्र हुन् । तर प्रकट भएका कुराहरू सदाको निम्ति हाम्रा र हाम्रा सन्तानहरूका हुन् ताकि हामीले यस व्यवस्थाका सबै वचन पालन गर्न सकूँ ।

तिमीहरूका सारा हृदय र सारा प्राणले परमप्रभु तिमीहरूका परमेश्‍वरमा फर्की व्यवस्थाको यस पुस्तकमा लेखिएका उहाँका आज्ञाहरू र निर्देशनहरू पालन गर्न परमप्रभु तिमीहरूका परमेश्‍वरको कुरा मान्यौ भने उहाँले यसो गर्नुहुने छ ।

तिमीहरूको सामु मैले जीवन र मृत्यु अनि आशिष् र श्राप राखिदिएको छु भनी तिमीहरूको विरुद्धमा गवाही दिन आज मैले स्वर्ग र पृथ्वीलाई साक्षी राखेको छु । त्यसकारण, तिमीहरू र तिमीहरूका सन्तानहरू बाँच्न सकून् भनी जीवन रोज ।

पुरुष र स्‍त्रीहरू, बालबच्‍चाहरू, तिमीहरूका सहरभित्र बस्‍ने परदेशीलगायत सबै मानिसलाई भेला गराउनू ताकि तिनीहरूले सुनेर सिक्‍न सकून् र परमप्रभु तिमीहरूका परमेश्‍वरलाई आदर गर्न सकून् अनि यस व्यवस्थाका वचनहरू पालन गर्न सकून् ।

“व्यवस्थाको यस पुस्तकलाई लिएर परमप्रभु तिमीहरूका परमेश्‍वरको करारको सन्दुकको छेउमा राख ताकि यो तिमीहरूको विरुद्धमा साक्षीको रूपमा रहोस् । किनकि म तिमीहरूको विद्रोह र हठ जान्दछु । हेर, आज म तिमीहरूसित जीवित छँदा नै तिमीहरू परमप्रभुको विरुद्धमा विद्रोही भएका छौ । मेरो मृत्युपछि झन् कति धेरै विद्रोही हुन्छौ?

तैँले व्यवस्थाको यो पुस्तकबारे सदैव चर्चा गर्ने छस् । तैँले यसलाई दिनरात मनन गर्ने छस्, ताकि तैँले लेखेका सबै कुरा पालन गर्न सक्‍ने छस् । अनि तेरो फलिफाप हुने छ र तँ सफल हुने छस् ।

आफ्‍ना सारा हृदायले परमप्रभुको मात्र भय मान र उहाँको सेवा गर । उहाँले तिमीहरूका निम्ति गर्नुभएको महान् कुराहरूका बारेमा विचार गर ।

शमूएलले जवाफ दिए, “परमप्रभुको आज्ञापालन गर्दाझैं होमबलिहरू र बलिदानहरूमा परमप्रभु प्रशन्‍न हुनुहुन्छ र? आज्ञा पालन बलिदान भन्दा उत्तम हो र सुन्‍नुचाहिं भेडाको बोसो भन्दा उत्तम हो । किनभने विद्रोह गर्नु मन्त्रतन्त्रको पापजस्तै हो अनि हठचाहिं दुष्‍टता र अधर्मजस्तै हो । तपाईंले परमप्रभुको वचनलाई इन्कार गर्नुभएको कारणले, उहाँले पनि तपाईंलाई राजा हुनबाट इन्कार गर्नुभएको छ । तब शाऊलले शमूएललाई भने, “मैले पाप गरेको छु । किनकि मैले परमप्रभुको आज्ञा र तपाईंको वचन तोडेको छु, किनभने म मानिसहरूदेखि डराएको थिएँ र मैले तिनीहरूको कुरा मानें ।

किनकि परमप्रभुका मार्गहरू मैले पालन गरेको छु र मेरो परमेश्‍वरबाट भड्किएर दुष्‍टतासाथ काम गरेको छैन । किनकि उहाँका सबै धार्मिक आदेशहरू मेरो सामु छन् । उहाँका विधिहरूका सम्‍बन्‍धमा तीबाट म तर्केको छैन ।

तर तिनीहरूले सुनेनन् । बरु परमप्रभु आफ्‍ना परमेश्‍वरमाथि विश्‍वास नगर्ने आफ्‍ना पुर्खाहरूजस्तै तिनीहरू ज्‍यादै हठी भए ।

“जाओ र मेरो निम्ति, अनि इस्राएल र यहूदामा अझै बाँकी रहेकाहरूका निम्ति त्यस पुस्तकमा लेखिएका कुराका कारणले परमप्रभुको इच्छा खोज । यो साह्रै ठुलो छ, परमप्रभुको क्रोध हामीमाथि खन्‍याइएको छ । साह्रै ठुलो छ किनभने हाम्रा पुर्खाहरूले यस पुस्तकमा लेखिएका सबै कुरा पालन गर्नको निम्ति यसको वचन सुनेका छैनन् ।”

तर परमप्रभुको क्रोध उहाँका मानिसहरूमाथि नपरुञ्जेल र सहायता आउने बाटो बन्द हुनेगरी तिनीहरूले उहाँका दूतहरूको गिल्ला गरे, उहाँको वचनहरूको निन्दा गरे र उहाँका अगमवक्ताहरूलाई हाँसोमा उडाए ।

परमप्रभुको व्यवस्थाका विधिहरू र आज्ञाहरू अध्ययन गर्न, पालन गर्न र सिकाउन एज्राले आफ्नो ह्रदय समर्पित गरेका थिए ।

साँझको बलिदान चढाउने समयसम्म नै म बसिरहँदा यस अविश्‍वासयोग्य कामको बारेमा इस्राएलका परमेश्‍वरको वचनदेखि डराउने सबै जना मकहाँ भेला भए ।

तिनीहरूले परमेश्‍वरलाई भन्छन्, 'हामीबाट जानुहोस्, किनकि तपाईंका मार्गहरूका कुनै ज्ञान हामी चाहँदैनौं ।

उहाँको मुखबाट निस्केको आज्ञाबाट म फर्केको छैनँ । मेरो खानाको भागभन्‍दा बढी मैले उहाँको मुखका वचनहरूलाई सञ्चय गरेको छु ।

तब परमप्रभुले अय्यूबलाई प्रचण्ड आँधीबाट बोलाउनुभयो र यसो भन्‍नुभयो, “ज्ञानविनाका शब्‍दहरू बोलेर, योजनाहरूमा अन्धकार ल्याउने यो को हो? अब एक जना मानिसले झैं आफ्‍नो कम्मर कस्, किनकि म तँलाई प्रश्नहरू सोध्‍नेछु, र तैंले जवाफ दिनुपर्छ । मैले पृथ्वीको जग बसाल्दा तँ कहाँ थिइस्? तँसित धेरै समझशक्ति छ भने मलाई भन् ।

तर त्यसको खुसी परमप्रभुको व्यवस्थामा हुन्छ र उहाँको व्यावस्थमा त्यसले दिन र रात मनन् गर्छ ।

परमप्रभुका वचनहरू पृथ्वीको भट्टिमा सातपल्‍ट शुद्ध पारिएका चाँदीझैं शुद्ध हुन्‍छन् । तपाईं परमप्रभु हुनुहुन्छ । तपाईंले तिनीहरूलाई सुरक्षित राख्‍नुहुन्छ । तपाईंले धर्मी मानिसहरूलाई यो दुष्‍ट पुस्ताबाट र सदासर्वदा सुरक्षा दिनुहुन्छ ।

किनकि मैले परमप्रभुका मार्गहरू मैले पालन गरेको छु र मेरो परमेश्‍वरबाट दुष्‍टतासाथ फर्केको छैन ।

परमेश्‍वरको बारेमा, उहाँको मार्ग सिद्ध छ । परमप्रभुको वचन शुद्ध छ । उहाँमा शरण लिने हरेकको निम्ति उहाँ ढाल हुनुहुन्छ ।

परमप्रभुको व्यवस्था सिद्ध छ, प्राणलाई पुर्नजीवित पार्ने । परमप्रभुको साक्षी भरपर्दो छ, सोझोलाई बुद्धिमान बनाउने । परमप्रभुका शिक्षाहरू ठीक छन्, हृदयलाई खुसी पार्ने । परमप्रभुको आज्ञा शुद्ध छन्, आँखालाई ज्‍योति दिने । परमप्रभुको भय शुद्ध छ, यो सदासर्वदा रहने । परमप्रभुका धार्मिक आदेशहरू सत्य र समग्रमा ठिक छन् । तिनीहरू सुनभन्दा, धेरै शुद्ध सुनभन्दा मूल्यवान छन् । तिनीहरू मह र चाकाबाट चुहिंरहेको महभन्दा पनि गुलिया छन् । हो, तिद्वारा तपाईंका सेवकहरूले चेतावनी पाउँछन् । ति पलना गर्नुमा ठुलो इनाम छ ।

किनकि तपाईंको करारको विश्‍वस्‍तता मेरो आँखाका सामु छ, र म तपाईंको विश्‍वस्‍ततामा हिंड्‍छु ।

परमप्रभुको सोर शक्तिशाली छ । परमप्रभुको सोर महिमित छ ।

मेरो आत्मा म तपाईंको हातमा सुम्पिन्छु । हे परमप्रभु, विश्‍वासनीयताको परमेश्‍वर, तपाईंले मलाई उद्धार गर्नुहुनेछ ।

म तँलाई शिक्षा दिनेछु र तँ हिंड्‍नुपर्ने बाटो सिकाउनेछु । तँमाथि मेरो दृष्‍टि राखेर म तँलाई शिक्षा दिनेछु । घोडा वा खच्‍चरजस्तो नहो, जसको कुनै समझ हुँदैन । जहाँ तैंले इच्‍छा गर्छस् त्यहाँ तिनीहरूलाई लान तिनीहरूलाई अधीन गर्न लगाम र मुखारीले मात्र सकिन्‍छ ।

सारा पृथ्वीले परमप्रभुको भय मानोस् । संसारका सबै बासिन्दा उहाँको भयमा खडा होऊन् ।

परमप्रभुको योजना सदासर्वदा रहन्छ, उहाँको हृदयका योजनाहरू सबै पुस्ताका निम्‍ति रहन्छ ।

ए छोराहरू हो, आओ, मेरो कुरा सुन । तिमीहरूलाई म परमप्रभुको भय मान्‍न सिकाउनेछु ।

तब मैले भनें, “हेर्नुहोस्, म आएको छु । लेखेको चर्मपत्रमा मेरो बारेमा यस्‍तो लेखिएको छ । हे मेरो परमेश्‍वर, तपाईंको इच्छा पुरा गर्न म खुसी हुन्छु । तपाईंको व्यवस्था मेरो हृदयमा छन् । ठुलो सभामा तपाईंको धार्मिकताको सुसमाचार मैले घोषणा गरेको छु । हे परमप्रभु, यसो गर्नबाट मेरा ओठहरू रोकिएका छैनन् भनी तपाईं जान्‍नुहुन्छ । आफ्‍नो हृदयमा तपाईंको धार्मिकता मैले लुकाएको छैन । तपाईंको विश्‍वस्‍तता र तपाईंको उद्धारलाई मैले घोषणा गरेको छु । ठुलो सभाबाट तपाईंको करारको विश्‍वस्‍तता वा तपाईंको भरोसालाई मैले लुकाएको छैन ।

तर दुष्‍टलाई परमेश्‍वर यसो भन्‍नुहुन्छ, “मेरा आदेशहरूका घोषणा गर्ने कुरा तँलाई के मतलब छ । तैंले मेरो करार तेरो मुखमा लिएको छस्, किनभने तैंले शिक्षालाई घृणा गर्छस् र मेरा वचनलाई लत्याउँछस्?

हे परमेश्‍वर, ममा शुद्ध हृदय सृजनुहोस् । र मभित्र ठिक आत्मालाई नयाँ तुल्‍याउनुहोस् ।

परमप्रभुले आदेश दिनुभयो र तिनीहरूलाई घोषणा गर्नेहरू ठुला फौज थिए ।

तिनीहरूले परमेश्‍वरसँगको करार पालन गरेनन् र तिनीहरूले उहाँको व्यवस्था पालन गर्न इन्कार गरे ।

तर मेरा मानिसहरूले मेरा वचनहरू सुनेनन् । इस्राएलले मेरा आज्ञा पालन गरेनन् । त्यसैले तिनीहरूका आफ्नै हठी मार्गमा मैले तिनीहरूलाई छोडिदिएँ, ताकि तिनीहरूले आफूलाई जे ठिक लाग्छ त्यही गरून् । ओहो, मेरा मानिसहरूले मेरो कुरा सुनेको भए । मेरा मानिसहरूले मेरा मार्गहरूमा हिंडेका भए । तब म तुरुन्‍तै तिनीहरूका शत्रुहरूलाई अधीन गर्थें र तिनीहरूलाई थिचोमिचो गर्नेहरूका विरुद्धमा म आफ्‍नो हात फर्काउँथे । परमप्रभुलाई घृणा गर्नेहरू उहाँको सामु त्रासले लत्रक्‍क परून्! तिनीहरू सदाको निम्ति अपमानित होऊन् ।

हे परमप्रभु, मलाई तपाईंका मार्गहरू सिकाउनुहोस् । तब तपाईंको सत्यतामा म हिंड्नेछु । तपाईंको आदर गर्न मेरो हृयदलाई एकाग्र तुल्‍याउनुहोस् ।

उहाँ त्‍यस्‍तो परमेश्‍वर हुनुहुन्छ जसलाई पवित्र जनहरूका भेलामा उच्‍च आदर गरिन्‍छ र उहाँलाई घेरा हाल्‍ने सबैको माझमा भयानक हुनुहुन्छ ।

उहाँले अन्धकार पठाउनुभयो र त्यो देशलाई अँध्‍यारो बनाउनुभयो, तर त्‍यसका मानिसहरूले उहाँका आज्ञाहरू पालन गरेनन् ।

तिनीहरूले परमेश्‍वरको वचन विरुद्धमा विद्रोह गरेको र सर्वोच्‍चको सल्‍लाहलाई इन्कार गरेको हुनाले यसो भएको थियो । उहाँले कठिनाइद्वारा तिनीहरूका हृदयलाई नम्र पार्नुभयो । तिनीहरूले ठेस खाए र तिनीहरूलाई उठ्न सहायता गर्ने कोही थिएन ।

उहाँ आफ्नो वचन पठाउनुभयो र तिनीहरूलाई निको पार्नुभयो, अनि तिनीहरूका विनाशबाट उहाँले तिनीहरूलाई बचाउनुभयो ।

उहाँका हातहरूका कामहरू भरपर्दा र निष्‍पक्ष छन् । उहाँका सबै सुझावहरू विश्‍वासयोग्‍य छन् । विश्‍वासयोग्‍य र उचित किसिमले पालन गर्न ती सदाको निम्ति स्थापित गरिएका छन् ।

परमप्रभुको आदर गर्नु बुद्धिको सुरु हो । उहाँका सुझावहरू पालन गर्नेहरूसँग सुझबुझ हुन्छ । उहाँको प्रशंसा सदासर्वदा रहन्छ ।

परमप्रभुको प्रशंसा गर । परमप्रभुको आज्ञा पालन गर्ने, अनि उहाँका आज्ञाहरूमा प्रशन्‍न हुने मानिस धन्यको हो ।

मानिसमा भरोसा गर्नुभन्दा परमप्रभुमा शरण लिनु असल हुन्छ । कसैले शासकहरूमा भरोसा गर्नुभन्दा परमप्रभुमा शरण लिनु असल हुन्छ ।

तिनीहरू धन्य हुन् जसको मार्गहरू निर्दोष छन्, जो परमप्रभुको व्यवस्थामा हिंड्छन् ।

तब मैले तपाईंका सबै आज्ञालाई विचार गर्दा म लाजमा पर्नेथिइनँ ।

जवान व्‍यक्‍तिले आफ्नो मार्ग कसरी शुद्ध राख्‍न सक्छ? तपाईंको वचन पालन गरेर सक्‍छ ।

आफ्‍नो सारा हृदयले म तपाईंलाई खोज्‍दछु । मलाई तपाईंका आज्ञाहरूबाट टाढा जान नदिनुहोस् ।

तपाईंको वचन मैले आफ्‍नो हृदयमा जम्‍मा गरेको छु ताकि तपाईंको विरुद्ध मैले पाप गर्नु नपरोस् ।

तपाईंले प्रकट गर्नुभएका सबै धार्मिक आदेशहरूलाई मैले आफ्‍नो मुखले घोषणा गरेको छु ।

मेरा आँखाहरू खोल्नुहोस् ताकि तपाईंको व्यवस्थाका अचम्मका कुराहरू म देख्‍न सकूँ ।

हर समय तपाईंका धार्मिक आदेशहरू जान्‍ने उत्कट चाहनाले गर्दा मेरा इच्छाहरू चूर्ण भएका छन् ।

तपाईंले घमण्डीलाई हप्काउनुहुन्छ, जो श्रापित छन्, जो तपाईंका आज्ञाहरूबाट टाढा जान्छन् ।

छलको मार्ग मबाट हटाउनुहोस् । तपाईंको व्यवस्था अनुग्रहसाथ मलाई सिकाउनुहोस् ।

विश्‍वस्‍तताको मार्गलाई मैले चुनेको छु । तपाईंका धार्मिक आदेशहरूलाई सधैं मैले आफ्‍नो सामु राखेको छु ।

मलाई सुझबुझ दिनुहोस् र तपाईंको व्यवस्था म पालन गर्नेछु । आफ्‍नो सारा हृदयले यो म पालन गर्नेछु ।

तपाईंको वचन म सदासर्वदा निरन्तर पालन गर्नेछु ।

तपाईंका आज्ञाहरूमा म खुसी हुन्छ, जसलाई म अति प्रेम गर्छु ।

तपाईंको व्यवस्थालाई इन्कार गर्ने दुष्‍टहरूका कारणले प्रचण्ड क्रोधले मलाई समातेको छ ।

तपाईंका आज्ञाहरू पालन गर्न म हतार गर्छु र ढिलो गर्दिनँ ।

मैले सतावट भोगेको मेरो निम्ति असल हुन्‍छ, ताकि म तपाईंका विधिहरू सिक्‍न सक्‍छु ।

तपाईंको मुखबाट निस्केको शिक्षाहरू मेरो निम्ति सुन र चाँदीका हजारौं टुक्राहरूभन्दा बढी मूल्यवान छन् । योध

हे परमप्रभु, तपाईंको वचन सदासर्वदा रहन्छ । तपाईंको वचन स्वर्गमा दृढ रूपमा स्थपित छन् ।

ओहो, तपाईंको व्यवस्थालाई म कति प्रेम गर्छु! यो नै मेरो दिनभरिको ध्‍यान हो ।

तपाईंका वचनहरू मेरो जिब्रोमा कति स्वदिला छन् । हो, मेरो मुखमा महभन्दा पनि गुलिया छन्!

