04 – सृष्टि

यी सर्वशक्तिमान परमेश्वरका पवित्र वचनहरू हुन्।
हामी मानिसका शब्दहरूमा चासो राख्दैनौं।
परमेश्वरलाई प्रेम गर्ने जो कोहीका लागि... परमेश् वर यसो भन् नुहुन्छ: सृष्टि.

शीर्ष ३ सबैभन्दा महत्वपूर्ण श्लोकहरू

आदिमा परमेश्‍वरले आकाशमण्डल र पृथ्वी सृष्‍टि गर्नुभयो ।

तर परमेश्‍वरले चाहेअनुसारको शरीर त्यसलाई दिनुहुनेछ र प्रत्येक बिउलाई त्यसको आफ्नै शरीर दिनुहुनेछ । सबै शरीर उस्तै हुँदैनन् । मानवीय शरीर एक किसिमको हुन्छ भने पशुको शरीर अर्को किसिमको र त्यसरी नै चराहरू वा माछाहरूको शरीर अर्कै किसिमको हुन्छ ।

किनकि संसारको उत्‍पत्तिदेखि उहाँका अदृश्य पक्षहरू स्पष्‍ट रूपमा दृश्‍य भएका छन् । ती सृजिएका थोकहरूद्वारा बुझिएका छन् । यी पक्षहरू उहाँको अनन्त शक्‍ति र ईश्‍वरीय स्वभावहरू हुन् । परिणामस्वरूप, यी मानिसहरूलाई कुनै बहाना छैन ।

क्यानोनिकल अर्डरमा प्रत्येक पद - 104 खण्डहरू

आदिमा परमेश्‍वरले आकाशमण्डल र पृथ्वी सृष्‍टि गर्नुभयो । पृथ्वी निराकार र शून्य थियो । समुद्रको सतहमाथि अन्धकार थियो । परमेश्‍वरका आत्मा सारा समुद्रमाथि परिभ्रमण गर्दै हुनुहुन्थ्यो । परमेश्‍वरले भन्‍नुभयो, “उज्यालो होस्,” र त्यहाँ उज्यालो भयो । परमेश्‍वरले उज्यालोलाई हेर्नुभयो, र त्यो असल थियो । उहाँले उज्यालोलाई अन्धकारबाट छुट्‍ट्याउनुभयो । परमेश्‍वरले उज्यालोलाई “दिन”, र अन्धकारलाई “रात” भन्‍नुभयो । साँझ पर्‍यो र बिहान भयो - पहिलो दिन ।

परमेश्‍वरले भन्‍नुभयो, “पानीको बिचमा एउटा क्षेत्र होस्, र त्यसले पानीलाई दुई भागमा विभाजन गरोस् ।” परमेश्‍वरले त्यो क्षेत्र बनाएर त्यसमुनि र माथिको पानीलाई विभाजन गर्नुभयो । तब त्यस्तै भयो । परमेश्‍वरले त्यस क्षेत्रलाई “आकाश” भन्‍नुभयो । साँझ पर्‍यो र बिहान भयो - दोस्रो दिन ।

परमेश्‍वरले भन्‍नुभयो, “आकाशमुनिको जम्मै पानी एक ठाउँमा जम्मा होस्, र ओभानो जमिन देखा परोस् ।” तब त्यस्तै भयो । परमेश्‍वरले ओभानो जमिनलाई “पृथ्वी” भन्‍नुभयो, र जम्मा भएको पानीलाई “समुद्र” भन्‍नुभयो । उहाँले हेर्नुभयो, र त्यो असल थियो । परमेश्‍वरले भन्‍नुभयो, “पृथ्वीले आ-आफ्नो प्रजातिअनुसारको वनस्पति, बिउ हुने बोट-बिरुवाहरू र फलभित्रै बिउ हुने फल-फलाउने रुखहरू उमारोस् ।” तब त्यस्तै भयो । पृथ्वीले वनस्पति, आ-आफ्नो प्रजातिअनुसारका बिउ हुने बोट-बिरुवाहरू र आफ्नै फलभित्र बिउ हुने फल-फलाउने रुखहरू उमार्‍यो । परमेश्‍वरले हेर्नुभयो, र त्यो असल थियो । साँझ पर्‍यो र बिहान भयो - तेस्रो दिन ।

परमेश्‍वरले भन्‍नुभयो, “दिनलाई रातबाट अलग गर्नको निम्ति आकाशमा ज्योतिहरू होऊन् र तिनीहरू ऋतुहरू, दिनहरू र वर्षहरूका निम्ति चिन्हहरू होऊन् । पृथ्वीमाथि उज्यालो दिनलाई ती आकाशमा ज्योतिहरू होऊन् ।” तब त्यस्तै भयो । परमेश्‍वरले दुईवटा विशाल ज्योति बनाउनुभयो, ठुलो ज्योतिचाहिँ दिनमाथि प्रभुत्व गर्न, र सानोचाहिँ रातमाथि प्रभुत्व गर्न । उहाँले ताराहरू पनि बनाउनुभयो । पृथ्वीमाथि उज्यालो दिन, दिन र रातमाथि प्रभुत्व गर्न, र उज्यालोलाई अन्धकारबाट अलग गर्न परमेश्‍वरले ती आकाशमा राख्‍नुभयो । परमेश्‍वरले हेर्नुभयो, र त्यो असल थियो । साँझ पर्‍यो र बिहान भयो - चौथो दिन ।

परमेश्‍वरले भन्‍नुभयो, “पानी ठुलो सङ्ख्‍यामा जीवित प्राणीहरूले भरिऊन्, र पृथ्वीमाथि आकाशमा पक्षीहरू उडून् ।” परमेश्‍वरले विशाल जलचरहरू, र आ-आफ्नो प्रजातिअनुसारको सबै जीवित प्राणी, चलहल गर्ने र पुरै पानीलाई भर्ने प्राणीहरू, र आ-आफ्नो प्रजातिअनुसारको पखेटा भएका सबै पक्षीहरूलाई सृष्‍टि गर्नुभयो । परमेश्‍वरले हेर्नुभयो, र त्यो असल थियो । परमेश्‍वरले तिनीहरूलाई यसो भनेर आशिष् दिनुभयो, “फल्दै-फुल्दै र वृद्धि हुँदै जाओ, र समुद्रमा भरिँदै जाओ । पृथ्वीमा पक्षीहरू वृद्धि होऊन् ।” साँझ पर्‍यो र बिहान भयो - पाँचौँ दिन ।

परमेश्‍वरले भन्‍नुभयो, “पृथ्वीले आ-आफ्नो प्रजातिअनुसारको जीवित प्राणीहरू, पाल्तु पशुहरू, घस्रने जन्तुहरू, र पृथ्वीका जङ्गली जनावरहरू उत्पन्‍न गरोस् ।” तब त्यस्तै भयो । परमेश्‍वरले पृथ्वीका जङ्गली जनावरहरू, पाल्तु पशुहरू, जमिनमा घस्रने सबै जन्तुहरूलाई तिनीहरूकै आ-आफ्नै प्रजातिअनुसार बनाउनुभयो । उहाँले हेर्नुभयो, र त्यो असल थियो ।

परमेश्‍वरले भन्‍नुभयो, “मानिसलाई हाम्रो स्वरूपमा, हाम्रो प्रतिरूपमा बनाऔँ । तिनीहरूले समुद्रका माछाहरू, आकाशका पक्षीहरू, पाल्तु पशुहरू, सारा पृथ्वी, र पृथ्वीमा घस्रने सबै जन्तुहरूमाथि अधिकार गरून् ।” परमेश्‍वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्‍टि गर्नुभयो । उहाँले तिनलाई आफ्नै प्रतिरूपमा सृष्‍टि गर्नुभयो । नर र नारी गरी उहाँले तिनीहरूलाई सृष्‍टि गर्नुभयो । परमेश्‍वरले तिनीहरूलाई आशिष्‍्‍ दिनुभयो र भन्‍नुभयो,“फल्दै-फुल्दै र वृद्धि हुँदै जाओ । पृथ्वीमा भरिँदै जाओ, र त्यसलाई आफ्नो वशमा राख । समुद्रका माछाहरू, आकाशका पक्षीहरू, र पृथ्वीमा चलहल गर्ने सबै जीवित प्राणीहरूमाथि अधिकार गर ।” परमेश्‍वरले भन्‍नुभयो, “हेर, मैले पृथ्वीका बिउ हुने हरेक बोट-बिरुवाहरू, र फलभित्रै बिउ हुने हरेक फल-फलाउने रुखहरू तिमीहरूलाई दिएको छु । ती तिमीहरूका निम्ति आहारा हुनेछन् । पृथ्वीका हरेक जङ्गली जनवारहरू, आकाशका हरेक पक्षीहरू, र सबै घस्रने जन्तुहरू, र जीवन भएका हरेक प्राणीलाई मैले आहाराको निम्ति सबै हरिया बोट-बिरुवाहरू दिएको छु ।” तब त्यस्तै भयो । परमेश्‍वरले आफूले बनाउनुभएका सबै कुरा हेर्नुभयो । त्यो ज्यादै असल थियो । साँझ पर्‍यो र बिहान भयो - छैटौँ दिन ।

सारा आकाशमण्डल र पृथ्वी, र तिनमा भएका सबै जीवित प्राणीहरूको सृष्‍टि पुरा भयो । सातौँ दिनसम्ममा परमेश्‍वरले आफूले गर्नुभएको कामलाई पुरा गर्नुभयो ।यसैकारण उहाँले सातौँ दिनमा सबै कामबाट विश्राम लिनुभयो । परमेश्‍वरले सातौँ दिनलाई आशिष्‍्‍ दिनुभयो र त्यसलाई पवित्र तुल्याउनुभयो, किनभने आफ्नो सृष्‍टिमा गर्नुभएका सबै कामबाट यसै दिनमा उहाँले विश्राम लिनुभयो ।

परमप्रभु परमेश्‍वरले आकाश र पृथ्वीलाई सृष्‍टि गर्नुभएको समयमा भएका घटनाक्रमहरूको वृत्तान्त यही थियो । पृथ्वीको भूमिमा अझै कुनै वनस्पति थिएन, र कुनै बिरुवा पनि उम्रेको थिएन, किनभने परमप्रभु परमेश्‍वरले पृथ्वीमा पानी वर्साउनुभएको थिएन, र भूमिमा खेती गर्नको निम्ति त्यहाँ कुनै मानिस थिएन । तर पृथ्वीबाट माथि आएको कुइरोले जम्मै भूमिको सतहलाई भिजाउने गर्थ्यो । परमप्रभु परमेश्‍वरले भूमिको माटोबाट मानिस बनाउनुभयो, र त्यसको नाखबाट जीवनको सास फुकिदिनुभयो, र मानिस जीवित प्राणी भयो । परमप्रभु परमेश्‍वरले अदनको पूर्वतिर एउटा बगैँचा लगाउनुभयो, र उहाँले बनाउनुभएको मानिसलाई त्यहीँ राख्‍नुभयो ।

आदमका सन्तानहरूका विवरण यही हो । परमेश्‍वरले मानिसलाई सृष्‍टि गर्नुहुँदा उहाँले तिनलाई आफ्नै स्वरूपमा सृष्‍टि गर्नुभयो । उहाँले तिनीहरूलाई नर र नारी सृष्‍टि गर्नुभयो । उहाँले तिनीहरूलाई सृष्‍टि गर्नु हुँदा, तिनीहरूलाई आशिष् दिनुभयो र तिनीहरूलाई मानवजाति नाउँ दिनुभयो । आदम १३० वर्षको हुँदा तिनी आफ्‍नै स्वरूपमा जन्मेका छोरोको बुबा भए, र तिनले उनको नाउँ शेत राखे ।

किनकि छ दिनमा परमप्रभुले स्वर्ग र पृथ्वी, समुद्र र तिनमा भएका सबै थोक बनाउनुभयो अनि सातौँ दिनमा चाहिँ उहाँले विश्राम लिनुभयो । त्यसकारण परमप्रभुले शबाथ-दिनलाई आशिष् दिनुभयो र यसलाई पवित्र तुल्याउनुभयो ।

शबाथ सधैँ म परमप्रभु र इस्राएलीहरूका बिचमा एउटा चिन्ह हुनेछ किनकि छ दिनमा परमप्रभुले स्वर्ग र पृथ्वी बनाउनुभयो अनि सातौँ दिनमा चाहिँ उहाँले कामबाट विश्राम लिनुभयो ।”

तर जस्तो म जीवित छु र पृथ्वी मेरो महिमाले ढाकिनेछ, मेरो महिमा र

अब के पहिले कहिल्यै यस्तो महान् घटना भएको थियो वा यस्तो कहिल्यै सुनिएको थियो? तिमीहरूभन्दा अगि बितेका दिनहरू अर्थात् परमेश्‍वरले पृथ्वीमा मानिस सृजनुभएको दिनको बारेमा सोधपुछ गर । आकाशको एक छेउदेखि अर्को छेउसम्म सोधपुछ गर ।

हेर, आकाश, आकाशमण्डलहरू, पृथ्वी र तिनमा भएका सबै परमप्रभु तिमीहरूका परमेश्‍वरकै हुन् ।