तपाईंका सुझावहरूद्वारा म विवेक पाउँछु, यसकारण हरेक झुटो मार्गलाई म घृणा गर्छु । नुन

तपाईंका वचन मेरा पाउको निम्ति बत्ती र मेरो बाटोको निम्ति उज्‍यालो हो ।

सदासर्वदा अन्त्यसम्म नै मेरो हृदय तपाईंका विधिहरू पालन गर्न समर्पित छ । समेख

हे दुष्‍ट काम गर्नेहरू हो, मबाट टाढा होओ, ताकि म आफ्‍नो परमेश्‍वरका आज्ञाहरू पालन गर्न सकूँ ।

तपाईंका विधिहरूबाट टाढा जानेहरू सबैलाई तपाईंले इन्कार गर्नुहुन्छ, किनकि ती मानिसहरू छली र अविश्‍वासनीय छन् ।

यो परमप्रभुले काम गर्ने समय हो, किनकि मानिसहरूले तपाईंको व्यवस्था भङ्‍ग गरेका छन् ।

मेरा आँखाहरूबाट आँसुका बलिन्द्र धारा बग्छन् किनभने मानिसहरूले तपाईंको व्यवस्था पालन गर्दैनन् । साधे

रिसले मलाई नष्‍ट पारेको छ किनभने मेरा वैरीहरूले तपाईंका वचनहरू बिर्सिन्छन् ।

म तुच्छ र घृणित छु, तापनि तपाईंको सुझावहरूलाई म बिर्सिन्‍न ।

तपाईंको न्याय सदासर्वदा ठिक हुन्छ र तपाईंको व्यवस्था भरपर्दो छ ।

रातका पहरहरू बद्‍लिनुअगि नै मेरा आँखाहरू खुला हुन्‍छन् ताकि म तपाईंको वचनमा ध्‍यान गर्न सकूँ ।

तपाईंको वचनको सार सत्य छ । तपाईंका हरेक धार्मिक आदेशहरू सदासर्वदा रहन्छन् । शीन

शासकहरूले मलाई विनाकारण सताउँछन्, तर मेरो हृदय तपाईंको वचनको भयमा स्थिर छ ।

कसैले धेरै लूटको माल पाएझैं म तपाईंको वचनमा आनन्‍दित हुन्‍छु ।

हे परमप्रभु, म तपाईंको उद्धारको इच्‍छा हेर्छु र तपाईंको व्यवस्था नै मेरो आनन्द हो ।

तपाईंको पवित्र मन्दिरतिर फर्केर म दण्डवत गर्नेछु र तपाईंको करारको विश्‍वस्‍तता र तपाईंको सत्‍यताको निम्ति तपाईंको नाउँमा धन्यवाद दिनेछु । तपाईंले आफ्नो वचन र आफ्‍नो नाउँलाई अरू कुनै पनि थोकभन्दा धेरै महत्त्वपूर्ण बनाउनुभएको छ ।

परमप्रभुको भय नै ज्ञानको सुरु हो । मूर्खहरूले बुद्धि र निर्देशनलाई तुच्छ ठान्छ ।

“हे निर्बुद्धि मानिसहरू हो, तिमीहरू कहिलेसम्म निर्बुद्धि भइरहन्छौ? हे गिल्ला गर्नेहरू हो, तिमीहरू कहिलेसम्म गिल्ला गर्नमा रमाउँछौ? र हे मूर्खहरू हो, तिमीहरू कहिलेसम्म ज्ञानलाई घृणा गर्छौ?

तिनीहरूले ज्ञानलाई घृणा गर्ने भएकाले र परमप्रभुको भयलाई नरोजेकाले, तिनीहरूले मेरो निर्देशनलाई मानेनन्, र मेरो सुधारलाई तुच्छ ठाने । तिनीहरूले तिनीहरूका चालको फल खाने छन्, र तिनीहरूका षड्यन्त्रको फलले तिनीहरू भरिने छन् ।

बुद्धिका कुराहरू सुन्‍न तेरो कान थापिस्, र तेरो हृदयलाई समझशक्तितिर लगाइस् भने, तैँले समझशक्तिको लागि पुकारा गरिस्, र यसको लागि सोर उचालिस् भने, तैँले चाँदीलाई झैँ यसलाई खोजिस्, र गाडधनलाई झैँ समझशक्तिको खोजी गरिस् भने, तैँले परमप्रभुको भय बुझ्ने छस्, र परमेश्‍वरको ज्ञान पाउने छस् ।

करारको विश्‍वसनीयता र भरोसाले तँलाई कहिल्यै नछोडून् । तिनलाई तेरो गलाको वरिपरि सँगसँगै बाँध् । तिनलाई तेरो हृदयको पाटीमा लेख् ।

तेरो सारा हृदयले परमप्रभुमाथि भरोसा राख्, र तेरो आफ्नै समझशक्तिमा भर नपर् ।

बुद्धि र समझशक्ति प्राप्‍त गर् । मेरो मुखका वचनहरूलाई नबिर्सी र इन्कार नगर् । बुद्धिलाई नत्याग् र त्यसले तेरो निगरानी गर्ने छ । त्यसलाई प्रेम गर्, र त्यसले तँलाई सुरक्षा दिने छ ।

हे मेरो छोरो, मेरा वचनहरूलाई ध्यान दे । मेरा भनाइहरू सुन्‍न तेरो कान थाप । तेरो नजरबाट तिनलाई उम्केर जान नदे । तिनलाई तेरो हृदयमा राख् ।

तेरा आँखाले सिधा अगाडि हेरून्, र तेरो अगिल्तिर सिधा एकटक लगाएर हेर् । तेरो खुट्टाको लागि नैतिकताको मार्ग बना । तब तेरा सबै मार्गहरू सुरक्षित हुने छन् । दाहिने वा देब्रेतिर नलाग् । खराबीबाट तेरो चाललाई फर्का ।

किनकि आज्ञाहरू बत्ती र शिक्षा ज्योति हुन् । निर्देशनद्वारा आउने सुधार जीवनका मार्ग हुन् ।

परमप्रभुको भय खराबीलाई घृणा गर्नु हो । म घमण्ड, अहङ्कार, दुष्‍ट मार्ग र भड्काउने बोलीवचनलाई घृणा गर्दछु । म तिनीहरूलाई घृणा गर्दछु ।

गिल्ला गर्नेलाई नहप्का, नत्रता त्यसले तँलाई घृणा गर्ने छ । बुद्धिमान् मानिसलाई हप्का, र त्यसले तँलाई प्रेम गर्ने छ ।

परमप्रभुको भय नै बुद्धिको सुरु हो, र परमपवित्रको ज्ञान नै समझशक्ति हो ।

परमप्रभुको भय जीवनको फुहारा हो, जसद्वारा मानिस मृत्युका जालहरूबाट उम्कन्छ ।

सुनभन्दा बुद्धि प्राप्‍त गर्नु र चाँदीभन्दा समझशक्ति प्राप्‍त गर्नु उत्तम हुन्छ ।

मूर्खले सुन्‍ने गरी नबोल्, किनकि त्यसले तेरा वचनहरूको बुद्धिलाई तुच्छ ठान्‍ने छ ।

कसैले व्यवस्था सुन्‍नबाट आफ्नो कान तर्कायो भने त्यसको प्रार्थना पनि घृणित हुन्छ ।

परमेश्‍वरको हरेक वचन जाँचिएको छ । उहाँमा शरण लिनेहरूका लागि उहाँ ढाल हुनुहुन्छ । उहाँका वचनहरूमा नथप् नत्रता उहाँले तँलाई अनुशासनमा राख्‍नुहुने छ, र तँ झुटो ठहरिने छस् ।

हरेक कुरा सुनिएपछि कुराको अन्त्य यही हो, कि तैँले परमेश्‍वरको भय मान्‍नुपर्छ, र उहाँका आज्ञाहरू पालन गर्नुपर्छ, किनकि यो नै मानव-जातिको सम्पूर्ण कर्तव्य हो ।

यसकारण जसरी आगोको ज्वालाले झिंजामिंजालाई जलाउँछ र जसरी सुकेको घाँस आगोमा भष्‍म हुन्‍छ, त्यसरी नै तिनीहरूका जरा सड्नेछ र तिनीहरूका फूल धूलोझैं उड्‍नेछ । सर्वशक्तिमान् परमप्रभुको व्यावस्थालाई तिनीहरूले इन्कार गरेका हुनाले यसो हुनेछ, अनि इस्राएलका परमपवित्रको वचनलाई तिनीहरूले घृणा गरेका हुनाले यस्‍तो हुनेछ ।

उहाँले भन्‍नुभयो, “जाऊ, यी मानिहरूलाई भन, 'सुन्‍छौ, तर बुझ्दैनौ । हेर्छौ, तर थाहा पाउँदैनौ ।'

व्यवस्था र गवाहीतिर लाग! तिनले यसो भन्दैनन् भने, तिनीहरूसँग बिहानको मिरमिरे उज्यालो नभएको हुनाले नै हो ।

अब जा, तिनीहरूको सामु यो एउटा पाटीमा लेख् र एउटा मुट्ठामा यो लेख्, ताकि आउने समयको निम्ति यो गवाहीको रूपमा सुरक्षित हुन सकोस् । किनकि यी विद्रोही मानिसहरू, झुट बोल्ने छोराछोरी, परमप्रभुको शिक्षा नसुन्‍ने छोराछोरी हुन् । तिनीहरूले दर्शीहरूलाई भन्छन्, “नहेर्नुहोस्,” र अगमवक्ताहरूलाई भन्छन्, “हामीलाई सत्य अगमवाणी नगर्नुहोस् । हाम्रा निम्‍ति चापलुसी कुरा गर्नुहोस्, भ्रम अगमवाणी गर्नुहोस् । मार्गबाट तर्की जानुहोस्, बाटोबाट हट्नुहोस् । इस्राएलका परमपवित्रलाई हाम्रो सामु नबोल्ने पार्नुहोस् ।” यसकारण इस्राएलका परमपवित्र भन्‍नुहुन्छ, “तिमीहरूले यो वचन इन्कार गरेको र अत्यचार र छलमा भरोसा गरेको अनि त्‍यसमा अडेको छौ, त्यसैले यो पाप खस्‍नलाई तयार भएको टुटेको थोकजस्तै, तुरुन्तै अचानक रूपमा खस्‍न लागेको अग्‍लो पर्खालको निस्केको भागजस्तै हुनेछ ।”

घाँस ओइलाउँछ, फुल सुक्छ, तर हाम्रा परमेश्‍वरको वचन सदासर्वदा रहन्छ ।”

हामीबाट तिनीहरूले सुनेका कुरा कसले विश्‍वास गरेको छ, र कसलाई परमप्रभुको बाहुली प्रकट गरिएको छ?

“किनभने मेरा विचारहरू तिमीहरूका विचारहरू होइनन्, न त तिमीहरूका उपायहरू मेरा उपायहरू हुन्— यो पमरप्रभुको घोषणा हो— किनकि जसरी पृथ्वीभन्दा आकाश उच्‍च छ, त्यसरी नै तिमीहरूका उपायहरूभन्‍दा मेरा उपायहरू र तिमीहरू विचारहरूभन्‍दा मेरा विचारहरू उच्‍च छन् ।

त्‍यसरी नै मेरो मुखबाट निस्कने मेरो वचन पनि हुनेछ— त्‍यो मकहाँ रित्तै फर्कनेछैन, तर जुन उद्देश्यको निम्ति मैले त्‍यसलाई पठाएँ, त्‍यसमा त्‍यो सफल हुनेछ ।

तिमीहरूले पुकारा गर्दा तिमीहरूले जम्‍मा गरेका मूर्तीहरूले नै तिमीहरूलाई बचाऊन् । बरु, हावाले तिनीहरू सबैलाई उडाएर लानेछ, सासले नै तिनीहरू सबैलाई उडाएर लानेछ । तापनि ममा शरण लिनेले देश अधिकार गर्नेछ र मेरो पवित्र पर्वतको अधिकारी हुनेछ ।

परमप्रभु भन्‍नुहुन्छ— मेरो निम्‍ति, तिनीहरूसँग यो मेरो करार हो । मेरो आत्मा तँमाथि छ, र मेरो वचन मैले तेरो मुखमा राखेको छु, त्‍यो तेरो मुखबाट जानेछैन वा तेरा छोराछोरीका मुखबाट जानेछैन, अहिलेदेखि सदासर्वदासम्मै—परमप्रभु भन्‍नुहुन्छ ।

यो परमप्रभुको घोषणा हो, “यी सबै कुराहरू मेरै हातले बनाएका हुन् । यसरी नै ती हुन आए ।” मैले स्‍याबसी दिने मानिस यही हो, जो आत्मामा तोडिएको र चूर्ण छ र जो मेरो वचनमा काम्दछ ।

त्यसरी नै तिनीहरूको आफ्नो दण्ड म चुन्‍नेछु । तिनीहरूले जे कुराको डर मान्छन् त्यही नै म तिनीहरूमा ल्याउनेछु किनभने मैले बोलाउँदा कसैले जवाफ दिएन । मैले बोलाउँदा कसैले सुनेन । मेरो दृष्‍टिमा जे खराब थियो तिनीहरूले त्यही गरे र मलाई जे कुराले खुसी पर्दैन त्यही गरे ।” परमप्रभुको वचनमा काम्‍नेहरू हो, उहाँको वचन सुन, “तिमीहरूलाई मेरो नाउँको कारणले घृणा गर्ने र बहिस्कार गर्ने तिमीहरूका भाइहरूले भनेका छन्, 'परमप्रभु महिमित हुनुभएको होस्, अनि हामीले तिमीहरूको आनन्द देख्‍नेछौँ,' तर तिनीहरू शर्ममा पारिनेछन् ।

हे परमप्रभु, के तपाईंका आँखाले विश्‍वसनीयताको खोजी गर्दैनन् र? तपाईंले मानिसहरूलाई प्रहार गर्नुभयो, तर तिनीहरूलाई पिडा महसुस हुँदैन । तपाईंले तिनीहरूलाई पूर्ण रूपमा पराजित गर्नुभएको छ, तर तिनीहरू अझै पनि अनुशासन मान्‍न इन्कार गर्छन् । तिनीहरूले आफ्ना अनुहार चट्टानभन्दा कडा बनाउँछन्, किनकि तिनीहरू पश्‍चात्ताप गर्न इन्कार गर्छन् । त्यसैले मैले भनें, “निश्‍चय नै यिनीहरू मात्र दुःखी मानिसहरू रहेछन् । तिनीहरू मूर्ख छन्, किनकि तिनीहरू परमप्रभुका मार्ग जान्दैनन्, न त तिनीहरूका परमेश्‍वरका आज्ञाहरू जान्दछन् ।

हे पृथ्वी, सुन् । मैले यी मानिसहरूमाथि विपत्ति ल्याउनै लागेको छु, जुन तिनीहरूका विचारको नतिजा हो । तिनीहरूले मेरो वचन वा व्यवस्थालाई ध्यानै दिएनन्, तर तिनीहरूले यसलाई इन्कार गरे ।

मैले तिनीहरूलाई यो आज्ञा मात्र दिएँ, “मेरो आवाजलाई सुन, र म तिमीहरूका परमेश्‍वर हुनेछु, र तिमीहरू मेरा मानिसहरू हुनेछौ । त्यसैले तिमीहरूको भलो होस् भनेर मैले तिमीहरूलाई दिएका सबै आज्ञामा हिंड ।” तर तिनीहरूले सुनेनन्, वा ध्यान नै दिए । तिनीहरू आफ्‍ना दुष्‍ट हृदयका आफ्नै हठी योजनामुताबिक जिए । त्यसैले तिनीहरू पछिल्तिर गए, अगिल्तिर बढेनन् ।

बुद्धिमान् मानिसहरू लज्‍जित हुनेछन् । तिनीहरू हताश भएका छन् र पासोमा परेका छन् । हेर, तिनीहरूले परमप्रभुको वचन इन्कार गर्छन्, यसैले तिनीहरूको बुद्धिको के काम?