उहाँले गरीबलाई धूलोबाट उठाउनुहुन्छ । खाँचोमा परेकाहरूलाई शासकहरूसँग बसाल्न र इज्‍जको ओहदा पाउने बनाउन उहाँले तिनीहरूलाई खरानीको थुप्रोबाट उठाउनुहुन्छ । किनकि पृथ्वीका जगहरू परमप्रभुका हुन् र उहाँले संसारलाई तिमाथि बसाल्नुभएको छ ।

अनि समुद्रका प्रवाहहरू देखिए । परमप्रभुको हप्कीमा, उहाँको नाकको प्वालहरूका सासको विष्फोटनमा संसारका जगहरू उदाङ्गो भए ।

तब हिजकियाले परमप्रभुको सामु प्रार्थना गरे, “हे सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर तपाईं जो करूबहरूमाथि विराजमान हुनुहुन्छ, तपाईं मात्र पृथ्वीका सबै राज्यमाथि राजा हुनुहुन्छ । तपाईंले नै स्वर्ग र पृथ्वीको सृष्‍टि गर्नुभयो ।

हे परमप्रभु, महान्‌ता, शक्ति, महिमा, विजय र ऐश्‍वर्य तपाईंकै हुन् । किनकि आकाश र पृथ्‍वीमा भएका सबै कुरा तपाईंकै हुन्‌ । हे परमप्रभु, राज्‍य तपाईंकै हो, र तपाईं नै सबैभन्दा माथिको शासकको रूपमा उच्‍च पारिनुभएको छ ।

तपाईं मात्र परमप्रभु हुनुहुन्छ । तपाईंले स्वर्ग, सर्वोच्‍च आकाश, त्यहाँका सबै आकाशीय पिण्ड अनि पृथ्वी र यसमा भएका थोक थोक, समुद्रहरू र तिनमा भएका सबै थोक बनाउनुभयो । तपाईंले नै ती सबैलाई जीवन दिनुहुन्छ, र स्वर्गका समुदायले तपाईंको आराधना गर्छन् ।

उहाँले पृथ्वीलाई यसको आफ्नो ठाउँबाट हल्लाउनुहुन्छ, र यसका टेकाहरूलाई कँपाउनुहुन्छ । उहाँ उही परमेश्‍वर हुनुहुन्छ जसले सूर्यलाई नउदाउन भन्‍नुहुन्‍छ, र त्‍यो उदाउँदैन, र जसले ताराहरूलाई ढाक्‍नुहुन्छ, जो आफैले आकाशलाई तन्‍काउनुहुन्छ, र समुद्रका छालहरूलाई कुल्चिनुहुन्छ, उहाँले सप्‍तर्षि, मृगशिरा र किरकिटी ताराहरू र दक्षिणका तारापुञ्जहरू बनाउनुहुन्छ । उहाँले महान् र अगम्‍य कुराहरू, अनि अनगिन्ती उदेकका कामहरू गर्नुहुन्छ ।

तर अब जङ्गली पशुहरूलाई सोध्‍नुहोस्, र तिनीहरूले तपाईंलाई भन्‍नेछन् । आकाशका चराहरूलाई सोध्‍नुहोस्, र तिनीहरूले तपाईंलाई बताउनेछन् । वा पृथ्वीसित बोल्नुहोस्, र त्‍यसले तपाईंलाई सिकाउनेछ । समुद्रका माछाहरूले तपाईंलाई घोषणा गर्नेछन् । परमप्रभुको हातले नै यसो गरेको हो भनेर, यी सबैमध्ये कुनचाहिं प्राणीले जान्दैन र? उहाँकै हातमा हरेक जीवित प्राणीको जीवन, अनि सारा मानव-जातिको सास छ ।

उत्तरी आकाशलाई उहाँले खुल्‍ला अन्तरिक्षमा तन्‍काउनुहुन्छ, अनि पृथ्वीलाई उहाँले शून्यतामा झुण्ड्याउनुहुन्छ । उहाँले पानीलाई आफ्‍नो बाक्‍लो बादलहरूमाथि जम्मा गर्नुहुन्छ, तर पनि तीमुनिका बादलहरू फाट्दैनन् । उहाँले चन्द्रमाको सतहलाई ढाक्‍नुहुन्छ, र आफ्ना बादलहरू त्‍यसमाथि फैलाउनुहुन्छ । उज्यालो र अँध्यारोको बिचको सिमाङ्कन गर्न, उहाँले पानीको सतहमा एउटा गोलो सिमारेखा बनाउनुभएको छ । उहाँको हप्कीमा स्वर्गका खम्बाहरू हल्लिन्छन् र छक्‍क पर्छन् ।

परमेश्‍वरका पवित्र आत्माले मलाई बनाउनुभएको छ । सर्वशक्तिमान्‌को सासले मलाई जीवन दिएको छ ।

तब परमप्रभुले अय्यूबलाई प्रचण्ड आँधीबाट बोलाउनुभयो र यसो भन्‍नुभयो, “ज्ञानविनाका शब्‍दहरू बोलेर, योजनाहरूमा अन्धकार ल्याउने यो को हो? अब एक जना मानिसले झैं आफ्‍नो कम्मर कस्, किनकि म तँलाई प्रश्नहरू सोध्‍नेछु, र तैंले जवाफ दिनुपर्छ । मैले पृथ्वीको जग बसाल्दा तँ कहाँ थिइस्? तँसित धेरै समझशक्ति छ भने मलाई भन् । यसको नाप कसले निधो गर्‍यो? तँलाई थाहा भए मलाई भन् । यसमाथि कसले नाप्ने धागो टाँग्यो? के कुरा माथि यसका जगहरू बसालिए? यसको कुने-ढुङ्गो कसले बसाल्यो? कति बेला बिहानका ताराहरूले एकसाथ गाए, र परमेश्‍वरका सबै छोराहरूले आनन्‍दले चिच्‍च्याए । गर्भबाट निस्केझैं समुद्र फुटेर निस्कँदा, कसले त्‍यसका ढोकाहरू बन्द गर्‍यो? कति बेला मैले त्‍यसलाई बादलको कपडाले ढाकें, अनि निस्पट्ट अन्धकारलाई त्यसको पटुका बनाएँ? त्यस बेला मैले समुद्रमा मेरो सिमाना तोकिदिएँ, र यसका गजबारहरू तथा ढोकाहरू लगाइदिएँ, अनि मैले त्यसलाई भनें, 'तँ यहाँसम्म आउन सक्छस्, तर यसभन्दा पर होइन । तेरा छालहरूको अहङ्कारको सिमा म यहाँ तोकिदिन्‍छु ।'