त्यसैले तिमीहरूले सुनेनौ भने, तिमीहरूको अहङ्कारको कारणले म एक्लै रुनेछु । निश्‍चय नै म रुनेछु, र मेरा आँखाबाट आँसुका धारा बग्‍नेछ, किनकि परमप्रभुको बगाल कैदमा लगिएको छ ।

तपाईंका वचनहरू भेट्टाइएका छन्, र मैले ती खाएँ । तपाईंका वचनहरू मेरो लागि रमाहट बने, र मेरो हृदयको आनन्द बने, किनकि हे सर्वशक्तिमान् परमप्रभु परमेश्‍वर म तपाईंको नाउँ लिन्‍छु ।

परमप्रभु भन्‍नुहुन्छ, “मानव-जातिमा भरोसा गर्ने व्यक्ति श्रापित होस् । त्यसले शरीरलाई आफ्नो शक्ति सम्झन्छ, तर आफ्नो हृदय परमप्रभुबाट टाढा लैजान्छ ।

तर तिनीहरूले सुनेनन् वा ध्यानै दिएनन् । तिनीहरूले मेरा कुरा सुन्‍न नसकून् न त अनुशासनलाई स्वीकार गरून् भनेर तिनीहरू अटेरी भए ।

“सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'हेर्, मैले यो सहर र यसका सबै नगरहरूको विरुद्धमा घोषणा गरेका सबै विपत्ति ल्याउनै लागेकोछु, किनकि तिनीहरू अटेरी भए र मेरा वचन सुन्‍न इन्कार गरे' ।”

सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ, “तिमीहरूलाई अगमवाणी बोल्ने अगमवक्ताहरूका वचनहरू नसुन । तिनीहरूले तिमीहरूलाई भ्रमित तुल्याएका छन् । तिनीहरूले परमप्रभुको मुखबाट नभई आफ्नै समझबाट दर्शनहरूको घोषणा गर्दै छन् ।

यो परमप्रभुको घोषणा हो, के मेरो वचन आगोजस्तै छैन र? चट्टानलाई टुक्रा-टुक्रा पार्ने घनजस्तै छैन र?

परमप्रभुले आफ्ना सबै दास, अगमवक्ताहरूलाई तिमीहरूकहाँ पटक-पटक पठाउनुभयो, तर तिमीहरूले सुनेका वा ध्यान दिएका छैनौ ।

त्यसैले तैंले तिनीहरूलाई यसो भन्‍नुपर्छ, 'परमप्रभु यसो भन्‍नुहुन्छः मैले तिमीहरूको अगि राखिदिएको मेरो व्यवस्थाअनुसार हिंड्नलाई तिमीहरूले मेरो कुरा सुनेनौ भने, मैले तिमीहरूकहाँ निरन्तर रूपमा पठाइरहेका मेरा दास, अगमवक्ताहरूका वचनहरू तिमीहरूले सुनेनौ भने, तर तिमीहरूले सुनेका छैनौ, तब म यो मन्दिरलाई शीलोजस्तै बनाउनेछु । म यस सहरलाई पृथ्वीका सबै जातिको दृष्‍टिमा श्रापको पात्र बनाउनेछु' ।”

त्यसैले अब, आ-आफ्ना चाल र अभ्यासहरू सुधार्नुहोस् र परमप्रभु तपाईंहरूका परमेश्‍वरको सोर सुन्‍नुहोस्, ताकि उहाँले तपाईंहरूको विरुद्धमा घोषणा गर्नुभएको विपत्तिको विषयमा उहाँले आफ्नो मन बद्लनुहुनेछ ।

किनकि सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'तिमीहरूका बिचमा भएका अगमवक्ताहरू र जोखना हेर्नेहरूले तिमीहरूलाई धोका नदेऊन्, र तिमीहरू आफैले देखेका सपनाका कुराहरू नमान । किनकि तिनीहरूले मेरो नाउँमा तिमीहरूलाई छलको अगमवाणी बोल्दैछन् । मैले तिनीहरूलाई पठाइनँ, यो परमप्रभुको घोषणा हो ।'

यो परमप्रभुको घोषणा हो, हेर्, यस्‍ता दिनहरू आउँदैछन्, जुना बेला म इस्राएल र यहूदाका घरानासित एउटा नयाँ करार स्थापित गर्नेछु । मैले तिनीहरूका पुर्खाहरूसित बाँधेको करारजस्तो यो हुनेछैन, जब मैले तिनीहरूलाई तिनीहरूका हात समातेर मिश्रदेशबाट बाहिर ल्याएँ, किनकि तिनीहरूले मेरो करार भङ्ग गरे तापनि म तिनीहरूका पति भएँ, यो परमप्रभुको घोषणा हो । इस्राएलको घरानासित मैले बाँध्‍ने करार यही हो, यो परमप्रभुको घोषणा हो । यी दिनपछि म आफ्‍नो व्यवस्था तिनीहरूभित्र हाल्‍नेछु, र तिनीहरूका हृदयमा यो लेख्‍नेछु, किनकि म तिनीहरूका परमेश्‍वर हुनेछु, र तिनीहरू मेरा मानिसहरू हुनेछन् । तब हरेक मानिसले फेरि आफ्नो छिमेकी वा हरेक मानिसले आफ्नो भाइलाई यसो भनेर सिकाउने छैन, 'परमप्रभुलाई चिन ।' किनकि सानादेखि ठुलासम्म तिनीहरू सबैले मलाई चिन्‍नेछन्‌, यो यो परमप्रभुको घोषणा हो । किनकि म तिनीहरूको अधर्म क्षमा दिनेछु, र फेरि तिनीहरूका पाप सम्झनेछैनँ ।”

तर तिमीहरू भन्‍छौ, 'परमप्रभुको चाल न्‍यायपुर्ण छैन' । ए इस्राएलका घराना, सुन । के मेरो चालहरू न्‍यायपुर्ण छैनन्? अन्‍यायपुर्ण त तिमीहरूका चालहरू होइनन् र?

किनकि तिनीहरूले मेरा मानिसहरूलाई पवित्र र अपवित्र बिचको भिन्‍नताबारे सिकाउनेछन् । तिनीहरूले उनीहरूलाई शुद्ध र अशुद्ध बारे चिनाउनेछन् ।

मेरा मानिसहरू ज्ञानको कमिले गर्दा नष्‍ट भइरहेका छन् । तिमी पुजारीहरूले ज्ञानलाई इन्कार गरेको कारणले, तिमीहरूलाई मेरो पुजारी हुनबाट म पनि इन्कार गर्नेछु ।तिमीहरूले मेरो व्यवस्थालाई बिर्सेका कारणले, म तिमीहरूका परमेश्‍वर भए पनि म तिमीहरूका छोराछोरीलाई बिर्सनेछु ।

तिनीहरूलाई धिक्‍कार छ! किनकि तिनीहरू मबाट टाढा बहकिएका छन् । तिनीहरूमाथि विनाश आउँदै छ! तिनीहरूले मेरो विरुद्ध विद्रोह गरेका छन्! मैले तिनीहरूलाई बचाउन सक्‍थें, तर तिनीहरूले मेरो विरुद्धमा झुट बोले ।

हेर्, यस्‍ता दिनहरू आउँदैछन्, यो परमप्रभु परमेश्‍वरको घोषणा हो, जति बेला देशमा म अनिकाल पठाउनेछु, त्‍यो रोटीको अनिकाल होइन, न त पानीको तिर्खाको हो, तर त्‍यो परमप्रभुको वचन सुन्‍ने कुराको हो।

तर तिनीहरूले ध्यान दिएनन् र हठी भएर आफ्नो पीठ फर्काए । तिनीहरूले आफ्ना कान थुने र केही पनि सुनेनन् । व्यवस्था वा सेनाहरूका परमप्रभुको वचन नसुन्‍नको निम्ति तिनीहरूले आफ्ना हृदयलाई चट्टानझैँ कडा बनाए । पहिलेका समयमा, उहाँले यी सन्देशहरू आफ्ना मानिसहरूकहाँ आफ्नो आत्माद्वारा, अगमवक्ताहरूका ओठद्वारा पठाउनुभयो । तर ती मानिसहरूले सुन्‍न इन्कार गरे, यसैकारण सेनाहरूका परमप्रभु तिनीहरूसँग धेरै रिसाउनुभयो । उहाँले बोलाउनुहुँदा, तिनीहरूले सुनेनन् । त्यसरी नै तिनीहरूले मेरो पुकारा गर्नेछन्, तर म त्यो सुन्‍नेछैनँ,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ ।

तर येशूले उत्तर दिनुभयो र त्यसलाई भन्‍नुभयो, “यसो लेखिएको छ, ‘मानिस केवल रोटीले मात्र बाँच्दैन, तर परमेश्‍वरको मुखबाट निस्कने हरेक वचनद्वारा बाँच्छ’ ।”

म अगमवक्‍ताहरू वा व्यवस्थालाई नष्‍ट गर्न आएको हुँ भनी नसोच । म तिनलाई नष्‍ट गर्न होइन, तर पुरा गर्न आएको हुँ । किनकि म तिमीहरूलाई साँचो रूपमा भन्दछु, कि स्वर्ग र पृथ्वी टलेर नगएसम्म र सबै कुरा पुरा नभएसम्म, व्यवस्थाको एउटै पनि कुरा वा बिन्दु बितेर जानेछैन । त्यसकारण, जसले यी आज्ञाहरूका सानाभन्दा साना कुरालाई भङ्ग गर्दछ र अरूलाई पनि त्यसो गर्न सिकाउँदछ, त्यो स्वर्गको राज्यमा सबैभन्दा तुच्छ ठहरिनेछ । तर जसले यी कुराहरूलाई मान्दछ र त्यही गर्न सिकाउँदछ, ऊ स्वर्गको राज्यमा सबैभन्दा उच्‍च ठहरिनेछ ।

कसैले पनि दुई जना मालिकको सेवा गर्न सक्दैन, किनकि त्यसले कि त एउटालाई घृणा गर्छ र अर्कोलाई प्रेम गर्दछ, वा एउटाप्रति समर्पित हुन्छ र अर्कोको उपेक्षा गर्दछ । तिमीहरूले परमेश्‍वर र धन दुवैको सेवा गर्न सक्दैनौ ।

साँघुरो ढोकाबाट भित्र पस । किनभने विनाशमा पुर्‍याउने ढोका र बाटो फराकिलो हुन्छन्, र त्यस बाटोबाट जाने मानिसहरू धेरै छन् । किनकि जीवनमा डोर्‍याउने ढोका र बाटो साँघुरो हुन्छन्, र त्यो भेट्टाउने थोरै मात्र छन् ।

‘प्रभु, प्रभु’ भन्‍ने सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन्, तर स्वर्गमा हुनुहुने मेरा पिताको इच्छालाई पालन गर्ने मात्र स्वर्गको राज्यमा प्रवेश गर्नेछ । त्यस दिन धेरै मानिसले मलाई भन्‍नेछन्, ‘हे प्रभु, हे प्रभु, के तपाईंको नाउँमा हामीले अगमवाणी बोलेका थिएनौँ र? के तपाईंको नाउँमा भूतहरू धपाएनौँ र? र तपाईंको नाउँमा धेरै शक्‍तिशाली कामहरू गरेका थिएनौँ र?’ तब म खुलमखुला तिनीहरूलाई घोषणा गर्नेछु, ‘मैले तिमीहरूलाई कहिल्यै पनि चिनेको थिइनँ! ए दुष्‍ट काम गर्नेहरू हो, मबाट टाढा गइहाल्!’

त्यसकारण, हरेक जसले मेरा वचन सुन्छ र ती पालन गर्छ, त्यो बुद्धिमान् मानिसजस्तै हुनेछ जसले आफ्नो घर चट्टानमाथि बनायो । पानी पर्‍यो, बाढी आयो, र हुरी आयो र त्यस घरलाई हान्यो, तर त्यो घर ढलेन, किनकि त्यो घर चट्टानमाथि बनाइएको थियो । तर हरेक जसले मेरा वचन सुन्छ र पालन गर्दैन, त्यो मूर्ख मानिसजस्तै हो जसले आफ्नो घर बालुवामाथि बनायो । पानी पर्‍यो, बाढी आयो, र हुरी आयो र त्यस घरलाई हान्यो । र त्यो ढल्यो र पूर्ण रूपमा नष्‍ट भयो ।”

जसले तिमीहरूलाई ग्रहण गर्दैन वा तिमीहरूका वचन सुन्दैन, तिमीहरू त्यस सहर वा गाउँबाट निस्केर जाँदा, तिमीहरूका खुट्टाबाट धुलो टकटक्याइदेओ । साँच्‍चै म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा त्यस सहरको भन्दा सदोम र गमोराको इन्साफ बढी सहनीय हुन्छ ।

यसकारण, जसले मलाई मानिसहरूका सामुन्‍ने ग्रहण गर्दछ, म पनि उसलाई स्वर्गमा हुनुहुने मेरा पिताको सामु ग्रहण गर्नेछु । तर जसले मानिसहरूका सामुन्‍ने मलाई इन्कार गर्दछ, म पनि उसलाई स्वर्गमा हुनुहुने मेरा पिताको सामु इन्कार गर्नेछु ।

जसले मलाई भन्दा आफ्नो बुबा वा आमालाई प्रेम गर्छ, त्यो मेरो निम्ति योग्यको हुँदैन । र जसले आफ्नो छोरा वा छोरीलाई मलाई भन्दा बढी प्रेम गर्छ, ऊ मेरो निम्ति योग्यको हुँदैन । जसले आफ्नो क्रुस उठाएर मेरो पछि लाग्दैन, ऊ मेरो निम्ति योग्यको हुँदैन । जसले आफ्नो जीवन भेट्टाउँछ, उसले त्यो गुमाउनेछ । तर जसले मेरो खतिर आफ्नो जीवन गुमाउँछ, उसले जीवन पाउनेछ । जसले तिमीहरूलाई स्वागत गर्दछ, उसले मलाई स्वागत गर्दछ र जसले मलाई स्वागत गर्दछ, उसले मलाई पठाउनुहुनेलाई पनि स्वागत गर्दछ ।

येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूलाई स्वर्गको राज्यका रहस्यहरू बुझ्‍ने मौका दिइएको छ, तर तिनीहरूलाई यो दिइएको छैन ।

त्यसैले, तिनीहरूसँग म दृष्‍टान्तमा बोल्दछु, किनकि तिनीहरूले देखे तापनि तिनीहरूले वास्तवमा देख्दैनन् । अनि तिनीहरूले सुने तापनि वास्तवमा तिनीहरूले सुन्दैनन्, न त तिनीहरूले बुझ्दछन् । तिनीहरूका निम्ति यशैया अगमवक्‍ताको अगमवाणी पुरा हुन्छ, जसले यसो भन्छन्, ‘सुनिरहेका हुँदा त तिमीहरूले सुन्छौ, तर तिमीहरूले कुनै रीतिले बुझ्दैनौ; हेरिरहेका हुँदा त तिमीहरूले हेर्छौ, तर तिमीहरूले कुनै रीतिले देख्दैनौ । किनकि यी मानिसहरूका हृदय सुस्त भएका छन्, र तिनीहरू सुन्‍नलाई कठोर भएका छन्, र तिनीहरू फेरि फर्केलान्, र मैले तिनीहरूलाई निको पार्ने थिए भनेर तिनीहरूले आफ्ना आँखा बन्द गरेका छन् । यसैले, तिनीहरूले आफ्ना आँखाले देख्दैनन्, वा तिनीहरूले आफ्ना कानले सुन्दैनन्, वा तिनीहरूले आफ्ना हृदयले बुझ्दैनन् ।’ तर धन्यका हुन तिम्रा आँखा, किनकि तिनले देख्छन्; र तिम्रा कान, किनकि तिनले सुन्दछन् । साँच्‍चै म तिमीहरूलाई भन्दछु, कि तिमीहरूले जे देखेका छौ धेरै अगमवक्‍ताहरू र धर्मी मानिसहरूले ती हेर्ने इच्छा गरे, र तिनीहरूले ती देखेनन् । तिमीहरूले जे सुनेका छौ तिनीहरूले ती सुन्‍ने इच्छा गरे, तर तिनीहरूले ती सुनेनन् । तब बिउ छर्नेको दृष्‍टान्त सुन । जब कसैले राज्यको वचन सुन्छ तर त्यसलाई बुझ्दैन, तब दुष्‍ट आउँछ र उसको हृदयमा जे छरिएको थियो, त्यो खोसेर लैजान्छ । योचाहिँ त्यो बिउ हो जुन बाटोको छेउमा छरिएको थियो । ढुङ्गेनी माटोमा छरिएको चाहिँ त्यो हो जसले वचन सुन्छ र तुरुन्तै खुसीसाथ त्यसलाई ग्रहण गर्छ । तर ऊ आफैँमा जरा हुँदैन र केही बेरसम्म मात्र टिकिरहन्छ । तर जब वचनको कारण सतावट वा कष्‍ट आउँछ, उसले तुरुन्तै ठेस खान्छ । काँडाघारीमा छरिएको चाहिँ त्यो हो, जसले वचन सुन्छ, तर संसारको वास्ता र धनीहरूको कपटले वचनलाई निसासिदिन्छ, अनि ऊ निष्फल हुन्छ । असल माटोमा छरिएको चाहिँ त्यो हो, जसले वचन सुन्छ र त्यसलाई बुझ्छ । त्यसले नै साँचो रूपमा फल फलाउँछ र केहीले सय गुणा, केहीले साठी गुणा, र केहीले तिस गुणा फल फलाउँछ ।”

येशूले उत्तर दिनुभयो र भन्‍नुभयो, “हरेक बिरुवा जुन स्वर्गमा हुनुहुने मेरा पिताले रोप्‍नुभएको छैन, त्यो उखेलिनेछ ।

तर येशूले तिनीहरूलाई जवाफ दिनुभयो र भन्‍नुभयो, “तिमीहरू भुलमा परेका छौ, किनभने तिमीहरू धर्मशास्‍त्र वा परमेश्‍वरको शक्‍तिलाई जान्दैनौ ।

येशूले उनलाई भन्‍नुभयो, “तैँले परमप्रभु आफ्ना परमेश्‍वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले र आफ्नो सारा समझले प्रेम गर्नू । योचाहिँ पहिलो र महान् आज्ञा हो । अनि दोस्रो आज्ञा पनि यस्तै छ– ‘तैँले आफ्नो छिमेकीलाई आफैँलाई झैँ प्रेम गर्नू ।’ सारा व्यवस्था र अगमवक्‍ताहरू यी दुईवटा आज्ञामाथि आधारित छन् ।”

राज्यको यो सुसमाचार सारा संसारमा सबै जातिलाई साक्षीको रूपमा प्रचार गरिनेछ । तब अन्त आउनेछ ।

स्वर्ग र पृथ्वी बितेर जानेछ, तर मेरा वचन बितेर जानेछैनन् ।

येशू उनीहरूकहाँ आउनुभयो र उनीहरूसँग बोल्नुभयो र भन्‍नुभयो, “स्वर्ग र पृथ्वीमा सबै अधिकार मलाई दिइएको छ ।

अब यूहन्‍ना पक्राउ परेपछि परमेश्‍वरको सुसमाचार प्रचार गर्दै येशू गालीलमा आउनुभयो । र भन्‍नुभयो, “समय पुरा भएको छ, र परमेश्‍वरको राज्य नजिकै छ । पश्‍चात्ताप गर र सुसमाचारमा विश्‍वास गर ।

उहाँले तिनीहरूलाई भन्‍नुभयो, तिमीहरूलाई परमेश्‍वरको राज्यको रहस्य दिइएको छ । तर बाहिरकाहरूलाई हरेक कुरा दृष्‍टान्तहरूमा दिइएको छ । त्यसैले, जब तिनीहरूले हेर्छन्, हो, तिनीहरूले हेर्छन्, तर देख्दैनन्, र जब तिनीहरूले सुन्छन्, हो, तिनीहरूले सुन्छन्, तर बुझ्दैनन्, नत्रता तिनीहरू फर्कन्थे र परमेश्‍वरले तिनीहरूलाई क्षमा गर्नुहुने थियो ।” अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरूले यो दृष्‍टान्त बुझ्दैनौ? त्यसो भए, तिमीहरूले अरू दृष्‍टान्तहरू कसरी बुझ्‍नेछौ?” बिउ छर्नेले वचन छर्छ । वचन छर्दा बाटोतिर परेका केही बिउ यी नै हुन् । जब तिनीहरूले वचन सुन्छन्, र तुरुन्तै शैतान आउँछ र तिनीहरूमा छरिएका वचन खोसेर लैजान्छ । ढुङ्गेनी जमिनमा छरिएका केही बिउचाहिँ यी नै हुन्, जब तिनीहरूले वचन सुन्छन्, तिनीहरूले यसलाई तुरुन्तै आनन्दसाथ ग्रहण गर्छन् । तिनीहरूको आफ्‍नो कुनै जरा हुँदैन, तर केही समयसम्म मात्र टिक्छन् । वचनको कारणले सङ्कष्‍ट वा सतावट आउँदा तिनीहरूले तुरुन्तै ठेस खान्छन् । अरूहरूचाहिँ ती हुन्, जो काँढाका झाङहरूका माझमा छरिएका छन् । तिनीहरूले वचन सुन्छन्, तर संसारको फिक्री, धन-सम्पत्तिको छल र अन्य कुराहरूको लालसा प्रवेश गर्छन् जसले वचनलाई निसासिदिन्छन् र यो फलदायी हुँदैन । असल जमिनमा छरिएका बिउहरूचाहिँ ती नै हुन् । तिनीहरूले वचन सुन्छन्; यसलाई ग्रहण गर्छन् अनि केहीले तिस गुणा, केहीले साठी गुणा र केहीले सय गुणा फल फलाउँछन् ।”

तर जब येशूले तिनीहरूले भनेको कुरा सुन्‍नुभयो, उहाँले सभाघरका अगुवालाई भन्‍नुभयो, “नडराऊ । विश्‍वास मात्र गर ।”

तिमीहरूले परमेश्‍वरको आज्ञालाई चल्दै आएको आफ्नो परम्पराले व्यर्थ तुल्याएका छौ । र तिमीहरू त्यस्तै धेरै काम गर्छौ ।”

त्यसपछि उहाँले भिड र उहाँका चेलाहरूलाई सँगै बोलाउनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “यदि कसैले मलाई पछ्याउन चाहन्छ भने, त्यसले आफैँलाई इन्कार गर्नुपर्छ, त्यसको क्रुस बोक्‍नुपर्छ र मलाई पछ्याउनुपर्छ । किनकि जसले आफ्नो जीवन बचाउन खोज्छ त्यसले त्यो गुमाउनेछ, र जसले मेरो र सुसमाचारको खातिर आफ्‍नो जीवन गुमाउँछ, त्यसले यसलाई बचाउनेछ । मानिसले सारा संसार प्राप्‍त गरेर आफ्नै जीवन गुमायो भने उसलाई के लाभ हुन्छ र? मानिसले आफ्नो जीवनको बद्लामा के दिन सक्छ र? यस व्यभिचारी र पापी पुस्तामा जो म र मेरो वचनसँग शर्माउँछ, मानिसका पुत्र पनि पवित्र स्वर्गदूतहरूसँग पिताको महिमामा आउँदा त्यससँग शर्माउनेछ ।”

येशूले भन्‍नुभयो, “तिमीहरूले न त धर्मशास्‍त्र न परमेश्‍वरको शक्‍तिको बारेमा जानेका हुनाले नै के तिमीहरूले गल्ती गरेका होइनौ र?

तर सबै जातिलाई पहिले सुसमाचार प्रचार गरिनुपर्छ ।

स्वर्ग र पृथ्वी बितेर जानेछ, तर मेरो वचन कहिल्यै बितेर जानेछैन ।

उहाँले तिनीहरूलाई भन्‍नुभयो, “सारा संसारमा जाओ, र समग्र सृष्‍टिलाई सुसमाचार प्रचार गर । जसले विश्‍वास गर्छ र बप्‍तिस्मा लिन्छ त्यो बचाइनेछ र जसले विश्‍वास गर्दैन त्यो दोषी ठहरिनेछ ।

चेलाहरू गए, र सबैतिर प्रचार गरे र प्रभुले तिनीहरूसँग काम गर्नुभयो र तिनीहरूसँग भएका आश्‍चर्य चिन्हहरूले वचनलाई पुष्‍टि गर्नुभयो ।

साथै तरवारले तिम्रो आफ्नै प्राण छेड्नेछ, ताकि धेरैका हृदयका विचारहरू प्रकट होऊन् ।”

येशूले जवाफ दिनुभयो, “लेखिएको छ, मानिस रोटीले मात्र बाँच्‍न सक्दैन ।”

तिनीहरू उहाँको शिक्षामा आश्‍चर्य चकित भए, किनभने उहाँले अधिकारसहित बोल्नुभएको थियो ।

तिमीहरू मलाई किन “प्रभु, प्रभु” भन्दछौ, जब कि मैले भनेका कुराहरूचाहिँ तिमीहरूले पालना गर्दैनौ? हरेक व्यक्‍ति जो मकहाँ आउँछ र मेरा वचन सुन्छ र पालन गर्छ, म तिमीहरूलाई भन्दछु, ऊ कस्तो मानिस हो । ऊ एक जना घर बनाउने मानिसजस्तो हो, जसले जमिन गहिरो गरी खन्यो र घरको जग बलियो चट्टानमाथि बसाल्यो । जब जलप्रवाह भयो, तब बाढी उर्ली आएर त्यस घरलाई प्रहार गर्‍यो, तर त्यसलाई हल्लाउन सकेन, किनभने त्यो राम्ररी बनाइएको थियो । तर एक जना मानिस जसले मेरा वचनहरू सुन्छ र पालन गर्दैन्, त्यो मानिस जमिनमाथि विनाजग घर बनाउने मानिसजस्तो हो । जब जलप्रवाह उर्ली आयो र त्यस घरलाई प्रहार गर्‍यो तब त्यो घर तुरुन्तै ढली हाल्यो र त्यस घरको पुरै विनाश भयो ।

येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूलाई परमेश्‍वरका राज्यका रहस्यका कुराहरू बुझ्‍ने अवसर दिइएको छ, तर बाँकी मानिसहरूलाई दृष्‍टान्तमा सिकाइने छ । त्यसकारण ‘वास्तवमा तिनीहरूले हेरेर पनि देख्‍नेछैनन्, सुनेर पनि बुझ्‍नेछैनन् ।’ अब दृष्‍टान्तको अर्थ यही होः बिउ परमेश्‍वरको वचन हो । बाटोको किनारमा परेका बिउ ती मानिसहरूजस्ता हुन् जसले वचन सुन्छन्, तर दुष्‍ट आउँछ र तिनीहरूको हृदयमा भएका वचन खोसेर लैजान्छ ताकि तिनीहरूले विश्‍वास नगरून् र नबाँचून् । त्यसपछि ढुङ्गेनी जमिनमा परेको बिउ ती मानिसहरूजस्ता हुन् जसले वचन सुन्छन्, खुसीसाथ ग्रहण गर्छन्, तर तिनीहरूको गहिराइ नभएकोले केवल एक क्षणका लागि मात्र विश्‍वास गर्छन् र जाँचको समयमा तिनीहरू पतन भएर जान्छन् । काँडाको झाडीमा परेको बिउ ती मानिसहरूजस्ता हुन् जसले वचन सुनेका छन्, तर जीवन जिउने क्रममा, संसारका धन सम्पत्तिको फिक्री, सुख विलासका कारण निसासिएर परिपक्‍व फल फलाउन सक्दैनन् । तर असल जमिनमा परेका बिउ ती मानिसहरूजस्तउ हुन्, जसले इमानदार र असल हृदयसाथ वचन सुनेर यसलाई सुरक्षितसाथ पक्री राख्छन् र धैर्यसाथ फल फलाउँछन् ।

तर येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “मेरा आमा र भाइहरू भनेका ती हुन्, जसले मेरो वचन सुन्छन् र पालना गर्छन् ।”

उहाँले तिनीहरू सबैलाई भन्‍नुभयो, “यदि कोही मेरो पछि आउन चाहन्छ भने, उसले आफैँलाई इन्कार गरोस्, दिनहुँ आफ्नो क्रुस उठाओस् र मलाई पछ्याओस् । जसले आफ्नो जीवनलाई बचाउने प्रयास गर्दछ, उसले त्यसलाई गुमाउनेछ, तर मेरो खातिर जसले आफ्नो जीवन गुमाउँछ, त्यसले त्यो बचाउनेछ । सारा संसार हात पारेर पनि उसले आफैँलाई नाश गर्छ वा गुमाउँछ भने, मानिसलाई के लाभ हुन्छ र? जो मेरा वचनहरू र मसँग शर्माउँछ, महिमाका पिता र पवित्र दूतहरूका सामु मानिसका पुत्र पनि आफ्नो महिमामा आउँदा तिनीहरूसँग शर्माउँनेछन् ।

तब उहाँले अर्को मानिसलाई भन्‍नुभयो, “मेरो पछि लाग ।” तर उसले भन्यो, “प्रभु, मलाई पहिले मेरा बुबालाई गाड्न दिनुहोस् ।” तर उहाँले उसलाई भन्‍नुभयो, “मृतकहरूलाई नै तिनीहरूको मृत शरीर गाड्न देऊ, तर तिमी जाऊ र जताततै परमेश्‍वरको राज्यको घोषणा गर ।” अर्को मानिसले पनि भन्यो, “प्रभु म तपाईंलाई पछ्याउँछु, तर पहिले मेरो घरमा भएकाहरूसँग बिदा माग्‍न दिनुहोस् ।” तर येशूले उसलाई भन्‍नुभयो, “हलोमा आफ्नो हात राखेर पछाडि हेर्ने कोही पनि परमेश्‍वरको राज्यको योग्य हुँदैन ।”

तर उहाँले भन्‍नुभयो, “त्योभन्दा पनि, ती मानिसहरू धन्यका हुन् जसले परमेश्‍वरका वचन सुन्दछन् र त्यसलाई पालन गर्दछन् ।”

कसैले उहाँलाई भन्यो, “प्रभु, के थोरै मानिसहरू मात्र बचाइन्छन् त?” त्यसैले उहाँले तिनीहरूलाई भन्‍नुभयो, “साँगुरो ढोका भएर पस्‍ने कोसिस गर, किनभने धेरैले प्रयास गर्नेछन्, तर पस्‍न सक्षम हुनेछैनन् ।

“यदि कोही मेरो पछि आउँछ भने र आफ्नो आमा, बुबा, श्रीमती, छोराछोरी, दाजुभाइ र दिदी-बहिननी, र आफ्नै जीवनलाई पनि इन्कार गर्दैन भने, ऊ मेरो चेला हुन सक्दैन । जसले आफ्नो क्रुस बोकेर मेरो पछि लाग्दैन, ऊ मेरो चेला हुन सक्दैन ।

यूहन्‍ना आउनअगि अगमवक्‍ता र व्यवस्थाले काम गर्दथे । त्यस समयदेखि, परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गरिएको छ र यसमा सबै जना बलजफ्तीसँग प्रवेश गर्न कोसिस गर्छन् । स्वर्ग र पृथ्वी बितेर जान सक्ला तर व्यवस्थाको वचनबाट एउटा अक्षरको थोप्लो पनि रद्द हुनेछैन ।

तर अब्राहामले भने, ‘तिनीहरूसँग मोशा र अगमवक्‍ताहरू छन् । तिनीहरूले उनीहरूका कुरा सुनून् ।’ धनी मानिसले उत्तर दियो, ‘होइन पिता अब्राहाम, मरेकाहरूबाट कोही तिनीहरूकहाँ गयो भने, तिनीहरूले पश्‍चात्ताप गर्ने थिए ।’ अब्राहामले उसलाई भने, ‘यदि तिनीहरूले मोशा र अगमवक्‍ताका कुरा सुनेनन् भने कोही मृत्युबाट उठेको मानिसको कुरा पनि मान्‍ने छैनन्’ ।”

स्वर्ग र पृथ्वी टलेर जानेछ, तर मेरा वचनहरू कहिल्यै टल्नेछैनन् ।

येशूले तिनीहरूलाई भन्‍नुभयो, “हे मूर्ख मानिसहरू र विश्‍वास गर्न सुस्त हृदय भएकाहरू हो, ती सबै कुराहरू अगमवक्‍ताहरूले बोलेका थिएनन् र?