अब मैले तँलाई बनाउँदा बनाएको बहेमोथलाई विचार गर् । एउटा गोरुले झैं त्यसले घाँस खान्छ । हेर्, त्यसको बल त्यसको कम्मरमा हुन्छ । त्यसको शक्ति त्यसको पेटको मांसपेशीमा हुन्छ । त्यसले आफ्नो पुच्छर देवदारुको रुखझैं बनाउँछ । त्यसको तिघ्राका नसाहरू कसिएका हुन्छन् ।

जब म माथि तपाईंको आकाशलाई हेर्छु, जुन तपाईंका औंलाहरूले बनाए, चन्द्र र ताराहरू जसलाई तिनका ठाउँमा तपाईंले राख्‍नुभएको छ,

तब पानीका धारहरू देखा परे । हे परमप्रभु, तपाईंको हप्‍की र तपाईंको नाकको प्वालहरूका सासको विष्फोटले संसारका जगहरू उदाङ्गो पारिए ।

आकाशले परमेश्‍वरको महिमा घोषणा गर्छ र आकाशहरूले उहाँका हातका कामहरूको घोषणा गर्छन् ।

तापनि तिनका शब्दहरू सारा पृथ्वीभरि जान्छन् र तिनीहरूका भाषण संसारको अन्तसम्म नै पुग्छ । तिनीहरूका माझमा सूर्यको निम्ति उहाँले पाल टाँग्‍नुभएको छ ।

पृथ्वी र त्‍यसको पूर्णता, संसार र त्‍यसमा बसोवास गर्ने सबै परमप्रभुका हुन् । उहाँले त्‍यसलाई समुद्रहरूमाथि बसाल्नुभएको छ र त्‍यसलाई नदीहरूमाथि स्थापित गर्नुभएको छ ।

परमप्रभुको वचनले आकाशको सृष्‍टि भयो र सबै ताराहरू उहाँको मुखको सासले बनिएका थिए ।

स्वर्ग तपाईंको र पृथ्वी पनि तपाईंकै हो । संसार र त्‍यसमा भएका सबै थोक तपाईंले नै बनाउनुभयो । तपाईंले उत्तर र दक्षिणको सृष्‍टि गर्नुभयो । तबोर र हेर्मोन तपाईंको नाउँमा आनन्‍दित हुन्‍छन् ।

पहाडहरू बनाउनुअगि वा तपाईंले पृथ्वी र संसारलाई बनाउनुअगि, अनादिदेखि अनन्तसम्म नै तपाईं परमेश्‍वर हुनुहुन्छ ।

समुद्र उहाँकै हो, किनकि उहाँले नै त्यो बनाउनुभयो । अनि सुख्‍खा जमिन उहाँकै हातले बनाए । आओ, हामी आराधना गरौं र घोप्‍टो परौं । हाम्रा सृष्‍टिकर्ता परमप्रभुको सामु हामी घुँडा टेकौं ।

प्राचीन समयमा पृथ्वीलाई तपाईंले यसको ठाउँमा बसाल्नुभयो । आकाश तपाईंकै हातका काम हुन् । तिनीहरू नष्‍ट हुनेछन्, तर तपाईं रहनुहुनेछ । तिनीहरू सबै लुगाझैं पुरानो हुनेछन् । तपाईंले तिनीहरूलाई लुगालाई झैं हटाउनुहुनेछ र तिनीहरू लोप हुनेछन् ।

मेरो सारा जीवनले म परमप्रभुको प्रशंसा गर्नेछु । हे परमप्रभु मेरो परमेश्‍वर, तपाई अति महान् हुनुहुन्छ । तपाईं वैभव र ऐश्‍वर्यले विभूषित हुनुहुन्छ । तपाईंले आफूलाई लुगाले झैं ज्‍योतिले ढाक्‍नुहुन्छ । तपाईंले आकाशलाई पालको पर्दालाई झैं फैलाउनुहुन्छ । तपाईंले आफ्नो कोठाहरूका दलिनहरू बादलमा राख्‍नुहुन्छ । तपाईंले बदललाई आफ्नो रथ बनाउनुहुन्छ । तपाईं हावाको पखेटाहरूमा हिंड्‍नुहुन्छ । उहाँले हावालाई आफ्नो दूतहरू र आगोका ज्वालाहरूलाई आफ्ना सेवकहरू बनाउनुहुन्छ । उहाँले पृथ्वीका जगहरू बसाल्नुभयो र त्‍यो कहिल्यै हटाइनेछैन ।

हे परमप्रभु, तपाईंका कामहरू कति धेरै र फरक किसिमका छन्! बुद्धिले तपाईंले तिनीहरू सबै बनाउनुभयो । पृथ्वी तपाईंको कामहरूले भरिन्‍छ । त्यहाँ गहिरो र फराकिलो, साना र ठुला दुवै असंख्या प्राणीले भरिएको समुद्र छ ।

परमप्रभुका कामहरू महान् छन् । तिनको इच्‍छा गर्ने सबैले उत्सुकतासाथ आसा गर्छन् ।

परमप्रभुले तिमीहरूलाई आशिष्‌ देऊन्, जसले स्वर्ग र पृथ्वी बनाउनुभयो । स्वर्ग परमप्रभुकै हो । तर पृथ्वीचाहिं उहाँले मानवजातिलाई दिनुभएको छ ।

यो दिनमा परमप्रभुले काम गर्नुभएको छ । यसमा हामी आनन्‍दित हुनेछौं र खुसी हुनेछौं ।

मेरो सहायता परमप्रभुबाट आउँछ, जसले स्वर्ग र पृथ्वी बनाउनुभयो ।

परमप्रभु हाम्रो सहायता हुनुहुन्छ, जसले स्वर्ग र पृथ्वी बनाउनुभयो ।

परमप्रभुले जे इच्छा गर्नुहुन्छ, स्वर्गमा, पृथ्वीमा, समुद्रमा र सबै महासागरका गहिराइमा उहाँले त्‍यही गर्नुहुन्छ ।

उहाँलाई जसले बुद्धिद्वारा आकाश बनाउनुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ । उहाँलाई धन्यवाद देओ जसले पृथ्वीलाई पानीहरूमाथि फैलाउनुभयो किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ । उहाँलाई जसले ठुला ज्योतिहरू बनाउनुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ । उहाँलाई धन्यवाद देओ जसले दिनमा राज्‍य गर्न सूर्य दिनुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ । रातमा राज्‍य गर्न चन्द्रमा र ताराहरू दिनुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।

तपाईं मेरा भित्री अङ्गहरू बनाउनुभयो । मेरी आमाको गर्भमा तपाईंले मलाई बनाउनुभयो । म तपाईंको प्रशंसा गर्नेछु, किनकि म अचम्‍म किसिमले बनाइएको छु । मेरो प्राणले यो राम्ररी जान्दछ ।