तब मोशादेखि लिएर सबै अगमवक्‍ताहरूद्वारा सबै धर्मशास्‍त्रमा येशूको विषयमा भनिएका कुराहरू उहाँले तिनीहरूलाई व्याख्या गरिदिनुभयो ।

उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जब म तिमीहरूसँग थिएँ, मैले तिमीहरूलाई भनेको थिएँ कि मोशाको व्यवस्था, अगमवक्‍ताहरूको पुस्तक र भजनसङ्ग्रहको पुस्तकमा लेखिएका सबै कुराहरू पुरा हुनैपर्छ ।” तब तिनीहरूले धर्मशास्‍त्र बुझ्‍न सकून् भनेर उहाँले तिनीहरूको विवेक खोली दिनुभयो ।

सुरुमा वचन हुनुहुन्‍थ्‍यो । वचन परमेश्‍वरसँग हुनुहुन्‍थ्‍यो । अनि वचन नै परमेश्‍वर हुनुहुन्‍थ्‍यो ।

किनकि व्‍यवस्‍था मोशाद्वारा दिइयो । अनुग्रह र सत्‍यता येशू ख्रीष्‍टद्वारा आयो ।

त्यसैले उहाँ मृत्युबाट जीवित भई उठ्नुहुँदा, उहाँले भन्‍नुभएको यो कुरा उहाँका चेलाहरूले सम्‍झे र तिनीहरूले धर्मशास्‍त्र र येशूले भन्‍नुभएको यो भनाइमाथि विश्‍वास गरे ।

यदि मैले तिमीलाई पृथ्‍वीको कुरा भनेँ भने तिमीहरू विश्‍वास गर्दैनौ, यदि मैले स्वर्गका कुराहरू भनेँ भने तिमीले कसरी विश्‍वास गर्छौ?

किनभने परमेश्‍वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एक मात्र पुत्र दिनुभयो, ताकि उहाँमा ‍विश्‍वास गर्ने कोही पनि नमरोस्, तर उसले अनन्त जीवन पाओस् । किनकि परमेश्‍वरले यस संसारलाई दण्ड दिन होइन, तर उहाँद्वारा संसारलाई बचाउन आफ्ना पुत्र पठाउनुभयो । उहाँमा विश्‍वास गर्ने दण्डित हुँदैन, तर उहाँमा विश्‍वास नगर्ने अगि नै दण्डित भइसकेको छ, किनभने त्यसले परमेश्‍वरका एक मात्र पुत्रको नाउँमा विश्‍वास गरेको छैन ।

किनकि परमेश्‍वरले जसलाई पठउनुभएको छ, त्यसले उहाँको वचन बोल्छ । किनकि उहाँले पवित्र आत्मा नापतौल गरेर दिनुहुन्‍न ।

पुत्रमा विश्‍वास गर्नेसँग अनन्त जीवन हुन्छ, तर पुत्रको अवाज्ञा गर्नेले जीवन देख्‍नेछैन, तर त्यसमाथि परमेश्‍वरको क्रोध पर्नेछ ।”

परमेश्‍वर आत्‍मा हुनुहुन्‍छ र उहाँलाई आराधना गर्ने मानिसहरूले उहाँलाई आत्‍मा र सत्‍यतामा आराधना गर्नुपर्छ ।”

साँचो, साँचो, जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुनेलाई विश्‍वास गर्छ त्यससँग अनन्त जीवन हुन्छ र त्यो दोषी ठहराइनेछैन, तर त्यो मृत्युबाट जीवनमा सरेको छ । साँचो, साँचो म तिमीहरूलाई भन्छु, समय आइरहेको छ र यो अहिले नै हो, जब मृतकहरूले परमेश्‍वरका पुत्रको सोर सुन्‍नेछन्, र ती सुन्‍नेहरू बाँच्‍नेछन् ।

तिमीहरूमा उहाँको वचन रहेको छैन, किनकि उहाँले पठाउनुभएकोलाई तिमीहरूले विश्‍वास गरिरहेका छैनौ । तिमीहरू धर्मशास्‍त्रमा खोज्दछौ, किनकि तिनमा तिमीहरूको निम्ति अनन्त जीवन छ भन्‍ने सोच्दछौ र यी नै धर्मशास्‍त्रहरूले मेरो विषयमा गवाही दिन्छन्,

जीवन दिनुहुने त आत्मा नै हुनुहुन्छ, देहले त कुनै पनि लाभ दिँदैन । मैले तिमीहरूलाई बोलेका वचनहरू आत्मा हुन् र तिनीहरू जीवन हुन् ।

यसकारण म तिमीहरूलाई भन्दछु, तिमीहरू आफ्नो पापमा नै मर्नेछौ, किनभने म उही हुँ भनी तिमीहरूले विश्‍वास नगरेसम्म तिमीहरू आफ्नो पापमा नै मर्नेछौ ।”

येशूले उहाँमा विश्‍वास गर्ने यहूदीहरूलाई भन्‍नुभयो, “यदि तिमीहरू मेरो वचनमा रहिरह्‍यौ भने तिमीहरू साँच्‍चै मेरा चेलाहरू हौ; र तिमीहरूले सत्य जन्‍नेछौ, र सत्यले तिमीहरूलाई स्वतन्‍त्र पार्नेछ ।”

तिमीहरू मेरा वचनहरू किन बुझ्दैनौ? किनभने तिमीहरू मेरो वचन सुन्‍न सक्दैनौ । तिमीहरू आफ्ना पिता अर्थात् शैतानका हौ, र तिमीहरू तिमीहरूका पिताको इच्छा पुरा गर्ने इच्छा गर्छौ । त्यो सुरुदेखि नै हत्यारा थियो र त्यो सत्यमा खडा हुँदैन, किनकि त्यसमा सत्य छैन । जब त्यसले झुट बोल्छ, त्यो आफ्नै स्वभावबाट बोल्छ, किनकि त्यो झुट र झुटको पिता हो । म सत्य बोल्छु, तापनि तिमीहरू मलाई विश्‍वास गर्दैनौ । तिमीहरूमध्ये कसले मलाई पापको दोष लगाउँछ? यदि म सत्य बोल्छु भने, तिमीहरू मलाई किन विश्‍वास गर्दैनौ? जो परमेश्‍वरको हो त्यसले परमेश्‍वरको वचन सुन्छ; तिमीहरू ती सुन्दैनौ, किनभने तिमीहरू परमेश्‍वरका होइनौ ।”

म तिमीहरूलाई साँचो, साँचो भन्दछु, यदि कसैले मेरो वचन पालना गर्छ भने, त्यसले कहिल्यै मृत्यु देख्‍नेछैन ।”

तरै पनि तिमीहरू विश्‍वास गर्दैनौ, किनकि तिमीहरू मेरा भेडाहरू होइनौ । मेरा भेडाहरूले मेरो सोर सुन्‍छन्, म तिनीहरूलाई चिन्‍छु र तिनीहरूले मलाई पछ्याउँछन् ।

यदि उहाँले तिनीहरूलाई ईश्‍वरहरू भन्‍नुभयो भने परमेश्‍वरको वचन कसकहाँ आयो?

जसले आफ्नो जीवनलाई प्रेम गर्छ त्यसले त्यो गुमाउनेछ, तर जसले यस संसारमा आफ्नो जीवनलाई घृणा गर्छ त्यसले यो अनन्त जीवनको लागि जोगाइराख्‍नेछ । यदि कसैले मेरो सेवा गर्छ भने, त्यसले मलाई पछ्याओस्, र म जहाँ हुन्छु त्यहाँ मेरो सेवक पनि हुनेछ । यदि कसैले मेरो सेवा गर्छ भने पिताले त्यसको आदर गर्नुहुनेछ ।

तिनीहरूको सामु येशूले यति धेरै चिह्न‍हरू गर्नुभए तापनि तिनीहरूले उहाँमाथि अझै पनि विश्‍वास गरेनन् । यशैया अगमवक्‍ताको वचन पुरा होस् भनेर यसो भएको थियो । तिनी भन्दछन्, “प्रभु, हाम्रो समाचार कसले विश्‍वास गरेको छ? र परमेश्‍वरको बाहुली कसलाई प्रकट गरिएको छ?” यसैकारण, तिनीहरूले विश्‍वास गर्न सकेनन्, किनकि यशैयाले यसो पनि भने, “उहाँले तिनीहरूका आँखा अन्धो तुल्याइदिनुभएको छ र उहाँले तिनीहरूका हृदय कठोर पारिदिनुभएको छ; नत्रता तिनीहरूका आँखाले देख्‍ने थिए र उनीहरूका हृदयले बुझ्‍ने थिए र फर्किने थिए, अनि म तिनीहरूलाई निको पार्ने थिएँ ।” यशैयाले यी कुराहरू भने, किनकि तिनले येशूको महिमा देखे र उहाँको विषयमा बोले । तरै पनि शासकहरूमध्ये धेरैले येशूमा विश्‍वास गरे, तर फरिसीहरूको कारणले गर्दा तिनीहरूले यसलाई स्वीकार गरेनन्, ताकि तिनीहरूलाई सभाघरमा रोक नलगाइयोस् । तिनीहरूले परमेश्‍वरबाट आउने प्रशंसाभन्दा मानिसहरूबाट आउने प्रशंसा बढी रुचाए ।

जसले मलाई इन्कार गर्छ, र मेरा वचनहरू ग्रहण गर्दैन, त्यसको न्याय गर्ने एक जना हुनुहुन्छः मैले बोलेको मेरो वचनले नै अन्त्यको दिनमा त्यसको न्याय गर्नेछ ।

किनकि म मेरो आफ्नै तर्फबाट बोलिनँ, तर मलाई पठाउनुहुने पिता नै हुनुहुन्छ, जसले मैले के बोल्ने र के भन्‍ने विषयमा आज्ञा दिनुभएको छ । म जान्दछु, कि उहाँको आज्ञा अनन्त जीवन हो । त्यसैले, म त्यही भन्छुः पिता मसँग जस्तो बोल्नुभएको छ, म त्यस्तै बोल्छु ।

येशूले तिनलाई भन्‍नुभयो, “बाटो, सत्य र जीवन मै नै हुँ; मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन ।

यदि तिमीहरूले मलाई प्रेम गर्छौ भने तिमीहरूले मेरा आज्ञाहरू पालन गर्नेछौ ।

जोसँग मेरा आज्ञाहरू छन् र तिनलाई पालन गर्छन्, मलाई प्रेम गर्ने त्यही हो, अनि जसले मलाई प्रेम गर्छ त्यसलाई मेरा पिताद्वारा प्रेम गरिनेछ, र म त्यसलाई प्रेम गर्नेछु र म आफैँ त्यसकहाँ देखा पर्छु ।”

येशूले तिनलाई जवाफ दिनुभयो, र भन्‍नुभयो, “यदि कसैले मलाई प्रेम गर्छ भने, त्यसले मरो वचन पालन गर्नेछ । मेरा पिताले त्यसलाई प्रेम गर्नुहुनेछ, अनि हामी त्यसकहाँ आउनेछौँ र त्यससँग हामी हाम्रो बासस्‍थान बनाउनेछौँ ।” जसले मलाई प्रेम गर्दैन, त्यसले मेरो वचन पालन गर्दैन । तिमीहरूले सुनेका वचन मबाट आएको होइन, तर पिताबाट आएको हो जसले मलाई पठाउनुभयो ।

यदि तिमीहरू ममा रह्‍यौ र मेरा वचनहरू तिमीहरूमा रहे भने, तिमीहरू जे इच्छा गर्छौ सो माग, र यो तिमीहरूका निम्ति गरिनेछ ।”

तर जब उहाँ अर्थात् सत्यको आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सबै सत्यतामा डोर्‍याउनुहुनेछ, किनकि उहाँ आफ्नो निम्ति बोल्नुहुनेछैन । तर उहाँले जे सुन्‍नुहुन्छ, त्यही बोल्नुहुनेछ र के हुनेछ भनी उहाँले तिमीहरूलाई बताउनुहुनेछ ।

मैले तिनीहरूको वचन दिएको छु, संसारले तिनीहरूलाई घृणा गरेको छ, किनभने जस्तो म संसारको होइनँ, तिनीहरू पनि संसारका होइनन् ।

तिनीहरूलाई सत्यतामा आफ्नै लागि समर्पण गर्नुहोस् । तपाईंको वचन सत्य छ ।

तब पिलातसले उहाँलाई भने, “त्यसो भए तिमी राजा नै हौ त?” येशूले जवाफ दिनुभयो, “तपाईं नै मलाई राजा भन्‍नुहुन्छ । म यही उद्देश्‍यको निम्ति जन्मिएको हुँ, अनि म यही उद्देश्‍यको निम्ति म यस संसारमा आएको छु, ताकि मैले सत्यको गवाही दिऊँ । सत्यका सबैले मेरो आवाज सुन्छन् ।”

तर पत्रुस र प्रेरितहरूले जवाफ दिए, “हामीले मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा पालन गर्नु पर्छ ।

तर पावल र बारनाबासले साहससित बोल्दै भने, “परमेश्‍वरको वचन पहिले तपाईंहरूकहाँ नै बोल्नु नै आवश्यक थियो । तपाईंहरूबाट धकेलिएको देखेर आफूले आफैँलाई अनन्त जीवन प्राप्‍त गर्नदेखि अयोग्य तुल्याउनुभएको हुनाले, हेर्नुहोस्, हामी गैरयहूदी तर्फ फर्केनेछौँ ।

थेसलोनिकेमा भएका मानिसहरूभन्दा यहाँका मानिसहरू असल थिए किनभने यिनीहरूले सिकाइएका कुराहरू त्यस्तै हुन् कि होइनन् भनी दैनिक रूपमा धर्मशास्‍त्रबाट जाँच्दै खुल्ला रूपमा परमेश्‍वरको वचनलाई ग्रहण गर्थे ।

तर केही यहूदीहरूले हृदय कठोर पारे र अनाज्ञाकारी भए, अनि तिनीहरूले ख्रीष्‍टको मार्गको विरुद्धमा भिडहरूका सामु दुष्‍ट कुरा बोल्न थाले । यसकारण पावलले उनीहरूलाई छोडे र विश्‍वासहरूलाई लिएर त्यहाँबाट गए । उनले टुरान्‍नसको प्रवचन कक्षमा हरेक दिन बोल्न थाले ।

मलाई थाहा छ कि म यहाँबाट गएपछि, खतरनाक ब्वाँसाहरू तपाईंहरूका बिचमा प्रवेश गर्नेछन् र बगाललाई बाँकी राख्‍ने छैनन् । मलाई थाहा छ कि तपाईंहरूमध्येबाटै केही मानिसहरू आउनेछन् र चेलाहरूलाई आफ्नोपछि तान्‍नका लागि भ्रष्‍ट कुराहरू गर्नेछन् । त्यसैले होसियार हुनुहोस् । यो सम्झना गर्नुहोस् कि तिन वर्षसम्म दिन र रात आँशु बगाउँदै तपाईंहरू हरेक जनालाई निर्देशन दिन म पछि परिनँ ।

उनले भने, “यी मानिसहरूकहाँ जा, र भन्, ‘ सुन्‍न त तिमीहरू सुन्‍नेछौ तर बुझ्दैनौ, देखेर देख्‍नेछौ तर सजग हुनेछैनौ । किनकि यी मानिसहरूका हृदय सुस्त भएका छन् । तिनीहरूको कानले मुश्किलसाथ सुनेका छन् । तिनीहरूले आँखा बन्द गरेका छन्, नत्रता तिनीहरूको आँखा सजग हुने थिए, र तिनीहरूका कानले सुन्‍ने थिए, र तिनीहरूका हृदयले बुझ्‍ने थिए, र फर्कने थिए र म तिनीहरूलाई निको पार्ने थिएँ ।’

प्रेरित हुनको निम्ति बोलाइएका र सुसमाचारको कामको निम्ति अलग गरिएका, येशू ख्रीष्‍टका दास पावल । उहाँले आफ्ना अगमवक्‍ताहरूद्वारा पहिले नै पवित्र धर्मशास्‍त्रमा प्रतिज्ञा गर्नुभएको सुसमाचार यही हो ।

म सुसमाचारको निम्ति शर्माउँदिनँ, किनकि यो विश्‍वास गर्ने सबैको निम्ति परमेश्‍वरको मुक्‍तिको शक्‍ति हो, पहिलो यहूदी र त्यसपछि ग्रिकहरूका निम्ति । किनकि यसैमा परमेश्‍वरको धार्मिकता विश्‍वासबाट विश्‍वासमा प्रकट गरिएको छ, जस्तो लेखिएको छ “धर्मीहरू विश्‍वासद्वारा नै जिउनेछन् ।” किनभने सबै भक्‍तिहीनता र मानिसहरूको अधार्मिक्‍ता विरुद्ध परमेश्‍वरको क्रोध स्वर्गबाट प्रकट भएको छ जसले भक्‍तिहीनताद्वारा सत्यतालाई रोकेको छ । यो परमेश्‍वरबारे अज्ञात भएको कुरा तिनीहरूलाई दृश्‍य भएको हुनाले हो । किनभने परमेश्‍वरले तिनीहरूलाई प्रकाश दिनुभएको छ । किनकि संसारको उत्‍पत्तिदेखि उहाँका अदृश्य पक्षहरू स्पष्‍ट रूपमा दृश्‍य भएका छन् । ती सृजिएका थोकहरूद्वारा बुझिएका छन् । यी पक्षहरू उहाँको अनन्त शक्‍ति र ईश्‍वरीय स्वभावहरू हुन् । परिणामस्वरूप, यी मानिसहरूलाई कुनै बहाना छैन । यो तिनीहरूले परमेश्‍वरलाई चिनेर पनि तिनीहरूले उहाँलाई परमेश्‍वरको रूपमा महिमा नदिएकाले गर्दा भएको हो । बरु, तिनीहरू आ-आफ्नै विचारमा मूर्ख भए, र तिनीहरूका अचेत हृदयहरू अँध्यारो बनाइए । तिनीहरूले बुद्धिमान्‌ भएको दाबी गरे, तापनि तिनीहरू मूर्ख नै भए ।

त्यसो भए यहूदीलाई के फाइदा छ त? अनि खतनाको के फाइदा छ त? यो हरतरहले महान् छ । सर्वप्रथम त परमेश्‍वरको प्रकाश यहूदीलाई सुम्पिएको थियो । किनकि केही यहूदीहरू विनाविश्‍वासका भए भन्दैमा के भयो त? के तिनीहरूको अविश्‍वासले परमेश्‍वरको विश्‍वासयोग्यतालाई अमान्य तुल्याउँछ र? कहिल्यै यस्तो नहोस् । यसको सट्टा, सबै मानिस झुटा ठहरिए तापनि परमेश्‍वर नै सत्य भेट्टाइनुभएको होस् । यस्तो लेखिएको छ, “तपाईंलाई आफ्ना वचनहरूमा धर्मी देखाइयोस्, अनि न्यायको दिनमा आउनुहुँदा तपाईं विजय हुनसक्‍नुभएको होस् ।”

यस्तो लेखिएको छ, “धर्मी कोही छैन, एक जना पनि छैन । बुझ्ने कोही पनि छैन । परमेश्‍वरलाई खोज्‍ने कोही पनि छैन ।

के हामीले विश्‍वासद्वारा व्यवस्थालाई रद्द गर्छौं त? कहिल्यै यस्तो नहोस्! बरु, हामीले व्यवस्थालाई कायम पो राख्‍छौँ ।

तर अब हामी व्यवस्थाबाट स्वतन्त्र पारिएका छौँ । हामीलाई जुन कुराले बाँधेको थियो, त्यसको निम्ति हामी मरेका छौँ । हामीले पुरानो विधानमा होइन, तर पवित्र आत्माको नयाँपनमा सेवा गर्न सकौँ भनेर यसो भएको हो ।

त्यसैले, व्यवस्था पवित्र छ, अनि आज्ञा पवित्र, धार्मिक र असल छ ।

तर हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा परमेश्‍वरलाई धन्यवाद होस्! त्यसैले, म आफैँले मेरो मनले परमेश्‍वरको व्यवस्थाको सेवा गर्छु । तापनि शरीरले म पापको सिद्धान्तको सेवा गर्छु ।

शरीरको मानसिकता परमेश्‍वरप्रति शत्रुता हो, किनकि यो परमेश्‍वरको व्यवस्थाको अधीनमा छैन, न यो बस्‍न नै समर्थ हुन्छ ।

र जबसम्म तिनीहरू पठाईंदैनन् तिनीहरूले कसरी प्रचार गर्छन् र? जस्तो लेखिएको छ, “असल कुराहरूबारे खुसीको सन्देश प्रचार गर्नेहरूका पाउ कति राम्रा?” तर तिनीहरू सबैले सुसमाचार सुनेनन् । किनकि यशैया भन्छन्, “हे प्रभु, हाम्रो सन्देश कसले विश्‍वास गरेको छ?” त्यसकारण, विश्‍वास सुनाइबाट आउँछ, र सुनाइ ख्रीष्‍टको वचनद्वारा आउँछ ।

जस्तो लेखिएको छ, “परमेश्‍वरले तिनीहरूलाई बोधो आत्मा दिनुभएको छ, ताकि आजको दिनसम्म पनि तिनीहरूका आँखा छन् र पनि तिनीहरूले देख्‍न नसकून् अनि कान छन् र पनि तिनीहरूले सुन्‍न नसकून् ।”

किनकि पहिले जे लेखिएका थिए, ती कुराहरू हाम्रै शिक्षाको निम्ति लेखिएका थिए, ताकि धर्मशास्‍त्रको धैर्य र उत्साहद्वारा हामीसँग भरोसा होस् ।

अब भाइ हो, जसले विभाजन र बाधा खडा गर्छन् तिनीहरूको बारेमा विचार गर्न म तिमीहरूलाई आग्रह गर्छु । तिनीहरू तिमीहरूले सिकेका शिक्षाभन्दा बाहिर गइरहेका छन् । तिनीहरूदेखि टाढा बस । किनकि यस्ता मानिसहरूले हाम्रा प्रभु ख्रीष्‍टको सेवा गर्दैनन्, तर तिनीहरूले आफ्नै पेटको सेवा गर्छन् । तिनीहरूका चिप्ला कुरा र चापलुसीले निर्दोषहरूको हृदयलाई छल्छ ।

किनकि क्रुसको सन्देश मरिरहेकाहरूका निम्ति मूर्खता हो, तर परमेश्‍वरले बचाइरहनुभएका मानिसहरूका लागि शक्‍ति हो ।

अब, परिपक्‍वहरूका बिचमा हामी बुद्धिका कुरा गर्दछौँ, तर यस संसारका वा यस युगका शासकहरूको बुद्धि होइन जो बितेर जाँदै छन् । बरु, लुकाइएका सत्यतामा हामी परमेश्‍वरको बुद्धिको प्रचार गर्छौं, लुकेको बुद्धि जो परमेश्‍वरले हाम्रो महिमाको निम्ति युगको अगिबाटै नियुक्‍त गर्नुभयो ।

हामी यी कुराहरू मानिसको बुद्धिले सिकाउन नसक्‍ने वचनहरूमा बोल्छौँ, तर आत्माले हामीलाई सिकाउनुहुन्छ । आत्माले आत्मिक वचनहरूलाई आत्मिक बुद्धिले प्रकाश पार्नुहुन्छ । परमेश्‍वरका आत्माका कुराहरू अनात्मिक व्यक्‍तिले ग्रहण गर्दैन, किनकि तिनीहरू त्यसका निम्ति मूर्खता हुन्छन् । उसले तिनीहरूलाई बुझ्‍न सक्दैन किनभने तिनीहरूलाई आत्मिक रूपले जाँच्‍न सकिन्छ । आत्मिक व्यक्‍तिले सबै कुराहरू जाँच गर्दछ, तर ऊचाहिँ अरूद्वारा जाँचिदैन ।

न खतना केही हो न त बेखतना नै । प्रमुख कुरा परमेश्‍वरका आज्ञाहरू पालन गर्नु नै हो ।

भाइहरू हो, तिमीहरूका माझमा मैले घोषणा गरेको सुसमाचार तिमीहरूलाई म स्मरण गराउँछु जुन तिमीहरूले पायौ र तिमीहरू त्यसैमा रहन्छौ । मैले प्रचार गरेको वचनमा अटल रह्‍यौ भने यही सुसमाचारद्वारा तिमीहरू बचाइन्छौ । नत्रता तिमीहरूले व्यर्थमा विश्‍वास गर्‍यौ ।

यदि कसैले प्रभुलाई प्रेम गर्दैन भने ऊ श्रापित होस् । हाम्रा प्रभु, आउनुहोस् ।

किनकि हामी परमेश्‍वरको निम्ति उद्धार पाएकाहरू र नष्‍ट भइरहेकाहरूका निम्ति ख्रीष्‍टका सुबास्‍ना हौँ । नष्‍ट भइरहेका मानिसहरूका लागि यो मृत्युदेखि मृत्युसम्मको सुबास्‍ना हो । अनि बचाइएकाहरूको लागि हामी जीवनदेखि जीवनसम्मको सुबास्‍ना हो । यी कुराहरूका लागि को योग्यको छ?

परमेश्‍वरले हामीलाई नयाँ करारका सेवकहरू हुन योग्य बनाउनुभएको छ । यो करार अक्षरबाट होइन, तर आत्माबाट हो । किनकि अक्षरले मार्दछ, तर आत्माले जीवन दिन्छ । अब ढुङ्गामा कुँदिएको मृत्यु ल्याउने अक्षर यस्तो महिमासँग इस्राएलीहरूको बिचमा आयो कि इस्राएलीहरूले मोशाको अनुहार सिधै हेर्न सकेनन् । यो उनको अनुहारको महिमाको कारणले गर्दा हो, जुन महिमा मन्द हुँदै थियो । पवित्र आत्माको काम झन् कति धेरै महिमित होला? यदि निन्दापूर्ण सेवाको महिमा थियो भने धार्मिकताको सेवा अझ कति धेरै महिमित हुन्छ!

बरु, हामीले गोप्य र लाजमर्दा मार्गहरू त्यागेका छौँ । हामी धूर्ततामा जिउँदैनौँ र हामी परमेश्‍वरको वचनलाई गलत तरिकाले चलाउँदैनौँ । सत्यता प्रस्तुत गर्दै परमेश्‍वरको नजरमा प्रत्येकको विवेकप्रति हामी आफैँलाई सिफारिस गर्दछौँ । यदि हाम्रो सुसमाचार घुम्टोले ढाकिएको छ भने, त्यो विनाश भइरहेकाहरूका निम्ति मात्र ढाकिएको छ । तिनीहरूको विषयमा भन्‍ने हो भने, यस संसारको देवले तिनीहरूको अविश्‍वासी मनहरू अन्धो तुल्याइदिएको छ । फलस्वरूप, तिनीहरू ख्रीष्‍टको महिमाको सुसमाचारको प्रकाश देख्‍न सक्दैनन्, जो परमेश्‍वरको स्वरूप हुनुहुन्छ ।

तर सर्पले हव्वालाई आफ्नो धूर्तताद्वारा झुक्याए जस्तै गरी ख्रीष्‍टप्रति भएको तिमीहरूको निष्कपट र शुद्ध आराधनाबाट तिमीहरूका विचार टाढा लगिन्छ कि भनेर मलाई डर लागेको छ ।

किनकि त्यस्ता मानिसहरू झुटा प्रेरितहरू र छली काम गर्नेहरू हुन् । तिनीहरूले ख्रीष्‍टको प्रेरितको भेस धारण गर्छन् । र यो कुनै अचम्मको कुरा होइन, किनकि शैतानले पनि ज्योतिर्मय स्वर्गदूतको भेस धारण गर्छ ।

किनकि हामी सत्यको विरुद्ध केही पनि गर्न सक्दैनौ, केवल सत्यको निम्ति मात्र गर्न सक्छौँ ।

तिमीहरू यति छिटै फरक सन्देशतिर फर्किएको देख्दा म चकित परेको छु । ख्रीष्‍टको अनुग्रहद्वारा तिमीहरूलाई बोलाउनुहुनेबाट तिमीहरू टाढिएको देख्दा म चकित परेको छु । अरू कुनै सुसमाचार छैन, तर केही यस्ता मानिसहरू छन् जसले तिमीहरूलाई समस्यामा पार्न र ख्रीष्‍ट येशूको सुसमाचारलाई विकृत गर्न चाहन्छन् । तर हामीले तिमीहरूका माझमा जुन सुसमाचार घोषणा गर्‍यौँ, त्योभन्दा बाहेक अरू कुनै सन्देशलाई यदि हामी वा स्वर्गबाट आएका स्वर्गदूतले नै प्रचार गरे तापनि त्यो श्रापित होस् । हामीले पहिले नै भनिसकेका छौँ र म अहिले फेरि पनि भन्दछु, “कसैले तिमीहरूले स्वीकार गरेको भन्दा बाहेक तिमीहरूका सामु अर्को सन्देशको घोषणा गर्दछ भने, त्यो श्रापित होस् ।”

तिमीहरूका निम्ति सुसमाचारको सत्यता अपरिवर्तित रहिरहोस् भनेर हामी तिनीहरूका कुरामा एक घण्टा पनि झुकेनौँ ।

व्यवस्था अनुसारका कामहरूमा भर पर्नेहरू श्रापित हुन्छन् । किनकि यसरी लेखिएको छ “व्यवस्थामा लेखिएका सबै कुराहरू पालन नगर्ने सबै श्रापित हुन्छन् ।”

हाम्रो निम्ति ख्रीष्‍ट श्रापित हुनुभएर उहाँले हामीलाई व्यवस्थाको श्रापबाट मुक्त गराउनुभयो । किनकि यसरी लेखिएको छ, “काठमा झुण्डिने हरेक श्रापित हुन्छ ।” यसको उद्देश्य यही थियो, कि अब्राहाममा भएको आशिष् ख्रीष्‍ट येशूद्वारा गैरयहूदीहरूमाझ आउन सकोस्, ताकि हामीले विश्‍वासद्वारा पवित्र आत्माको प्रतिज्ञा प्राप्‍त गर्न सकौँ ।

अब यी प्रतिज्ञाहरू अब्राहाम र उनको सन्तानलाई दिइएको थियो । यसले धेरै मानिसहरूलाई जनाउने गरी “सन्तानहरूलाई” भन्दैन, तर यसको सट्टामा “तिम्रो सन्तानलाई” भनेर यसले एक जनालाई मात्र जनाउँछ, जो ख्रीष्‍ट हुनुहुन्छ ।

त्यसकारण, हामी विश्‍वासद्वारा धर्मी ठहरिनको निम्ति ख्रीष्‍ट नआउन्जेलसम्मको लागि व्यवस्था हाम्रो संरक्षक बन्यो ।

मैले तिमीहरूलाई सत्यता बताएको कारण, के म अब तिमीहरूको शत्रु भएँ त?