परमप्रभुले स्वर्ग, पृथ्वी, समुद्र र त्यसमा सबैलाई बनाउनुभयो । उहाँले सदासर्वदा सत्यता हे्र्नुहुन्छ ।

उहाँले ताराहरू गन्‍नुहुन्छ । उहाँले तिनीहरू सबैलाई नाउँ दिनुहुन्छ ।

बुद्धिले नै परमप्रभुले पृथ्वी बनाउनुभयो र समझशक्तिले उहाँले आकाशहरू स्थापना गर्नुभयो ।

परमप्रभुले मलाई सुरुमा अर्थात् उहाँका सुरुका कार्यहरूभन्दा पहिले नै सृष्‍टि गर्नुभयो । पृथ्वीको आरम्भदेखि नै युगौँ पहिले मलाई बनाइएको थियो । महासागरहरू हुनुभन्दा पहिले नै, पानीले भरिपूर्ण खोला-नालाहरू हुनुभन्दा पहिले नै मलाई जन्म दिइयो । पहाडहरू स्थापित गरिनुअगि, डाँडाहरू बनाइनुअगि म जन्मेको थिएँ । परमप्रभुले पृथ्वी वा जमिनहरू वा संसारको पहिलो धुलो बनाउनुअगि म जन्मेको थिएँ । उहाँले आकाशहरू स्थापित गर्नुहुँदा, महासागरको सतहमा घेरा लगाउनुहुँदा म त्यहाँ थिएँ । उहाँले माथि बादलहरू स्थापित गर्नुहुँदा र महासागरका मूलहरूलाई तिनीहरूका स्थानमा बसाल्नुहुँदा म त्यहाँ थिएँ । उहाँको आज्ञाविना पानी आफ्नो सिमानाभन्दा बाहिर नजाओस् भन्‍नाका लागि उहाँले समुद्रको सिमा तोकिदिनुहुँदा र सुक्खा भूमिका जगहरू बसाल्नुहुँदा म त्यहाँ थिएँ । एउटा सिपालु कारीगरझैँ म उहाँको छेउमा थिएँ । दिनप्रति दिन म उहाँको आनन्द भएँ र सधैँभरि उहाँको सामु आनन्दित हुन्थेँ । म उहाँको सारा संसारमा रमाउँदै थिएँ, र मानव-जातिका छोराहरूमा मेरो आनन्द थियो ।

सुन्‍ने कान र देख्‍ने आँखा दुवैलाई परमप्रभुले बनाउनुभयो ।

प्रत्‍येकले अर्कोलाई बोलाउँथे र यसो भन्थे, “सर्वशक्तिमान् परमप्रभु पवित्र, पवित्र, पवित्र हुनुहुन्छ! सारा पृथ्वी उहाँको महिमाले भरिएको छ ।”

मेरो सबै पवित्र पर्वतमा तिनीहरूले चोट पुर्‍याउनेछैनन् न त विनाश नै गर्छन् । किनकि जसरी पानीले समुद्र ढाकेको छ त्यसरी नै परमप्रभुको ज्ञानले पृथ्वी भरिपुर्ण हुनेछ ।

तिमीहरूले कुराहरूलाई उल्टा बनाउँछौ! के कुमालेलाई माटोजस्तै ठान्‍ने, ताकि बनाइएको थोकले आफूलाई बनाउनेलाई यसो भनोस्, “त्यसले मलाई बनाएको होइन” वा बनाएको थोकले आफूलाई बनाउनेलाई भन्‍ने, “त्यसले मलाई बुझ्दैन”?

“हे सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर, तपाईं करूबहरूमाथि विराजमान हुनुहुन्छ, तपाईं नै पृथ्वीका सारा राज्यहरूमाथि एक मात्र परमेश्‍वर हुनुहुन्छ ।

पानीलाई कसले आफ्नो हातमा नापेको छ, आकाशलाई कसले आफ्‍नो हातले नापेको छ, पृथ्वीको धूलोलाई कसले डालोमा राखेको छ, पहाडहरू वा पर्वतहरूलाई कसले तराजुमा जोखेको छ?

के तिमीहरूले जानेका छैनौ? के तिमीहरूले सुनेका छैनौ? के सुरुदेखि नै यो कुरा तिमीहरूलाई भनिएको छैन? पृथ्वीको जगहरू बसालेदेखि नै तिमिहरूले बुझेका छैनौ? पृथ्वीको क्षितिजभन्‍दा माथि विराजमान हुनुहुने उहाँ नै हुनुहुन्छ । अनि यसका बासिन्दाहरू उहाँको सामु फट्याङ्ग्राहरू जस्तै छन् । आकाशहरूलाई उहाँले पर्दाझैं तन्काउनुहुन्छ र तिनीहरूलाई बस्‍ने पालझैं फिंजाउनुहुन्छ ।

माथि आकाशमा हेर! यी सबै ताराहरूलाई कसले सृजेका हुन्? उहाँले ती बनाउनलाई उहाँले नै नेतृत्व गर्नुहुन्छ र ती सबैको नाउँ काढेर बोलाउनुहुन्छ । उहाँको शक्तिको माहन्‌ता र उहाँको सामर्थ्यको शक्तिद्वारा एउटा पनि हराएका छैनन् ।

के तैंले जानेका छैनस्? के तैंले सुनेका छैनस्? परमप्रभु अनन्तका परमेश्‍वर, पृथ्वीको अन्तसम्मका सृष्‍टिकर्ता थकित वा हैरान बन्‍नुहुन्‍न । उहाँको समझको कुनै सिमा छैन ।

आकाश सृष्‍टि गर्नुहुने र त्यसलाई फिंजाउनुहुने, पृथ्वी र त्यसले उपन्‍न गर्ने सबै थोक बनाउनुहुने, त्‍यसमा मानिसहरूलाई सास दिनुहुने र त्‍यसमा बस्‍नेहरूलाई जीवन दिनुहुने परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छः

मेरो नाउँद्वारा बोलाइएका सबैलाई, जसलाई मैले मेरो महिमाको निम्ति सृष्‍टि गरेको छु, जसलाई मैले आकार दिएँ, हो, जसलाई मैले बनाएँ ।

तँलाई गर्भमा आकार दिनुहुने परमप्रभु तेरा उद्धारक यसो भन्‍नुहुन्छः “म परमप्रभु हुँ, जसले हरेक कुरा बनाएँ, जसले आकाशलाई एक्‍लै फैलाएँ, जसले पृथ्वीलाई एक्‍लै बनाएँ ।

इस्राएलका सृष्‍टिकर्ता परमपवित्र परमप्रभु यसो भन्‍नुहुन्छ, ‘मेरा छोराछोरीका बारेमा'मैले के गर्नेछु भनी तिमीहरूले किन प्रश्‍न सोध्छौ? के मेरो हातका कामको बारेमा मैले के गर्नुपर्छ भनी तिमीहरू सिकाउँछौ?' मैले नै पृथ्वी बनाएँ, अनि त्‍यसमा मानिसको सृष्‍टि गरें । मेरै हातले आकाशलाई फैलाएँ, र सबै तारालाई देखा पर्ने आज्ञा मैले नै दिएँ ।

आकाशको सृष्‍टि गर्नुहुने परमप्रभु, पृथ्वीको सृष्‍टि गर्ने र त्‍यसलाई बनाउने र त्‍यसलाई स्थापित गर्ने साँचो परमेश्‍वर यसो भन्‍नुहुन्‍छ । उहाँले नै त्‍यसको सृष्‍टि गर्नुभयो, उजाड होइन, तर बसोवास गर्नलाई तयार पार्नुभयोः “म नै परमप्रभु हुँ र त्‍यहाँ अरू कोही छैन ।

ए याकूब, मेरो कुरा सुन्, ए इस्राएल जसलाई मैले बोलाएँ: म उही हुँ । म पहिलो हुँ र म अन्तिम पनि हुँ । हो, मेरो हातले पृथ्वीको जग बसाल्यो र मेरो दाहिने हातले आकाश फिंजायो । जब म तिनीहरूलाई बोलाउँछु, तब तिनीहरू एकसाथ खडा हुन्‍छन् ।

परमप्रभु आफ्‍ना सृष्‍टिकर्तालाई तिमीहरूले किन बिर्सेका छौ, जसले आकाशलाई फिंजाउनुभयो र पृथ्वीका जगहरू बसाल्नुभयो? अत्याचारीले तिमीहरूको नाश गर्ने निधो गर्दा, त्‍यसको कडा क्रोधको त्रासमा निरन्‍तर परेका छौ । अत्यचारीको क्रोध कहाँ छ?

तापनि, हे परमप्रभु, तपाईं हाम्रा पिता हुनुहुन्छ । हामी माटो हौं । तपाईं हाम्रो कुमाले हुनुहुन्छ । अनि हामी सबै तपाईंको हातका काम हौं ।

परमप्रभु यसो भन्‍नुहुन्छ, “स्वर्ग मेरो सिंहासन हो र पृथ्वी मेरो पाउदान हो । तब तिमीहरूले मेरो निम्ति भवन कहाँ बनाउने छौ? मैले विश्राम गर्ने ठाउँ कहाँ छ? यो परमप्रभुको घोषणा हो, “यी सबै कुराहरू मेरै हातले बनाएका हुन् । यसरी नै ती हुन आए ।” मैले स्‍याबसी दिने मानिस यही हो, जो आत्मामा तोडिएको र चूर्ण छ र जो मेरो वचनमा काम्दछ ।

तर परमप्रभु नै साँचो परमेश्‍वर हुनुहुन्छ । उहाँ नै जीवित परमेश्‍वर र अनन्तका राजा हुनुहुन्छ । उहाँको रिसमा पृथ्वी हल्लिन्छ, र जातिहरूले उहाँको रिस सहन सक्दैनन् । तपाईं तिनीहरूसित यसरी बोल्नुहुन्छ, “स्वर्ग र पृथ्वी नबनाउने देवताहरू पृथ्वीबाट र यी आकाशको तलबाट नष्‍ट हुनेछन् । तर उहाँले पृथ्वीलाई आफ्नो शक्तिले बनाउनुभयो, र उहाँले आफ्नो बुद्धिले संसार स्थापित गर्नुभयो, र आफ्नो समझशक्तिले आकाशलाई फैलाउनुभयो ।

'मेरो महाशक्ति र पसारिएको पाखुराद्वारा म आफैले पृथ्वी बनाएँ । मैले पृथ्वीका मानिसहरू र जनावरहरू पनि बनाएँ, र मेरो दृष्‍टिमा ठिक लागेको जोकसैलाई म यो सुम्पिदिन्छु ।

“हे परमप्रभु परमेश्‍वर! हेर्नुहोस्, आफ्नो महाशक्ति र पसारिएको पाखुराद्वारा तपाईंले नै स्वर्ग र पृथ्वी सृजनुभयो । तपाईंले भन्‍नुहुने कुनै पनि कुरो गर्न तपाईंलाई कत्ति पनि कठिन हुँदैन ।

उहाँले आफ्नै शक्तिले पृथ्वी बनाउनुभएको छ । उहाँले आफ्नै बुद्धिले संसारलाई त्‍यसको ठाउँमा राख्‍नुभयो । उहाँले आफ्नो समझशक्तिद्वारा उहाँले आकाशलाई तान्‍नुभयो ।

परमेश्‍वरले किरकिटी र मृगशिरालाई बनाउनुभयो । उहाँले अन्धकारलाई बिहानमा परिणत गर्नुहुन्छ । उहाँले दिनलाई रातको अन्‍धकार बनाउनुहुन्छ र समुद्रको पानीलाई बोलाउनुहुन्छ । उहाँले त्यसलाई पृथ्वीको सतहमा खन्याउनुहुन्छ । उहाँको नाउँ परमप्रभु हो ।

उहाँले आकाशमा आफ्नो महल बनाउनुहुन्छ, र पृथ्वीमा आफ्नो जग बसाल्‍नुहुन्छ । उहाँले समुद्रको पानीलाई बोलाउनुहुन्छ, र पृथ्वीको सतहमा खन्‍याउनुहुन्छ, उहाँको नाउँ परमप्रभु हो ।

योनाले तिनीहरूलाई जवाफ दिए, “म एक जना हिब्रू हुँ । अनि परमप्रभु स्वर्गका परमेश्‍वरको भय म मान्‍छु जसले समुद्र र सुख्खा जमिन बनाउनुभएको छ ।”

तथापि समुद्रलाई पानीले ढाकेझैँ सारा भुमि परमप्रभुको महिमाको ज्ञानले भरिनेछ ।

इस्राएलको विषयमा परमप्रभु यस्तो घोषणा गर्नुहुन्छ, जसले आकाश बनाउनुभयो र पृथ्वीको जग बसाल्नुभयो, जसले मानिसको आत्मालाई त्यसभित्र रच्नुभयो,

तर सृष्‍टिको सुरुदेखि नै ‘परमेश्‍वरले तिनीहरूलाई पुरुष र स्‍त्री बनाउनुभयो ।’