म यो प्रार्थना गर्दछु, कि हाम्रा प्रभु येशू ख्रीष्‍टका परमेश्‍वर, महिमाका पिताले तिमीहरूलाई बुद्धिको आत्मा र उहाँको ज्ञानको प्रकाश दिऊन् । म यो प्रार्थना गर्दछु, कि हाम्रो बोलावटको निश्‍चयता के हो भनेर जान्‍नको निम्ति तिमीहरूका हृदयका आँखाहरू प्रज्वलित होऊन्, र उहाँको निम्ति अलग गरिएकाहरूका बिचमा उहाँको उत्तराधिकारको महिमाको प्रशस्तता के हो सो तिमीहरूले जान्‍न सकोस् ।

हामी अब बालकहरू जस्तै नहोऔँ भनेर यो जरूरी छ । हामी अब उसो यता-उता नबरालिऔँ भनेर यो जरूरी छ । सबै शिक्षाको बेगसँगै र मानिसहरूको धोखा दिने चलाखीपनको छलद्वारा हामी नबहकिऔँ भनेर यो जरूरी छ ।

उहाँले तिनलाई पवित्र गर्न यसो गर्नुभयो । उहाँले तिनलाई वचनमा पानीले धोएर शुद्ध पार्नुभयो ।

र मुक्तिको टोप लगाऊ र आत्माको तरवार बोक, जुन परमेश्‍वरको वचन हो ।

र मैले यस्तो भन्दै प्रार्थना गरिरहेको छु, कि ज्ञान र सम्पूर्ण समझमा तिमीहरूको प्रेम झनझन प्रशस्त हुँदै जाओस् । म यसको निम्ति प्रार्थना गर्छु, ताकि जे असल छ ती कुराहरू तिमीहरूले पारख गरेर छान्‍न सक । म यसको निम्ति प्रार्थना गर्छु, ताकि तिमीहरू ख्रीष्‍टको दिनमा इमानदार र दोषरहित रहन सक ।

जीवनको वचनलाई बलियो गरी पक्र ताकि ख्रीष्‍टको दिनमा मसँग महिमा गर्ने कारण होस् । किनभने त्यस दिन म व्यर्थमा दौडिनँ र मेरो परिश्रम व्यर्थको भएन भन्‍ने म जान्‍नेछु ।

तिमीहरू स्थापित र बलियो हुँदै, तिमीहरूले सुनेका सुसमाचारको निश्‍चित आशाबाट टाढा नगई विश्‍वासमा निरन्तर अगाडि बढ्नुपर्छ । यो त्यही सुसमाचार हो जुन स्वर्गमुनि सृष्‍टि गरिएका सबै व्यक्‍तिलाई घोषणा गरिएको थियो । यो त्यही सुसमाचार हो, जसको म पावल दास भएको छु ।

तिमीहरूलाई कसैले पनि दर्शनद्वारा र ख्रीष्‍टअनुसार नभई यस संसारका तत्त्वहरूअनुसार मानिसहरूका परम्पराको रित्तोपनको धोकाबाट वशमा पार्न नदेओ ।

हाम्रो निम्ति पनि सँगसँगै प्रार्थना गर, ताकि ख्रीष्‍टको गुप्‍त सत्यताको वचन बोल्नको निम्ति परमेश्‍वरले ढोका खोलिदिनुभएको होस् । यही वचनको कारण, म बाँधिएको छु ।

तिमीहरू हाम्रो र प्रभुको देखासिकी गर्नेहरू भयौ जसरी तिमीहरूले कष्‍टमा वचन पायौ र आनन्द र पवित्र आत्मामा ग्रहण गर्‍यौ ।

तर तिमीहरूलाई थाहा छ, हामीले पहिला नै कष्‍ट भोग्यौँ र फिलिप्पिमा हामीलाई निर्लज्जपूर्वक व्यवहार गरियो । हामी ठुलो विवादको बिचमा पनि तिमीहरूसँग परमेश्‍वरको सुसमाचार बताउन परमेश्‍वरमा साहसी भयौँ ।

यही कारणको निम्ति हामी परमेश्‍वरलाई निरन्तर धन्यवाद दिन्छौँ । किनभने तिमीहरूले जब हामीबाट परमेश्‍वरको वचन, सन्देशको वचन पायौ तिमीहरूले मानिसको वचनको रूपमा मात्र ग्रहण गरेनौ, तर साँच्‍चै परमेश्‍वरको वचनको रूपमा नै ग्रहण गर्‍यौ

र येशू ख्रीष्‍ट स्वर्गबाट स्वर्गदूतहरूका शक्‍तिसाथ उहाँको आगमनमा आउनुहुँदा, हामीसँग दुःख भोगेकाहरूलाई छुटकारा मिल्नेछ । जसले परमेश्‍वरलाई चिन्दैनन् र तिनीहरू जसले हाम्रा प्रभु येशूको सुसमाचार पालन गर्दैनन्, उहाँले तिनीहरूलाई बलिरहेको आगोमा बदला लिनुहुनेछ । तिनीहरूले प्रभु र उहाँको शक्‍तिको महिमाको उपस्थितिबाट टाढा रहेर अनन्त विनाशको दण्ड भोग्‍नेछन्,

त्यसपछि पापको मानिस प्रकट हुनेछ, जसलाई प्रभु येशूले उहाँको मुखको सासले मार्नुहुनेछ र उहाँका आगमनले उसको अन्त हुनेछ । शैतानका सबै शक्‍तिशाली काम, चिन्हहरू र झुटा आश्‍चर्यकर्महरूको कारण पापको मानिसको आगमन हुनेछ । त्यो अधार्मिकताका सबै छलका साथ आउनेछ । यी कुराहरू नाश हुनेहरूका निम्ति हुनेछन् जसले बचाइनको लागि परमेश्‍वरको प्रेमको सत्यतालाई ग्रहण गरेनन् । यसकारण, तिनीहरूले झुटो विश्‍वास गरून् भनी परमेश्‍वरले भ्रमको काम पठाई रहनुभएको छ, ताकि अधार्मिकतामा रमाउने तर सत्यतालाई विश्‍वास नगर्ने सबैको न्याय होस् ।

तर यदि कसैले न्यायसँगत तवरले प्रयोग गर्छ भने व्यवस्था असल छ भन्‍ने हामीलाई थाहा छ । हामी यो पनि जान्दछौँ कि व्यवस्था धर्मी मानिसको निम्ति बनाइएको होइन, तर व्‍यावस्‍थाविहीन र विद्रोही मानिसहरूको निम्ति, अधर्मी र पापीहरूको निम्ति, ईश्‍वरहिन र अपवित्र हुनेहरूको निम्ति, आफ्ना बावुहरू र आमाहरूलाई मार्नेहरूको निम्ति, हत्याराहरूका निम्ति, अनैतिक यौनसम्‍बन्‍ध राख्‍ने मानिसहरूका निम्ति, समलिंगीहरूका निम्ति, दास बनाउनको लागि अपहरण गर्नेहरूका निम्ति, झूट बोल्नेहरूका निम्ति, झूटो गवाही दिनेहरूका निम्ति, र विश्‍वासयोग्य शिक्षाको विरूद्धमा हुनेहरूको निम्ति हो । यो मलाई सुम्पिएको धन्य परमेश्‍वरको महिमित सुसमाचार अनुसार छ ।

यो परमेश्‍वर हाम्रा मुक्तिदाताको सामु असल र ग्रहणयोग्य छ । उहाँले सबै मानिसहरू बाचून् र सत्यताको ज्ञानमा आऊन् भन्‍ने चाहनुहुन्छ ।

तर यदि मैले ढिलो गरेँ भने परमेश्‍वरको घराना जुन जीवित परमेश्‍वरको मण्डली, सत्यताको खाँबो र आड हो, त्‍यो सही बाटोमा डोर्‍याइनु पर्छ तिमीले जान भन्‍ने हेतुले म तिमीलाई लेख्‍दैछु ।

अहिले आत्माले प्रष्‍टसँग भन्‍नुहुन्छ कि पछि आउने समयमा केही मानिसहरूले विश्‍वासलाई त्याग्‍नेछन् र छली आत्माहरू र भूतप्रेतका शिक्षाहरू तिर ध्यान दिनेछन् ।

यदि तिमीले यी कुराहरू दाजुभाइहरूको अगाडि राखीदियौ भने, तिमी येशू ख्रीष्‍टको असल सेवक हुनेछौ । किनकि तिमी विश्‍वासको वचन र तिमीले पछ्याएको असल शिक्षाद्वारा पोषित हुनेछौ ।

म नआउदासम्म वचन पढाईमा, अर्ति दिने कुरामा, र शिक्षा दिने कुरामा ध्‍यान देऊ ।

आफैँलाई र आफ्‍नो शिक्षालाई होसियारीसाथ ध्यान देऊ । यी कुराहरूमा निरन्तर ध्यान देऊ किनकि यसो गर्नाले तिमीले आफुलाई र तिम्रो वचन सुन्‍नेहरूलाई बचाउने छौ ।

तब हाम्रा प्रभुको बारेमा गवाही दिन नसर्माऊ, र मेरो बारेमा पनि । म पावल उहाँका एक कैदी हुँ, तर परमेश्‍वरको शक्‍तिद्वारा कष्‍टमा पनि सुसमाचार प्रचार गर,

हामीले सह्‍यौँ भने, हामीले उहाँसँगै राज्य गर्नेछौँ । हामीले उहाँलाई इन्कार गर्‍यौँ भने, उहाँले पनि हामीलाई इन्कार गर्नुहुन्छ ।

सत्यको वचनलाई होसियारीसाथ प्रयोग गर्ने शर्माउन नपर्ने कामदारजस्तै परमेश्‍वरको उपस्थितिमा स्वीकारयोग्य हुन भरमग्दुर प्रयत्‍न गर ।

परमेश्‍वरका सेवकहरूले झगडा गर्नुहुँदैन, तर तिनीहरू सबैका लागि दयालु, सिकाउन सक्‍ने र धैर्यवान् हुनुपर्दछ । उहाँका विरोधीहरूलाई विनम्रतामा सुधार्ने हुनुपर्छ । सायद परमेश्‍वरले तिनीहरूलाई सत्यताको ज्ञानको लागि पश्‍चात्ताप दिनुहुनेछ ।

यी स्‍त्रीहरू सधैँ नयाँ कुरा सिक्‍न प्रयास गरिरहेका हुन्छन्, तर कहिल्यै सत्यको ज्ञानमा आउन सक्दैनन् ।

तिमीलाई थाहा छ, कि तिमीले सानैदेखि पवित्रशास्‍त्र जानेका छौ, जसले तिमीलाई ख्रीष्‍ट येशूमा भएको विश्‍वासद्वारा मुक्‍तिमा तिमीलाई बुद्धिमान् तुल्याउन सक्छ । सम्‍पूर्ण पवित्र-शास्‍त्र परमेश्‍वरबाट भएको हो र यो सिद्धान्तको लागि, दोष देखाउनको लागि, सच्‍याउनको लागि, धार्मिकतामा तालिम दिनको लागि लाभदायक छ, ताकि परमेश्‍वरका मानिस सक्षम भएर हरेक असल काममा सुसज्जित हुन सकून् ।

वचन प्रचार गर, सजिलो र असजिलो दुवै अवस्थामा तयार बस । सबै प्रकारका धैर्य र शिक्षाद्वारा सुधार गर, हप्काऊ र अर्ती देऊ । त्यस्तो समय आउनेछ जब मानिसहरूले असल शिक्षा सहने छैनन् । तर तिनीहरू आफ्नो अभिलाषाअनुसारको शिक्षा दिने शिक्षकहरूबाट घेरिनेछन् । यसरी तिनीहरूले आफूलाई मन परेको कुरा मात्र सुन्दछन् । तिनीहरूले सत्यताबाट आफ्नो कान फर्काउनेछन् र दन्त्य कथातिर लगाउनेछन् ।

तिनी भरोसा गर्न सक्‍ने वचनको सिद्धान्तमा दह्रोसँग लाग्‍नुपर्छ, ताकि तिनले जे उचित छ त्यस सिद्धान्तद्वारा उत्साह दिन सकून् र तिनको विरोध गर्नेहरूलाई हप्‍काउन सकून् ।

यो भनाई सत्य छ, तिनीहरूलाई कडाइका साथ सुधार, ताकि तिनीहरू विश्‍वासमा ठिक हुन सकून् ।

तर तिमीले उचित सिद्धान्तसँग मिल्ने कुरो मात्र भन्‍नू ।

त्यसकारण, हामीले जे सुनेका छौँ त्यसमा हामीले सबैभन्दा बढी ध्यान दिनुपर्छ । त्यसैले, यसबाट बहकिएर हामी टाढा जानुहुँदैन । यदि स्वर्गदूतहरूद्वारा बोलिएको सन्देशको मान्यता भयो भने, र हरेक आज्ञा उल्लघङ्न गर्ने र अनाज्ञाकारीहरूले ठिक सजाय पाउँछन् भने र हामीले यति ठुलो मुक्‍तिको बेवास्‍ता गर्‍यौँ भने, तब हामी कसरी उम्कन सक्छौँ र? यो मुक्‍ति जुन पहिलो पल्ट प्रभुद्वारा नै घोषणा गरिएको थियो र जसले यो सुने हाम्रा निम्ति त्यो पक्‍का गरियो ।

त्यसकारण, जसरी पवित्र आत्मा भन्‍नुहुन्छ, “आज, यदि तिमीले उहाँको सोर सुन्यौ भने, उजाड-स्थानमा परीक्षाको समयमा विद्रोह गरेजस्तै तिमीहरूका हृदयलाई कठोर नपार । चालिस वर्षसम्म मैले गरेको काम तिनीहरूले देखे र पनि तिम्रा पुर्खाहरूले विद्रोह गरेर मेरो परीक्षा गरे । त्यसकारण म त्यस पुस्तासँग अप्रसन्‍न भए । मैले भनेँ, ‘तिनीहरू जहिले पनि आफ्ना हृदयबाट तर्किएर गएका छन् । अनि तिनीहरूलाई मेरो बाटो नै थाहा छैन ।’ मेरो क्रोधमा मैले शपथ खाएः ‘तिनीहरू कहिल्यै पनि मेरो विश्राममा प्रवेश गर्न पाउनेछैनन्’ ।” भाइहरू हो, होसियार बस । त्यसैले, तिमीहरूमध्ये कोही पनि दुष्‍ट हृदय र अविश्‍वासी नहोस्, जुन हृदयले जीवित परमेश्‍वरबाट तर्काएर टाढा नलैजाओस् ।

किनभने तिनीहरूलाई जस्तै हामीलाई पनि सुसमाचार सुनाइएको थियो । तर सुनेको वचनले तिनीहरूलाई कुनै पनि फाइदा भएन । किनकि सुन्‍नेहरूले विश्‍वाससाथ स्वीकार गरेनन् । तर त्यो सन्देश सुन्‍नेहरू जसले विश्‍वासविना नै सहभागी भए तिनीहरूलाई फाइदा भएन । किनकि हामी जसले विश्‍वास गरेका छौँ त्यस विश्राममा हामी प्रवेश गर्नेछौँ, जसरी उहाँले भन्‍नुभयो, “जसरी मैले मेरो क्रोधमा शपथ खाएँ, ‘तिनीहरू कहिल्यै मेरो विश्राममा प्रवेश गर्नेछैनन्’ ।” उहाँले यसो भन्‍नुभयो, यद्यपि संसारको उत्‍पत्तिमा नै उहाँका सृष्‍टिका कामहरू पुरा भइसकेका थिए ।

किनभने परमेश्‍वरको वचन जीवित र क्रियाशील अनि दुईधारे तरवारभन्दा पनि धारिलो छ । यसले आत्मा, प्राण र मासीलाई अलग गर्दछ र छेड्दछ अनि यो हृदयका भावना र विचारहरूको जाँच गर्न सक्षम छ । सृष्‍टिको कुनै पनि थोक परमेश्‍वरको दृष्‍टिमा लुकेको छैन । बरु, उहाँको दृष्‍टिमा हरेक कुरा छर्लङ्गै छ जसलाई हामीले लेखा दिनुपर्छ ।

किनकि जसले एक चोटि ज्योति पाएर स्वर्गको वरदान चाखेका थिए, जो पवित्र आत्मामा सहभागी भएका थिए, तिनीहरूका लागि यो असम्भव कुरा हो । र जसले परमेश्‍वरको असल वचन र आउने युगको शक्‍तिको स्वाद चाखेका थिए, तिनीहरूका लागि यो असम्भव कुरा हो । तर जो पतित भएको छ, तिनीहरूलाई फेरि पश्‍चात्तापमा ल्याउन असम्भव छ । किनकि तिनीहरूले फेरि आफ्नै निम्ति परमेश्‍वरका पुत्रलाई क्रुसमा टाँग्दछन्, र उहाँलाई खुल्लमखुल्ला शर्ममा पार्दछन् ।

परमप्रभु भन्‍नुहुन्‍छ, ती दिनपछि म इस्राएलको घरानासँग यो करार बाँध्‍नेछु । म मेरो व्‍यवस्‍था तिनीहरूको मनमा राखिदिनेछु, र म तिनीहरूका हृदयमा पनि ती लेखिदिनेछु । म तिनीहरूका परमेश्‍वर हुनेछु, अनि तिनीहरू मेरा मानिसहरू हुनेछन् ।

“मैले तिनीहरूसँग बाँध्‍ने करार यही हो, ती दिनहरूपछि, परमप्रभु भन्‍नुहुन्छ । तिनीहरूका हृदयमा म मेरो व्यवस्था रखिदिनेछु, र तिनीहरूको मनमा पनि लेखिदिनेछु ।”

किनकि यदि सत्यताको ज्ञान पाएर पनि हामी जानिबुझिकन पाप गरिरहन्छौँ भने, पापका लागि कुनै बलिदान बाँकी रहँदैन । त्यसको सट्टामा, न्यायको डरलाग्दो प्रतीक्षा र परमेश्‍वरका शत्रुहरूलाई भस्म पार्ने क्रोधको डरलाग्दो आगो मात्र रहनेछ । मोशाको व्यवस्थालाई उल्लङ्घन गर्ने जो कोही पनि दुई वा तिन जना साक्षीको गवाहीमा दयाविना नै मर्दछ । परमेश्‍वरका पुत्रलाई खुट्टाले कुल्चने, परमेश्‍वरमा समर्पित गरिएको करारको रगतलाई अपवित्र तुल्याउने र अनुग्रहको आत्मालाई अपमान ठान्‍ने जो कोहीले झन् कति बढी सजाय पाउँछ होला ।

विनाविश्‍वास परमेश्‍वरलाई प्रसन्‍न पार्न असम्भव छ । किनकि जो परमेश्‍वरकहाँ आउँछ उसले परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ भन्‍ने कुरामा विश्‍वास गर्नैपर्छ र उहाँलाई जसले खोज्छ त्यसले इनाम पाउनेछ भनी विश्‍वास गर्नुपर्छ ।

हेर, तिमीहरूसित बोल्दै गर्नुहुनेलाई इन्कार नगर । किनकि यदि पृथ्वीमा तिनीहरूलाई चेतावनी दिनेलाई इन्कार गर्नेहरू त उम्केनन् भने, स्वर्गबाट चेतावनी दिनुहुनेदेखि हामी तर्कीनेहरू झन् कसरी उम्कन सक्छौँ र?