एनोशका छोरा केनान, शेतका छोरा एनोश, आदमका छोरा शेत आदम परमेश्‍वरका छोरा थिए ।

सुरुमा वचन हुनुहुन्‍थ्‍यो । वचन परमेश्‍वरसँग हुनुहुन्‍थ्‍यो । अनि वचन नै परमेश्‍वर हुनुहुन्‍थ्‍यो । उहाँ सुरुदेखि नै परमेश्‍वरसँग हुनुहुन्‍थ्‍यो । सबै थोकहरू उहाँद्वारा बनिए, र बनिएको कुनै पनि थोक उहाँविना बनिएन ।

उहाँ संसारमा हुनुहुन्थ्यो र संसार उहाँद्वारा नै बनियो, तर संसारले उहाँलाई चिनेन ।

मुख्य व्यक्‍तिले दाखमद्य बनेको त्यो पानी चाखे, तर यो कहाँबाट आएको भन्‍ने उनलाई थाहा थिएन । तब उनले दुलहालाई बोलाए र तिनलाई भने, “हरेक मानिसले असल दाखमद्य पहिले बाँड्छ, र उनीहरू मातेपछि सस्तो दाखमद्य बाँड्छन् । तर तिमीले त असल दखमद्य अझसम्म राखेका छौ ।”

‘स्वर्ग मेरो सिंहासन हो, र पृथ्वी मेरा खुट्टाको पाउदान । तिमीहरूले मेरो निम्ति कस्तो किसिमको घर बनाउन सक्छौ?’ परमप्रभु भन्‍नुहुन्छ । वा मेरो विश्राम स्थान कहाँ छ?

र भने, “ए मानिसहरू हो, यी कुराहरू तपाईंहरूले किन गरिरहनु भएको छ? हामी पनि तपाईंहरूजस्तै भावना भएका मानव जाति हौँ । हामीले तपाईंहरूलाई अर्थविहीन् कुराहरूबाट ती जीवित परमेश्‍वरतिर फर्कनुपर्छ भनेर सुसमाचार ल्याएका छौँ जसले स्वर्ग, पृथ्वी, समुद्र र तिनमा भएका हरेक थोक बनाउनु भयो ।

परमेश्‍वर जसले संसार र त्यसमा भएका सबै थोक बनाउनुभयो, उहाँ स्वर्ग र पृथ्वीका प्रभु हुनुभएको कारण उहाँ मानिसका हातहरूले बनाएका मन्दिरहरूमा बस्‍नुहुन्‍न । न त उहाँलाई केही कुराको खाँचो परेजस्तै मानिसका हातद्वारा सेवा गरिनुपर्छ, किनकि उहाँले नै मानिसहरूलाई जीवन, सास र सबै थोक दिनुहुन्छ । उहाँले एउटा मानिसबाट पृथ्वीमा रहने सबै जातिका मानिसहरूलाई बनाउनुभयो अनि ऋतुहरू र तिनीहरू बस्‍ने क्षेत्रका सिमानाहरू निर्धारण गर्नुभयो । यसैकारण उनीहरूले तिनै परमेश्‍वरलाई खोजून् र सायद तिनीहरूले उहाँलाई खोजेर पाउनेछन् । वास्तवमा उहाँ हामीमध्ये कसैबाट पनि टाढा हुनुहुन्‍न । किनकि हामी उहाँमा नै जिउँछौँ र हिँडडुल गर्छौं र उहाँमै हाम्रो अस्तित्व छ, जसरी तपाईंहरूका आफ्नै कविहरूले भनेका छन्: ʻकिनकि हामीहरू पनि उहाँकै सन्तान हौँ ।ʼ

किनकि संसारको उत्‍पत्तिदेखि उहाँका अदृश्य पक्षहरू स्पष्‍ट रूपमा दृश्‍य भएका छन् । ती सृजिएका थोकहरूद्वारा बुझिएका छन् । यी पक्षहरू उहाँको अनन्त शक्‍ति र ईश्‍वरीय स्वभावहरू हुन् । परिणामस्वरूप, यी मानिसहरूलाई कुनै बहाना छैन ।

जस्तो लेखिएको छ, “मैले तिमीलाई धेरै जातिहरूका पिता बनाएको छु ।” अब्राहाम आफूले भरोसा गरेका परमेश्‍वरको उपस्थितिमा थिए, जसले मरेकालाई जीवन दिनुहुन्छ र अस्तित्वमा नभएका थोकहरूलाई अस्तित्वमा ल्याउन सक्‍नुहुन्छ ।

यसकारण, एक जना मानिसद्वारा संसारमा पाप प्रवेश गर्‍यो, यसरी पापद्वारा मृत्‍यु प्रवेश गर्‍यो । अनि मृत्यु सबै मानिसमा फैलियो, किनभने सबैले पाप गरे ।

किनकि सृष्‍टिको उत्कट आशा परमेश्‍वरका पुत्रहरूको प्रकटीकरणको प्रतीक्षामा छ । किनकि सृष्‍टिलाई व्यर्थताको वशमा सुम्पिएको छ; यसको आफ्नै इच्छामा होइन, तर यसलाई वशमा राख्‍नुहुनेको इच्छामा । यो दृढ निश्‍चयता हो, कि सृष्‍टि स्वयम्‌लाई विनाशको दासत्वबाट मुक्‍त गरिनेछ, र यसलाई परमेश्‍वरका सन्तानहरूका महिमाको स्वतन्‍त्रतामा ल्याइनेछ । हामी जन्दछौँ, कि सारा सृष्‍टि अहिले पनि एकसाथ क्रन्दन र प्रसव वेदनामा छ ।

किनकि सबै थोक उहाँबाट, उहाँद्वारा र उहाँकै निम्ति हुन् । उहाँलाई नै सदासर्वदा महिमा होस् । आमेन ।

तर हाम्रा निम्ति “परमेश्‍वर पिता एक मात्र हुनुहुन्छ, जसबाट नै सबै कुरा हुन आए, र हामी उहाँकै निम्ति जिउँछौ; र एउटै प्रभु येशू ख्रीष्‍ट जसद्वारा सबै कुरा अस्तित्वमा आउँछन् र जसद्वारा नै हामी अस्तित्वमा छौँ ।”

तर परमेश्‍वरले चाहेअनुसारको शरीर त्यसलाई दिनुहुनेछ र प्रत्येक बिउलाई त्यसको आफ्नै शरीर दिनुहुनेछ । सबै शरीर उस्तै हुँदैनन् । मानवीय शरीर एक किसिमको हुन्छ भने पशुको शरीर अर्को किसिमको र त्यसरी नै चराहरू वा माछाहरूको शरीर अर्कै किसिमको हुन्छ ।

त्यसैले, यस्तो पनि लेखिएको छ, “पहिलो मानिस आदम जीवित प्राण बन्यो ।” अन्तिम आदम जीवन दिने आत्मा बन्‍नुभयो । तर पहिले आएकोचाहिँ आत्मिक होइन, तर प्राकृतिक थियो त्यसपछि आत्मिक आयो । पहिलो मानिस भूमिको माटोबाट बनाइएको पृथ्वीको हो । दोस्रो मानिस स्वर्गबाट आएको हो । माटोबाट बनेको मानिसजस्तो हो; माटोबाट बनिएकाहरू पनि त्यस्तै हुन् । र स्वर्गको मानिस जस्तो छ, स्वर्गकाहरू पनि त्यस्तै हुन्छन् ।

किनकि परमेश्‍वरले भन्‍नुभयो, “अन्धकारबाट ज्योति चम्कनेछ ।” येशू ख्रीष्‍टको उपस्थितिमा परमेश्‍वरको महिमाको ज्ञानको ज्योति दिन उहाँ हाम्रो हृदयमा चम्कनुभएको छ ।

सबै मानिसहरूलाई परमेश्‍वरको गुप्‍त योजनाको बारेमा मैले स्पष्‍ट गर्नुपर्छ । पहिले, यो योजना सबै कुरालाई सृष्‍टि गर्नुहुने परमेश्‍वरद्वारा पुस्तौँसम्म लुकाइएको थियो ।

पुत्र अदृश्य परमेश्‍वरका प्रतिरूप हुनुहुन्छ । उहाँ सबै सृष्‍टिमा जेष्‍ठ हुनुहुन्छ । किनकि पृथ्वीमा तथा स्वर्गमा भएका सबै दृश्य र अदृश्य कुराहरू उहाँद्वारा सृष्‍टि गरिएका थिए । चाहे सिंहासनहरू वा प्रभुत्वहरू वा प्रधानताहरू वा अधिकारहरू, सबै थोक उहाँद्वारा उहाँकै लागि सृष्‍टि गरिएका थिए । उहाँ सबैथोकहरूभन्दा अगि हुनुहुन्छ र उहाँमा सबै कुराहरू एकसाथ रहेका छन् ।

तर यी अन्तिम दिनहरूमा उहाँ हामीहरूसँग पुत्रद्वारा बोल्‍नुभएको छ, जो सबै कुराका निम्ति उत्तराधिकारी नियुक्त गरिनुभएको छ । परमेश्‍वरले उहाँद्वारा नै सबै कुरा पनि बनाउनुभयो । उहाँ नै परमेश्‍वरलको स्वभावको सार र महिमाको चमक हुनुहुन्छ । आफ्नो शक्‍तिको वचनद्वारा उहाँले सबै कुरा सँगै पक्रिराख्‍नुभएको छ । उहाँले पापको शुद्धेइँ गर्नुपछि उहाँ उच्‍च सिंहासनको दाहिनेपट्टि विराजमान हुनुभएको छ ।

“हे प्रभु, आदिमा तपाईंले पृथ्वीको जग बसाल्नुभयो । स्वर्गहरू तपाईंका हातका काम हुन् ।

हरेक घर कोही न कोहीद्वारा बनाइएको हुन्छ, तर हरेक थोक बनाउने परमेश्‍वर नै हुनुहुन्छ ।

विश्‍वासद्वारा हामी बुझ्न सक्छौँ, कि सारा विश्‍व परमेश्‍वरको आज्ञाद्वारा सृष्‍टि भएको थियो । त्यसकारण, जे देखिन्छन् ती देखिने कुराहरूबाट बनाइएका होइनन् ।

पहिले यो कुरा जान कि अन्तिम दिनहरूमा गिल्ला गर्नेहरू तिमीहरूलाई गिल्ला गर्दै र आफ्नै इच्छामा हिँड्दै आउनेछन् । अनि यसो भन्दै आउनेछन्, “उहाँको आगमनको प्रतिज्ञा कहाँ गयो? हाम्रा पुर्खाहरू बितेर गए, तर सृष्‍टिको सुरुदेखि नै सबै चिज उस्तै छन् ।” s5 धेरै वर्षअगि वचनद्वारा नै स्वर्ग र पृथ्वी पानीबाट बनाइएका थिए भन्‍ने कुरा तिनीहरू स्वेच्छाले बिर्सन्छन् । अनि त्यस बेलाको पृथ्वी उहाँको वचन र जल प्रलयद्वारा नष्‍ट भयो अनि स्वर्ग र पृथ्वी आगोको न्यायको निम्ति र दुष्‍टहरूको विनाशको लागि त्यही वचनद्वारा सुरक्षित राखिएको छ । प्रिय हो, यो कुरा नभुल कि प्रभुको लागि एक दिन एक हजार वर्ष र एक हजार वर्ष एक दिनझैँ हुन्छ ।

“हाम्रा परमप्रभु र परमेश्‍वर, तपाईं महिमा, आदर र शक्‍ति ग्रहण गर्न योग्यका हुनुहुन्छ । किनकि तपाईंले सबै थोक सृष्‍टि गर्नुभयो, र तपाईंकै इच्छाद्वारा तिनीहरू अस्तित्वमा आए र सृष्‍टि भए ।”

त्यसपछि सदासर्वदा जीवित रहनुहुने, जसले स्वर्ग र त्यसमा भएका सबै थोक, पृथ्‍वी र त्यसमा भएका सबै थोक, समुद्र र त्यसमा भएका थोक सृष्‍टि गर्नुहुनेको नाउँमा शपथ खाएर स्वर्गदूतले भने, “अब त्यहाँ ढिलो हुनेछैन ।

तब मैले अर्को स्वर्गदूतलाई आकाशको बिचमा उडिरहेको देखेँ; पृथ्‍वीमा बस्‍ने हरेक जाति, कुल, भाषा, र मानिसलाई सुसमाचार घोषणा गर्न तिनीसँग अनन्त सन्देश थियो । तिनले चर्को सोरसँग कराएर भने, “परमेश्‍वरसँग डराओ र उहाँलाई महिमा देऊ । किनकि उहाँको इन्साफको घडी आएको छ । उहाँलाई आराधना गर, जसले स्वर्ग, पृथ्‍वी, समुद्र र पानीका मुलहरू बनाउनुभयो ।”

Nepali - नेपाली - NE

NE'BSS - Unlocked Literal Bible - 2019

This Bible text is from Nepali Unlocked Literal Version 2019
https://find.bible/bibles/NPIULV/
provided by: Door43 World Missions Community, available by Creative Commons CC-BY-SA-4.0,
and this new compilation is shared as www.creativecommons.org/licenses/by-sa/4.0.
Languages are made available to you by www.ipedge.net