किनकि हाम्रा परमेश्‍वर भस्म पार्ने आगो हुनुहुन्छ ।

तर यदि तिमीहरूमध्ये कसैलाई बुद्धिको खाँचो छ भने, माग्‍ने जति सबैलाई उदारतासँग र नहप्काइकन दिनुहुने परमेश्‍वरसँग उसले मागोस् र उहाँले उसलाई त्यो दिनुहुनेछ ।

यसकारण, सबै पापमय घिनलाग्‍दा कुरा र दुष्‍टताको प्रचुरतालाई मिल्‍काइदेओ । रोपिएको वचनलाई विनम्रतामा धारण गर जसले तिमीहरूका प्राणलाई बचाउन सक्‍छ । आफैँलाई धोका दिने गरी वचन सुन्‍ने मात्र होइन, तर पालन पनि गर । किनकि यदि कोही वचन सुन्‍ने मात्र व्यक्‍ति हो, तर पालन गर्ने व्यक्‍ति होइन भने ऊ ऐनामा आफ्नो स्वाभाविक अनुहार जाँच्‍ने मानिसजस्तै हो । उसले आफैँलाई जाँच्छ र गइहाल्छ र ऊ कस्‍तो थियो भन्‍ने कुरा तुरुन्तै बिर्सिहाल्‍छ ।

तिमी व्‍यभिचारीहरू हो! संसारसितको मित्रता परमेश्‍वरको विरुद्धमा भएको शत्रुता हो भनी के तिमीहरूलाई थाहा छैन? त्यसकारण, जसले संसारको मित्र हुने इच्छा गर्दछ, उसले आफैँलाई परमेश्‍वरको शत्रु बनाउँछ । वा धर्मशास्‍त्रले, “उहाँले हामीमा बास गर्न लगाउनुभएका आत्मा अत्यन्तै डाही हुनुभएको छ” भनेर व्यर्थमा भन्दछ भनी के तिमीहरू ठान्दछौ? तर परमेश्‍वरले अझ बढी अनुग्रह दिनुहुन्छ, यसैकारण धर्मशास्‍त्रले भन्दछ, “परमेश्‍वरले अभिमानीहरूको विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह दिनुहुन्छ ।” त्यसकारण, परमेश्‍वरमा आफैँलाई समर्पण गर । शैतानको विरोध गर, र त्यो तिमीहरूबाट भाग्‍नेछ । परमेश्‍वरको नजिक आओ, र उहाँ तिमीहरूको नजिक आउनुहुनेछ । ए पापीहरू हो, तिमीहरूका हात सफा पार, र ए दोमनकाहरू हो, तिमीहरूका हृदय शुद्ध पार । दुःखी होओ; विलाप गर; र रोओ! तिमीहरूका हाँसो दुःखमा र तिमीहरूको आनन्द निराशामा परिणत होस् । प्रभुको सामु तिमीहरू आफैँलाई विनम्र तुल्याओ, र उहाँले तिमीहरूलाई माथि उठाउनुहुनेछ ।

सत्यताको आज्ञाकारिताद्वारा निष्कपट भातृ-प्रेमको निम्ति तिमीहरूले आफ्नो प्राण शुद्ध बनायौ । त्यसैले, आफ्नो हृदयबाट एक-अर्कालाई प्रेम गर । तिमीहरू नयाँ गरी जन्मेका छौ, त्यो नाशवान् वीर्यबाट होइन, तर जीवित र रहिरहने परमेश्‍वरको वचनको अविनाशी वीर्यबाट । किनकि “सबै देह घाँसजस्तै हुन् र तिनका सबै महिमा घाँसका फुलजस्तै हुन् । घाँस सुक्छ र फुल ओइलाउँछ ।” तर परमेश्‍वरको वचन सदासर्वदा रहिरहन्छ । सुसमाचारको रूपमा यही सन्देशलाई तिमीहरूकहाँ घोषणा गरिएको थियो ।

नवजात शिशुहरूले जस्तै शुद्ध आत्मिक दूधको तृष्णा गर ताकि तिमीहरू त्यसबाट मुक्तिमा बढ्न सक,

त्यसैले, तिमीहरू जसले विश्‍वास गर्छौ तिमीहरूको निम्ति आदर छ । तर, “त्यो ढुङ्गो जसलाई निर्माणकर्ताहरूले इन्कार गरे त्यो नै कुनाको शिर-ढुङ्गा भयो ।” र “एउटा ठक्‍कर लाग्‍ने ढुङ्गा र एउटा ठक्‍कर लाग्‍ने चट्टान ।” वचन उल्लङ्घन गरेको कारण तिनीहरू ठक्‍कर खान्छन् जसको निम्ति तिनीहरू नियुक्त गरिएका थिए ।

किनकि यो परमेश्‍वरको परिवारबाट न्याय सुरु हुने समय हो । अनि यदि न्याय हामीबाट सुरु हुन्छ भने, परमेश्‍वरको वचन नमान्‍नेको अवस्था कस्तो होला?

हामी उहाँसित पवित्र डाँडामा हुँदा हामीले स्वर्गबाट आएको त्यो आवाज सुन्यौँ । हामीसँग भएको अगमवाणीको वचन अझ निश्‍चित भएको छ, जसलाई तिमीहरू पालना गर्न उत्तम प्रयास गर्छौ । यो उज्यालो नहुञ्‍जेल र तिमीहरूका हृदयमा बिहानको तारा नआउञ्‍जेल अन्धकारमा चम्कने बत्तीजस्तै छ । तिमीहरूले पहिले यो जान कि लेखिएको भविष्यवाणी अगमवक्ताको आफ्नै तर्कबाट आउँदैन । किनकि कुनै पनि अगमवाणी मानिसहरूको इच्छाबाट आएन, तर परमेश्‍वरको तर्फबाट बोल्ने पवित्र आत्माद्वारा डोर्‍याइएका मानिसहरूबाट आयो ।

इस्राएलीहरूकहाँ झुटा अगमवक्ताहरू आए, अनि तिमीहरूकहाँ पनि झुटा शिक्षकहरू आउनेछन् । तिनीहरूले आफूसँग गोप्य रूपमा विनाशसकारी झुटा शिक्षाहरू ल्याउनेछन् र तिनीहरूलाई उद्धार गर्नुहुने गुरुलाई पनि इन्कार गर्नेछन् । तिनीहरूले आफूमाथि चाँडै विनाश ल्याउनेछन् । धेरैले तिनीहरूको विलासी आचरणको अनुसरण गर्नेछन् र तिनीहरूद्वारा सत्यताको मार्ग निन्दित हुनेछ । लोभको कारण तिनीहरूले छलपूर्ण कुरा गरेर तिमीहरूबाट फाइदा उठाउनेछन् । तिनीहरूको विरुद्धमा श्राप आउन लामो समय लाग्दैन । तिनीहरूको विनाश निष्क्रिय छैन ।

पावलले उनका सबै पत्रहरूमा यी कुराहरूको बारेमा उल्लेख गरेका छन्, जहाँ बुझ्न कठिन हुने कुराहरू पनि छन् । अनुशासनहीन र अस्थिर मानिसहरूले यी कुराहरूलाई बङ्ग्‍याउँछन् जसरी तिनीहरूले धर्मशास्‍त्रका अरू वचनहरूलाई बङ्ग्याउँदै आफ्नो विनाश निम्त्याउँछन् । त्यसकारण प्रिय हो, तिमीहरूले यी कुराहरू जानेको हुनाले आफैँलाई सुरक्षित राख ताकि व्‍यवस्थाहीन मानिसहरूको छलले तिमीहरूलाई टाढा नलैजाओस्, र तिमीहरूले आफ्नो विश्‍वासयोग्यतालाई नगुमाओ ।

यदि हामीले उहाँको आज्ञा पालन गर्छौं भने यसैद्वारा हामी जान्दछौँ कि हामी उहाँलाई चिन्‍छौँ । जसले “म परमेश्‍वरलाई चिन्छु “ भन्‍छ, तर उहाँको आज्ञा पालन गर्दैन भने त्‍यो झुटो हो, र त्‍यसमा सत्‍य हुँदैन । तर जसले उहाँको वचन पालन गर्छ, साँच्‍चै त्‍यो व्‍यक्‍ति परमेश्‍वरको प्रेमले सिद्ध भएको हुन्छ । हामी उहाँमा छौँ भन्‍ने हामी यसैद्वारा थाहा पाउनेछौँ । परमेश्‍वरमा रहन्छु भन्‍ने व्यक्‍ति आफैँ पनि येशू ख्रीष्‍ट जिउनु भएझैँ जिउनुपर्छ ।

प्रिय हो, हरेक आत्मालाई विश्‍वास नगर, तर ती आत्माहरू परमेश्‍वरबाट आएका हुन् वा होइनन् भनी जाँच गर, किनभने धेरै झुटा अगमवक्‍ताहरू संसारमा आइसकेका छन् ।

हामी परमेश्‍वरका हौँ । जसले परमेश्‍वरलाई चिन्छ, त्यसले हाम्रो कुरा सुन्छ । जो परमेश्‍वरका होइनन्, त्यसले हाम्रो कुरा सुन्दैन । यसैद्वारा हामी सत्यको आत्मा र झुटको आत्मालाई चिन्छौँ ।

जब हामी परमेश्‍वरलाई प्रेम गर्छौं र उहाँका आज्ञाहरू पालन गर्छौं, यसैद्वारा हामी परमेश्‍वरका सन्तानहरूलाई प्रेम गर्छौं भनी जान्दछौँ ।

जसले परमेश्‍वरका पुत्रमा विश्‍वास गर्छ त्यो आफैँसँग गवाही हुन्छ । जसले परमेश्‍वरलाई विश्‍वास गर्दैन, त्यसले उहाँलाई झुटो बनाएको छ, किनभने परमेश्‍वरले उहाँका पुत्रको विषयमा दिनुभएको गवाहीलाई त्यसले विश्‍वास गरेको छैन ।

र प्रेम यो हो, कि हामी उहाँको आज्ञाहरूअनुसार हिड्नुपर्छ । तिमीले सुरुदेखि नै सुनेजस्तै आज्ञा यही हो कि तिमी यसमा हिड्नुपर्छ ।

जो अगाडि बढिरहन्छ र ख्रीष्‍टको शिक्षामा रहँदैन त्यससँग परमेश्‍वर हुनुहुन्‍न । जो शिक्षामा रहन्छ योसँग पिता र पुत्र दुवै हुनुहुन्छ । यदि कोही तिमीकहाँ आउँछ र यो शिक्षा ल्याउँदैन भने त्यसलाई तिम्रो घरमा स्वागत नगर र त्यसलाई अभिवादन पनि नगर । किनकि जसले त्यसलाई अभिवादन गर्छ त्यो त्यसको दुष्‍ट कामहरूमा सहभागी हुन्छ ।

तिमीहरूले एक पटक यसलाई पूर्ण रूपमा जानेका भए, तापनि अब म तिमीहरूलाई यो सम्झना दिलाउन चाहन्छु, कि परमेश्‍वरले मिश्र देशबाट मानिसहरूलाई बचाउनुभयो, तर पछि विश्‍वास नगर्नेहरूलाई उहाँले नष्‍ट गर्नुभयो ।

उहाँको दाहिने हातमा सातवटा तारा थिए, अनि उहाँको मुखबाट एउटा दुई-धारे धारिलो तरवार निस्किरहेको थियो । उहाँको अनुहार सुर्यको तेजझैँ चम्किरहेको थियो ।

तिमीले गरेका काम, तिम्रो कडा परिश्रम, तिम्रो धैर्य र सहनशिलता मलाई थाहा छ । तिमीले दुष्‍ट मानिसहरूलाई सहन सक्दैनौ । आफैँलाई प्रेरितहरू भनी दाबी गर्नेहरूलाई तिमीले जाँचिसकेका छौ, तर ती होइनन्, र तिमीले तिनीहरूलाई झुटा भेट्टाएका छौ ।

त्यसैकारण, पश्‍चात्ताप गर! यदि पश्‍चात्ताप गरेनौ भने, म तिमीकहाँ चाँडै आउनेछु र तिम्रो विरुद्धमा मेरो मुखको तरवारले युद्ध गर्नेछु ।

त्यसैले, तिमी मनतातो, न तातो न चिसो छौ । यसैकारण, मैले तिमीलाई मेरो मुखबाट उकेलिदिन आँटेको छु । किनकि तिमी भन्छौ, ‘म धनी छु र मसित धेरै भौतिक सम्पत्ति छन् र मलाई कुनै थोकको आवश्यक छैन ।’ तर तिमी दुःखित, दयनीय, गरिब, अन्धा र नाङ्गै छौ भनी तिमीलाई थाहा नै छैन ।

त्यसपछि त्यो अजिङ्गर स्‍त्रीप्रति क्रोधित भयो अनि परमेश्‍वरको आज्ञा पालन गर्ने र येशूको बारेमा गवाही दिने त्यसका बाँकी रहेका सन्तानहरूसँग युद्ध गर्न गयो । तब त्यो अजिङ्गर समुद्र किनारको बालुवामाथि उभियो ।

तब मैले अर्को स्वर्गदूतलाई आकाशको बिचमा उडिरहेको देखेँ; पृथ्‍वीमा बस्‍ने हरेक जाति, कुल, भाषा, र मानिसलाई सुसमाचार घोषणा गर्न तिनीसँग अनन्त सन्देश थियो । तिनले चर्को सोरसँग कराएर भने, “परमेश्‍वरसँग डराओ र उहाँलाई महिमा देऊ । किनकि उहाँको इन्साफको घडी आएको छ । उहाँलाई आराधना गर, जसले स्वर्ग, पृथ्‍वी, समुद्र र पानीका मुलहरू बनाउनुभयो ।”

हे प्रभु, तपाईंको नाउँको महिमा कसले गर्दैन र? तपाईंसँग को डराउँदैन? किनकि तपाईं मात्र पवित्र हुनुहुन्छ । सबै जाति आएर तपाईंको अगाडि आराधना गर्छन् किनभने तपाईंका धार्मिक कार्यहरू प्रकट गरिएका छन् ।

उहाँका आँखा आगोको ज्वालाजस्ता र उहाँका शिरमा धेरै मुकुट थिए । उहाँमाथि लेखिएको नाउँ उहाँलाई बाहेक अरू कसैलाई थाहा थिएन । उहाँले रगतमा चोबलिएको वस्‍त्र पहिरिनुभएको थियो, र उहाँको नाउँलाई परमेश्‍वरको वचन भनेर बोलाइन्थ्यो ।”

जाति-जातिहरूलाई प्रहार गर्न उहाँको मुखबाट धारिलो तरवार निस्कन्छ, र उहाँले तिनीहरूमाथि फलामको डन्डाले शासन गर्नुहुनेछ । सर्वशक्‍तिमान् परमेश्‍वरको क्रोधले दाखको कोललाई कुल्चन्छ ।

तिनीहरूमध्ये बाँकी रहेकाहरूलाई घोडा सवारको मुखबाट निस्केको तरवारद्वारा मारियो । तिनीहरूको मृत शरीरलाई सबै चराले खाए ।

यस पुस्तकको अगमवाणीका वचनहरू सुन्‍ने हरेकलाई म चेताउनी दिन्छु । यदि कसैले तिनमा थप्छ भने, यस पुस्तकमा लेखिएका विपत्तिहरू परमेश्‍वरले त्यसमाथि थपिदिनुहुनेछ । यदि कसैले यस अगमवाणीको पुस्तकका वचनहरूबाट केही निकाल्यो भने, परमेश्‍वरले यस पुस्तकमा लेखिएका जीवनको रुख र पवित्र सहरको भागदेखि त्यसलाई निकालिदिनुहुनेछ ।

Nepali - नेपाली - NE

NE'BSS - Unlocked Literal Bible - 2019

This Bible text is from Nepali Unlocked Literal Version 2019
https://find.bible/bibles/NPIULV/
provided by: Door43 World Missions Community, available by Creative Commons CC-BY-SA-4.0,
and this new compilation is shared as www.creativecommons.org/licenses/by-sa/4.0.
Languages are made available to you by www.ipedge.net